मंगलबार , बैसाख २९, २०८३

लुम्बिनी प्रदेश सरकारले नीति कार्यक्रममा उल्लेख गरेका शिक्षाका मुद्दा कागजमै सीमित भएका छन् । नीति कार्यक्रमको लक्ष्यको रुपमा समृद्ध प्रदेश खुसी जनताको नारा बोकेको प्रदेश सरकारले योजनाबद्ध रुपमा काम नगर्दा शिक्षामा उल्लेखनीय काम हुन नसकेका हुन् । आ.व. २०७५÷७६ को नीति कार्यक्रममा साक्षर प्रदेश, शिक्षा सुधार, प्राविधिक शिक्षामा जोड, नैतिक शिक्षामा जोड, धार्मिक विद्यालयलाई मूलधारमा ल्याउने, अंग्रेजी माध्यम र कम्प्युटर शिक्षामा जोड दिने, विद्यालयको भौतिक पूर्वाधारको विकास गर्ने जस्ता सपनाको पोका बुनिएपनि ती पोका नखोली पाँच वर्ष सकिएको छ ।

लुम्बिनी प्रदेश सरकारको पहिलो नीति कार्यक्रममा एक वर्षभित्र प्रदेशलाई साक्षर बनाउने उल्लेख छ । तर पाँच वर्ष पूरा हुँदासम्म उक्त लक्ष्य पूरा भएको छैन । अहिलेपनि कपिलवस्तु जिल्ला साक्षर हुने तथ्यांकभित्र पर्न सकेको छैन् । गत आर्थिक बर्षमा मात्रै बाँके जिल्ला साक्षर जिल्ला घोषणा भएको थियो । प्रदेश सरकारले स्थानीय तहसँग समन्वय नगर्दा र बजेट विनियोजन नगर्दा साक्षर प्रदेश बनाउने लक्ष्य पूरा नभएको हो । प्रदेश सरकारको नीति कार्यक्रममा लेखिएको थियो यस प्रदेशलाई एक वर्ष भित्र साक्षर प्रदेश घोषणा गरिनेछ । यो लक्ष्य पाँच बर्षपछिको नीति कार्यक्रममा पनि प्रदेश सरकारले लेख्न छाडेको छैन् । पाँच वर्ष अघि प्रदेशका जिल्लाहरु मध्ये पाल्पा, अर्घाखाँची, प्यूठान, गुल्मी, नवलपरासी, रुपन्देही, दाङ्ग, रोल्पा, बर्दिया र रुकुम गरी १० जिल्ला पूर्ण साक्षर जिल्लाको रुपमा घोषणा भइसकेका थिए ।

  •  लुम्बिनी प्रदेश सरकारले नीति कार्यक्रममा उल्लेखित गरेका प्रमुख काम गर्न सकेन नै उल्टै शिक्षालयमाथि कब्जा जमाउनमा उद्यत देखियो । रुपन्देहीको जेठो विद्यालय बुटवल माविमा मन्त्रालय राख्न कस्सिएको उसले अहिले एशियाली विकास बैकको सहयोगमा देउखुरीमा बनेको राप्ती प्राविधिक शिक्षा तथा व्यावसायिक परिषद्को भवनमा मन्त्रालय राख्ने गरी कब्जा जमाएको छ ।

नीति कार्यक्रममा भनिएको थियो, गुरुकुल, गुम्बा, मदरसालगायत सबै धार्मिक प्रकृतिका विद्यालयहरुलाई शैक्षिक मूलप्रवाहीकरण गरिनेछ । तर धार्मिक प्रकृतिका विद्यालयलाई मूलप्रवाहीकरणमा ल्याउनमा पहलको शुरुवादसम्म भएन । प्रदेशको शिक्षा तथा खेलकुद मन्त्रालयले मदरसा व्यवस्थापन समिति गठन गरेपनि त्यसले एकातिर काम गरेन भने अर्कोतिर सक्रिय बनाउने प्रयास समेत गरिएन । मदरसा शिक्षाका अभियन्ता तथा पूर्व जिल्ला शिक्षा अधिकारी अब्दुल रउफ खानले प्रदेश सरकारले शिक्षामा प्राथमिकता नदिँदा काम हुन नसकेको प्रतिक्रिया दिए । काम गर्न नसक्दा नीति कार्यक्रममा लेखिएका शिक्षाका कुरा सुनाउन र देखाउनका लागि गरिएको जस्तो भएको उनको भनाइ छ ।

सामुदायिक विद्यालयहरुमा अंग्रेजी माध्यम र कम्प्युटर शिक्षामा जोड दिने भनेको प्रदेश सरकारले यो विषयलाई बजेटमा नसमेटेरै पाँच बर्ष बितायो । नीति र कार्यक्रममा कक्षा १ देखि नै नेपाली वा मातृभाषामा पढाइ हुने विषय बाहेक अरु सबै विषयहरुको क्रमशः अंग्रेजी माध्यमबाट पठन–पाठनको व्यवस्था मिलाइने र कक्षा ४ देखि नै कम्प्युटर शिक्षा अनिवार्यरुपमा लागु गर्दै जान स्थानीय सरकारलाई सहयोग प्रदान गरिनेछ भन्ने उल्लेख छ ।

स्वास्थ्य समाजका लागि स्वास्थ्य आचरण आवश्यक पर्ने हुँदा विद्यार्थीहरुलाई नैतिक शिक्षा पढाउन जोड दिइनेछ भनि नीति कार्यक्रममा उल्लेख भएपनि यस बिषयमा पनि प्रदेश सरकारले कार्यक्रम र बजेट ल्याउनै सकेन । प्रदेश सरकारले प्रादेशिक विश्वविद्यालय र प्राविधिक महाविद्यालयहरु स्थापनाका लागि सम्भाव्यता अध्ययन गरिने र स्थापना गर्ने भन्दै आएपनि आर्थिक बर्ष २०७८÷७९ अन्तिमतिर मात्रै ऐन बनाई रेक्टर र उपकुलपति र रजिष्टार नियुक्तिसम्म गरेको छ । अहिलेकै गतिले काम हुने हो भने अबको पाँच बर्षसम्म प्रदेश विश्वविद्यालयमा पठनपाठन हुने अवस्था देखिँदैन । संघीय सरकारले स्थापना गरेको प्राविधिक शिक्षालयमा सहयोग पु¥याएको तर आफैले भने अनुसार भने शिक्षालय स्थापना गर्न सकेको छैन । शिक्षाविद् प्रा. आनन्दमानसिंह शाक्यले गर्न सकिने संभावना भएका शिक्षाका काममा समेत काम हुन नसकेको प्रतिक्रिया दिए ।

शिक्षालयमाथि आक्रमण
प्रदेश सरकारको मुकाम बुटवल स्थापना गर्ने क्रममा प्रदेश सरकारले रुपन्देहीको जेठो विद्यालयमा बुटवलमा माविमा मन्त्रालय राख्नेगरी काम अगाडि बढायो । विद्यालय व्यवस्थापन समितिको निर्णय बीना उसले विद्यालयमा साविकको सामाजिक विकास मन्त्रालयको बोर्ड विद्यालयमा राखेको थियो । विवाद भएपछि मन्त्रालयले बोर्ड फिर्ता ल्याइ बुटवलको नयाँ बसपार्कको टर्मिनल भवनमा व्यवस्थापन गरेको थियो ।

२०७७ असोज २० गते लुम्बिनी प्रदेशसभाले दाङको देउखुरीलाई स्थायी राजधानी बनाउने प्रस्ताव पारित गरेको थियो । त्यसपश्चात मुख्यमन्त्री शंकर पोखरेलको नेतृत्वको सरकारले एशियाली विकास बैकको सहयोगमा देउखुरीमा बनेको राप्ती प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् अन्तर्गतको भौतिक पूर्वाधारमाथि आँखा लगाउँदै उक्त ठाउँमा मन्त्रालय सार्ने निर्णय ग¥यो । शुरुमा केही मन्त्रालय र मुख्यमन्त्री कार्यालयको सम्पर्क कार्यालय स्थापना गरेको ति भवनमा २०५० सालदेखि प्राविधिक शिक्षालयका कक्षाहरु संचालनमा थिए । नीति कार्यक्रममा प्राविधिक शिक्षामा जोड गर्ने भनि लेख्ने र भन्ने गरेको प्रदेश सरकारले प्रदेशको गौरवको रुपमा सरकारी रुपमा संचालनमा रहेको शिक्षालयलाई मास्ने जमर्को गरिरहेको छ । अहिले सो शिक्षालयलाई त्यहाँभन्दा करिब ५ किलोमिटर दक्षिणमा गढवा गाउँपालिकामा रहेको सरस्वती मावि रहेको भवनमा स्थानान्तरण गरिएको छ । सरस्वती माविका विद्यार्थीहरुका लागि त्यहाँ हालै मात्र बनाइएको टिनले छाएको कच्ची संरचनामा कक्षा सञ्चालन गरिएको छ । जुन टहरो गर्मीमा गर्मी र जाडोमा चिसो थेग्न सक्दैन । पुरानो शिक्षालयमा प्राविधिक अध्ययनलाई नै लक्षित गरेर त्यही अनुसारका भवन तथा प्रयोगशालाहरू बनाइएको थियो तर यहाँ जबर्जस्ती काम चलाउने हिसाबले मात्र काम भइरहेको छ । प्राविधिक शिक्षाको पठनपाठन प्रयोगशालाबिना संचालन गर्नुपर्ने बाध्यता छ । शिक्षालयमा करिब ७ सय विद्यार्थीहरू विभिन्न विषयमा अध्ययनरत रहेका छन् ।

नीति कार्यक्रममा प्रादेशिक विश्वविद्यालय र प्राविधिक महाविद्यालयहरु स्थापनाका लागि सम्भाव्यता अध्ययन गरिने छ । प्रत्येक निर्वाचन क्षेत्रमा निम्न तथा मध्यमस्तरको प्राविधिक जनशक्ति तयार गर्न प्राविधिक शिक्षालय संचालन गरिने छ भन्ने उल्लेख छ । प्रत्येक निर्वाचन क्षेत्रमा निम्न र मध्यम स्तरको प्राविधिक उत्पादन गर्ने शिक्षालय खोल्ने भनेको प्रदेश सरकारले यस बिषयमा समेत काम गर्न सकेको छैन् । रुकुम पूर्वमा बहुप्राविधिक शिक्षालय खोल्ने गरी काम अगाडी बढाएको भएपनि अहिलेसम्म उक्त ठाउँमा भौतिक पूर्वाधार तयार हुन सकेको छैन् । दाङको तुलसीपुरमा उपमहानगरपालिकाको प्रयासमा स्थापना भएको शिक्षालयलाई आर्थिक अनुदान दिदै आएको छ ।

प्रदेशको स्थिति पत्रमा पनि पुगेन ध्यान

लुम्बिनी प्रदेश सरकारले तयार गरेको स्थिति पत्रमा उल्लेख गरेको बिषयलाई नीति कार्यक्रम र बजेटमा बिर्सिएर बिताएको छ । स्थिति पत्रमा प्रदेशमा पढ्न छोड्ने अनुपात औसतमा ४ दशमलब ६५ प्रतिशत रहेको उल्लेख छ । प्रदेशमा १३ लाख विद्यार्थीको ४ दशमलव ६५ को प्रतिशतले हिसाब गर्दा ६०४५० हुन आउँछ । प्रदेश सरकारकै तथ्यांक हेर्ने हो भने एक विद्यालयमा २२४ जना विद्यार्थी सरदर पर्छन् । त्यसरी विद्यालय छाड्ने संख्या हेर्ने हो भने बार्षिक रुपमा लुम्बिनी प्रदेशमा २६९ भन्दा बढी विद्यालय विद्यार्थी विहीन हुन्छन् । तर ति बालवालिकाका लागि प्रदेश सरकारले स्थानीय पालिकासँग सँगै काम गर्ने कार्यक्रम ल्याएका छैन् । प्रदेश सरकारको स्थिती पत्रमा प्रदेशमा प्राथमिकदेखि माध्यमिक तहसम्मका ५८ सय जति विद्यालयहरु र ती विद्यालयमा १३ लाख जति विद्यार्थी अध्ययनरत गर्ने गरेको उल्लेख छ ।

  • प्रदेश सरकारले पाँच बर्षमा बहुप्राविधिक शिक्षालय स्थापना, लुम्बिनी प्राविधिक विश्वविद्यालयव स्थापना, साक्षर प्रदेश घोषणा, नमूना विद्यालयको विकास, सामुदायिक क्याम्पसका सुधारका कार्यक्रमलाई ठूला आयोजनाको रुपमा शुरु गरेको थियो । त्यसमध्ये दाङको पद्मोदय क्याम्पस, नवलपरासीको महाकवि देवकोटा क्याम्पस र रुपन्देहीको बुटवल कालिका क्याम्पस देख्न लायक बनेका छन् ।
    लुम्बिनी प्राविधिक विश्वविद्यालय स्थापना भएपनि देखिने काम हुन सकेको छैन् । संघीय सरकारसँगको २० करोड साझेदारी लागतमा बुटवलको कान्ति मावि साइन्स हबको रुपमा विकास हुने चरणमा पुगेको छ । बहुप्राविधिक शिक्षालयको काम पूरा हुन सकेन भने १ करोड २५ लाख पाउने गरी शुरु गरिएको नमूना विद्यालयको कार्यक्रम दुइ बर्षमै बन्द भएको छ । साक्षर लुम्बिनी प्रदेश बनाउने अभियान पनि पाँच बर्षमा पूरा हुन सकेको छैन् ।

प्रदेश सरकारले ंछोटो अवधिको पेशागत तालिम गरेको भएपनि शिक्षकको बृद्धिविकासमा ध्यान पु¥याउन नसकेको शिक्षाविद् आनन्दमानसिंह शाक्य बताउँछन् । प्रदेश सरकारले भौतिक सुधारतर्फ काम गरेको भएपनि प्राज्ञिक र सिकाइ सुधारमा ध्यान नपु¥याएको बताए । यही प्रकारले बजेट विनियोजन र काम गर्ने हो भने शिक्षाको समस्या ठूला परिवर्नतनहरु हुने संभावना कम देखिएको प्रा. शाक्यको भनाइ छ । प्रदेश सकारले संरक्षकत्व प्रदान गर्नेतर्फ जानुपर्ने उनको सुझाव छ । प्रदेश सरकारले कार्यक्रम र बजेट बनाउँदा दिगो विकास लक्ष्य ४ लाई मध्यनजर गर्न सकेको छैन । नीतिगत रुपमा कम्तीमा २० प्रतिशत शिक्षाको बजेट विनियोजन गर्ने भनिएको भएपनि लुम्बिनी प्रदेशमा बढीमा ३ प्रतिशतसम्म बजेट विनियोजन हुने गरेको छ । यसले शिक्षामा समस्या अनगिन्ती रहदा समेत नीति कार्यक्रममा आशा लाग्दा शब्द लेखिने गरेको भएपनि कार्यक्रमको रुपमा नआउँदा नीति कार्यक्रमकै उद्देश्य पूरा हुने गरेका छैनन् ।
¬
यता लुम्बिनी प्रदेशका शिक्षा तथा खेलकुद मन्त्री बसिउद्दीन खाँले प्रदेश सरकारले उच्च शिक्षातर्फ सामुदायिक क्याम्पसहरुको स्तर बढाउनेगरी काम गरिरहेको बताए । लुम्बिनी प्राविधिक विश्वविद्यालयको स्थापना गरिसकेको र त्यसको संचालनका लागि आधारभूत काम भइरहेको उनको भनाइ छ । उनले स्रोत, साधन र अनुभवका कारण जे जति रुपमा सोचिएको काम गर्न नसकिएको मन्त्री खाँले बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

Liverpool South Ward उपनिर्वाचनमा नेपाली समुदायका अगुवा देव बहादुर गुरुङको उम्मेदवारी

Australia मा नेपाली Gen-Z सहिदहरूलाई सम्मान र नयाँ नेतृत्वलाई बधाई कार्यक्रम सम्पन्न

NRNA NT Youth Forum Multicultural Cup 2026 सम्पन्न, Northern Nepalese FC च्याम्पियन

डार्विनमा २९३ नेपालीले पासपोर्ट नवीकरण गरे

डार्विनमा “साउन्ड अफ नेपाल” भव्य रूपमा सम्पन्न, ७०० भन्दा बढी दर्शकको सहभागिता

डार्विनमा “साउन्ड अफ नेपाल” कन्सर्ट: सबिन राई एण्ड द फारोको सांगीतिक धमाका हुने


TOP