मंगलबार , बैसाख २९, २०८३

संखुवासभाको मादी नगरपालिका–१ उम्लिङ खोलागाउँमा ६ जनाको सामूहिक हत्याकाण्डमा संलग्न थप चार जनालाई सोमबार प्रहरीले सार्वजनिक गरेको छ ।

संखुवासभा जिल्ला प्रहरी कार्यालय खाँदबारीमा पत्रकार सम्मेलन गरी हत्या आरोपमा प्रहरीले प्रत्यक्ष संलग्न रहेका मुख्य योजनाकार ४७ वर्षीय खड्गबहादुर कार्की, निजका छोरा २८ वर्षीय हस्तबहादुर कार्की, ४९ वर्षीय रणबहादुर कार्की र उनका १७ वर्षीय छोरा नरेश कार्कीलाई पकाउ गरी सार्वजनिक गरेको छ ।

उनीहरुले आफूहरुले अभियुक्त रणबहादुर कार्कीको घरमा अघिल्लो दिन हत्या योजना बनाई भोलिपल्ट बिहान तेजबहादुर कार्कीलगायत परिवारका ६ जनाको सामूहिक हत्या गरेको स्वीकार गरेका छन् । पक्राउ परेका खड्गबहादुर र रणबहादुर सहोदर दाजुभाइ रहेका छन् भने मृतक परिवार तेह्रदिने दाजुभाइ हुन् । उनीहरुले आफू र आफ्नो परिवारलाई होच्याउने, अपशब्द बोल्ने, हेप्ने सधैं गालीगलौज गर्ने गरेकाले हत्या गरेको बयान दिएको संघीय प्रहरी कार्यालय विराटनगरका प्रहरी उपरीक्षक (एसपी) भीम दाहालले बताउनुभयो ।

यसअघि प्रहरीले अभियुक्त रणबहादुरको जेठा छोरा २५ वर्षीय लोकबहादुर कार्कीलाई भदौ २७ गते हत्या आरोपमा सार्वजनिक गरेको थियो । अभियुक्त लोकबहादुरले आफू एकै जनाले सबैको हत्या गरेको स्वीकार गरे पनि घटनाको प्रकृति अध्ययन र लोकबहादुरको बयानका आधारमा थप अन्य व्यक्तिको संलग्नता भएको आशंकामा प्रहरीले थप अनुसन्धान अगाडि बढाएको थियो ।

अनुसन्धानका क्रममा प्रहरीले हत्यामा धारिलो हतियार, दाउराको चिर्पट प्रयोग र मृतक रञ्जनाको मोबाइल घटना भएकै दिन बिहान करिब ६ बजेतिर स्विच अफ भई घटनास्थलमा फेला नपरेका कारण घटनामा अन्य व्यक्तिको संलग्नता हुन सक्ने आशंका गरेको थियो । प्रहरीले अन्य व्यक्तिको संलग्नता हुन सक्ने आशंकामा अनुसन्धान गर्न प्रहरी निरीक्षकको नेतृत्वमा १० जना प्रहरी टोली घटनास्थलमा परिचालन गरेको थियो ।

अनुसन्धानका क्रममा मृतकहरुको पोस्टमार्टमको रिपोर्ट र पक्राउ परेका लोकबहादुरले दाउराको चिर्पटले मात्र हानेर हत्या गरेको स्वीकार गरेको र घटनामा धारिलो हतियार प्रयोग, घाँटी बटारी हत्या भएको देखिएकाले प्रहरीले थप अनुसन्धान शुरु गरेको थियो । अनुसन्धानका क्रममा अभियुक्त नरेशको साथबाट एक हप्तापछि मृतक रञ्जनाको मोबाइल भेटिएको र उनलाई पक्राउ गरी अनुसन्धानपछि अन्य व्यक्तिहरु घटनामा संलग्न भएको प्रहरीसमक्ष बयान दिएपछि उनीहरुलाई पक्राउ गरी थप अनुसन्धान गरिएको प्रहरीले जनाएको छ ।

सार्वजनिक गरिएका अभियुक्तमध्ये खड्गबहादुर कार्की मुख्य योजनाकार रहेका र उनकै निर्देशनमा लोकबहादुर, उनका भाइ नरेश र खड्गबहादुर कार्कीका छोरा हस्तबहादुर, तेजबहादुरलगायतले दाउराको चिर्पट, धारिलो हतियारको प्रयोगले हत्या गरी मृतकको लास खोल्सामा फाल्ने काम गरेको उनीहरुले स्वीकार गरेका छन् । उनीहरुले तेजबहादुरलगायत ६ जनाको हत्यापछि तेजबहादुरको घरबाट अभियुक्त ५ जना रणबहादुरको घरमा भेला भई प्रहरीले पक्राउ गरे लोकबहादुर आफू एक्लैले हत्या गरेको स्वीकार गर्ने सहमति गरी खड्गबहादुर घरतर्फ गएको खुल्न आएको छ ।

प्रहरीले घटनामा प्रयोग गरिएका छुरी, रगत लागेको कपडा र हराएको मोबाइल बरामद गरेको र घटनाको थप अनुसन्धान भइरहेको संखुवासभा प्रहरी नायव उपरीक्षक लालध्वज सुवेदीले बताउनुभयो । उहाँले घटनास्थलमा अहिले पनि प्रहरी निरीक्षकसहित १० जनाको टोलीले अन्य अनुसन्धान गरिरहेको बताउनुभयो ।

घटनामा ८५ वर्षीय बौद्धमान कार्कीकी श्रीमती ८४ वर्षीय पार्वती, ५८ वर्षीय छोरो तेजबहादुर, ५२ वर्षीय बुहारी कमला, ३२ वर्षीय नातिनी बुहारी रञ्जना र ८ वर्षीय पनाति दिपेन, ५ वर्षीय पनातिनी गोमाको बीभत्स हत्या भएको थियो । उनीहरुको घरदेखि केही पर बाटो, खोल्सा र खरबारीमा बीभत्स हत्या गरेको अवस्थामा गाउँलेले शव फेला पारेका थिए । उनीहरूको भाद्र २१ गते बिहान हत्या भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

Liverpool South Ward उपनिर्वाचनमा नेपाली समुदायका अगुवा देव बहादुर गुरुङको उम्मेदवारी

Australia मा नेपाली Gen-Z सहिदहरूलाई सम्मान र नयाँ नेतृत्वलाई बधाई कार्यक्रम सम्पन्न

NRNA NT Youth Forum Multicultural Cup 2026 सम्पन्न, Northern Nepalese FC च्याम्पियन

डार्विनमा २९३ नेपालीले पासपोर्ट नवीकरण गरे

डार्विनमा “साउन्ड अफ नेपाल” भव्य रूपमा सम्पन्न, ७०० भन्दा बढी दर्शकको सहभागिता

डार्विनमा “साउन्ड अफ नेपाल” कन्सर्ट: सबिन राई एण्ड द फारोको सांगीतिक धमाका हुने


TOP