मंगलबार , बैसाख २९, २०८३

काठमाडौँ । यतिबेला भारतका १८ वर्षीया एक किशोर निकै चर्चामा छन् । अन्तर्राष्ट्रिय रूपमै उनले गतिलो चर्चा बटुलिरहेका छन् । खासमा उनको नाम प्रगन्नानन्धा हो । अनि, उनको पिताको नाम रमेशबाबु । उनले आफ्नो नामको अगाडि पिताको नाम जोडेर ‘रमेशबाबु प्रगन्नानन्धा’ बनाएका छन् ।

पछिल्लो समय उनले चेस (बुद्धिचाल) को अद्भूत खेलाडीका रूपमा आफूलाई स्थापित गराएका छन् । बिहीबार विश्वकप चेस प्रतियोगितामा आफूभन्दा दिग्गज प्रतिद्वन्द्वीहरूलाई पाखा लगाउँदै दोस्रो भएपछि त अन्तर्राष्ट्रिय खेल वृत्तमा उनको नाम झनै चुलिएको छ ।

विश्वकप चेसको फाइनलमा उनी नर्वेजियन ग्रान्डमास्टर म्यागनस कार्लसनसँग पराजित भएका थिए । तर, उनले आफूभन्दा निकै पाका खेलाडी ३२ वर्षीय कार्लसनलाई सजिलै उपाधि चुम्न दिएनन् । अन्तिम समयसम्म उनले कडा चुनौती दिए ।

अन्ततः विश्व चेसका निकै अनुभवी खेलाडी कार्लसनसँग प्रगन्नानन्धाको केही लागेन । उनी उपविजेतामा चित्त बुझाउन बाध्य भए । सायद त्यसैले अजरबैजानको बाकुमा विश्वकप चेसको उपाधि जितेपछि कार्लसनले १८ वर्षीय यी किशोरको प्रशंसा गर्नबाट आफूलाई रोक्न सकेनन् ।

कार्लसनले भने, ‘रमेशबाबु प्रगन्नानन्धालाई हराउन निकै संघर्ष गर्नुप¥यो । विश्व चेसमा उनको भविष्य निकै उज्ज्वल छ । वास्तवमा उनी बुद्धिका शातिर सैतान हुन् ।’

विश्वकप चेसमा प्रगन्नानन्धाको प्रदर्शनबाट प्रभावित भएका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पनि उनलाई तत्काल बधाइ दिएका थिए । उनले भनेका थिए, ‘भारतीय किशोरले हासिल गरेको यो सानो उपलब्धि होइन । उनले अन्तर्राष्ट्रिय खेल जगतमा भारतको गौरव बढाएका छन् । उनी भारतीय खेलकुदको सुखद भविष्य हुन् ।’

प्रगन्नानन्धाको जन्म तमिलनाडुको चेन्नइमा सन् २००५ को अगस्त १० तारिखमा भएको हो । उनका पिता रमेशबाबु स्थानीय एक बैंकमा शाखा प्रबन्धक हुन् । उनकी आमाको नाम नागालक्ष्मी हो । उनकी दिदी रमेशबाबु वैशाली पनि चेस खेलाडी हुन् । वैशाली महिला ग्रान्डमास्टर र इन्टरनेशनल मास्टर हुन् ।

प्रगन्नानन्धा पनि भारतीय ग्रान्डमास्टर हुन् । उनले सन् २०२१ को अप्रिलमा विश्व चेसबाट ग्रान्डमास्टरको उपाधि पाएका थिए । त्यतिबेला उनी इतिहासकै चौथो सबैभन्दा कम उमेरका ग्रान्डमास्टर बनेका थिए । ग्रान्डमास्टरको उपाधि पाउँदा उनी केवल १२ वर्ष १० महिना १३ दिनका थिए ।

प्रगन्नानन्धा इतिहासकै सबैभन्दा कम उमेरका इन्टरनेशनल मास्टर पनि हुन् । उनले हालसम्म विश्व चेसको उमेर समूहमा तीन वटा उपाधि जितेका छन् । उनले सन् २०१३ मा विश्व चेसको यू–८ स्पर्धाको उपाधि जितेका थिए ।

 

यसैगरी, उनले सन् २०१५ मा यू—१० उमेर समूहको उपाधि चुमेका थिए । सन् २०१९ मा उनले विश्व चेसको यू–१८ उमेर समूहको उपाधि जितेका थिए । सन् २०१९ मा उनले केवल १३ वर्षको उमेरमा आफूभन्दा प्रभावशाली प्रतिद्वन्द्वीहरूलाई हराउँदै एक्स्ट्राकोन चेस ओपनको उपाधि जितेका थिए । उक्त प्रतियोगितामा अपराजित रहेका उनले १० मध्ये साढे आठ अंक बटुलेका थिए ।

यसैगरी, सन् २०२१ को अप्रिलमा उनले ‘पोल्गर च्यालेन्ज’ को उपाधि चुमेका थिए । त्यो प्रतियोगिताको उपाधि जितेपछि उनी च्याम्पियन्स चेस टुरको अघिल्लो चरणमा प्रवेश गरेका थिए । सन् २०२२ मा भएको ‘फिडे ओलम्पियाड’ मा भारतले कांस्य पदक जित्दा उनी पनि टोलीका महत्त्वपूर्ण सदस्य थिए । त्यसपछि उनले ‘एसियन कन्टिनेन्टल चेस च्याम्पियनसिप’ को उपाधि पनि चुमेका थिए ।

सन् २०२३ को जुलाईमा उनले विश्व चेसमा पहिलो पटक २७ सय रेटिङ पाएका थिए । हालै सम्पन्न चेस विश्वकपमा उनले ३१औं वरीयता प्राप्त खेलाडीको रूपमा प्रतिस्पर्धा गरेका थिए । चेस विश्वकपको फाइनलमा पुग्ने उनी सबैभन्दा कम उमेरका खेलाडी पनि बनेका छन् ।

विश्वकप चेसमा अपराजित रहँदै उनी फाइनलसम्म पुगेका थिए । फाइनलसम्मको यात्रा तय गर्नुअघि उनले ६ जना प्रभावशाली प्रतिद्वन्द्वीलाई हराएका थिए । विश्वकपको उपाधि जितेपछि उनले दुई हजार सात सय २७ रेटिङ प्राप्त गरेका छन् ।

साथै, उनी सन् २०२४ मा आयोजना हुने ‘क्यान्डिडेट प्रतियोगिता’ का लागि छनोट पनि भएका छन् । उनी विश्वकै तेस्रो सबैभन्दा कम उमेरको क्यान्डिडेट मास्टर पनि हुन् ।

यसअघि, सन् २०२१ को चेस विश्वकपमा पनि उनले सहभागिता जनाएका थिए । त्यतिबेला उनले ९०औं वरीयताको खेलाडीका रूपमा विश्वकप खेलेका हुन् । त्यो विश्वकपको चौथो चरणमा उनी म्याक्सिम भाचियरसँग पराजित भएका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

Liverpool South Ward उपनिर्वाचनमा नेपाली समुदायका अगुवा देव बहादुर गुरुङको उम्मेदवारी

Australia मा नेपाली Gen-Z सहिदहरूलाई सम्मान र नयाँ नेतृत्वलाई बधाई कार्यक्रम सम्पन्न

NRNA NT Youth Forum Multicultural Cup 2026 सम्पन्न, Northern Nepalese FC च्याम्पियन

डार्विनमा २९३ नेपालीले पासपोर्ट नवीकरण गरे

डार्विनमा “साउन्ड अफ नेपाल” भव्य रूपमा सम्पन्न, ७०० भन्दा बढी दर्शकको सहभागिता

डार्विनमा “साउन्ड अफ नेपाल” कन्सर्ट: सबिन राई एण्ड द फारोको सांगीतिक धमाका हुने


TOP