
एएफसी वुमन्स एसियन कप २०२२ को छनोटमा नेपाल जितविहीन बनेको छ । उज्वेकिस्तानमा भइरहेको समूह एफ अन्तर्गतको दोस्रो खेलमा मंगलबार नेपाल हङकङसँग गोलरहित बराबरीमा रोकिएको हो ।
पहिलो खेलमा फिलिपिन्ससँग २–१ गोलले पराजित भएको नेपाल समूह चरणमा जितविहीन रहँदै बाहिरियो ।एसियन कप पुग्ने सम्भावना कायम राख्न नेपालले हङकङलाई पराजित गर्नैपर्ने थियो । पहिलो खेलमा फिलिपिन्ससँग अग्रता लिएर पनि कायम राख्न नसक्दा अन्तिममा पराजित भएको थियो ।
यसअघि तीन पटक एसियन कप खेलिसकेको नेपालले पहिलो पटक छनोट खेलेको हो । दुई खेल खेलिसकेको नेपालले एक अंक मात्र जोड्न सक्यो । फिलिपिन्सको ३ अंक छ भने हङकङको एक अंक छ ।
अब फिलिपिन्स र हङकङबीच हुने समूहको अन्तिम खेलपछि समूह विजेताको टुंगो लाग्नेछ । समूह विजेता मात्र अर्को वर्ष भारतमा हुने एसियन कपमा छनोट हुनेछ ।