सत्तारूढ दल नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादी पार्टीका जनप्रतिनिधिले निर्वाचन आयोगमा दल रोज्ने समयसीमा भदौ २२ गतेसम्म रहेकाले मन्त्रिपरिषद्ले पूर्णता पाउन अझै एक साता लाग्ने भएको छ ।
यसैबीच प्रधानमन्त्री देउवासँगै नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पनि मन्त्रिपरिषद् विस्तारका लागि सक्रियता बढाएका छन् । बिहीबार प्रचण्डले प्रधानमन्त्री देउवा र नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष नेपालसँग छुट्टाछुट्टै भेटवार्ता गरेका छन् । प्रचण्डका प्रेस सल्लाहकार विष्णु सापकोटाका अनुसार सरकारले सार्वजनिक गरेको प्रतिबद्धताअनुसारको कामलाई अगाडि बढाउने विषयमा छलफल गर्न प्रचण्डले प्रधानमन्त्री देउवा र अध्यक्ष नेपालसँग भेटवार्ता गरेका हुन् ।
प्रधानमन्त्री शेरबहादुर देउवाको नेतृत्वमा सरकार गठन भएको डेढ महिना बितिसक्दासमेत मन्त्रिपरिषद्ले पूर्णता पाउन सकेको छैन । मन्त्रिपरिषद्लाई पूर्णता दिनका लागि सत्ता गठबन्धनका शीर्ष नेताहरूबीच छलफल भए पनि अझै मन्त्रालयको भागवण्डामा समेत सहमति जुट्न सकेको छैन । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल र जसपाका अध्यक्ष उपेन्द्र यादवले भदौ २२ गतेपछि मात्र मन्त्रिपरिषद् विस्तार गर्न आग्रह गरेअनुसार अहिले सत्ता गठबन्धनका दलहरू आन्तरिक गृहकार्यमा जुटेका छन् ।
नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष एवम् संसदीय दलका नेता माधवकुमार नेपालले भदौ २२ गते अघि मन्त्रिपरिषद् विस्तार हुने सम्भावना नरहेको बताएका छन् । उनले भने ‘मन्त्रिपरिषद् विस्तारका विषयमा २२र२३ गतेसम्म त कसैले पनि चुइँक्क बोल्दैनन् । त्यस बारेमा अहिले केही चर्चा हुँदै छ, हामी उपयुक्त समयमा छलफल गर्नेछौं ।’