आइतबार , बैसाख १४, २०८२

काठमाडौं । सरकारले आगामी वैशाख ३० मा स्थानीय तहको चुनाव गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्को निर्णयसँगै निर्वाचनको सुरक्षाका गर्न नेपाल प्रहरी र सशस्त्र प्रहरी बलले आफ्नो तयारी थालेका छन् ।

तर, चुनावी सुरक्षाको मुख्य जिम्मेवार निकाय नेपाल प्रहरी र सशस्त्र प्रहरीको नेतृत्व सो निर्वाचनभन्दा केही दिनअघि परिवर्तन हुँदैछ । नेपाल प्रहरीका महानिरीक्षक शैलेश थापा क्षेत्री ३० वर्षे सेवा अवधि पूरा गरेर २०७९ वैशाख १९ मा अवकाश जाँदैछन् । उनी २०७७ असार २३ मा प्रहरी महानिरीक्षक नियुक्त भएका थिए ।

सशस्त्र प्रहरी बलका आईजीपी शैलेन्द्र खनाल २०७८ चैत २७ मा अवकाशमा जाँदैछन् । आईजीपीको चारवर्षे पदावधिका कारण खनाल अवकाशमा जान लागेका हुन् । खनालको अवकाशपछि उनकै ब्याचमेट सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) पुष्पराम केसी महानिरीक्षक (आईजीपी) बन्नेछन् । केसी २२ दिनमात्र आईजीपी हुनेछन् । वैशाख १९ पछि सशस्त्र प्रहरीले पनि नयाँ नेतृत्व पाउनेछ ।

दुवै संगठनका आईजीपीको अवकाशसँगै मन्त्रिपरिषद्ले नियुक्त गर्ने नेपाल प्रहरी र सशस्त्र प्रहरीको नेतृत्वले स्थानिय तह निर्वाचनको चुनावी सुरक्षाको कमाण्ड गर्नेछन् ।

विश्वराज र सहकुलको प्रतिस्पर्धा

नेपाल प्रहरीमा अहिले दुईजना प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) छन् । उनिहरु हुन्, विश्वराज पोखरेल र सहकुल थापा । शैलेश थापाको अवकाशपछि विश्वराज पोखरेल र सहकुल थापा आईजीपी हुने प्रतिपस्पर्धामा छन् ।

केपी शर्मा ओली नेतृत्वको मन्त्रिपरिषदले २०७७ मंसिरमा विश्वराज पोखरेललाई नयाँ दरबन्दी सिर्जना गरेर एआईजीमा बढुवा गरेको थियो । त्यतिवेला गृह मन्त्रालयले पाँचवटा डीआईजीको दरबन्दी थप्नुपर्ने रायसहितको संगठनात्मक स्वरुप निर्धारण (ओएण्डएम) मन्त्रिपरिषद्मा पठाएको थियो । तर, तत्कालीन मन्त्रिपरिषद्को प्रशासनिक समितीका संयोजक ईश्वर पोखरेलले एआईजीको दरबन्दी थपेर मन्त्रिपरिषद्बाट सो ओएण्डएम स्विकृत गराए ।

सो पदमा विश्वराज पोखरेल बढुवा भएर भावी महानिरीक्षक हुन एकल दाबेदार भएका थिए ।

नेकपा (एमाले)को अर्को समूहले सो निर्णयमा असन्तुष्टि जनायो । मन्त्रिपरिषद्ले विश्वराजलाई जसै गरी सहकुल थापाका लागि नयाँ दरबन्दी थपेर ०७८ असार २४ मा एआईजीमा बढुवा गर्ने निर्णय लियो । थापालाई एआईजीमा बढुवा गरेसँगै भावी महानिरीक्षकमा एकल प्रतिस्पर्धा अन्त्य भयो ।

एआईजी थप्ने प्रस्ताव मन्त्रिपरिषद्मा

प्रहरी महानिरीक्षक शैलेश थापाका ब्याचमेटहरु सिनियर डिआईजी छन् । तर, ओली सरकारले दुईजना जुनियरलाई एआईजी बनाएपछि सरकार परिवर्तन भयो । शेरबहादुर देउवा नेतृत्वको सरकारले ३ जना एआईजीको पद थप्ने तयारी गरेको छ ।

एआईजीको दरबन्दी थप्नुपर्ने राय सहितको संगठनात्मक स्वरुप निर्धारण (ओएण्डएम) गृह मन्त्रालयले मन्त्रिपरिषद्मा पेश गरेको छ । प्रधानमन्त्री कार्यालयका एकजना उच्च अधिकृतका अनुसार अब बस्ने मन्त्रिपिरषद्ले सो ओएण्डएम स्विकृत गर्ने तयारी छ ।

एआईजीको दरबन्दी थपेर प्रहरी नायव महानिरीक्षक (डिआईजी) धिरजप्रताप सिंह सहितका दाबेदारहरुलाई एआईजीमा बढुवा गर्ने सरकारको तयारी छ । देउवा नेतृत्वको सरकारले विश्वराज र सहकुल थापाको विकल्प खोजेको छ । प्रधानमन्त्री निकट स्रोतका अनुसार धीरज प्रताप सिंहलाई एआईजी बनाएर शैलेश थापाको अवकाशपछि प्रहरीको कमाण्ड सुम्पिनेबारे उच्च तहमा छलफल भएको छ ।

दुईजना सिनियर एआईजी हुँदाहुँदै पनि तेस्रो अफिसरलाई एआईजीमा बढुवा गरेर आईजीपी बनाउन कानुन नरोक्ने बताउँछन् वरिष्ठ अधिवक्ता रमन श्रेष्ठ । रातोपाटीसँग कुरा गर्दै श्रेष्ठले भने, ‘कानुनले तेस्रो व्यक्तिलाई महानिरीक्षक बनाउन रोक्दैन ।’

नवराज सिलवालको मुद्दामा सर्वोच्च अदालतले ज्येष्ठता​ र कार्य सम्पादन मूल्यांकनको अंक हेर्नुपर्ने भनेको थियो । तर, रविप्रताप राणाको मुद्दामा अदालतले ‘भविष्यमा आईजीपी भएर नेतृत्व गर्न सक्ने क्षमता हेर्नुपर्छ’ भनेको थियो । अदालतका पुराना नजिरलाई समेत कुल्चेर नवराज सिलवालको मुद्दामा आदेश गरेको आरोप लगाएर तत्कालीन प्रधान न्यायाधीश सुशीला कार्की बिरुद्ध संसदमा महाअभियोग प्रस्ताव दर्ता गरिएको थियो ।

प्रहरी नियमावली–२०७१ को नियम ४१ अनुसार एआईजी मध्येबाट सरकारले चाहेको उम्मेदवारलाई प्रहरी महानिरीक्षक नियुक्त गर्न सक्नेछ । ‘प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) मध्येबाट ज्येष्ठता​, कार्यकुशलता, कार्यक्षमता र उत्तरदायित्व वहन गर्न सक्ने क्षमता भएको उम्मेदवारलाई बढुवा गर्नुपर्नेछ’ नियमावलीमा भनिएको छ–‘नेतृत्व प्रदान गर्न सक्ने कुशलता तथा आफूभन्दा मुनिको प्रहरीलाई प्रोत्साहन र परिचालन गर्न सक्ने सामर्थ्यको आधारमा नेपाल सरकारले उपयुक्त देखेको उम्मेदवारलाई महानिरीक्षकमा बढुवा गर्नेछ ।’

सशस्त्रमा ३ जना प्रतिस्पर्धामा

सशस्त्र प्रहरी बलमा वैशाख १९ पछि आईजीपी हुने दाबेदारहरु अहिले सशस्त्र प्रहरी नायब महानिरीक्षक (डिआईजी) पदमा कार्यरत छन् । प्रतिस्पर्धाको एक नम्बरमा छन्, डिआईजी राजु अर्याल ।

अर्यालपछिको वरियतामा छन्, डिआईजी नारायणदत्त पौडेल र सिपी गौतम । मेरिट लिस्टको २ र ३ नम्बरमा रहेका पौडेल र गौतम पनि आईजीपीका प्रतिस्पर्धी हुन् । आफ्ना ब्याचमेटहरु मध्येबाट एक नम्बरमा भएको हुनाले अर्याल प्रतिस्पर्धामा अगाडि छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

अस्ट्रेलियाका गीतकार विनोद अधिकारीका सिर्जना छिटै बजारमा आउंदै

डार्विनको नाइटक्लिफमा छुरा प्रहार, एकजनाको मृत्यु

फेरि बिग्रियो प्रचण्ड–जनार्दन सम्बन्ध, बैंककमा ओलीसँग डिनर, सिंहदरबारमा विष्णु पौडेलसँग फोटो!

लेखकले कुलमानलाई नहटाऔँ भन्दा खड्का र राणा कड्किए- अहिले नहटाए कहिले?

अस्ट्रेलियाको डार्विनमा बहु सास्कृतिक होलि पर्व मनाइदै

ओली सरकार ढाल्न चलखेल सुरु, कांग्रेससँग गृहकार्य भइरहेको माओवादी नेता दाहालको खुलासा


TOP