
नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अघिल्लो केपी ओली नेतृत्वको सरकारले अनावश्यक गिजोलेका कारण अमेरिकी सहयोग परियोजना सम्बन्धी एमसीसी सम्झौता समस्या बनेको बताउनुभएको छ ।
कार्यकर्ता प्रशिक्षणका लागि २ नम्बर प्रदेशको राजधानी जनकपुर पुग्नुभएका प्रचण्डले आज त्यहाँ आयोजित पत्रकार सम्मेलनमा ओली सरकारका अर्थमन्त्रीले बिगारेका कारण एमसीसीले अहिलेको अवस्था निम्त्याएको बताउनुभएको हो ।
प्रचण्डले आफूहरू एमसीसीको विरूद्धमा नरहेको तर परिमार्जनसहित सर्वदलीय संयन्त्रबाट मात्र पारित गर्नुपर्नेमा समेत जोड दिनुभएको छ । परिमार्जन र संशोधन गरेर मात्र एमसीसी अगाडि बढ्ने भन्दै हतार गर्नु आवश्यक नभएको प्रचण्डको भनाइ छ ।
उहाँले एमसीसीका कारण पाँच दलीय गठबन्धन नटुट्ने दाबी पनि गर्नुभयो । लोकतन्त्र, गणतन्त्र, संविधान र राष्ट्रको हितमा गठवन्धन निर्माण भएको भन्दै उहाँले एमसीसीभन्दा गठबन्धन नै महत्वपूर्ण रहेको उल्लेख गर्नुभयो ।
अर्को फरक प्रसंगमा प्रचण्डले आगामी दुई/तीन दिनभित्र क्याबिनेट बिस्तार गरि सरकारलाई पूर्णता दिने बताउनुभयो । उहाँले एकीकृत समाजवादी र जसपाबीचको विवादका कारण क्याबिनेट बिस्तार रोकिएको भन्ने कुरामा कुनै सत्यता नभएको पनि उल्लेख गर्नुभयो ।