आइतबार , भाद्र १४, २०८३

दार्चुलास्थित नेपाली आकाशमा भारतले अनुमतिबिना हेलिकप्टर उडाएपछिको तरंग काठमाडौंसम्म परेको छ।

नेपाली प्रशासनको अनुमतिबिना भारतले दार्चुला सदरमुकाम खलंगा आसपासको आकाशमा हेलिकप्टर उडाएपछि चर्काे विरोध भइरहेको छ।

भारतले हेलिकप्टर उडाएको क्षेत्रमा मानवबस्तीसँगै नेपाली सेना, प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागका कार्यालय छन् ।

सीमा सुरक्षा बल (एसएसबी) ले तुइन काट्दा महाकालीमा खसेर बेपत्ता दार्चुलाको व्याँस गाउँपालिका–२ मालगाउँका ३३ वर्षीय जयसिंह धामीको खोजीका लागि भारतले ‘ड्रोन क्यामेरा’ उडाउन दिएको थिएन।

तर उसैले नेपालको अनुमति नलिइ नेपाली आकाशमा बलपूर्वक आकाशमा हेलिकप्टर उडाएको हो।

गत साउन १५ मा बेपत्ता धामीको खोजबिनका लागि महाकालीमा ‘ड्रोन क्यामेरा’ उडाउन अनुमति माग्दै साउन २३ गते दार्चुला प्रशासनले भारतलाई पत्राचार गरेको थियो ।

तर भारतीय पक्षले त्यसको जवाफ अहिलेसम्म दिएको छैन । ‘ड्रोन क्यामेरा’ उडाउने विषयमा भारतीय पक्षको केही जवाफ नआएपछि नेपाली भूभागमा मात्रै खोजी गरिएको थियो । तर धामीको केही अत्तोपत्तो चलेन ।

अनुमतिबिना दैनिक ३÷४ पटक भारतीय हेलिकप्टर नेपाली आकाशमा उडाए पछि जिल्ला प्रशासन कार्यालय दार्चुलाले आपत्ति जनाएको छ ।

अनाधिकृत रुपमा नेपाली आकाशमा हेलिकप्टर उडाएकोबारे दार्चुलाका प्रमुख जिल्ला अधिकारी सिद्धराज जोशीले धार्चुलास्थित भारतीय जिल्ला अधिकारीलाई पत्र लेखेर उक्त काम रोक्न आग्रह गरेका छन् ।

‘६/७ महिनादेखि नै हेलिकप्टर उडिरहेको छ । तर बुधवार र बिहीवार नेपाली आकाशमै आएर दिनकै ३÷४ फन्को लगायो,’ सिडिओ जोशीले  भने, ‘त्यसपछि हामीले अनुमतिबिना के कति कारणले हेलिकप्टर उडाएको भनेर भारतीय प्रशासनको जवाफ मागेका छौँ ।’

बिहीवार भारतीय प्रशासनलाई अनुमतिबिना हेलिकप्टर उडाएको विषयको जवाफ माग्दै लेखेको पत्रबारे एक दिन बितिसक्दा पनि जवाफ नआएको उनले बताए।

नेपाली आकाशमा हेलिकप्टर उडाउन यताको प्रशासनसँग भारतीय पक्षले कुनै समन्वय र अनुमति नलिएको सिडिओ जोशीले बताए।

‘यस विषयमा गृह मन्त्रालयलाई पनि जानकारी गराएका छौँ,’ उनले भने, ‘कुनै बेला अचानक नेपाली आकाशमा उडाउनुपरे प्रशासनसँग अनुमति लिने गरिन्थ्यो। तर यस पटक अनुमति नलिएरै उडाइएको छ।’

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता


TOP