मंगलबार , बैसाख २९, २०८३

रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले सोमवार पूर्वी युक्रेनमा रहेका दोनेत्स्क र लुगान्स्क प्रान्तलाई स्वतन्त्र राष्ट्रको मान्यता दिएसँगै युक्रेन संकट थप खतरनाक मोडमा आइपुगेको छ ।

सन् २०१४ मा युक्रेनमा निर्वाचित सरकारलाई कलर रिभोल्युसनमार्फत अपदस्थ गरिएपछि रुसीभाषीको बाहुल्य भएका दोनेत्स्क र लुगान्स्कले आफूलाई जनगणतन्त्र घोषित गर्दै युक्रेनबाट छुट्टिएको घोषणा गरेका थिए । उनीहरूले रुससमक्ष मान्यताका लागि अपील गरेको भए पनि पुटिनले त्यो युक्रेनको आन्तरिक मामिला भएकाले हस्तक्षेप नगर्ने बताएका थिए ।

तर अमेरिका तथा पश्चिमी गठबन्धन नेटोले रुसको सुरक्षा प्रत्याभूतिको मागलाई बेवास्ता गरेपछि अनि युक्रेनी सेनाले रुसीभाषी जनतामाथि ताजा आक्रमण गर्न थालेपछि रुसले पृथक्तावादी प्रान्तहरूलाई मान्यता दिएको हो ।

त्यसो त सन् २०१४ देखि अहिलेसम्म युक्रेनी सेना र पृथक्तावादीहरूबीच भएको लडाइँमा १४ हजारजनाले ज्यान गुमाइसकेका छन् । सोमवार राति मात्र दुईजना युक्रेनी सैनिकको मृत्यु विद्रोहीहरूले प्रहार गरेको हतियारका कारण भएको युक्रेनको रक्षा मन्त्रालयले जनाएको छ ।

स्वतन्त्र देशको मान्यतासँगै रुसले दोनेत्स्क र लुगान्स्कसँग विभिन्न सन्धि पनि गरेको छ । उक्त सन्धिलाई रुसको संसद् डुमाले अनुमोदन समेत गरेको छ । दुई ‘राष्ट्र’ सँग रुसले सैन्य सन्धि गरेर त्यहाँ आफ्नो सैन्य अड्डा राख्ने बाटो समेत रुसले खोलेको छ ।

उक्त मान्यतासँगै रुसले ती दुई ‘राष्ट्र’ मा शान्ति बहाल गर्न शान्तिसेना पठाउने निर्णय पनि लिएको छ । पश्चिमले युक्रेनमाथि आक्रमण हुन सक्ने भनी लामो समयदेखि गरिरहेको प्रचारबाजीलाई शान्तिसेना पठाएर रुसले प्रकारान्तरले सही साबित गरेको छ ।

संयुक्त राष्ट्रसंघको सुरक्षा परिषद्को आकस्मिक बैठकमा राष्ट्रसंघका लागि अमेरिकी राजदूत लिन्डा टमस–ग्रीनफील्डले रुसका सैनिकहरूले शान्तिसेनाको भूमिका निर्वाह गर्ने विषयमा आशंका व्यक्त गरेकी छन् । अर्थात्, ती सैनिकहरू आक्रमणका लागि त्यहाँ गएको उनको आशय हो ।

गत साता रुसको संसद् डुमाले बहुमतका साथ पुटिनलाई ती दुई प्रान्तलाई राष्ट््रको मान्यता दिन अनुरोध गरेको थियो । पुटिनले त्यसलाई थाती राखेको भए पनि युक्रेनी सेनाले दोनेत्स्क र लुगान्स्कमा गोलीबारी बढाएर रुसीभाषीहरूलाई आक्रमण गर्न थालेको आरोप लगाउँदै २१ फेब्रुअरीमा उनीहरूलाई स्वतन्त्र राष्ट्रको मान्यता दिएका हुन् । उक्त क्षेत्रका मानिसले आतिशबाजी गरेर रुसी निर्णयको स्वागत गरेका छन् ।

पुटिनले दोनेत्स्क र लुगान्स्कमा भइरहेका घटनालाई नरसंहारको संज्ञा केही समयअघि दिएका थिए र रुसीभाषीहरूको रक्षा गर्ने जिम्मेवारी लिने बताएका थिए । त्यसैअनुरूप उक्त प्रान्तका ७ लाख २० हजार मानिसले रुसी नागरिकता प्राप्त गरिसकेका छन् र संकटबाट बच्न धेरै मानिस रुसको रोस्तोभ प्रान्ततर्फ पनि गएका छन् ।

रुसको यो निर्णयसँगै युक्रेन विभाजित भएको छ तर संयुक्त राष्ट्रसंघले अनि अन्य मुलुकहरूले यसको मान्यता नदिएकाले दोनेत्स्क र लुगान्स्कले सार्वभौम मुलुकको औपचारिकता पाउन सक्दैनन् । यसअघि मोल्दोभाको ट्रान्सनिस्ट्रिया र जर्जियाको अब्खाजियालाई पनि रुसले स्वतन्त्र राष्ट्रको मान्यता दिएको भए पनि तिनीहरूलाई संयुक्त राष्ट्रसंघले सार्वभौम मुलुक मानेको छैन ।

दोनेत्स्क र लुगान्स्कलाई स्वतन्त्र मुलुकको मान्यता दिने रुसी कदमलाई युक्रेनले अस्वीकार्य भनेको छ । अनि अमेरिका, फ्रान्स, जर्मनी लगायतका प्रभावशाली मुलुकहरूले रुसी कदमको कडा निन्दा गरेका छन् । हिजै यी तीन राष्ट्रका प्रमुखहरूबीच भएको कुराकानीमा रुसी कदमलाई कुनै हालतमा स्वीकार्न नसकिने र रुसमाथि गम्भीर प्रतिबन्ध लगाउने विषयमा सहमति बनेको छ ।

युक्रेन संकट थप चर्किने गरी रुसले यो कदम किन चाल्यो ? माथि संकेत गरिएअनुसार, रुसले पश्चिमसमक्ष राखेको सुरक्षा प्रत्याभूतिलाई पश्चिमले गम्भीरतापूर्वक नलिँदा यस्तो स्थिति आएको हो ।

विशेषगरी अमेरिकाले एन्टी ब्यालिस्टिक क्षेप्यास्त्र सन्धि, इन्टरमिडिएट रेन्ज न्युक्लीयर फोर्सेस (आईएनएफ) सन्धि र ओपन स्काईज सन्धिबाट हात झिकेपछि रुसले आफ्नो सुरक्षामा गम्भीर जोखिम आइलागेको अनुभव गर्न थालेको थियो । एकातिर नेटोले रुसको मागलाई बेवास्ता गर्दै पूर्वतर्फ थप विस्तार गर्ने अनि अर्कोतर्फ अमेरिकाले युरोपमा क्षेप्यास्त्र संकटको स्थिति ल्याएर रुसलाई तर्साउने काम गरेकाले रुसले सुरक्षा प्रत्याभूतिको कानूनी लिखतको माग गरेको थियो ।

सन् १९८७ मा अमेरिका र तत्कालीन सोभियत संघले हस्ताक्षर गरेको आईएनएफ सन्धिले दुवै देशलाई ५०० देखि ५ हजार किलोमिटर दायरासम्मका जमीनबाट मार हान्ने ब्यालिस्टिक र क्रुज क्षेप्यास्त्र नष्ट गर्न लगाएको थियो । रुसले यस सन्धिलाई उल्लंघन गर्दै क्षेप्यास्त्र विकसित गरेको आरोप अमेरिकाले लगाउने गरेको थियो । रुसले त्यसलाई अस्वीकार गरे भए पनि अमेरिका सन् २०१९ मा उक्त सन्धिबाट एकपक्षीय रूपमा बाहिरिएको थियो ।

त्यसअघि अमेरिकाले चेक गणतन्त्र र पोल्यान्डमा एन्टी मिसाइल प्रणाली तैनाथ गर्ने निर्णय लिएको थियो । रुसको छिमेकी मुलुक युक्रेनमा समेत त्यस्तो प्रणाली तैनाथ गर्न सकिने आशंका रुसले गरेको छ ।

त्यस्तो स्थिति आएमा रुसले आफूमाथिको आणविक आक्रमणको जवाफ फर्काउने क्षमता (न्युक्लीयर सेकेन्ड स्ट्राइक केपेबिलिटी) गुमाउने र अमेरिकाले उसलाई सधैंभरि आणविक ब्ल्याकमेल गर्ने भूराजनीतिक विश्लेषक एन्ड्रु कोरीब्कोको भनाइ छ । त्यसैले यो स्थिति आउन नदिनका लागि कूटनीतिक समाधान खोज्न रुसले सुरक्षा प्रत्याभूतिको अनुरोध गरेको थियो ।

रुसको यो निर्णयसँगै युक्रेन विभाजित भएको छ तर संयुक्त राष्ट्रसंघले अनि अन्य मुलुकहरूले यसको मान्यता नदिएकाले दोनेत्स्क र लुगान्स्कले सार्वभौम मुलुकको औपचारिकता पाउन सक्दैनन् । यसअघि मोल्दोभाको ट्रान्सनिस्ट्रिया र जर्जियाको अब्खाजियालाई पनि रुसले स्वतन्त्र राष्ट्रको मान्यता दिएको भए पनि तिनीहरूलाई संयुक्त राष्ट्रसंघले सार्वभौम मुलुक मानेको छैन ।
युक्रेनलाई नेटोको सदस्य बनाउन नहुने सुरक्षा प्रत्याभूतिको केन्द्रीय माग हो । नेटोमा युक्रेन आबद्ध भएमा उसले आफूमाथि रुसबाट खतरा छ भन्ने कुरा झिकेर धारा ५ लाई उपयोग गराउन सक्ने अनि त्यसले गर्दा रुस र नेटोबीच युद्धको स्थिति आउनसक्ने पिरलो रुसलाई छ । त्यसबाहेक नेटो राष्ट्र भएको नाताले युक्रेनमा आणविक तथा अन्य घातक हातहतियार राख्न सकिने र त्यस्तो हतियार पाँच मिनेटमा मस्को पुगेर विनाश गर्न सक्ने आशंका पुटिन स्वयंले अभिव्यक्त गरेका छन् ।

तर युक्रेन सार्वभौम मुलुक भएकाले कुनै पनि संगठनमा जोडिने नजोडिने उसको स्वतन्त्रताको कुरा हो भन्दै नेटोले रुसको माग पूरा गर्न नसकिने भनेको छ ।

नेटोको यस्तो अडान रहँदा युक्रेनका राष्ट्रपति भोलोदीमीर जेलेन्स्कीले केही दिनअघि जर्मनीको म्युनिखमा आयोजित सुरक्षा सम्मेलनमा युक्रेनलाई नेटोको सदस्य नबनाइएमा आणविक हतियार बनाउने चेतावनी समेत दिएका थिए ।

त्यसो त युक्रेन विगतमा आणविक हतियारसम्पन्न मुलुक थियो तर पछि उसलाई हतियाररहित बनाइयो । सन् १९९४ मा हंगेरीको राजधानी बुडापेस्टमा अमेरिका, बेलायत, रुस र युक्रेनले एक स्मरणपत्रमा हस्ताक्षर गरेका थिए । त्यसमा सोभियत संघका पूर्व गणतन्त्रहरू युक्रेन, बेलारुस र कजाकस्तानलाई आणविक हतियार परित्याग गर्नका लागि मनाइएको थियो र उनीहरूको भौगोलिक अखण्डता वा राजनीतिक स्वतन्त्रतामा आघात नपुर्‍याइने प्रत्याभूति गरिएको थियो ।

जेलेन्स्कीले बुडापेस्ट मेमोरेन्डमका प्रावधानहरूलाई खारेज गर्दै आणविक हतियार निर्माण गर्न सक्ने चेतावनी दिएलगत्तै रुसले पनि उक्त मेमोरेन्डमको प्रत्याभूतिलाई लत्याउँदै युक्रेनको भौगोलिक अखण्डतामाथि प्रहार गरेको छ । दोनेत्सक र लुगान्स्क प्रान्तलाई स्वतन्त्र राष्ट्रको मान्यता दिँदै रुसले यसरी युक्रेनको भौगोलिक अखण्डता कायम राख्ने प्रत्याभूतिको दस्तावेजलाई धुजाधुजा पारेको हो ।

त्यसो त सन् २०१४ मा रुसले युक्रेनको क्राइमिया हात पारेर नै बुडापेस्ट मेमोरेन्डमलाई लत्याइसकेको थियो । त्यतिखेर रुसलाई यसको दण्ड दिन पश्चिम विफल भएको थियो । रुसमाथि आर्थिक प्रतिबन्ध लगाइएको भए पनि त्यसले कुनै तात्त्विक असर पारेन ।

अहिले रुसले युक्रेनको भौगोलिक अखण्डतामा पुनः प्रहार गर्दा पनि पश्चिमले प्रतिबन्धको धम्की मात्र दिएको छ । आज त्यस्तो प्रतिबन्धको घोषणा गरिने सम्भावना छ । तर त्यसभन्दा कठोर दण्डको बारेमा पश्चिमले सोच्न सकेको देखिँदैन । आफ्नो सुरक्षालाई बलियो पार्ने दीर्घकालीन रणनीति बनाएको रुस पश्चिमको प्रतिबन्धबाट हुन सक्ने पीडाका लागि तयार भएर बसेको छ ।

युक्रेनमाथि रुसी आक्रमण भएमा रुसले त्यसको कठोर परिणाम भोग्नुपर्ने भनी पश्चिमले बारम्बार चेतावनी दिइरहेकोमा अब त्यसको कार्यान्वयन गर्नुपर्ने स्थिति आइलागेको छ । यस संकटको कूटनीतिक समाधानका लागि पश्चिमले मिन्स्क सम्झौता पालन गराउन युक्रेनलाई फकाउनुपर्ने हुन्छ । मिन्स्क सम्झौताले दोनेत्स्क र लुगान्स्कलाई स्वायत्त अधिकार प्रदान गराउँछ ।

त्यसो त दोनेत्स्क र लुगान्स्कलाई स्वतन्त्र राष्ट्रको मान्यता दिएर पुटिनले मिन्स्क सम्झौतालाई लगभग बेकामे बनाइदिएका छन् । तर अहिलेको संकट थप चर्किन नदिन अनि युक्रेनलाई आणविक हतियारयुक्त शक्ति बन्नबाट रोक्न पश्चिमले मिन्स्क सम्झौतालाई गम्भीर कार्यान्वयन गराउनुपर्ने हुन्छ ।

पुटिन आफूप्रति बफादार दुई नयाँ राष्ट्रमा सन्तुष्ट रहन्छन् कि थप अघि बढ्छन् भनी पश्चिमले अनुमान गरिरहेको छ । सीएनएनमा स्टिफन कोलिनसनले गरेको विश्लेषणमा उल्लेख भएअनुसार, युक्रेनलाई पश्चिमको खेमामा जानबाट रोक्नका लागि बाध्य पार्न पुटिनले यो कदम चालेका हुन् ।

अमेरिकाको अर्को कदमलाई हेरेर मात्र पुटिनले यतिमै सीमित हुने कि अघि बढ्ने निर्णय गर्नेछन् । पुटिन त्यसमा मात्र सीमित रहे भने विश्वव्यापी संकट टर्नेछ ।

पुटिनले आफ्नो चाल चलिसकेको स्थितिमा अब अमेरिकाले संकटलाई चर्काउने कि यसलाई मत्थर पार्नका लागि प्रयास गर्ने भनी शीघ्र निर्णय लिनुपर्ने भएको छ । कुनै निर्णय लिन ढिलाइ गर्दा पुटिन अहिलेको भन्दा एक कदम अघि बढेर पूरै युक्रेनलाई हात पार्न सक्ने सम्भावनालाई नकार्न सकिन्न ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

Liverpool South Ward उपनिर्वाचनमा नेपाली समुदायका अगुवा देव बहादुर गुरुङको उम्मेदवारी

Australia मा नेपाली Gen-Z सहिदहरूलाई सम्मान र नयाँ नेतृत्वलाई बधाई कार्यक्रम सम्पन्न

NRNA NT Youth Forum Multicultural Cup 2026 सम्पन्न, Northern Nepalese FC च्याम्पियन

डार्विनमा २९३ नेपालीले पासपोर्ट नवीकरण गरे

डार्विनमा “साउन्ड अफ नेपाल” भव्य रूपमा सम्पन्न, ७०० भन्दा बढी दर्शकको सहभागिता

डार्विनमा “साउन्ड अफ नेपाल” कन्सर्ट: सबिन राई एण्ड द फारोको सांगीतिक धमाका हुने


TOP