मंगलबार , अषोज २७, २०८३

कञ्चनपुरको भीमदत्त नगरपालिका–८ तिलाचौरका गगनसिंह ऐरी नेपालले खेल्ने क्रिकेट खेल प्रायः छुटाउँदैनन्। घरायसी कामबाट जसोतसो फुर्सद निकालेर पनि क्रिकेट हेर्न बसिहाल्छन्।

उनका साइँला छोरा दीपेन्द्र सिंह नेपाली राष्ट्रिय क्रिकेट टोलीमा छन्। त्यसैले पनि गगनसिंहको क्रिकेटप्रति चासो बढेको हो। एसियन गेम्समा बुधबारको नेपाल र मंगोलियाबीचको खेल भने हेर्न छुटाए, उनले।

घरको टेलिभिजनमा रिचार्ज सकिएको थियो। खेल हेर्न रिचार्ज ल्याउन उनी स्थानीय सुकासाल बजार पुगे। त्यहाँका एक पसलेले दीपेन्द्रले विश्वकिर्तिमान राखेको भनेर गगनसिंहलाई मोबाइलमा छोराको खेल देखाए र बधाई दिए।

‘घर पुग्दासम्म खेल सकिसकेको थियो, अर्को टीम ४१ रनमै समेटिएछ,’ उनी भन्छन्, ‘छोराले विश्वकीर्तिमान राखेर घरपरिवार, गाउँ र देशलाई नै विश्वमाझ चिनाएको छ, निकै खुसी लागेको छ।’

दीपेन्द्रले मंगोलियासँगको खेलमा अत्याधिक छिटो अर्धसतक बनाउने दुर्लभ कीर्तिमान बनाएका छन्। उनले ९ बलमै ५० रन पूरा गरे। भारतका दिग्गज क्रिकेटर युवराजसिंहको किर्तिमान उनले तोडे। यो यस्तो रेकर्ड हो जुन कहिल्यै तोडिने छैन।
अन्तिम दुई ओभरका १० बलको सामाना गरेका उनले ५२ रन बनाएका थिए। यसअघि क्रिकेटर युवराजसिंहले सन् २००७ मा इङल्याडविरुद्ध १२ बलमा अर्धसतक पूरा गरेको कीर्तिमान थियो।

नेपालको मंगोलियामाथिको ऐतिहासिक कीर्तिमानी जितमा दीपेन्द्रले पनि समावेश छन्। छोराको यो किर्तिमानपछि उनका बुवालाई अहिले पनि बधाई थाप्न भ्याइनभ्याइ छ।

मोजाको बल, गह्रा मैदान
दीपेन्द्र सानैदेखि खेलकुदमा रुचि राख्थे। विद्यालयमा हुने हरेक खेलमा सहभागी भएर उनी प्रथम स्थान हासिल गर्थे। क्रिकेटमा लगाव धेरै थियो, उनको।

दीपेन्द्र ठाउँ–ठाउँमा हुने क्रिकेट टुर्नामेन्ट खेल्न गइरहन्थे। गाउँमा क्रिकेट मैदान हुँदैनथे। बल पनि भेट्टाउन गाह्रो हुन्थ्यो।
कहिले खेती भित्र्याएपछि खाली बनेका गह्रालाई मैदान बनाउँथे त कहिले खोलाका किनारका चौरलाई। बल नहुँदा मोजाभित्र भुस राखेर पनि क्रिकेट खेल्थे, दीपेन्द्र।

‘खेलमा सानैदेखि रुचि हो, गह्रा, खोला किनारमा मोजाको बल बनाएर क्रिकेट खेल्थ्यो,’ दीपेन्द्रका बुवा गगनले भने, ‘घरबाट पनि हामीले सपोर्ट नै गरेका थियौँ।’

दीपेन्द्रको घर नजिकै सानो जंगल छ। जंगल नजिकै गज्जर खोला। त्यहीँ जंगलमा उनले अभ्यास गर्न आफ्नै लगानीमा ५ वर्षअघि पिच बनाए।

राष्ट्रिय टोलीमा परिसकेपछि घर आएका बेला गाउँका बालबालिकालाई समेटेर त्यहीँ पिचमा अभ्यास गर्थे। झुललाई नेट बनाएर राखेका थिए।

‘अहिले त बोटबिरुवा ठूलो भए, पिच पनि जीर्ण बन्दै गयो, कोही खेल्दैनन्,’ भीमदत्त नगरपालिका–१० गज्जरका स्थानीय मनोज महराले भने, ‘खोलाले कटान पनि गरिरहेको छ।’

क्रिकेटप्रतिको जुनुन
दीपेन्द्र बिहानै ५/६ किलोमिटर हिँडेर क्रिकेट सिक्न महेन्द्रनगर खुलामञ्च र कबर्ड हल पुग्थे। वि.सं. २०५६ सालमा जन्मिएका दीपेन्द्रले कक्षा १० सम्मको पढाइ गाउँकै विद्यालयबाट गरेका थिए।

त्यसपछि उनले उच्च शिक्षा सनराइज कलेज महेन्द्रनगरबाट गरे। कलेज पढ्दै गर्दा उनी त्यहाँबाट विभिन्न ठाउँमा क्रिकेट खेल्न गए। त्यसै क्रममा प्रदर्शन गरेको जादुमयी क्रिकेट कलाले उनी राष्ट्रिय टोलीमा पर्न सफल भएका थिए।

‘ऊ (दीपेन्द्र) निकै मिहेनती थियो, उसमा क्रिकेटको जुनुन थियो, त्यहीँ जुनुनले कतिधेरै दुःखकष्ट छिचोल्दै आज ऊ यो स्थानमा पुगेको हो,’ १३ वर्ष कञ्चनपुरमा क्रिकेट प्रशिक्षण गराएका वीरेन्द्र शाही भन्छन्, ‘उसको आफ्नै तरिकाको खेल छ, क्रिकेटको जस्तो सुकै जिम्मेवारी पनि उसले सजिलै ह्याण्डल गर्न सक्छ।’

शाहीले दीपेन्द्रलाई प्रशिक्षण गरेका थिए। उनले करिब १३ वर्ष कञ्चनपुरमा क्रिकेट प्रशिक्षकको भूमिका निर्वाह गरे। उनै दीपेन्द्र अहिले क्रिकेट प्रशिक्षकका रुपमा कर्णाली प्रदेशमा छन्।

‘त्यो खेल्ने पिच नै थिएन, सुरुमा मञ्चमा अभ्यास गराउँथ्यौँ, बिहान बेलुका हामी गएर खेलाडीहरूलाई गाइड गर्थ्यौँ,’ शाहीले भने, ‘आफैंले पैसा उठाएर कबर्ड हलमा पिच बनायौँ, १३ वर्ष स्वयम्सेवी भएर प्रशिक्षण गरियो, खेलाडीले विश्वमाझ देशलाई चिनाउँदा निकै हर्षित छुँ।’

उनका अनुसार दीपेन्द्रले ब्याटिङ, बलिङ र फिल्डिङ सबै पक्षमा आफूलाई प्रमाणित गरेका छन्। दीपेन्द्र सुरुमा पेस बल फाल्थे। पछि ढाडको समस्याले गर्दा बलिङमा चुनौती देखिएपछि उनी स्पिन बल फाल्न थालेका हुन।

सुरुमा दीपेन्द्रलाई ब्याटिङको चोथो क्रमतिर खेलाइथ्यो। अहिले उनी ‘मिडिल अर्डर’ र ‘फिनिसर’का रुपमा छन्।

‘कोचले आवश्यकताअनुसार खेलाडीलाई खेलाउँछन्, दीपेन्द्र अहिले अन्तिमतिर ब्याटिङमा आउँछन्, त्यहाँ पनि उनले आफूलाई प्रमाणित गरेका छन्,’ शाही भन्छन्, ‘उनी मजाले टिकेर पनि खेल्न सक्छन्, आक्रमक खेल्न पनि समस्या छैन।’

विश्व कीर्तिमान
२३ वर्षीय दायाँ हाते ब्याट्सम्यान दीपेन्द्रले सन् २०१७ को मार्च ११ मा केन्याविरुद्धको खेलबाट नेपाली राष्ट्रिय टोलीमा स्थान बनाएका हुन्। त्यसअघि उनी उमेर समूहको नेपाली टोलीमा थिए।

त्यहाँ उनले आफ्नो क्षमता प्रदर्शन गरिसकेका थिए। आईसीसी विश्वकप लिग च्याम्पियनसिपमा तत्कालीन कप्तान पारस खड्का घाइते भए। उनको विकल्पमा ऐरीले केन्याविरुद्धको खेलमा डेब्यू गरे।

अहिले उनै पारस नेपाल क्रिकेट संघ (क्यान) को सचिव निर्वाचित भएकै साता ऐरीले विश्व कीर्तिमान रचे।

अलराउण्डर ऐरी अहिले नेपाली क्रिकेट टोलीका बलिया खम्बाका रुपमा चिनिन्छन्। सन् २०१८ मा नेदरल्याण्डस्विरुद्धको खेलबाट उनले नेपाली टोलीबाट ओडीआईमा डेब्यू गरेका हुन्।

अहिलेसम्म नेपालका तर्फबाट ५२ ओडीआई म्याच खेलेका ऐरीले ८८९ रन बनाएका छन्। यस्तै खेलको ४५ टी–२० प्रतियोगितामा नेपालका लागि एक हजार १५५ रनको योगदान गरेका छन्।

उनले अहिलेसम्म खेलका अन्तर्राष्ट्रिय खेलमा ओडिआईमा ३६ र टी–२० मा २२ विकेट लिएका छन्।

उनी नेपाल प्रहरीको क्रिकेट क्लबमा पनि आवद्ध छन्। दीपेन्द्रले फ्रेन्चाइस लिग समेत खेल्ने अवसर पाएका छन्। निकै संघर्ष गरेर सुदूरपश्चिमबाट क्रिकेटमा उदाएका दीपेन्द्रले दुर्लभ किर्तिमान बनाएपछि चर्चामा छन्।

खेलकुदप्रेमी परिवार
गगनसिंहका ४/४ छोराछोरी गरेर ८ सन्तान छन्। तीमध्ये दीपेन्द्र साइँला हुन। उनी मध्यम वर्गीय परिवारबाट प्रतिनिधित्व गर्छन्।

बुवा गगन वन विभागमा वन रक्षक पदमा काम गर्थे। वि.सं. २०३३ सालमा जागिरे भएका उनी केहीवर्ष अघि रिटायर्ड भए।
त्यति मात्रै होइन, गगनसिंह तेक्कान्दो र भलिबलका खेलाडी पनि हुन। दीपेन्द्रका जेठा दाइ रमेश र माइला भूपेन्द्र पनि क्रिकेट खेल्थे। जिल्लास्तरमा उनीहरूले क्रिकेट खेलेको गगनसिंह सुनाउँछन्।

‘उनीहरुको पनि क्रिकेटमा धेरै रुचि हो, जिल्लास्तरमा धेरै खेल खेले,’ उनी भन्छन्, ‘पछि खेल छोडेर उनीहरू पढाइतिर केन्द्रीत बने।’
सशस्त्र प्रहरीमा जागिरे छोरी राजमती पनि क्रिकेट खेल्छिन्।

भारतलाई हराएको त्यो खेल
नेपालले छिमेकी भारतलाई क्रिकेटमा अहिलेसम्म एक पटक मात्रै हराएको छ। १९ वर्षमुनिको टोलीले क्रिकेटको महारथी मानिने भारतविरुद्ध ऐतिहासिक जित निकाल्दा ऐरीले महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए।

उनी यू–१९ एसिया कप २०१७ को त्यो खेलमा नेपालका कप्तान थिए। सो खेलमा उनले भारतविरुद्ध ८८ रन बनाएका ‘म्यान अफ द म्याच’ बनेका थिए। नेपाली राष्ट्रिय टोलीमा तुलनात्मक रुपमा सुदूरपश्चिम क्षेत्रका खेलाडी धेरै समेटिने गरेका छन्।

पर्याप्त खेल संरचना र खेलकुद प्रतियोगिताको अभावमा क्रिकेटमा उदायमान खेलाडीले नेपाली क्रिकेटको उज्जव भविष्य कोरिरहेका छन्।

अझै पनि सहर तथा ग्रामीण क्षेत्रमा थुप्रै नवप्रतिभावान् खेलाडी रहेकाले त्यस्ता खेलाडीलाई मूलधारमा ल्याउनुका साथै क्रिकेटको विकासका लागि तीनै तहका सरकारले ध्यान दिनुपर्नेमा खेलप्रेमीको जोड छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता

१

Darwin Sri Sithy Vinayakar Temple to Host Inaugural Annual Festival

२

अस्ट्रेलियाको नर्दर्न टेरिटोरी संसद् भवनमा अक्टोबर १६ मा नेपालीका लागि दशैं रिसेप्सन

३

नेपालमा बाढीपहिरोमा ज्यान गुमाउनेप्रति एनटीकी मुख्यमन्त्री फिनोच्चियारोको शोक

४

डार्विन CBD मा प्रहरीमाथि चक्कु प्रहार, १४ वर्षीया किशोरी पक्राउ

५

Darwin’s Unique Auto Tech Community Raises NPR 459,500 for Nepal Flood Relief

६


TOP