सोमबार , बैसाख ८, २०८२

नारायण शर्मा

संसदीय व्यवस्था: विगतमा पूँजीवाद, पूँजीवादी प्रजातन्त्र र संसदीय बहुदलीय जननिर्वाचित शासन व्यवस्था सामन्तवाद, राजतन्त्र र निरंकुश निर्दलीय जहानियाँ हुकुमी शासन व्यवस्थाका तुलनामा प्रगतिशील, अग्रगामी, क्रान्तिकारी मात्र होइन जनमुखी, लोकतान्त्रिक, युगान्तकारी र राष्ट्रवादी व्यवस्था हो। समयक्रमसँगै यसमा अन्तर्निहित केही विशेष दुर्गुणहरूका कारण र पूँजीवादको साम्राज्यवादमा विकास/पतन भएसँगै संसदीय व्यवस्था प्रतिगामी, प्रतिक्रान्तिकारी र प्रतिक्रियावादी मात्र होइन जनविरोधी, अधिनायकवादी, युद्धपीपासु, फासिवादी, भ्रष्ट र राष्ट्रघातीसमेत भएको तीतो यथार्थ जगजाहेर छ।

तथापि आधुनिक पूँजीवादी शासनव्यवस्थाका रूपमा स्थापित यो व्यवस्थाका केही राम्रा पक्षहरू पनि छन्। ती हुन्- आवधिक निर्वाचन र निर्वाचितहरुद्वारा विधि विधानमा आधारित लोकतान्त्रिक शासन प्रणाली, संवैधानिक सर्वोच्चता, संसदीय सार्वभौमिकता, वैयक्तिक, राजनैतिक एवं वाक-प्रकाशन स्वतन्त्रता, मानव अधिकारको सम्मान, राज्यसत्ता सञ्चालनका हर क्षेत्रमा समावेशी समानुपातिक प्रतिनिधित्वद्वारा नीति निर्माणमा सहभागिता, कानूनका आँखामा सबै बराबरको व्यवस्था आदि ! तर विडम्बना पूँजीवादको साम्राज्यवादमा विकास/पतन भएपछि उत्पीडित राष्ट्रहरूमा सामन्तवादसँग साम्राज्यवादको गठजोड द्वारा वा दलाल तथा नोकरशाही पूँजीपति वर्गसँगको साँठगाँठद्वारा जसरी संसदीय व्यवस्था लादियो, त्यसपछि यो पनि सामन्तवाद, साम्राज्यवाद र दलाल तथा नोकरशाही पुँजीवादको सेवा गर्ने हतियारमा परिणत भयो।

एकातिर नेपालजस्ता अर्धसामन्ती र अर्ध/नव औपनिवेशिक देशहरूमा औद्योगिक पुँजीको यथेष्ट विकास नभइसकेको, उत्पादक शक्ति कमजोर नै रहेको, सामन्ती उत्पादन प्रणाली पनि पुरै नबदलिएको र उत्पादन-सम्बन्ध समेत पुरानै रहेकोले संसदीय व्यवस्थाको लागि उपयुक्त आर्थिक आधार रुपी जग राम्रोसँग बसिसकेको हुँदैन। यो अवस्थामा आर्थिक, सामाजिक र सांस्कृतिक रूपले अविकसित सामन्ती उत्पादन-प्रणालीको कमजोर जगमा उपरिसंरचनाको रूपमा जबरजस्त ठडाइएको पूँजीवादी व्यवस्था अर्थात् बहुदलीय संसदीय व्यवस्था स्वयंमा टिक्न मुस्किल पर्छ। सामन्ती-पूँजीवादी प्रतिक्रियावादी वर्ग र व्यक्तिका सोच, संस्कार र संस्कृतिमा रहेका विविध कमीकमजोरीका कारण आज सजिलै विश्वसाम्राज्यवादले सीधै वा त्यसका विस्तारवादी, हैकमवादी र प्रभुत्ववादी क्षेत्रीय दलाल शक्तिहरू मार्फत साना, कमजोर, अविकसित र गरिब मुलुकहरूमा शोषण-दमन र हस्तक्षेप मच्चाउँछ र मच्चाइनै रहेको छ।

यसले गर्दा राजनैतिक शक्ति, संघसंस्था र व्यक्तित्व-नेतृत्वहरु समेत साम्राज्यवाद र विस्तारवादसँग बिक्ने, झुक्ने र चुक्ने गर्दछन्। कथंकदा उनीहरू चुकेनन् र झुकेनन् भने पनि त्यहाँ प्रत्यक्ष राजनीतिक, आर्थिक र फौजी हस्तक्षेप वा जालझेल, षड्यन्त्र र हत्याका विभिन्न सीन-अनसीन/प्रत्यक्ष-अप्रत्यक्ष वारदातहरु हुन्छन्। फलस्वरूप अस्थिरता, अराजकता, अस्तव्यस्तता, अशान्ति र अन्योलको भुमरीमा त्यो देश फस्ने हुन्छ। त्यसैले त्यहाँ संसदीय व्यवस्थाका कतिपय राम्रा कुराहरू हुँदाहुँदै पनि यो व्यवस्था असफल र अफाप हुने गर्दछ र नेपालमा पनि यही भइरहेको छ।

संसदीय व्यवस्थाः

१. पूँजी प्रधान, व्यक्ति-परिवारकेन्दृत प्रजातन्त्र ( चुनाव र निर्वाचन प्रणाली) हो अर्थात् मुठ्ठीभर हुनी खानी, धनीमानी र टाठा बाठा शोषक-शासकहरूको लागि स्वतन्त्रता, न्याय, विकास, समृद्धि र सुखशान्ति प्रदान गर्ने स्वर्गीय व्यवस्था हो भने बहुसंख्यक जनताको लागि नर्क नै हो।

२. आर्थिक, सामाजिक र सांस्कृतिक असमानता, अनेकता, अशान्ति, अन्याय, अत्याचार, शोषण, उत्पीडन, पक्षपात, भ्रष्टाचार, कालोबजारी, दलाली, कमिसन खोरी र घुस खोरीजस्ता विकृति-विसंगतीहरुको प्रचुरता हुने व्यवस्था नै हो।

उदाहरणार्थ- संसदीय व्यवस्था भएको सबैभन्दा पुरानो देश बेलायत, सबैभन्दा पावर फुल देश अमेरिका र सबैभन्दा धेरै जनताले संसदीय व्यवस्थाको अभ्यास गरेको भनेर फुर्ती लगाउने देश भारतलाई हेरे मात्र पुग्छ। त्यसमाथि साविक शास्त्रीय संसदीय व्यवस्था र त्यसमा परिमार्जन गरी बढी लोकतान्त्रिक, समावेशी र अधिकार विकेन्द्रित गरिएको संघीय लोकतन्तृक गणतन्त्रात्मक संसदीय व्यवस्था भएको हाम्रै देश नेपाललाई हेरे वा भोगेबाट यो कस्तो व्यवस्था हो भन्ने प्रत्यक्ष अनुभूत हुन्छ।

यसरी एकातिर अतिरिक्त मूल्यको शोषणको जगमा निर्मित शोषणमूलक पुँजीवादलाई संरक्षण र संवर्द्धन गर्ने गरी विकसित गरिएको संसदीय व्यवस्थाका आफ्नै चारित्रिक कमजोरीहरूका कारण र अर्कातिर साम्राज्यवादको प्रत्यक्ष-अप्रत्यक्ष वैदेशिक हस्तक्षेपको सिकार हुनुपर्दा नेपालजस्ता अर्धसामन्ती र अर्धऔपनिवेशिक अर्थात् अविकसित र वैदेशिक शोषण-उत्पीडनमा परेका देशमा संसदीय व्यवस्थाको रूप र चरित्र पूँजीवादी प्रजातान्त्रिक, राष्ट्रवादी, जनकल्याणकारी र प्रगतिशील होइन कि दलाल पुँजीवादी, राष्ट्रघाती र जनविरोधी मात्र नभएर प्रतिगामी र तानाशाही समेत हुन्छ।

फलस्वरूप संसदीय व्यवस्था भएका यस्ता देशहरूमा भ्रष्टाचार, अनियमितता, घुस खोरी, कमिसन खोरी, दलाली, चोरी डकैती र गुण्डागर्दी, साम्प्रदायिकता र जस्ता कुराहरूले प्रश्रय पाउँदा दलाल तथा नोकरशाही पूँजीवादजस्ता भ्रष्ट पूँजीवाद र आसेपासे पूँजीवादजन्य विकृति-विसंगतीहरु बढ्नुको साथै बिचौलिया र वाहुवलीहरुको विग्विगी र बोलवाला बढ्छ र देश दिनप्रतिदिन विकास तिरभन्दा विनाशको खाडलतिर धकेलिँदै जान्छ। यसरी यो संसदीय प्रजातन्त्र रूपमा सबैको भनिए पनि सारमा ५ प्रतिशत धनीमानी र टाठाबाठाहरुको मात्र प्रजातन्त्र हो। त्यसैले यसको विकल्पमा समाजवादी व्यवस्था आएको हो।

समाजवाद/वैज्ञानिक समाजवादः

श्रम-श्रमिकप्रधान, समाज प्रधान र न्याय-समानताप्रधान ९५ प्रतिशत जनताको हकहित र मुक्ति प्रगतिलाई केन्द्र बनाएर वास्तविक प्रजातन्त्र र स्वतन्त्रता उपलब्ध भएको, समग्रमा हुने विकास र समृद्धिमार्फत सुखशान्तियुक्त स्वच्छ, समृद्ध, स्वाभिमानी र आत्मनिर्भर व्यवस्था हो समाजवाद। पूँजीवादी आर्थिक आधारको निर्माण, उत्पादक शक्ति र उत्पादन-सम्बन्धको विकास, सामूहिक उत्पादन प्रणालीको अवलम्बन, राज्यनियन्तृत आत्मनिर्भर अर्थतन्त्रको निर्माण र पर्याप्त उत्पादन भएमा मात्र समाजवाद हुन्छ र टिक्न सक्छ। राष्ट्रिय, जनवादी र औद्योगिक क्रान्ति समेत भएर जनताले यथेष्ट प्रजातान्त्रिक हक-अधिकार प्राप्त एउटा स्वाधीन र सार्वभौमसत्ता सम्पन्न मुलुकको रूपमा विकसित भएको देशमा औद्योगिक पूँजीको आवश्यक विकास भएपछि त्यसैको जगमा निर्माण हुने उपरि संरचना हो समाजवादी शासनव्यवस्था।

तर समाजवादी व्यवस्थाका कतिपय राम्रा पक्षहरू जस्तो कि आर्थिक समानता, सामाजिक न्याय, राष्ट्रिय स्वाधीनतालगायतका कुराहरू देखाएर र कतिपयलाई सापेक्षित रूपमा लागू पनि गरेर आफूलाई समाजवादी बताउने पुँजीवादी र फासिवादीलगायतका धेरै थरीका नामका, ढोंगी, पाखण्डी र छद्म समाजवादीहरू पनि छन्। अन्तर्राष्ट्रिय स्तरमा हिट्लरको राष्ट्रिय समाजवाददेखि राष्ट्रिय स्तरमा नेका, जसपा जस्ता घोर जनविरोधी, राष्ट्र विरोधी र क्रान्ति विरोधी अर्थात् साम्राज्यवाद र विस्तारवादका दलालहरूसम्मले आफ्ना पार्टीका दस्ताबेज, चुनावी घोषणापत्र र देशकै संविधानमा समेत समाजवाद भन्ने, लेख्ने र त्यसैलाई देखाएर आफ्नो रोटी सेक्ने गरेको विचित्र विडम्बनापूर्ण स्थिति समेत छ।

तथापि विगतमा सोभियत संघ र पूर्वी युरोप अनि वर्तमानमा चीन, उत्तर कोरिया र क्युवा आदि देशहरू जो साम्यवाद उन्मुख थिए र छन् अनि भविष्यमा ढिलो चाँडो र थोरै धेरै रूपमा साम्यवादतिर जाँदै थिए र जाँदै छन्, ती आआफ्नै मौलिकता र विशिष्टतामा आधारित समाजवादी व्यवस्थाहरू नै भनिएका छन् र मान्नु पनि परेको छ।

समाजवादलाई वैज्ञानिक भन्नुको अर्थः

१. समाजवाद समाजको ऐतिहासिक विकास क्रममा अनिवार्यरुपले आवश्यक र अवश्यम्भावी व्यवस्था हो। साथै क्रान्तिकारी र सही हुनाले यसलाई वैज्ञानिक भनिएको हो।

२. प्लेटोदेखि सेण्ट साइमन, रोबर्ट ओवेन र चार्ल्स फुरिएसम्मले परिकल्पना गरेको समाजवाद अस्तुवादी, अव्यवहारिक र काल्पनिक हो। किनकि, काल्पनिक समाजवाद वर्ग, वर्गसंघर्ष, बल प्रयोग, सर्वहारा अधिनायकत्व र निरन्तर क्रान्तिजस्ता क्रान्तिकारी सिद्धान्तहरूलाई उपेक्षा गरेर कल्पना गरिएको हुन्छ। यसै गरी उत्पादन प्रणाली, उत्पादक शक्ति, उत्पादन सम्बन्ध र पूँजीको यथेष्ट विकासजस्ता आधारभूत सैद्धान्तिक मान्यताहरूलाई नजर अन्दाज गरी एक प्रकारले समाजवादको रहर-रहरमै परिकल्पना गरिएकोले यो अवैज्ञानिक,अस्तुवादी, अव्यवहारिक, अवास्तविक र असम्भव हुन्छ। त्यसैले यसलाई काल्पनिक भनिएको हो।

तर, वैज्ञानिक समाजवाद समाज विकासका आधारभूत र वैज्ञानिक नियमहरूमा आधारित भएर इतिहासको भौतिकवादी दृष्टिले गहन अध्ययन-अनुसन्धान र व्याख्या-विश्लेषणबाट पूँजीवादको विकाशपछि त्यसकै चिहानमा समाजवाद अनिवार्य र अपरिहार्य रूपले आउने ठोस र परिपक्व संश्लेषण भएकोले यो नितान्त वस्तुवादी हुने हुँदा यसलाई वैज्ञानिक समाजवाद भनिएको हो। समाज विकासका क्रममा यो सम्भव, आवश्यक र अनिवार्य भई साम्यवाद उन्मुख राज्यव्यवस्थाका रूपमा साम्यवादको आधार-पूर्वाधार तयार पार्ने गरी विकसित र सञ्चालित हुने साम्यवादको अघिल्लो चरणको व्यवस्था भएकोले पनि यसलाई वैज्ञानिक समाजवाद भनिएको हो।

वैज्ञानिक समाजवादबारे स्पष्ट हुनुपर्ने कुराहरूः

१. देशमा आर्थिक, राजनीतिक, सामाजिक, सांस्कृतिक लगायत समग्र पक्षमा यथेष्ट विकास भई जनता-मजदुरवर्गमा अग्रगामी चेतना, वर्ग र वर्गसंघर्ष लुप्तप्राय:, उत्पादनमा प्रचुरता, राज्य र समाजनियंत्रित अर्थतन्त्र र आर्थिक विकास, समाजमा न्याय-समानता र स्वतन्त्रता अनि समग्रमा समृद्धि भई सुखशान्ति बहाल भएको।

२. अतिरिक्त मूल्यको सिद्धान्त अनुसार र अन्य कुनै पनि प्रकारले मजदुरहरूमा शोषण-उत्पीडन नभएको।

३. वस्तुको उत्पादन र वितरण सामूहिक, सर्वहारा वर्गीय, शोषित पक्षीय र उत्पीडित उन्मुख भएको।

४. विचार, बल, विधि, बुद्धि र विवेकसम्मत रूपमा वर्गसंघर्षको माध्यमद्वारा प्राप्ति, संरक्षण र संवर्द्धन गरिएको र गरिने।

५. समाज विकासको अवस्था र राज्यसत्ताको आवश्यकता अनुसार जनताको जनवादी वा सर्वहारा समाजवादी अधिनायकत्वको प्रयोग जनता, जनप्रतिनिधि र संस्था, राज्य र कम्युनिस्ट पार्टीमार्फत प्रयोग गरिने गरिएको।

६. राज्य र समाजको साध्य साम्यवाद निश्चित गरिएको।

७. नयाँ जनवाद वा समाजवादमा पुग्ने बाटो-विधि वा साधन क्रान्ति, हिंसा वा बल प्रयोगलाई सैद्धान्तिक रूपमा अवलम्बन र आवश्यकता अनुसार कार्यान्वयन गरिएको।

८. सर्वहारा अन्तर्राष्ट्रियतावाद अनुसार अन्तर्राष्ट्रिय सम्बन्ध भएको र क्रान्ति नभएका र समाजवाद नभएका देशहरूको लागि क्रान्तिमा सहयोग-समर्थन र क्रान्ति भएका समाजवादी राष्ट्रहरूसँग आपसी सहयोग, समर्थन र सहकार्य गर्दै पूँजीवादी-साम्राज्यवादीजस्ता प्रतिक्रियावादी राष्ट्रहरूसँग आवश्यक परे सम्बन्ध विच्छेद, विरोध र बल प्रयोग गर्न तयार रहेको।

९. विश्वक्रान्ती र विश्वमुक्ती गरी विश्वस्तरमा साम्यवादको प्राप्ति गर्न प्रतिबद्ध र कटिबद्ध भएको।

यस्तो व्यवस्था नै वैज्ञानिक समाजवादी शासन व्यवस्था हो। माथिको संक्षिप्त परिचयात्मक तुलनाबाट संकेत मिल्छ कि संसदीय व्यवस्था र वैज्ञानिक समाजवादी व्यवस्था के कस्ता व्यवस्था हुन् ? यिनमा के कति फरक छ ? यी कसरी जन्मन्छन् र विकसित हुन्छन् ? अनि यीमध्ये कुन व्यवस्था देश र समाजमा उचित र आवश्यक हुन्छ ? यी प्रश्नहरूको उत्तरसँगै आआफ्नो देशमा कुन व्यवस्था रोज्ने भन्ने कुरा जनताको स्वचेतना र स्वविवेकमा भर पर्ने भएकाले हामीले जनचेतना बढाउन र आवश्यकताअनुसार संघर्ष गर्न जरुरी छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

अस्ट्रेलियाका गीतकार विनोद अधिकारीका सिर्जना छिटै बजारमा आउंदै

१९औ पोखरा अन्तराष्ट्रीय म्याराथन मा सहभागी अष्ट्र्लियाका दशमी गुरुगं ५ किमि भेट्रान्स मा देश्रो ।

फेरि बिग्रियो प्रचण्ड–जनार्दन सम्बन्ध, बैंककमा ओलीसँग डिनर, सिंहदरबारमा विष्णु पौडेलसँग फोटो!

लेखकले कुलमानलाई नहटाऔँ भन्दा खड्का र राणा कड्किए- अहिले नहटाए कहिले?

अस्ट्रेलियाको डार्विनमा बहु सास्कृतिक होलि पर्व मनाइदै

ओली सरकार ढाल्न चलखेल सुरु, कांग्रेससँग गृहकार्य भइरहेको माओवादी नेता दाहालको खुलासा


TOP