आइतबार , भाद्र १४, २०८३

कांग्रेसको १४ औँ महाधिवेशनअन्तर्गत १३ जिल्लाको वडा अधिवेशन दसैंपछि मात्रै हुने भएको छ । एकमात्र निर्वाचन क्षेत्र भएका हिमाली जिल्लामा जिल्ला तहको नेतृत्व चुनिँदैछ । तर, केही जिल्लामा भने कांग्रेसले क्रियाशील सदस्यकै टुंगो लगाउन सकेको छैन ।केन्द्रीय निर्वाचन समितिका अनुसार कांग्रेसले शनिबार साँझसम्म पनि बारा, सप्तरी, रौतहट र रसुवाका क्रियाशील सदस्यको नामावली दिएको छैन । समितिका सदस्य गोपालकृष्ण घिमिरेले भने, ‘दसैं सुरू हुन अब चार दिनमात्रै बाँकी छ । तर, चार जिल्लाको मतदाता नामावली अझै पाएका छैनौँ । अब दसैंअघि नै यी जिल्लामा अधिवेशन हुने सम्भावना छैन ।’ निर्वाचन समितिले यसअघि नामावली प्राप्त भइसकेका ९ जिल्लामा पनि निर्वाचन अधिकृत नै खटाएको छैन । यी १३ जिल्लामा एकैपटक वडा अधिवेशनबाट प्रक्रिया अघि बढाउने निर्वाचन समितिको तयारी छ ।

‘अब वडा अधिवेशन हुन १३ जिल्ला बाँकी हुन् । ४ जिल्लाको सदस्यता पाएपछि एकैपटक अधिवेशन गरौँ भन्ने हाम्रो तयारी हो,’ समितिका सचिव जगन्नाथ श्रेष्ठले भने, ‘डोल्पामा निर्वाचन सामाग्री लिएर निर्वाचन अधिकृतसहितको टोली गए पनि डोल्पा पुगेकै छैन । अन्यमा जिल्लामा पनि सदस्यताको विवरण प्राप्त भएपछि एकैपटक अधिवेशन गर्ने भनिएको हो । तर, त्यसबारे पनि कुनै निर्णय भएको छैन ।’

चार जिल्लाको क्रियाशील सदस्यको टुंग्याउन ढिला हुँदा कांग्रेसको वडा अधिवेशन नै दसैंपछि धकेलिएको छ । जबकि यसअघि कांग्रेसले दसैंअघि जिल्ला अधिवेशन सम्पन्न गरिसक्ने कार्यतालिका ल्याएका थिए । पछिल्लो पदाधिकारी बैठकमा कम्तीमा पनि पालिका तहसम्मको अधिवेशन सम्पन्न गर्ने भन्ने सहमति बनेको थियो । सहमतिअनुसार नेतृत्वले निर्णय कार्यान्वयन गर्न नसक्दा तल्ला तहको अधिवेशनमा भएको ढिलाईको प्रभावले केन्द्रीय महाधिवेशन नै प्रभावित हुन सक्ने देखिएको छ ।

‘१३ जिल्लामा दसैं अघि वडा अधिवेशन हुने सम्भावना सकियो । अब ती जिल्लामा दसैंपछिमात्रै वडा र पालिका अधिवेशन हुन्छ । त्यसपछि अहिले अधिवेशन नभएका जिल्लामा प्रदेशसभा क्षेत्रीय तहदेखि माथिको अधिवेशन एकैपटक हुन्छ,’ सदस्यताको टुंगो लगाउने कार्यमा खटिएका एक केन्द्रीय सदस्यले भने । ती नेताका अनुसार ४ जिल्लाको सदस्यता टुंग्याउन समस्या भइरहेको छ ।

नेताहरुले लामो समय छलफल गरेरमात्रै सदस्यता टुंगो लगाए पनि सर्लाहीमा सदस्यताकै विषयलाई लिएर ७१ वर्षीय नेता रामगोविन्द रायले शुक्रबारदेखि आमरण अनशन बसेका छन् । केन्द्रले सार्वजनिक गरेको सर्लाहीमा सदस्यता विवरणमा धाँधली भएको उनको आरोप छ । अन्य जिल्लामा पनि त्यस्तै असन्तुष्टि छ । रौतहटका नेता, कार्यकर्ताले पनि कांग्रेस केन्द्रीय कार्यालयमा अढाई महिनादेखि रिले अनशन गरिरहेका छन् । कांग्रेस नेताहरुलाई सदस्यता टुंग्याएर अधिवेशनको वातावरण बनाउन मुस्किल परेको छ ।

त्यसो त, वडा अधिवेशन भइसकेका जिल्लामा पनि पालिका तहको अधिवेशन हुन सकेको छैन । अहिलेसम्म ६४ जिल्लामा वडा अधिवेशन भएको छ । त्यसमध्ये सभापति शेरबहादुर देउवाको गृहजिल्ला डडेलधुरामा भएको अधिवेशन विवादित छ । तर, अन्य जिल्लामा पनि पालिका तहकै अधिवेशन हुन सकेको छैन ।

केन्द्रको निर्णयबमोजिम कतिपय हिमाली जिल्लाहरुले भने जिल्ला तहकै अधिवेशन गरेका छन् । २१ हिमाली जिल्लामध्ये रसुवाको सदस्यता टुंगिएको छैन । डोल्पामा वडा अधिवेशन नै भएको छैन । तर, मनाङ, मुस्ताङ र रुकुम पूर्वले भने शनिबारै जिल्ला अधिवेशन सम्पन्न गरेका छन् । अन्य करिब एक दर्जन जिल्लाहरुमा नेतृत्व चयनको निर्वाचन प्रक्रिया चलिरहेको छ ।

‘सर्वसम्मत भएका जिल्लाको परिणाम आइसक्यो । बाँकी जिल्लामा भने निर्वाचनको प्रक्रिया सुरु भएको छ, अन्तिम परिणाम आउन केही दिनसम्म लाग्छ,’ निर्वाचन समितिका सचिव श्रेष्ठले भने । कांग्रेसले आगामी ९–१३ मंसिरमा केन्द्रीय महाधिवेशन गर्ने मिति तोकेको छ । तर, तल्ला तहको अधिवेशनमा भइरहेको ढिलासुस्तीले केन्द्रीय महाधिवेशन प्रभावित हुने खतरा बढेको छ ।

यो समाचार कान्तिपुर बाट लिईएको हो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता


TOP