मंगलबार , बैसाख २९, २०८३

सडकमाथि फोहोर, फोहोरमाथि गाडी र गाडीमाथि पनि फोहोर !

यो दृश्य हो सिसडोल ल्यान्डफिल साइटको । पन्ध्र दिनभन्दा बढी भयो संघीय राजधानी काठमाडौँको फोहोर उठ्न नसकेको । आइतबार काठमाडौँ महानगरपालिकाको संयोजनमा केही पत्रकारहरू सिसडोड ल्यान्डफिल साइट पुर्‍याइए ।

काठमाडौँबाट करिब २ घण्टामा ल्यान्डफिल साइट पुग्दा त्यहाँको कन्तबिजोक देखियो । सिसडोलको शुरू हुने बिन्दुबाट फोहोर विर्सजन गर्न झण्डै चार सय मिटर माथि पुग्नुपर्छ । शुरू बिन्दुबाटै सडकमा खुट्टा टेक्ने ठाउँ थिएन ।

साना–ठूला कुनै पनि किसिमका गाडी गुड्न सक्ने स्थिति थिएन । फोहोर बोकेको ट्रक सडकको हिलो र फोहोरमै फसेका थिए ।
ती गाडीको बिजोग देख्दा फोहोर फ्याक्ने ठाउँसम्म पुग्न सकिने हो कि होइन भन्ने शंका थियो । कहाँ खाल्डो छ र कहाँ खुट्टा टेक्न मिल्छ भनेर थाहा पाउने थिएन ।

हामी काठमाडौँ उपत्यकाको फोहोर विर्सजन हुने सिसडोल ल्याडफिल साइट पुग्नु नै थियो । अगाडि हिँड्नेलाई पछ्याउँदै गयौँ ।

हिलोमा लड्यौँ, खुट्टा भासिए, फेरि उठ्यौँ र जुत्ता हातमा बोकेर मुश्किलले हिँड्यौँ । जति अघि बढ्यो उति खुट्टा हिलोमा भासिन्थ्यो ।
फोहोरमाथि सडक, जति माथि गयो उति हिलो । कहीँकतै घुँडासम्म भासिने फोहोर ।

सडक सडकजस्तो देखिदैँन । चार सय मिटर छिचोल्न झन्डै एक घण्टा लाग्यो जहाँ फोहोरको पहाड थियो । फोहरमा हुने चरा र झिँगाले फोहोर छपक्कै छोपिएको थियो ।

फोहोरको चाङबाट कुलोमा पानी बगेझैँ लिचेड (फोहोर कुहिएर बनेको बाक्लो तरल) झरिरहेको थियो ।

यस्तो लिचेडकै गाउँघरका खेतबारीमा पुग्ने र पानीमा मिसिने समस्या रहेको र यसकै कारण बिरामी पर्ने गरेको स्थानीयवासीको गुनासो छ ।
स्थानीयवासी सुकुमाया तामाङले भनिन्, ‘फोहोरको लिचेड पिउने पानीको कुवामा पुग्छ, त्यही पानी पिउँदा बारम्बार बिरामी पर्छौं ।’

सिसडोलको डाँडाबाट वरपर हेर्दा जङ्गल र हराभरा फाँट देखिन्छ । फाँटका खेतमा धानको बोटले हरियाली छाएको छ । आँखाले देख्ने प्राकृतिक दृश्य फोहरको दुर्गन्धले फिका बनाइदिएको जस्तो लाग्थ्यो ।

यही गत भदौ ६ गते स्थानीयवासी ७० वर्षिया एक महिलाको मृत्यु भएछ । उनको मृत्यु हैँजाले भएको स्थानीयवासीको अनुमान छ । यही अनुमानका आधारमा उनीहरूले गत १० गतेदेखि फोहोर बोक्ने गाडीको बाटो बन्द गरदिएका छन् ।

महानगरले नमुना संकलन गरेर परीक्षण गरायो । परीक्षण रिपोर्टमा हैँजा प्रमाणित भएन तर स्थानीयवासीको अवरोध यथावत छ ।

साँच्चै सिसडोलमा फोहोरको पहाड रहेछ । असीमित दुर्गन्ध रहेछ । नहोस् पनि कसरी ! काठमाडौँ महानगरले २०६२ सालदेखि उपत्यकाको फोहोर ल्यान्डफिल साइटमा थुपार्दै आएको छ । ल्यान्डफिल साइट शुरू गर्दा तीन वर्षका लागि भनिएको थियो तर १७ वर्ष भयो ।काठमाडौँ उपत्यकामा दैनिक लगभग ११ सय मेट्रिक टन फोहोर उत्पादन हुन्छ । यसमध्ये ७५ प्रतिशत फोहोर सिसडोलमै विर्सजन गरिन्छ ।

फोहोर सिसडोल पु¥याउन नपाएको भदौ १० देखि मात्रै होइन । मनसुन शुरू भएदेखि नै हिलोका कारणले सडकमा समस्या छ र अवरुद्ध भइरहन्छ । यसैकारण दुई साताभन्दा लामो समयदेखि फोहोर उठेको छैन ।

आखिर कहिलेसम्म यस्तो !

सडकको समस्याले अझै केही दिन फोहोर सिसडोलमा पुग्न नसक्ने बताउँछन् महानगरका वातावरण विभाग प्रमुख हरि श्रेष्ठ ।

स्थलगत अनुगमनका लागि सिसडोल पुगेका श्रेष्ठले सडक मर्मत गरेर ठिक पार्नुबाहेक अर्को कुनै विकल्प नरहेको उनको भनाइ छ ।
उनका अनुसार घाम लागेपछि मात्रै बाटो बनाउने काम शुरू हुन्छ । तत्कालै काठमाडौँको सबै फोहोर उठ्न सम्भव छैन । अहिले घरमै फोहोर व्यवस्थापन गर्न उनको आग्रह छ ।

श्रेष्ठका अनुसार काठमाडौँको फोहोर उठ्दै नउठेको भने होइन । सामान्य अवस्थामा दिनमा दैनिक डेढ सयदेखि दुई सय गाडी फोहोर उठ्थ्यो, अहिले ५० गाडीमा सीमित छ । करिब दुई सय मिटर उकालोमा फोहोरका गाडी स्काभेटरले धकेल्नु पर्छ ।

कुरा बन्चरे डाँडाँको

उपत्यकाको फोहोरमैला व्यवस्थापनका लागि दीर्घकालीन समाधान भनेर सिसडोलबाट दुई किलोमिटर टाढा बन्चरे डाँडामा अर्को ल्यान्डफिल साइट निर्माणाधीन छ । दुई सय मिटर बाटो अझै कच्ची छ ।

बन्चरे डाँडामा ल्यान्डफिल साइटको काम एक वर्षमा सक्ने गरी २०७६ वैशाख तेस्रो साता ‘लुम्बिनी कोशी एन्ड न्यौपाने जेभी’ सँग शहरी विकास मन्त्रालयले ठेक्का सम्झौता गरेको थियो । यसको लागत भ्याटबाहेक ३४ करोड ६८ लाख रुपैयाँ छ ।

दुई वर्षभन्दा बढी भयो तर काम सकिएको छैन । कुल १ हजार ७ सय ९२ रोपनी क्षेत्रफल ओगटेको बन्चरेडाँडा ल्यान्डफिल साइट पहाडको फेदमा छ । यहाँ २५ वर्ष लागि फोहोर बिर्सजन गर्न सकिने अनुमान छ ।

आइबार करिब १० जना श्रमिकहरू काम गरिरहेका थिए । उनीहरूले काम अन्तिम चरणमा रहेको बताए ।

बन्चरेडाँडा ल्यान्डफिल साइटमा लिचड ट्यांक तयार भएको छैन । पानी पम्पिङ गर्ने ट्यांकी बनिरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

Liverpool South Ward उपनिर्वाचनमा नेपाली समुदायका अगुवा देव बहादुर गुरुङको उम्मेदवारी

Australia मा नेपाली Gen-Z सहिदहरूलाई सम्मान र नयाँ नेतृत्वलाई बधाई कार्यक्रम सम्पन्न

NRNA NT Youth Forum Multicultural Cup 2026 सम्पन्न, Northern Nepalese FC च्याम्पियन

डार्विनमा २९३ नेपालीले पासपोर्ट नवीकरण गरे

डार्विनमा “साउन्ड अफ नेपाल” भव्य रूपमा सम्पन्न, ७०० भन्दा बढी दर्शकको सहभागिता

डार्विनमा “साउन्ड अफ नेपाल” कन्सर्ट: सबिन राई एण्ड द फारोको सांगीतिक धमाका हुने


TOP