
आयोजक नेपालसँग दुई मैत्रिपूर्ण खेलका लागि भारतीय टोली आज नेपाल आइपुगेको छ । भारतीय राष्ट्रिय टोली नेपाली फुटबल टिमसँग मैत्रिपूर्ण खेल खेल्नका लागि आज नेपाल आइपुगेको हो । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुगेको भारतीय टोलीलाई अखिल नेपाल फुटबल संघ (एन्फा) का उपाध्यक्ष शिक्षित पराजुलीले स्वागत गरे । विमानस्थल ओर्लिएपछि भारतीय टोलीका कप्तान सुनिल क्षेत्रीले नेपालसँगको मैत्रिपूर्ण खेल साफ तयारीका लागि महत्वपूर्ण हुने बताए । दुई सातमात्र अभ्यास गरेर टोली नेपाली टोलीसँगको मैत्रिपूर्ण खेल्न नेपाल आएको बताए ।
नेपालसँगको मैत्रीपूर्ण खेलका लागि इन्डिया फुटबल फेडेरेसनले गत शुक्रबार २५ सदस्यीय टिमको घोषणा गरिसकेको थियो । सोही टोली नेपाल आएको हो । भारतका मुख्य प्रशिक्षक इगोर स्टिमेकले कप्तान सुनिल क्षेत्री लगायतका सिनियर खेलाडीलाई समावेश गर्दै टिम घोषणा गरेका थिए । कठिन परिस्थितिमा पनि निमन्त्रणा स्विकार गरेर नेपाल आएको टोलीले नेपाल बलियो प्रतिद्वन्द्वी भएको प्रतिक्रिया दिए ।भारतले नेपालसँग त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भदौ १७ र २० गते प्रतिस्पर्धा गर्दै छ । बन्द रंगशालामा आयोजना हुने प्रतियोगितालाई नेपालले साफ तयारीको रुपमा हेरेको छ ।