मंगलबार , बैसाख २९, २०८३

तपाईं कुनै व्यावसायिक अवधारणामा काम गर्ने सुरूआती चरणमा हुनुहुन्छ? यसका लागि उपयुक्त वातावरण भएको ठाउँ खोजीमा हुनुहुन्छ? कामका लागि मिल्ने साथी पनि खोज्दै हुनुहुन्छ कि?

यसो हो भने ‘वर्क–अराउन्ड’ उपयुक्त थलो हुन सक्छ।

काठमाडौंको कालोपुलमा छ वर्क–अराउन्ड। कुनै व्यावसायिक अवधारणा विकास गरेर अघि बढ्न इच्छुक व्यक्तिहरूले यहाँ बसेर प्रारम्भिक काम गर्न सक्छन्।

यसका सञ्चालक हुन् दधिराम पौडेल।

उनका अनुसार वर्क–अराउन्ड अन्तर्राष्ट्रिय प्रचलनको ‘को–वर्किङ’ अवधारणामा सञ्चालित छ। ‘साइबर क्याफे’ शैलीमा चल्छ। अर्थात् यहाँ विभिन्न क्षेत्रमा संलग्न व्यक्तिहरू निश्चित शुल्क तिरेर एकै ठाउँमा आआफ्नो काम गर्छन्। यहाँ जम्मा भएर समान सोच भएकाहरूको समूह बनाउने अवसर पनि छ। यस्तो समूहले नयाँ व्यावसायिक योजना बनाउँछ।

‘यहाँ आउने सदस्यहरूले आपसमा मिलेर नयाँ व्यवसाय सुरू गरेका छन्। हामीसँग यस्ता थुप्रै उदाहरण छन्,’ दधिरामले भने, ‘वर्क–अराउन्ड नयाँ व्यवसाय गर्न इच्छुकका लागि सहकर्मी भेट्टाउने ठाउँ पनि बनेको छ।’

३८ वर्षीय दधिराम र उनका दाइ टंकराम वर्क–अराउन्डका संस्थापक हुन्। प्रारम्भिक अवधारणा टंकरामको हो। हाल उनी सपरिवार नेदरल्यान्ड्समा बस्छन्। वर्क–अराउन्डको सबै व्यवस्थापन जिम्मेवारी दधिरामले सम्हालिरहेका छन्।

चार वर्षअघि सुरू भएको वर्क–अराउन्डमा हालसम्म दुई हजारभन्दा बढी व्यक्ति आएर आफ्नो काम गरेको दधिरामको भनाइ छ।

उनी भन्छन्, ‘कोही दुई–चार घन्टा बसेर काम भ्याउँछन्। कोही सात दिन वा महिनाभर यहीँ बसेर गर्ने पनि हुन्छन्।’

यहाँ व्यक्तिको बसाइअनुसार शुल्क लाग्छ। एक घन्टा बस्न ५० रूपैयाँ तिरे पुग्छ। दैनिक रूपमा गएर एक सातासम्म काम गर्न एक हजार तीन सय रूपैयाँ लाग्छ। मासिक शुल्क चार हजार पाँच सय रूपैयाँ तोकिएको छ।

तुलनात्मक रूपमा वर्क–अराउन्डको शुल्क कम रहेकाले एक्लै वा समूहमा काम गर्न चाहनेका लागि रोजाइको ठाउँ भएको दधिरामको भनाइ छ। एकपटक बसेर काम गरेको व्यक्तिलाई वर्क–अराउन्डले आफ्नो सदस्य मान्छ।

दधिराम फुर्सद मिलेसम्म यस्ता सदस्यहरूसँग कुरा गर्छन्, भेट्छन्।

‘उहाँहरूसँग कुरा गर्दा रमाइलो हुन्छ। नयाँनयाँ अवधारणाहरू सुन्न र कार्यान्वयन भएको हेर्न पाउँछु,’ उनले भने।

वर्क–अराउन्ड सुरू गर्नुअघि दधिराम शिक्षक थिए। २०६५ सालमा इलेक्ट्रोनिक्स र कम्युनिकेसन इञ्जिनियरिङमा स्नातक गरेका उनी अझै पनि थोरै समय पढाउँदै छन्। स्नातकपछि नै शिक्षण पेसामा लागेका उनले दुई वर्ष स्कुल र कलेजमा कम्प्युटर विषय पढाए। त्यसपछि केही कम्पनीको सफ्टवेयर क्षेत्र सम्हाल्ने विभागमा काम गरे।

दाइ टंकरामले वर्क–अराउन्डको अवधारणामा काम गरिरहँदा दधिराम पूरा समय जागिरमै थिए। फुर्सदमा दाइलाई सघाउँथे।

को–वर्किङ स्पेस सञ्चालन गर्नुअघि टंकरामले रेस्टुरेन्ट खोल्ने सोचेका रहेछन्। दधिरामका अनुसार टंकराम नौलो काम सोचिरहेका हुन्छन्। उपत्यकाका विभिन्न क्याफे र रेस्टुरेन्ट पुग्थे। त्यस बेला ललितपुरको झम्सीखेलमा ‘बिरूवा भेन्चर्स’ नामको एउटा क्याफे थियो। त्यहाँ विभिन्न पृष्ठभूमिका व्यक्तिहरू आफ्नो काम गर्न जाने गरेको उनले देखे।

‘केही वर्षमा बिरूवा भेन्चर्स बन्द भएछ। अब यस्ता मानिसहरू कहाँ जालान् भन्नेबारे दाइको चासो बढेछ,’ दधिरामले भने, ‘त्यस्ता व्यक्तिहरूका लागि को–वर्किङ स्पेस सञ्चालन गर्ने सोच्नुभएछ।’

सुरूमा आफ्नै घरको अगाडिपट्टि रेस्टुरेन्ट र पछाडिपट्टि ‘वर्किङ स्पेस’ बनाउने योजना थियो। रेस्टुरेन्ट संरचना बनाए पनि उनीहरूले सञ्चालन गर्न सकेनन्। त्यसैले रेस्टुरेन्ट क्षेत्र मात्रै प्रयोग गर्ने र पछाडिको खाली ठाउँमा प्रवेश नगर्ने शर्तमा रेस्टुरेन्ट अरूलाई नै चलाउन दिए। त्यो खाली ठाउँ यत्तिकै रह्यो। केही दिनको अलमलपछि दाजुभाइले त्यही ठाउँमा को–वर्किङ स्पेस बनाए।

दधिरामका अनुसार दाजुभाइ खटेर काम गर्दा पनि रेस्टुरेन्ट र वर्क अराउन्डको ठाउँ तयार गर्न करिब १८ लाख रूपैयाँ खर्च भयो। इन्टेरियर डिजाइनको सबै काम टंकरामकी श्रीमतीले गरिन्। नाम दधिरामले जुराए।

‘व्यक्तिहरू जम्मा भएर काम गर्ने ठाउँ उपलब्ध गराउने अवधारणा थियो। नाम के राख्ने भन्ने छलफल हुँदा मैले वर्क–अराउन्ड राखौं भनेँ,’ उनले भने, ‘धेरै जना वरिपरि बसेर काम गर्ने अवधारणामा यो नाम पारित भयो।’
vvv

काठमाडौंमा थुप्रै मानिसहरू क्याफेमा बसेर निजी काम गर्छन्। क्याफेको बसाइ महँगो हुन्छ। यस्ता व्यक्तिका लागि वर्क अराउन्ड उपयुक्त थलो हुने दधिरामको भनाइ छ।

हाल वर्क–अराउन्डमा दैनिक कम्तीमा १० जना पुग्छन्। एकपटकमा २४ जनासम्म अटाउने सुविधा छ। सदस्य आफैंले चिया बनाएर खान पाउँछन्। इन्टरनेट र दुईपांग्रे सवारी साधन पार्किङका लागि ठाउँ छ। यी सुविधाबापत कुनै अतिरिक्त शुल्क लाग्दैन।

वर्क अराउन्डमा खुला कोठाबाहेक अरू तीन वटा निजी कोठा छन्। एउटा कोठामा चार जनासम्म सजिलो गरी बस्न सकिन्छ। निजी कोठा गत वर्षदेखि उपलब्ध भएका हुन्। समूहगत छलफलका लागि सदस्यहरूले निजी कोठा प्रयोग गर्न सक्छन्। धेरै जनाका लागि बैठक कक्ष छँदैछ।

दधिराम वर्क–अराउन्डलाई आफ्नो व्यवसाय मान्दैनन्। त्यसैले मान्छेहरूको भिड जम्मा होस् भन्ने सोच्दैनन्। सकेसम्म कम मानिसलाई ठाउँ उपलब्ध गराउँछन्। यो ठाउँलाई उनी ‘गुँड’ का रूपमा चित्रण गर्छन्।

‘यहाँ आएर आफ्नो आइडियामा काम गर्न सक्नुहुन्छ,’ उनी भन्छन्, ‘जति जना आउनुहुन्छ, सबैले सहज र शान्त वातावरणमा काम गर्न पाउनुहोस् भन्ने हाम्रो चाहना हो। भिडभाड भयो भने काम गर्न सहज हुँदैन।

कसैसँग सुरूमा अवधारणा मात्रै छ भने खर्चिलो तरिकाले अघि बढ्न आवश्यक हुँदैन। अवधारणाबारे पहिले अध्ययन गर्नुपर्ने हुन्छ। प्रारम्भिक अध्ययनको काम यस्तै को–वर्किङ स्पेसमा गर्न सजिलो हुन्छ। यस्तो ठाउँबाट काम गर्दै संस्था वा कम्पनी बजारमा चिनाउन सकिन्छ। यसपछि मात्रै कार्यालय सञ्चालनबारे सोच्दा उपयुक्त हुने उनको भनाइ छ।

वर्क–अराउन्ड हरेक दिन बिहान ७ बजेदेखि बेलुकी ७ बजेसम्म खुला रहन्छ। यहाँ आउनेहरू अधिकांश २५ देखि ३५ वर्ष उमेरका हुन्छन्। निकै टाढाबाट आउने पनि छन्। केहीले वर्क–अराउन्डको शाखा चलाउन आग्रह गर्छन्। दधिरामलाई भने तत्काल यसमा रूचि छैन।

रूचि नहुनुमा खास कारण छ।

पहिलो, वर्क–अराउन्ड टन्न नाफा कमाउने व्यवसाय होइन, थोरै शुल्क लिएर सहजीकरण गर्ने हो।

दोस्रो, भाडामा घर लिएर चलाउन महँगो पर्छ। उद्देश्य अनुकूल हुँदैन।

दधिराम वर्क–अराउन्डमा आउने सदस्यहरूको भविष्यसँग आफू पनि जोडिएको ठान्छन्। यस्तो को–वर्किङ स्पेसले धेरैको भविष्य निर्माणमा सहयोग पुग्छ।

‘ससानो खुड्किलो चढेर सफलता पाइन्छ। एकैपटक धेरै खोजेर हुँदैन,’ उनी भन्छन्, ‘हाम्रो उद्देश्य यही सिद्धान्तअनुरूप छ।’

धेरैलाई वर्क–अराउन्डको अवधारणा नयाँ लाग्न सक्छ। दधिरामका अनुसार नेपालमा को–वर्किङको अवधारणा भर्खरै विकास हुँदैछ। हाल नेपालमा ३० वटा भन्दा बढी को–वर्किङ स्पेस छन्। तीमध्ये करिब एक दर्जन जति काठमाडौं उपत्यकामा छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

Liverpool South Ward उपनिर्वाचनमा नेपाली समुदायका अगुवा देव बहादुर गुरुङको उम्मेदवारी

Australia मा नेपाली Gen-Z सहिदहरूलाई सम्मान र नयाँ नेतृत्वलाई बधाई कार्यक्रम सम्पन्न

NRNA NT Youth Forum Multicultural Cup 2026 सम्पन्न, Northern Nepalese FC च्याम्पियन

डार्विनमा २९३ नेपालीले पासपोर्ट नवीकरण गरे

डार्विनमा “साउन्ड अफ नेपाल” भव्य रूपमा सम्पन्न, ७०० भन्दा बढी दर्शकको सहभागिता

डार्विनमा “साउन्ड अफ नेपाल” कन्सर्ट: सबिन राई एण्ड द फारोको सांगीतिक धमाका हुने


TOP