नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माधवकुमार नेपाललाई साथ दिएका नेताहरुलाई एमालेमा फर्किन अपिल गरेका छन् ।
बिहीबार भक्तपुरमा आयोजित कार्यक्रममा अध्यक्ष ओलीले नयाँ दल दर्ताको निवेदनबाट आफ्नो नाम फिर्ता लिन आग्रह गरेका हुन् ।
उनले नयाँ दल दर्ताको लिष्टबाट आफ्नो नाम कटाएर पार्टीमा आउन आग्रह गर्दै मिहिनेतले बनाएको पार्टीमा मिलेर काम गर्न अपिल गरेका हुन् । उनले भने- ‘त्यो लिस्टबाट नाम कटाएर आउनुस, तपाईं हामीले बनाएको पार्टी हो, मिलेर काम गरौं । कसैको व्यक्तिगत स्वार्थ, अहंकार, कुण्ठा र इर्श्याका लागि पार्टी र आन्दोलनलाई कमजोर बनाउनु हुन्न ।’
अध्यक्ष ओलीले एमालेलाई फुटाउन नै सरकारले अध्यादेश ल्याएको आरोप लगाउदै आफुहरुले अलिकति मिहिनेत गरेमा नेपाल पक्षमा २० प्रतिशत पनि नपुग्ने दाबि गरे । नेता नेपाललाई अध्यक्ष पद चाहिएर नयाँ दल दर्ता गरेको बताउदै ओलीले एमाले अचानक बनेको पार्टी नभएकोले यसले कुनै फरक नपर्ने बताए । आफ्नो कार्यकालमा देशमा धेरै विकासका काम भएकाले त्यसलाई लिएर अब जनतामा जाने बताए ।
अध्यक्ष ओलीले अहिले पनि आफुहरु बलियो र देशको ठुलो पार्टी रहेको दाबि गर्दै आगामी निर्वाचनमा बहुमत ल्याएर फेरी सरकार बनाउने बताए ।