लुम्बिनी प्रदेशमा दुई सांसदलाई पदबाट हटाउने विषय झन् पेचिलो बन्दै गएको छ । सरकार मन्त्रीसमेत बनेका विना विभागीय मन्त्री अजय शाही र उपनिर्वाचनमा नेकपाबाट चुनाव जितेकी विमला खत्री वलीको विषयलाई लिएर सत्ता पक्ष र विपक्षी एमालेबीचको द्वन्द्व झन् बढ्दै गएको छ ।
शाही र वलीले सूर्य चिन्ह लिएर चुनाव जितेकाले पार्टीले गरेको कारबाही मान्दै सभामुखले हटाउनु पर्ने माग एमालेको रहेको छ । सोही माग लिएर निरन्तर दुई दिन सदन अवरुद्ध गरेको थियो । एमालेले अहिले पनि सोही अडान कायम रहेको नेकपा एमाले संसदीय दलका सचिव तथा पूर्व स्वास्थ्य मन्त्री भोजप्रसाद श्रेष्ठले बताए । उनले विधि र कानुन सम्मत नचलेसम्म प्रदेश सभा अवरुद्ध गर्ने बताएका हुन् ।