मंगलबार , बैसाख २९, २०८३

नेपाली कांग्रेसले दसैंअगाडि २१ वटा हिमाली जिल्लामा वडा, गाउँ/नगर, प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचन क्षेत्र, महासमिति सदस्य र जिल्ला अधिवेशन गर्ने भनेकोमा अहिलेसम्म जम्मा १० जिल्लामा नेतृत्व चयन गरेको छ।

हिमाली जिल्लामध्ये डोल्पामा क्रियाशील सदस्यता विवाद हालै मिले पनि रसुवामा भने अझै क्रियाशील सदस्यताकै विवादले नामावली प्रकाशन हुन सकेको छैन।

दसैं-तिहारपछि हिमाली भेगमा हिउँ पर्ने, चिसो बढ्ने भएकोले अधिवेशन गर्न गाह्रो हुने हुँदा दसैंअगाडि नै जिल्ला अधिवेशन गर्ने कांग्रेस पदाधिकारी बैठकले निर्णय गरेको थियो। तर २१ हिमाली जिल्लामध्ये आजसम्म आधा जिल्लामा मात्रै जिल्ला अधिवेशनबाट आगामी चार वर्षका लागि नयाँ नेतृत्व चयन भएका छन्।

जिल्ला सभापति चयनमा गोरखा, कालिकोट, हुम्ला, मनाङ, मुस्ताङलगायत जिल्लामा सर्वसम्मत भए पनि रामेछाप, दोलखा, संखुवासभालगायत जिल्लामा भने सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल र पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलानिकट पक्षबाटै उम्मेदवार बनेका थिए।कांग्रेसमा २०७२ सालमा भएको १३ औं महाधिवेशनदेखि देउवा, पौडेल र सिटौला गुट अस्तित्वमा छन्। यिनै गुटबाट जिल्ला-जिल्लामा नेतृत्व चयन भइरहेका छन्।

अहिलेसम्म गोरखा, ताप्लेजुङ, संखुवासभा, दोलखा, रामेछाप, मनाङ, मुस्ताङ, हुम्ला, कालिकोट र रूकुम पूर्वमा कांग्रेसले जिल्ला अधिवेशन सकेको छ।

यीमध्ये वरिष्ठ नेता पौडेल पक्षनिकट ६ जिल्ला सभापति चयन भएका छन् भने ४ जिल्लामा सभापति देउवानिकटले जितेका छन्।

संखुवासभामा पूर्वराज्यमन्त्रीसमेत रहेका दीपक खड्का, गोरखामा नन्दप्रसाद न्यौपाने, मुस्ताङमा पूर्वबाणिज्यमन्त्रीसमेत रहेका रोमी गौचन थकाली, दोलखामा बर्मा लामा, रूकुम पूर्वमा केशरमान रोका र कालिकोटमा अम्बबहादुर शाही जिल्ला सभापति भएका छन्।यीमध्ये गोरखाका न्यौपाने गगन थापानिकट हुन्। तर थापा नै पछिल्लो समय वरिष्ठ नेता पौडेलनिकट छन्। थापा आगामी महाधिवेशनमा सोही समूहबाट महामन्त्री पदमा उठ्ने तयारीमा छन्।

सभापति देउवानिकट गजेन्द्र तुम्याहाङ ताप्लेजुङ सभापति भएका छन्। मनाङमा शंकर गुरूङ, हुम्लामा मोहनविक्रम सिंह र रामेछापमा कान्छाराम तामाङ जिल्ला सभापति भएका छन्।

यीमध्ये रामेछाप र दोलखामा दोस्रो चरणमा जिल्ला अधिवेशन गर्नुपरेको थियो। पहिलो चरणमा तीन उम्मेदवारमध्ये कसैले पनि खसेको कूल मतको ५१ प्रतिशत ल्याउन सकेका थिएनन्। कांग्रेस विधानमा जिल्ला सभापतिले पनि खसेको कूल मतको ५१ प्रतिशत ल्याउनुपर्ने व्यवस्था छ।

कांग्रेसले २१ हिमाली जिल्लामध्ये अब सोलुखुम्बु, सिन्धुपाल्चोक, रसुवा, डोल्पा, जुम्ला, मुगु, बाजुरा, बझाङ, दार्चुला, धादिङ, म्याग्दीमा जिल्ला अधिवेशन गर्न बाँकी छ।

कांग्रेसले बाँकी जिल्लाहरूमा भने दसैं-तिहार-छठपछि अधिवेशन गर्ने तयारी गरेको छ। कांग्रेसले मंसिर ९ देखि १३ गतेसम्म १४ औं महाधिवेशन गर्ने बताएको छ।

(source: setopati)

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

Liverpool South Ward उपनिर्वाचनमा नेपाली समुदायका अगुवा देव बहादुर गुरुङको उम्मेदवारी

Australia मा नेपाली Gen-Z सहिदहरूलाई सम्मान र नयाँ नेतृत्वलाई बधाई कार्यक्रम सम्पन्न

NRNA NT Youth Forum Multicultural Cup 2026 सम्पन्न, Northern Nepalese FC च्याम्पियन

डार्विनमा २९३ नेपालीले पासपोर्ट नवीकरण गरे

डार्विनमा “साउन्ड अफ नेपाल” भव्य रूपमा सम्पन्न, ७०० भन्दा बढी दर्शकको सहभागिता

डार्विनमा “साउन्ड अफ नेपाल” कन्सर्ट: सबिन राई एण्ड द फारोको सांगीतिक धमाका हुने


TOP