मंगलबार , बैसाख २९, २०८३

माधवकुमार नेपाल नेतृत्वमा नेकपा (एकीकृत समाजवादी) पार्टी दर्ता भएको राजनीतिक दल विभाजनसम्बन्धी अध्यादेशको आधारमा हो । सोही अध्यादेशको आधारमा एमालेबाट विभाजन भएर नेकपा (एकीकृत समाजवादी) त दर्ता भयो तर दलको भविष्य के होला? अध्यक्ष नेपाल त्रसित छन् ।

कारण- एमाले अध्यक्ष केपी शर्मा ओलीले गरेको नेपाल नेतृत्वको दल खारेजीको माग । उक्त माग गरिएको रिट सर्वोच्च अदालतमा विचाराधीन छ । रिटबारे सर्वोच्चबाट दुईपटक आदेश जारी भइसकेको छ ।

२२ भदौमा प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराको एकल इजलासबाट विपक्षीहरू नेता नेपालसहित १४ सांसद, उनको पार्टी नेकपा (एकीकृत समाजवादी) सँगै, निर्वाचन आयोग, प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, प्रतिनिधि सभाका सभामुख अग्निप्रसाद सापकोटा र लुम्बिनी प्रदेशका सभामुख पूर्ण घर्तीविरुद्ध निवेदकको मागअनुसार आदेश किन जारी हुन नपर्ने भन्दै लिखित जवाफ माग भयो ।

५ असोजमा नेपालविरुद्धको रिटमा सर्वोच्चबाट अर्को आदेश जारी भयो । न्यायाधीशद्वय दीपककुमार कार्की र डा. कुमार चुडालको संयुक्त इजलासले अन्तरिम आदेशबारे छलफल गर्न ९ भदौमा दल दर्तासम्बन्धी निर्णयको सक्कल फाइल र भदौ १३ मा सभामुख सापकोटाले गरेको निर्णयको सक्कल फायल माग भएको छ ।

अब बस्ने इजलासमा मात्रै रिटमाथि अन्तिम सुनुवाइ हुने सर्वोच्च प्रशासनले जनाएको छ । नेपाल नेतृत्वमा दल दर्ता ९ भदौमा भएको हो । दर्ता हुनुको प्रमुख कारक प्रतिनिधिसभाका सभामुख सापकोटा हुन् ।

उनले एमाले अध्यक्ष ओलीले नेपालसहितका १४ सांसदलाई निष्काशन गर्दै पदमुक्त गर्न गरेको सिफारिसलाई ‘होल्ड’ गरेर राखे । सिफारिसअनुसार पदमुक्त गरेनन् । दल दर्ता भएपछि मात्रै १३ भदौमा सापकोटाले दल दर्ता भइसकेकोले सिफारिसबारे केही गरिरहनु परेन भन्दै सूचना टाँस गराए ।

यसरी नेपाल नेतृत्वको दल दर्ताको भूमिका सापकोटाले पदमुक्त नगराउँदा भएको एमालेले आरोप लगाउँदै आएका छन् । ‘गैरकानुनी रूपमा नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) पार्टी दर्ता गरेको कार्य उत्प्रेषणको आदेशद्वारा बदर गरी कानुन बमोजिम गर्नु/गराउनु भनि विपक्षीहरूका नाममा परमादेश प्रतिषेधको आदेशसमेत जारी गरी पाउँ’, रिटमा ओलीको माग छ ।

ओलीले नेपाल नेतृत्वको दल दर्ता प्रक्रियामै कानुनी प्रश्न उठाएका हुन् । नेपाल नेतृत्वमा दल दर्ता हुनै नसक्ने ओलीको जिकिर छ । एमालेले २५ साउनमा १४ सांसदलाई पार्टीबाट निष्काशन गर्ने निर्णय गरेको थियो । सोही निर्णयको आधारमा सांसद पदबाट मुक्त गर्ने पनि निर्णय गरेर संसद् सचिवालयलाई पत्राचार गरेको थियो ।

कारबाहीको कारण भने २७ वैशाखमा तत्कालीन प्रधानमन्त्रीसमेत रहेका ओलीलाई संसदीय दलको निर्देशनविपरीत विश्वासको मत दिन संसद्मा उपस्थित नभएको भनिएको छ । यसरी पदमुक्त नगर्दा नेपाल नेतृत्वको दल अध्यादेशका कारण भएपछि ओली सर्वोच्च पुगेका हुन् ।

उनको जिकिरलाई न्यायिक ठहर्‍याउँदै​ सर्वोच्चले मागअनुसार दर्ता प्रक्रिया खारेज गरे नेपाल नेतृत्वको दल नरहन सक्छ । त्यही भएर कतै दल त खारेज हुँदैन? नेपालको त्रास यसमा हो । उनलाई खारेज भएमा ‘घरको न घाटको’ हुने पीर ।

‘सर्वोच्चको आदेश कुरिरहेका छौं, आदेश कस्तो आउने हो, निर्वाचन आयोगको दल दर्तासम्बन्धी निर्णय सदर गर्यो भने ठीक छ’, नेपालपक्षीय एक केन्द्रीय सदस्यले भने, ‘खारेज भयो भने त हामी घरको न घाटको हुन सक्छौं ।’

जारी केन्द्रीय कमिटी बैठकमा पनि सर्वोच्चको सम्भावित आदेशबारे छलफल भएको ती नेता बताउँछन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

Liverpool South Ward उपनिर्वाचनमा नेपाली समुदायका अगुवा देव बहादुर गुरुङको उम्मेदवारी

Australia मा नेपाली Gen-Z सहिदहरूलाई सम्मान र नयाँ नेतृत्वलाई बधाई कार्यक्रम सम्पन्न

NRNA NT Youth Forum Multicultural Cup 2026 सम्पन्न, Northern Nepalese FC च्याम्पियन

डार्विनमा २९३ नेपालीले पासपोर्ट नवीकरण गरे

डार्विनमा “साउन्ड अफ नेपाल” भव्य रूपमा सम्पन्न, ७०० भन्दा बढी दर्शकको सहभागिता

डार्विनमा “साउन्ड अफ नेपाल” कन्सर्ट: सबिन राई एण्ड द फारोको सांगीतिक धमाका हुने


TOP