मंगलबार , बैसाख २९, २०८३

भौगर्भिक र वातावरणीय असरलाई ख्याल नगरी धमाधम ठूला भौतिक संरचना बन्न थालेपछि बुटबलको हिलपार्क क्षेत्रको जमिन भासिन थालेको छ ।

हालैमात्र बुटवल उपमहानगरपालिकाले हिलपार्कमा डेढ अर्ब रुपैयाँ लागतमा ‘बिग बुद्ध’ पार्क निर्माणको लागि प्रक्रिया अगाडि बढाएको छ । चारवटा ब्लकमा निर्माण गरिने बुद्धपार्कमा पहिलो ब्लकमा बुद्धप्रतिमा बनाउने योजना छ । करीब आठ मिटरको गोलाकार आधार संरचनामाथि ३५ मिटर उचाइको शाक्यमुनि बुद्धको प्रतिमा अर्धकमलमाथि बसेको आकारमा बनाइने छ ।तर जमिन भासिन थालेपछि बिग बुद्ध पार्कको भविष्य नै अन्योलमा पर्ने देखिएको छ । हिलपार्कको डाँडामाथि लुम्बिनीतर्फ फर्काएर बनाइने बुद्धमूर्तिको लागत मात्रै ८६ करोड ८० लाख ९२ हजार २ सय ८८ अनुमान गरिएको छ ।

त्यस्तै, पार्कको दोस्रो ब्लकमा तीन करोड ६७ लाखको लागतमा तीन तले भिक्षुगृह बनाइने छ भने तेस्रो ब्लकमा एकतले क्याफेटेरिया र चौथोमा एकतले शौचालय बनाइने छ । यी दुई संरचनाको लागत करीब एक करोड रुपैयाँ हुने अनुमान गरिएको छ ।

पार्कमा यीबाहेक झण्डै ५ करोडको लागतमा टेलिकम्युनिकेसन, सरसफाइ तथा ढल प्रणाली, पानी आपूर्ति लगायतका संरचना बन्नेछन् ।

यति धेरै संरचनासहितको पार्क बन्ने स्थान भन्दा ठीक तलपट्टिको जमिन अहिले भासिन थालेको हो । हिलपार्कमा जमिन भासिंदा अरनिको पार्क क्षेत्रमा रहेको एउटा मन्दिर र सिँढी भत्किएको छ । त्यस क्षेत्रको जमिन पनि ठाउँठाउँमा भासिएको छ भने सालका रुख ढल्न थालेका छन् ।वातावरणीय प्रभाव मूल्यांकन नगरी चुरे क्षेत्रमा यसरी भारी संरचना बनाउँदा चुरे क्षेत्र खल्बलिएर भविष्यमा पहाड नै पहिरो गएर सिंगो बुटवलको बस्ती खतरामा पर्ने विज्ञहरु औल्याउँछन् ।

चुरे क्षेत्रको विस्तृत अध्ययन नगरी जथाभावी ठूला संरचना बनाउँदा कमजोर भूबनोटले थेग्न नसक्ने राष्ट्रपति चुरे तराई मधेश संरक्षण विकास समिति बुटवल कार्यालयका प्रमुख अजय कार्की बताउँछन् । लुम्बिनी प्रदेशका चुरे क्षेत्रमध्ये बुटवलको चुरे सबैभन्दा धेरै संवेदनशील भएकाले यसलाई चलाउन नहुने उनको सुझाव छ ।

‘वातावरणीय प्रभाव मूल्यांकन नगरी काम शुरु गर्दा ज्योतिनगर र लक्ष्मीनगरमा जस्तै हिलपार्कमा पनि पहिरोको उच्च जोखिम छ,’ कार्कीले भने, ‘यति ठूला संरचना चुरेको कमजोर भूबनोटले थेग्नै सक्दैन ।’

बुटवल उपमहानगरपालिकाका योजना प्रमुख इन्जिनियर सुमन श्रेष्ठले अहिले चुरे क्षेत्रमा भइरहेको भूस्खलनलाई हेर्दा हिलपार्कमा बिग बुद्ध पार्कमा भारी संरचना बनाउन नहुने हो कि भन्ने देखिएको स्वीकार गरे ।

‘प्रारम्भिक वातारणीय अध्ययन र माटो परीक्षण गरेर डीपीआर बनाइए पनि अहिले बुटवलको चुरे क्षेत्रमा गइरहेको पहिरोले अब भारी संरचना बनाउन नहुने निष्कर्षमा पुगेका छौं,’ उनले भने, ‘वातावरणीय प्रभाव मूल्याङकनको प्रतिवेदन आइसकेपछि सरोकारवाला सबै पक्षसँग छलफल गरेर के गर्ने भन्ने निष्कर्षमा पुग्नुपर्ने अवस्था आएको छ ।’

पर्यावरणीय दृष्टिले अत्यन्तै संवेदनशील चुरे क्षेत्रमा जथाभावी भारी संरचना बनाइरहने हो भने यसले र समथर तराई मरुभूमिमा परिणत हुने वातावरण क्षेत्रका जानकार युवराज कँडेल बताउँछन् । ‘स्थानीय सरकारको नेतृत्व गर्नेहरु सस्तो लोकप्रियता, आफ्ना मान्छेलाई ठेक्का पार्न हचुवाको भरमा योजना बनाउँछन्,’ कँडेलले भने, ‘चुरे क्षेत्रमा जथाभावी बनाइने पूर्वाधारले विकासका नाममा विनाश निम्ताइरहेको छ ।’

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

Liverpool South Ward उपनिर्वाचनमा नेपाली समुदायका अगुवा देव बहादुर गुरुङको उम्मेदवारी

Australia मा नेपाली Gen-Z सहिदहरूलाई सम्मान र नयाँ नेतृत्वलाई बधाई कार्यक्रम सम्पन्न

NRNA NT Youth Forum Multicultural Cup 2026 सम्पन्न, Northern Nepalese FC च्याम्पियन

डार्विनमा २९३ नेपालीले पासपोर्ट नवीकरण गरे

डार्विनमा “साउन्ड अफ नेपाल” भव्य रूपमा सम्पन्न, ७०० भन्दा बढी दर्शकको सहभागिता

डार्विनमा “साउन्ड अफ नेपाल” कन्सर्ट: सबिन राई एण्ड द फारोको सांगीतिक धमाका हुने


TOP