
उत्तर कोरियाले जापानको समुद्रमा फेरि मिसाइल (प्रोजेक्टाइल) प्रक्षेपण गरेको छ । उत्तर कोरियाले कम्तीमा एउटा प्रोजेक्टाइल जापानको समुद्रतर्फ प्रहार गरेको दक्षिण कोरियाको सैनिकले जनाएको छ ।
पूर्वी समुद्रका रुपमा समेत चिनिने जापानको समुद्रमा उत्तर कोरियाले प्रहार गरेको मिसाइल मंगलबार बिहान खसेको हो । केही समय पहिले उत्तर कोरियाले क्रुज मिसाइल र ब्यालेस्टिक मिसाइल प्रक्षेपण गरेको थियो ।
दक्षिण कोरियासँग वार्ताका लागि तयार रहेको बताएको केही दिनमै उत्तर कोरियाले मिसाइल प्रक्षेपण गरेको हो ।
जापानको रक्षा मन्त्रालयका अनुसार मंगलबार बिहान उत्तर कोरियाले प्रहार गरेको प्रोजेक्टाइल ब्यालेस्टिक मिसाइल हुन सक्ने स्थानीय सञ्चारमाध्यमले उल्लेख गरेका छन् । संयुक्त राष्ट्रसंघको नियम अनुसार ब्यालेस्टिक मिसाइल प्रतिबन्धित छ ।
दक्षिण कोरियाका जोइन्ट चिफ अफ स्टाफले अमेरिकी अधिकारीसँग मिलेर घटनाको अनुगमन गरिरहेको बताएका छन्।