मंगलबार , बैसाख २९, २०८३

३८ क्विन्टल सुन तस्करी र सनम शाक्य हत्या प्रकरणमा पक्राउ परेका ७७ प्रतिवादीमध्ये जिल्ला अदालत मोरङले ८ जनालाई मात्रै दोषी ठहर गरेको छ । अदालतले ४८ जनालाई सफाइ दिएको छ । जसमध्ये ६ जनालाई जन्मकैदको फैसला सुनाएको छ ।

अपहरण तथा शरीर बन्धकमा पनि चूडामणि उप्रेती (गोरे) मात्र दोषी ठहर भएका छन् । अन्यले सफाइ पाएका छन् । जिल्ला न्यायाधीश भरत लम्सालको एकल इजलासले चूडामणि उप्रेती ‘गोरे’, मोहन काफ्ले, टेकराज मल्ल, लाक्पा शेर्पा, नरेन्द्र कार्की र भोजराज भण्डारीलाई जन्मकैदको सजाय सुनाएको हो । यस्तै, राजन कुमारलाई तीन वर्ष र मदनप्रसाद घिमिरेलाई ६ महिना कैद तोकिएको अदालतका स्रेस्तेदार टिकेन्द्रवीरजंग राणाले बताउनुभयो ।

सुन तस्करी र सनम शाक्य हत्याका मुख्य आरोपित गोरेलाई अपहरण तथा शरीर बन्धकमा पनि सजाय गरिएको छ । फरार २१ अभियुक्तको मुद्दा मुल्तबीमा राखिएको छ । यो प्रकरणमा मुछिएका सबै प्रहरीले भने सफाइ पाएका छन् । सफाइ पाउने प्रहरी अधिकारीमा तत्कालीन अपराध महाशाखा प्रमुख पूर्वएआईजी गोविन्दप्रसाद निरौला, एसएसपी दिवेश लोहनी (हाल डीआईजी), श्यामबहादुर खत्री र प्रहरी उपरीक्षक (एसपी) विकासराज खनाल छन् ।

त्यस्तै, प्रहरी नायव उपरीक्षक (डीएसपी) सञ्जय राउत, प्रजित केसी, प्रहरी नायव निरीक्षक (सई) बालकृष्ण सञ्जेल, प्रहरी हवल्दार अमरबहादुर थापा मगर र प्रहरी जवान विष्णु खड्काले पनि सफाइ पाएका छन् । दुबईबाट ९ माघ २०७४ मा नेपाल आएको ३३ किलो सुन गायव भएको थियो । हराएको सुन खोज्ने क्रममा चूडामणि उप्रेती ‘गोरे’को समूहले यातना दिँदा भरिया सनम शाक्यको हत्या भएको थियो ।

मोरङ उर्लाबारीका सनम शाक्य हत्या र साढे ३३ किलो सुन हराएको विषयमा अनुसन्धान गर्ने क्रममा खुलेको ३८ क्विन्टल सुन तस्करीको हालसम्मकै ठूलो र्‍याकेटबारे अनुसन्धान भएको थियो । सो मुद्दामा १७ अर्ब १ करोड ८० लाख ७१ हजार ४ सय रुपियाँ बराबरको ३७ लाख ९९ हजार ५ सय ६३ ग्राम (करिब ३८ क्विन्टल) सुन अवैध रूपमा आयात गरिएको दाबी गरिएको छ ।

सरकारले छानबिनका लागि सहसचिव ईश्वरराज पौडेलको नेतृत्वमा छानविन समिति बनाएको थियो । समितिले घटनाको प्रारिम्भक अनुसन्धान गरेको अपराध महाशाखाका तत्कालीन एसएसपी दिवेश लोहनी, डीएसपी प्रजित केसी, सई बालकृष्ण सञ्जेललगायतलाई पनि पक्राउ गरेर मुद्दा चलाएको थियो । त्यस बेला अनुसन्धानकर्ता नै आरोपित बनाएको भन्दै सरकारी छानबिन समितिको आलोचनासमेत भएको थियो । प्रकरणमा जोडिएका अन्य प्रहरी अधिकारीले चाहिँ गोरेको समूहलाई सहयोग गरेको सरकारी छानबिनको निष्कर्ष थियो ।

जिल्ला अदालत मोरङमा २०७५ वैशाख १९ गते ‘आपराधिक समूह स्थापना र सञ्चालन गरी सुन चोरी पैठारी र चोरी निकासीको अवैध कारोवार, अपहरण तथा शरीर बन्धक र कर्तव्य ज्यान’ गरेर चारवटा शीर्षकमा मुद्दा दायर गरेको थियो । मुद्दामा १७ अर्ब १ करोड ८० लाख ७१ हजार ४ सय रुपियाँ बराबरको ३७ लाख ९९ हजार ५ सय ६३ ग्राम सुन अवैध रूपमा आयात गरिएको दाबी छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

Liverpool South Ward उपनिर्वाचनमा नेपाली समुदायका अगुवा देव बहादुर गुरुङको उम्मेदवारी

Australia मा नेपाली Gen-Z सहिदहरूलाई सम्मान र नयाँ नेतृत्वलाई बधाई कार्यक्रम सम्पन्न

NRNA NT Youth Forum Multicultural Cup 2026 सम्पन्न, Northern Nepalese FC च्याम्पियन

डार्विनमा २९३ नेपालीले पासपोर्ट नवीकरण गरे

डार्विनमा “साउन्ड अफ नेपाल” भव्य रूपमा सम्पन्न, ७०० भन्दा बढी दर्शकको सहभागिता

डार्विनमा “साउन्ड अफ नेपाल” कन्सर्ट: सबिन राई एण्ड द फारोको सांगीतिक धमाका हुने


TOP