मंगलबार , बैसाख २९, २०८३

अस्ट्रेलिया आएर समुन्द्री किनार र गगनचुम्बी भवनमा लोभिनेको संख्या कम छैन। सामाजिक सञ्जालमा छरिएका यस्ता तस्बिरले धेरैको मन बहकाएको हुन्छ। त्यसैले धनसँगै मनको बह पोख्न पनि मानिसहरू विदेसिन मरिहत्ते गर्छन्।

यसैबीच अस्ट्रेलिया आएर मनलाई काबुमा राखी धनका लागि घुमन्ते कामदारका रूपमा करिब तीन हजार नेपाली भिक्टोरिया र न्युसाउथवेल्स अनि दक्षिण अस्ट्रेलियाका गाउँबेसीमा मेलो काटिरहेका छन्।

यता पढ्न आएका हजारौं नेपाली विद्यार्थी शहर केन्द्रित काम र पढाइमा ब्यस्त देखिन्छन् भने स्थायीत्व प्राप्त गरिसकेका नेपाली घरजममै किस्ता र ब्यस्ततामा रमेको पाइन्छ।

सरकारी तथ्यांक अनुसार अस्ट्रेलियामा वर्षेनी करिब एक लाख कृषि कामदारको आवश्यकता हुन्छ। यसको लागि अस्ट्रेलियाले छिमेकी मुलुकबाट पचासौं हजार कामदार भित्र्याईरहेको हुन्छ। यो सँगै बीसौं हजार घुमन्ते कामदार कृषि काममा प्रत्यक्ष संलग्न हुँदै आएका छन्।

राम्रो कमाइ हुने अस्ट्रेलियाको कृषि कामदारका रूपमा करिब तीन हजार नेपाली घुमन्ते कामदारका रूपमा वर्षैभरी विभिन्न फार्ममा काम गर्छन्।

न्यु साउथवेल्सका कप्स हार्वरको ब्लुबेरी टिपेर भिक्टोरियाको सेपाटनमा आरू र गोलभेडा अनि नास्पातीको सिजन सकेर एक हुल नेपाली युवा स्याउ टिप्न ब्राइट, न्यु साउथवेल्स, सनिक्रिकलगायतका ठाउँ पुगिसकेका छन्।

कोहीलाई क्वीन्सल्यान्डको बन्डाबर्ग, मुन्डुबेरामा चेरी टमाटर र सुन्तला टिप्न भ्याइनभ्याई छ। चेरी र टमाटरका लागि अस्ट्रेलियामा प्रशिद्ध मुन्डुबेरामा बाह्रै महिना काम पाइने भएकाले कामदारको आकर्षण बढेको छ।

‘धेरै मान्छेलाई यस विषयमा पत्तो पनि छैन। तर एक हुल नेपाली सधैं यसैमा रमाइरहेका हुन्छन्’, मेलवर्नको सेपाटनमा टमाटर बाली थन्काएर स्याउ टिप्न ब्राइटन जान लागेका मन बहादुर न्यौपानेले सेतोपाटीसँग भने।

करिब २० जना कामदार लिएर सिजनभरि अस्ट्रेलिया घुमिरहने उनी मनग्गे कमाइ गर्छन्।

राष्ट्रिय खेलुकद परिषदका सदस्य र र्‍याफ्टीङ संघका केन्द्रिय अध्यक्षसमेत भइसकेका न्यौपानेलाई अस्ट्रेलिया आएकोमा कुनै पछुतो छैन। ‘हाम्रो तिर पनि काम गरेर खानेलाई गाह्रो भइसकेको छ, यहाँ काम गरेपछि आकर्षक तलब पाइन्छ, यतै रमाएको छु’, उनले भने।

साधारणतया अस्ट्रेलियामा हप्ताको पाँच दिन र ३८ घन्टालाई फुलटाइम कामका रूपमा लिइन्छ। बस्न फार्ममै पाइने र खानका लागि खासै पैसा नलाग्ने भएकाले यस्ता कामबाट मनग्गे आम्दानी हुने उनले तर्क गरे।

न्यौपानेका अनुसार कृषि कर्ममा लागिसकेकाहरू सहरी काममा नफर्कनेसमेत उनले बताए।‘केही गर्न नसक्नेले साधारण कृषि कामदारले पनि हप्ताको १५ सय डलर थाप्ने गर्छन्। जुन अस्ट्रेलियाकै सन्दर्भमा राम्रो कमाइ हो’, उनले भने, ‘कोही कोही खटेर काम गर्नेले त दैनिक ५-६ सय डलरसमेत कमाउँछन्। बिहान ५ बजेदेखि बेलुका ८ बजेसम्म काम गर्नेले ५-६ सय डलर मजाले कमाउँछन्।’

न्यौपानेका अनुसार कृषि कामदार पेशामा म्याग्दी, बाग्लुङ र त्यस वरपरका क्षेत्रका मानिसको बाहुल्यता छ।

कृषि कामदारका रूपमा उन्नत फुलफूल खेतीका बारेमा अनुभव बटुल्न पाएकोमा खुसी छन् मान बहादुर। ‘केही वर्षपछि नेपाल गएर फुलफूल खेती गर्नुपर्छ भन्ने सोच पलाएको छ। एउटा गोलभेडाको बोटबाट दश किलोसम्म फल्ने र सानो ठाउँमा पनि धेरै उत्पादन गर्न सकिने प्रविधि हामीले नेपाल लग्न सके सुनमा सुगन्ध हुने थियो’, उनले भने।

कुर्सीमा बसेर गर्ने काम पाउन अष्ट्रेलियामा गाह्रो हुने उनको तर्क छ।

‘विद्यार्थी र डिपेन्डेन्टलाई अस्ट्रेलियामा कुर्सीमा बसेर गर्ने काम पाउन मुश्किल छ, जुन काम गरे पनि आर्थिक जोहो गर्नुनै हो त्यसैले साथीभाइको सल्लाहमा कृषिमा लागियो’, श्रीमतीलाई शहरमा पढाउँदै आफू ग्रामिण भेगमा काम गर्दै हिँडेका सनम केसीले भने।

‘यहाँ जुनै काम गरे पनि कसैले हेयको दृष्टिले हेर्दैनन्। त्यही सबैभन्दा महत्वपूर्ण विषय हो’, उनले भने।

विगत पाँच वर्षदेखि कृषि कामदारको आपूर्ति गर्दै आएका पोखराका हर्क थापा यो पेशा अस्ट्रेलियाको सन्दर्भमा निकै आकर्षक रहेको बताउँछन्।

यसमा काम गर्ने स्वस्थ्य व्यक्तिले पुरा पारिश्रमिक पाउँछन् भने अन्यले घन्टाको हिसाबले पैसा पाउने थापाले बताए।

भिक्टोरियाको सेपाटन बस्दै आएका थापाले अहिले पनि करिब ८० जना नेपालीलाई कृषि पेशामा आवद्ध गराइरहेका छन्।

‘धेरैखाले सिजन र फरक फरक काम हुने भएकोले पिकीङ र प्याकिङमा साथीभाइ आवद्ध हुनुहुन्छ’, उनले सेतोपाटीसँग भने, ‘यो काममा यतिनै पैसा हुन्छ भन्ने हुँदैन। तर कोहीले दिनकै ६ सयभन्दा बढी कमाउँछन्।’

यस पेशामा कन्ट्रयाक्टरबाट फार्मर भएर कृषि कार्यमा समेत केहि नेपाली कार्यरत छन्। सेपाटनमा बाग्लुङका रवी कँडेलले अहिले किवि र अन्य फलफूलको फार्मिङ गर्दै आएका छन्।

अस्ट्रेलियाको एडिलेडमा दिपक विष्टलगायतले जुकुनीलगायतको तरकारी फार्म सञ्चालन गर्दै आएका छन्।

यसरी कृषि कामदार मात्र होइन बिस्तारै कृषकका रूपमा पनि नेपालीले अस्ट्रेलियामा आफ्नो पहिचान बढाउँदै लगेका छन्।

@setopati

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

Liverpool South Ward उपनिर्वाचनमा नेपाली समुदायका अगुवा देव बहादुर गुरुङको उम्मेदवारी

Australia मा नेपाली Gen-Z सहिदहरूलाई सम्मान र नयाँ नेतृत्वलाई बधाई कार्यक्रम सम्पन्न

NRNA NT Youth Forum Multicultural Cup 2026 सम्पन्न, Northern Nepalese FC च्याम्पियन

डार्विनमा २९३ नेपालीले पासपोर्ट नवीकरण गरे

डार्विनमा “साउन्ड अफ नेपाल” भव्य रूपमा सम्पन्न, ७०० भन्दा बढी दर्शकको सहभागिता

डार्विनमा “साउन्ड अफ नेपाल” कन्सर्ट: सबिन राई एण्ड द फारोको सांगीतिक धमाका हुने


TOP