सोमबार , अषोज २६, २०८३

काठमाडौंका अभिषेक गुरुङलाई आलुचिप्स खुब मनपर्थ्यो। साथीसंगी भेट्दा होस् वा कुनै उत्सव मनाउँदा, उनी चिप्सका परिकार छुटाउँदैनथे। चिप्सका विभिन्न फ्लेभर (स्वाद) सम्झिँदा उनको मुख रसाउँथ्यो।

खास गरी विदेशी ब्रान्डका विभिन्न फ्लेभरका चिप्समा उनी अभ्यस्त थिए। प्याकेजिङ पनि चिटिक्क लाग्थ्यो। स्वदेशी ब्रान्ड पनि खान्थे। स्वदेशी चिप्सको गुणस्तरमा केही कमी देखे।

‘बजारमा स्वदेशी उत्पादनका चिप्स पनि थुप्रै छन्। तर तिनीहरूको कुनै ब्रान्ड छैन,’ उनले भने, ‘विदेशी कम्पनीहरूले भने ब्रान्ड बनाएर बेचेका छन्।’

उनी अहिले पनि आलुचिप्सका पारखी हुन्।

करिब दुई वर्षअघि भने उनलाई आफैं चिप्स उत्पादन गर्ने र स्वदेशी ब्रान्ड बनाउने सोच आयो। उनले साथी अनिश प्रधानसँग सल्लाह गरे। त्यति बेला देशमा कोरोना संक्रमणले लकडाउन थियो। उनीहरूले इन्टरनेटबाट आलुचिप्सका फ्लेभर र ब्रान्डहरू खोजी गरे। आफैंले घरमै चिप्स बनाउने प्रयास गरे।

घरको भान्सामा बनाएको चिप्स चित्तबुझ्दो भएन। जति बनाए पनि बजारमा बिक्री गर्ने स्तरको बनेन।

‘कहिले के मिल्दैन कहिले के,’ अभिषेकले भने, ‘सबै कुराको तालमेल मिलाउन निकै गाह्रो भयो। धेरै समय लाग्यो।’

उनीहरूले चार महिनासम्म निरन्तर प्रयास गरे। निरन्तर मेहनत गरेपछि सफल नहुने कुरै भएन। सोचेअनुसारको चिप्स तयार भयो।

चित्तबुझ्दो भएपछि साथीहरू बोलाएर खुवाए। आफन्तजनमा पुर्‍याए। सबैतिरबाट राम्रो प्रतिक्रिया आयो। उनीहरूको हिम्मत बढ्यो। बजारमा पुर्‍याउने तयारी थाले।

सबैभन्दा पहिले आफ्नो उत्पादनको नाम रोजे। जुर्‍यो- लोको चिप्स।

‘लोको चिप्स भनेको लोकल चिप्स हो। स्थानीय आलु प्रयोग गरेर विभिन्न तरिकाबाट चिप्स तयार गर्छौं,’ उनले भने।

उत्पादनका लागि उनीहरूले गोठाटारमा कारखाना बनाए। चिप्स बनाउन सुरूमै चार जना अनुभवी कर्मचारी राखे। आफूहरू लोको चिप्सको बजारीकरण र ब्रान्डिङतिर लागे।

ठीक एक वर्षअघि, सन् २०२२ जनवरीमा, उनीहरूले काठमाडौंको वसन्तपुरमा खोले लोको चिप्सको ‘शोरूम’।

अरू विभिन्न ब्रान्डका चिप्स र आलुका परिकार खाइरहेका पारखीलाई नयाँ स्वाद दिएको उनी बताउँछन्।

‘उत्पादनको पहिलो वर्ष भएकाले ब्रान्डिङ गर्ने काम भइरहेको छ। हाम्रो सपना लोको ब्रान्ड बनाउने र विदेशी चिप्स विस्थापित गर्ने हो। यसका लागि हामी मेहनतका साथ अघि बढेका छौं,’ उनले भने।

बजारका स्वदेशी उत्पादनका धेरै जसो चिप्स सादा र पिरो स्वादमा मात्र पाइन्छ। लोकोले भने अरू स्वाद पनि थपेको छ। अभिषेकका अनुसार लोकोले सात वटा फ्लेभरका चिप्स उत्पादन गर्छ। फ्लेभरकै कारण आलुको परिकारका पारखीका लागि लोको ब्रान्ड चिप्सको हब बन्न अपेक्षा उनको छ।

लोकोमा क्रिमी ड्रिमी, मसला मन्च स्पाइसी, ट्वाक्क मसला, ह्वाई सो चिजी, चटपट मसला, चिजी स्पाइसी र ट्वामाटिनो स्वादमा चिप्स पाइन्छ। यी फ्लेभरमध्ये मसला मन्च स्पाइसी, ट्वाक्क मसला र ह्वाई सो चिजी सबभन्दा बढी रूचाइएका छन्।

सुरूमा उनीहरूले अझै धेरै फ्लेभर बनाउने गरी काम गरेका थिए। तर धेरै फ्लेभर दिए पनि ग्राहकको रूचिका हिसाबले उपयोगी नहुने आफ्नो अनुभव रहेको अभिषेकको भनाइ छ।

‘धेरै फ्लेभर दिएरभन्दा पनि एउटै फ्लेभरमा क्वालिटी (गुणस्तर) कायम राख्दा राम्रो हुने रहेछ,’ उनी भन्छन्, ‘अहिले फ्लेभर बढाउन भन्दा पनि एउटै स्वाद कायम राख्न लागेका छौं।’

साँच्चै स्वाद चाहिँ कस्तो छ त?

अनिशले मुस्काउँदै भने, ‘लोकोको स्वाद ठ्याक्कै यस्तो छ भन्न सकिँदैन। एक पटक खाएपछि खाइरहूँ जस्तो लाग्छ।’

लोको चिप्स उत्पादन सुरू भएको एक वर्षमै नाम चलेका अन्य ब्रान्डजत्तिकै रूचाइएको दुवै सहकर्मीको दाबी छ।

अनिशका अनुसार लोको ग्राहकको रोजाइमा परेको छ। बजारमा राम्रो माग छ। त्यसैले उत्पादन पनि बढेको छ। चिप्स स्टक बसेको छैन। उत्पादन क्रमशः बढाउँदै हाल दैनिक ४० किलो पुर्‍याएका छन्। यति चिप्स उत्पादन गर्न डेढ सय किलो आलु चाहिन्छ। मागअनुसार उत्पादन बढाउँदै जाने योजना छ।

लोको चिप्सको प्याकेजिङ हाल कागजमा हुने गरेको छ। पहिला लोको चिप्सको लोगो; कोदालो बोकेको किसानसहितको प्लास्टिकमा र त्यसबाहिर कागजको प्याकेजिङ हुन्छ। अब आकर्षक प्याकेजिङका लागि काम अघि बढेको छ।

लोको चिप्स सबैभन्दा धेरै वसन्तपुरको शोरूमबाटै बिक्री हुन्छ। तर त्यहीँ गएर किन्नुपर्छ भन्ने छैन। काठमाडौं र ललितपुरका अन्य केही ठाउँमा पाइन्छ। त्यस्तै लोको चिप्सको आधिकारिक फेसबुक र इन्स्टाग्राममा पनि अर्डर गर्न सकिन्छ। काठमाडौं उपत्यकाभित्र पठाओ र भोजले डेलिभरी गर्छन्।

उत्पादनको मितिले लोको चिप्स तीन महिनासम्म खान मिल्छ। अभिषेकका अनुसार १३५ ग्रामलाई १५० रूपैयाँ र २३० ग्रामलाई २५० रूपैयाँ पर्छ।

चिप्स बनाउँदा गुणस्तरीय सूर्यमुखी तेल र आलु प्रयोग गरिने उनको भनाइ छ। गोलो आलुबाट राम्रो चिप्स बन्छ। आलुको बोक्रा ताछेर चिप्स बनाउने आकारमा काटिन्छ र त्यसमा फ्लेभर राखेर तारिन्छ।

अभिषेकका अनुसार लोकोको प्रतिस्पर्धा विदेशी ब्रान्डसँग छ।

‘नेपाली ब्रान्डको प्रतिस्पर्धा विदेशी ब्रान्डसँग हो। स्वदेशी ब्रान्ड सबै एउटै हुन् भन्ने मानेका छौं,’ उनी भन्छन्, ‘विदेशी चिप्स विस्थापित गर्न सक्यौं भने सबै स्वदेशी चिप्सले बजार पाउने छन्।’

कोरोना लकडाउनले दिएको अवसरका रूपमा उनीहरूले चिप्स उत्पादन सुरू गरेका हुन्। अनिश लोको चिप्सको उत्पादन र अभिषेक बजार व्यवस्थापन सम्हाल्छन्। लोकोसँगै यी दुई सहकर्मीको आआफ्नो व्यवसाय पनि छ। दुवैले बिजनेस मार्केटिङ पढेका हुन्। अभिषेक विज्ञापन एजेन्सी चलाउँछन्, अनिश ट्रेडिङमा छन्। यी दुई जना साथी भएको दस वर्ष भइसक्यो।

दुई सहकर्मीले दस लाख रूपैयाँ लगानीमा लोको चिप्स उत्पादन सुरू गरेका थिए। एक वर्षमा ८ लाख रूपैयाँ थपे। अभिषेकका अनुसार चाँडै केही ठाउँमा लोकोको पसल थप्ने तयारी छ। पहिले काठमाडौं उपत्यकाभित्र विस्तार गर्ने र त्यसपछि अन्य सहरमा पुग्ने योजना छ।

अब चिप्ससँगै अन्य केही स्न्याक्समा पनि काम गर्ने उनीहरूको सोच छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता

१

Darwin Sri Sithy Vinayakar Temple to Host Inaugural Annual Festival

२

अस्ट्रेलियाको नर्दर्न टेरिटोरी संसद् भवनमा अक्टोबर १६ मा नेपालीका लागि दशैं रिसेप्सन

३

नेपालमा बाढीपहिरोमा ज्यान गुमाउनेप्रति एनटीकी मुख्यमन्त्री फिनोच्चियारोको शोक

४

डार्विन CBD मा प्रहरीमाथि चक्कु प्रहार, १४ वर्षीया किशोरी पक्राउ

५

Darwin’s Unique Auto Tech Community Raises NPR 459,500 for Nepal Flood Relief

६


TOP