मंगलबार , बैसाख २९, २०८३

आगामी मङ्सिर दुई गतेबाट खुला सडकमा भोजन सेवा सञ्चालन नगरिने भएको छ । स्वास्थ्य क्षेत्रको जोखिम, सङ्क्रमणको सम्भावना र मानवअधिकारको संरक्षण गर्ने उद्देश्यले त्यस्तो सेवा सडक क्षेत्रबाट कुनै बन्द संरचना भित्र स्वास्थ्य मापदण्डको पालना गरी सञ्चालन गरिने जनाइएको छ ।

काठमाडौँ महानगरपालिका र भोजन सेवा सञ्चालन गर्ने संस्थाबीच भएको छलफलले उक्त निर्णय गरेको र आगामी दुई गतेबाट भने बन्द संरचनाभित्र व्यवस्थित रुपमा सेवा सञ्चालन हुने सडकमा खाना खुवाउँदै आएको हाम्रो टिम नेपालका संयोजक विमल पन्तले जानकारी दिनुभयो ।

असहाय, अशक्त र शारीरिक रुपमा काम गर्न नसक्नेलाई मानवसेवा आश्रममा खान, बस्न तथा स्वास्थ्य उपचारको प्रबन्ध गरिएको र आवश्यक समन्वयका लागि नजिककका वडा कार्यालय वा सिधै आश्रममा सम्पर्क गर्न काठमाडौँ महानगरपालिकाले अनुरोध गरेको छ । उक्त आश्रम काठमाडौँ महानगरपालिकाको सहकार्यमा सञ्चालित छ ।

आश्रमका अध्यक्ष रामजी अधिकारीले त्यस्ता सडक मानवलाई यसअघि सेवा दिइरहेको र आगामी दिनमा पनि सेवा दिन तयार रहेको जानकारी दिनुभयो । उहाँका अनुसार मुलुकका २२ शाखामार्फत अहिले झण्डै एक हजार २०० ले यसरी सेवा पाइरहेका छन् । अधिकारीले महानगरको सहकार्यमा उपत्यकालाई सडक मानवरहित बनाउने अभियान जारी रहेको बताउनुभयो ।

अन्य व्यक्तिको हकमा भने बन्द संरचनाभित्र सेवा सञ्चालन गर्न सम्बद्ध संस्थालाई महानगरपालिकाले अनुरोध गरेको छ । काठमाडौँ महानगरपालिकाले एक सूचना नै जारी गरी सबै सामाजिक सङ्घ संस्थालाई बन्द संरचना भित्र उक्त सेवा सञ्चालन गर्न भनेको छ । त्यसका लागि महानगरपालिका तथा वडा कार्यालयबाट आवश्यक समन्वय र सहयोग रहने जनाइएको छ ।

महानगरपालिकाले कोभिड–१९ का कारण रोजगारी गुमाएका श्रम गर्न सक्नेलाई जीवन निर्वाहका लागि पारिश्रमिक कार्यविधि २०७७ बमोजिम रोजगारी उपलब्ध गराउने भएको छ । आश्रमसँगको सहकार्यसँगै काठमाडौँ महानगरपालिकाले घोषणा गरेको ‘भोकै कोही पर्दैन, भोकले कोही मर्दैन’ र ‘काठमाडौँ मानवीयताको नगर’ अनुरुप स्रोत साधनले भ्याएसम्म राहत वितरण, सामूहिक भोजन सेवा, रोगको सङ्क्रमण नियन्त्रण रोकथामको कार्य सञ्चालन गरिएको जनाएको छ । उक्त कार्यमा सहयोग गर्ने सबै संस्था तथा व्यक्तिलाई महानगरले धन्यावाद समेत दिएको छ ।

सडकमा मजदूरलाई खाना खुवाउँदै आएको संस्था हाम्रो टिम नेपालका संयोजक पन्तले अहिले सडकमा खाना खुवाउने क्रम जारी रहेकाले महानगरसँग सहकार्य गरेर मङ्सिर दुई गतेबाट थप व्यवस्थित गरिने जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

Liverpool South Ward उपनिर्वाचनमा नेपाली समुदायका अगुवा देव बहादुर गुरुङको उम्मेदवारी

Australia मा नेपाली Gen-Z सहिदहरूलाई सम्मान र नयाँ नेतृत्वलाई बधाई कार्यक्रम सम्पन्न

NRNA NT Youth Forum Multicultural Cup 2026 सम्पन्न, Northern Nepalese FC च्याम्पियन

डार्विनमा २९३ नेपालीले पासपोर्ट नवीकरण गरे

डार्विनमा “साउन्ड अफ नेपाल” भव्य रूपमा सम्पन्न, ७०० भन्दा बढी दर्शकको सहभागिता

डार्विनमा “साउन्ड अफ नेपाल” कन्सर्ट: सबिन राई एण्ड द फारोको सांगीतिक धमाका हुने


TOP