शनिबार , चैत्र २२, २०८१

२६ माघ, काठमाडौं । यदि सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटनलाई सदर गर्‍यो भने आगामी बैशाख १७ र २७ मा प्रतिनिधिसभाको चुनाव गर्न सम्भव छ कि छैन ? यसबारे निर्वाचन आयोगलाई विज्ञहरुले परिस्थितिको विश्लेषणसम्बन्धी अध्ययन गरेर एउटा रिपोर्ट बुझाएका छन् । सो अध्ययनको निचोड छ- संसद विघटन सदर भए पनि वैशाखमा चुनाव सम्भव छैन ।

निर्वाचन आयोगले राजनीतिक दलसम्बन्धी विवाद समाधान गर्न नसकेको, विवाद निरुपणका लागि संशोधन गरिएको नियमावलीसमेत सरकारले राजपत्रमा प्रकाशित नगरेको र सर्वोच्च अदालतको फैसलाउपर विमति जनाई असन्तुष्ट दलले विरोध चर्काउने र निर्वाचनमा भाग नलिन सक्ने भएकाले वैशाखको सार्नुपर्ने सम्भावना अध्ययनले औंल्याएको छ ।

अदालतले प्रतिनिधिसभा विघटनलाई सदर गर्‍यो भने निर्वाचन आयोगमा दलसम्बन्धी विवादबारे दबाव बढ्ने निश्कर्ष निकाल्दै अध्ययनमा भनिएको छ, ‘नेपालको संविधान र प्रचलित राजनीतिक दलसम्बन्धी कानूनी व्यवस्थाअनुरुप दलको मान्यतासम्बन्धी विवाद निरुपणमा आयोगलाई सरकार वा अन्य कुनै पक्षबाट दवाब र प्रभाव आउन सक्छ ।’

अस्थिर राजनीतिक अवस्थामा निर्वाचन सञ्चालन गर्दा निर्वाचनअघि र निर्वाचनको समयमा हिंसामा वृद्धि भई निर्वाचन र आयोगको विश्वसनीयताउपर प्रश्न उठ्न सक्ने अध्ययनको निश्कर्ष छ ।

तर, ६ महिनाभित्र पनि चुनाव गर्न नसकिए संवैधानिक संकट आउने अध्ययन टोलीले निश्कर्ष निकालेको छ । साथै संसद विघटन सदर भयो भने प्रदेशसभाको पनि चुनाव गर्नुपर्ने अवस्था आउन सक्ने अध्ययनको निश्कर्ष छ ।

विज्ञहरुमार्फत गरिएको यही विश्लेषणका आधारमा अब निर्वाचन आयोग अगाडि बढ्ने आयोगका अधिकारीहरु बताउँछन् ।

सर्वोच्च अदालतले संसद विघटनलाई सदर गरेको अवस्थामा निर्वाचन आयोगसमक्ष विभिन्न सात प्रकारका जोखिमहरु आउन सक्ने अध्ययनको निश्कर्ष छ ।

अन्तरराष्ट्रिय विज्ञहरुसमेत संलग्न रहेर गरिएको परिस्थितिको विश्लेषणसम्बन्धी सो अध्ययन प्रतिवेदनको सार यस्तो छ-

सर्वोच्चको फैसला संसद विघटनको पक्षमा भएमा-

पहिलो सम्भावना : नेकपा दलको मान्यतासम्बन्धी विवाद औपचारिकरुपमा आयोगमा आउन सक्ने ।

जोखिम : नेपालको संविधान र प्रचलित राजनीतिक दलसम्बन्धी कानूनी व्यवस्थाअनुरुप दलको मान्यतासम्बन्धी विवाद निरुपणमा आयोगलाई सरकार वा अन्य कुनै पक्षबाट दवाब र प्रभाव आउन सक्ने ।

आयोगले अपनाउनुपर्ने रणनीति : आयोगले विगतमा गरेका यस्तै प्रकृतिका निर्णयहरुलाई नजिर मानी स्वतन्त्र र निष्पक्षरुपमा निर्णय गर्ने । आयोगका पूर्वप्रमुख/आयुक्तहरुसँग राय सुझाव प्राप्त गर्ने । कानूनी प्रावधानअनुरुप दुबै पक्षलाई आयोगमा बोलाएर सहमतिका लागि पहल गर्ने । भविश्यमा आउन सक्ने दलको मान्यतासम्बन्धी विवाद निरुपण कार्यविधि मस्यौदा र स्वीकृत गर्नुपर्ने । यस प्रकृतिका विवादसम्बन्धी अन्तराष्ट्रिय असल अभ्यासहरुको अध्ययन गरी सोही अनुरुप निर्णय गर्ने । विवादसम्बन्धी सुनुवाई प्रक्रिया, काम कारवाही र निर्णयलाई पारदर्शी र विश्वसनीय बनाउन आयोगको वेबसाइट, सामाजिक सञ्जाल तथा आम सञ्चारको माध्यमबाट यससम्बन्धी विषयमा निरन्तर सम्प्रेषण गरी रहने ।

दोस्रो सम्भावना : आयोगले राजनीतिक दलसम्बन्धी नियमावली २०७४ मा गरेको संशोधन हालसम्म नेपाल राजपत्रमा प्रकाशित भई नसकेकाले हाल प्रचलित नियमावलीअनुसार निर्वाचनको अवधिभर विवाद निरुपणसम्बन्धी काम कारवाही गर्न नमिल्ने ।

जोखिम : राजनीतिक दलको विवाद निरुपण नभए सम्म निर्वाचनको वातावरण तयार नहुने ।

आयोगले अपनाउनुपर्ने रणनीति : नेपाल राजपत्रमा संशोधित नियमावली प्रकाशनका लागि पहल गर्ने ।

तेस्रो सम्भावना : प्रदेश सभाहरु विघटन गरी अर्को प्रदेश सभाको निर्वाचनका लागि मिति घोषणा हुन सक्ने ।

जोखिम : प्रदेश सभाको कार्यकाल नसकिँदै प्रदेश सभा विघटन हुन गई निर्वाचन गर्नुपर्ने ।

आयोगले अपनाउनुपर्ने रणनीति : बदलिँदो राजनीतिक परिदृश्यलाई निरन्तर अध्ययन गरी निर्वाचनका लागि आयोगलाई तयारी अवस्थामा राख्ने ।

चौथो सम्भावना : सर्वोच्च अदालतको फैसलाउपर विमति जनाई असन्तुष्ट दलले विरोध चर्काउने र निर्वाचनमा भाग नलिन सक्ने ।

जोखिम : (क) यदि असन्तुष्ट दलले प्रतिनिधि सभा सदस्य निर्वाचनमा भाग नलिएमा राजनीतिक द्वन्द्वको अवस्था सिर्जना भई निर्वाचनको वातावरण नबन्ने, साथै राजनीतिक संकट अझ बढ्ने ।

(ख) अस्थिर राजनीतिक अवस्थामा निर्वाचन सञ्चालन गर्दा निर्वाचनअघि र निर्वाचनको समयमा निर्वाचन हिंसामा बृद्धि भई निर्वाचन र आयोगको विश्वसनीयताउपर प्रश्न उठ्न सक्ने ।

आयोगले अपनाउनुपर्ने रणनीति : निर्वाचन आयोगले राजनीतिक दलहरुसँग समन्वय गरी मूलधारमा ल्याउन र निर्वाचनको वातावरण बनाउन प्रयास गर्ने । दलहरुको सहभागिताका लागि आयोगले सौहार्दपूर्ण वातावरण बनाउन प्रयास गर्ने । अस्थिर राजनीतिक अवस्थामा निर्वाचन सञ्चालन गर्नुपरेमा आयोगले विभिन्न सुरक्षा निकायहरुसँग समन्वय गर्ने । आयोगले निर्वाचन विवाद निरुपणको प्रभावकारी कार्यान्वयन भएको सुनिश्चित गर्ने ।

पाँचौं सम्भावना : दलहरु विभाजन हुने र गाभिने क्रम बढ्न सक्ने ।

जोखिमहरु : (क) प्रचलित राजनीतिक दल सम्बन्धी कानून बमोजिम निर्वाचन अवधिभर राजनीतिक दलको विवाद सुनुवाई गर्न नमिल्ने हुँदा विवादको निरुपण गर्न नसकिने भई निर्वाचनको वातावरण निर्माण नहुने ।

(ख) नयाँ दल दर्ता गर्नु पर्दा राजनीतिक दल दर्ता प्रक्रियाका लागि लामो समय लाग्ने भएकाले निर्वाचनको मिति पछाडी धकेलिन सक्ने ।

(ग) राजनीतिक दल सम्बन्धी नियमावली २०७४ मा भएको संशोधनले आधिकारिकता पाई विवाद निरुपण गर्नु पर्ने भएमा निर्वाचनको लागि कम समय मात्र उपलब्ध भई आयोगलाई निर्वाचन क्रियाकलाप सञ्चालन गर्न समयको दवाब पर्ने ।

आयोगले अपनाउनुपर्ने रणनीति : (क) नेपाल राजपत्रमा संशोधित नियमावली प्रकाशनका लागि पहल गर्ने ।

(ख) निर्वाचनमा भाग लिन निवेदन दिएपश्चात दल विभाजन भएमा गठित नयाँ दलले पुनः दल दर्ता गर्नुपर्ने वा नपर्ने सम्बन्धमा पूर्वनिर्णय गर्नुपर्ने ।

(ग) आयोगले यस सम्बन्धमा कानूनी प्रावधानहरुको समीक्षा गरी आवश्यकता अनुसार संशोधन गर्ने ।

(घ) निर्वाचन आयोगले विवाद निरुपणको कार्य सँगसँगै निर्वाचन तयारीको कार्य पनि निरन्रत सञ्चालन गरी दल दर्ता लगायतका कार्यलाई न्यून समयमा सम्पन्न गर्ने गरी कार्य योजना तयार गर्ने ।

छैठौं सम्भावना : नेकपाको कुनै पनि पक्ष आयोगको निर्णय विरुद्ध सर्वोच्च अदालत जान सक्ने ।

जोखिम : दलको मान्यतासम्बन्धी विवाद निरुपणमा समय लाग्न गई तोकिएको समयभित्र निर्वाचन सम्पन्न हुन नसक्ने ।

आयोगले अपनाउनुपर्ने रणनीति : निर्वाचन आयोगले पारदर्शिता कायम गर्न र नागरिकलाई सूचित गर्न दल विवादसम्बन्धी निर्णयहरु सार्वजनिक गर्नुपर्ने ।

सातौं सम्भावना : निर्वाचनका लागि अनूकुल वातावरण बनाउन निर्वाचन मिति पछाडि सर्न सक्ने (जेठ-असार २०७८) ।

जोखिम : (क) निर्वाचनको मिति पछाडि सर्दा आयोगलाई वित्तीय भार बढ्न गई स्रोतको कमी हुनसक्ने ।

(ख) निर्वाचनको मिति सर्नासाथ आयोगले निर्वाचनको तयारी पुन शून्यबाट शुरु गर्नुपर्ने । यस्तो अवस्थामा आयोगलाई निर्वाचन खर्च बढी गरेको आक्षेप आउन सक्ने ।

आयोगले अपनाउनुपर्ने रणनीति : (क) निर्वाचन अधिकृतहरुको छनौट र तालिम सम्पन्न गरी निर्वाचन सुनिश्चित भएपछि मात्र नियुक्ति र कार्यालय खोल्ने कार्य गर्ने ।
(ख) आयोगले अर्थ मन्त्रालय र वैदेशिक मामिला मन्त्रालय मार्फत स्रोत परिचान र विश्वसनीयताका लागि विकास साझेदारहरुसँग समन्वय गर्ने ।
(ग) निर्वाचन सञ्चालनका लागि आयोगबाट भएको आर्थिक कार्यविधि सम्बन्धी निर्णय आयोगको वेबसाइट, सामाजिक सञ्जाल र आम सञ्चारको माध्यमबाट सार्वजनिक गर्ने ।

६ महिनाभित्र निर्वाचन हुन सकेन भने ?

निर्वाचन आयोगले विज्ञहरुमार्फत गराएको अध्ययनमा कुनै कारणले ६ महिनाभित्र निर्वाचन हुन सकेन भने के हुनसक्छ भन्ने पनि विश्लेषण गरिएको छ । र, अध्ययन रिपोर्टले प्रतिनिधिसभा विघटन सदर भएको अवस्थामा असारभित्र चुनाव गर्न नसकिए मुलुक संवैधानिक संकटमा पर्ने निश्कर्ष निकालेको छ ।

पहिलो सम्भावना : मुलुक संवैधानिक संकटतर्फ जान सक्ने ।

दोस्रो सम्भावना : राजनीनिक अनिश्चितता र हिंसाका कारण मुलुकमा संकटकाल लागू हुन सक्ने ।

जोखिम : यस्तो अवस्थामा आयोगको नियमित नीतिगत कार्यहरुमा बाधा पुग्न सक्छ । आयोगको नियमित कार्यक्रमहरु जस्तै नागरिक तथा मतदाता शिक्षा, रणनीतिक योजना कार्यान्वयन र पूर्वाधार विकास कार्यक्रमहरु प्रभावित हुन सक्छन् ।

आयोगले अपनाउनुपर्ने रणनीति : अवस्था अवलोकन गरी सोही अनुरुप कार्य गर्ने । निर्वाचन आयोगले आफ्नो कामको शैलीमा रणनीतिक परिवर्तन ल्याई प्रक्रिया सुधार र अवधारणात्मक कार्यमा जोड दिने । आयोगले तेस्रो रणनीतिक योजनाका साथै भावी निर्वाचनका लागि जग बनाउने काममा केन्द्रित हुने ।

@onlinekhabar

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

१९औ पोखरा अन्तराष्ट्रीय म्याराथन मा सहभागी अष्ट्र्लियाका दशमी गुरुगं ५ किमि भेट्रान्स मा देश्रो ।

लेखकले कुलमानलाई नहटाऔँ भन्दा खड्का र राणा कड्किए- अहिले नहटाए कहिले?

सफल पोखरा अन्तराष्ट्रीय म्याराथनमा सहभागी हुन गुरुङ्ग दाम्पत्ती पोखरा जॉदै।

घरमा एक्लै बस्ने वृद्धवृद्धा मारिने क्रम बढ्यो, सम्पत्ति लुटपाट मुख्य उद्देश्य

अस्ट्रेलियाको डार्विनमा बहु सास्कृतिक होलि पर्व मनाइदै

ओली सरकार ढाल्न चलखेल सुरु, कांग्रेससँग गृहकार्य भइरहेको माओवादी नेता दाहालको खुलासा


TOP