आइतबार , बैसाख १४, २०८२

काठमाडौँ — अमेरिकाले एमसीसी विषयलाई लिएर नेपाली नेताहरुलाई धम्की नदिएको बताएको छ । नेपालका लागि अमेरिकी राजदूत र्‍यान्डी बेरीले अमेरिकी अधिकारीले नेपाली नेताहरुलाई धम्की दिएको भने सूचना गलत भएको बताएका हुन् ।

नेपालका कुटनीतिक मामिला पत्रकारहरुसँग सोमबार अमेरिकी राजदूत बेरीले भने,‘हामीले नेपाली नेताहरूलाई धम्की दिएका छैनौं । यो कुरा असत्य हो ।’

उनले अमेरिकाले त नेपाललाई आफ्ना प्रतिबद्धताहरू पालना गर्न आग्रह गरेको बताए । ‘एमसीसीलाई नेपाली नेताहरूले अनुमोदन गर्ने कि नगर्ने भन्ने निर्णय नेपालले एक सार्वभौम लोकतान्त्रिक राष्ट्रका रूपमा गर्ने निर्णय हो । र, नेपाल एक्लैको निर्णय हो,’ राजदूत बेरीले भने,‘नेपालले वाचा पुरा गर्ने कार्यमा वर्षौंको ढिलाइ भएपछि हामीले चाहेको यति मात्रै हो कि सम्झौताको अनुमोदनलाई मतदानको प्रक्रियामा ल्याइयोस ताकि नेपाली जनताले आफना निर्वाचित प्रतिनिधिमार्फत आफ्नो भनाइ राख्न सकून् ।’

दक्षिण तथा मध्यएसियाली मामिला सम्बन्धी अमेरिकी सहायक विदेश मन्त्री डोनाल्ड लुले माघ २७ गते प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवा, अर्को सत्ताघटक दल माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र प्रमुख प्रतिपक्ष दल एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग टेलिफोन संवाद गरेका थिए ।

उक्त संवादमा माओवादी केन्द्रका अध्यक्ष दाहालले सार्वजनिक रुपमै आफूलाई चेतावनीको भाषामा मन्त्री लुले कुराकानी गरेको बताएका थिए । त्यसपछि सञ्चार माध्यममा अमेरिकाले नेपाली नेताहरुसँग गरेको संवादलाई लिएर टिका–टिप्पणी भएको थियो ।

राजदूत बेरीले अमेरिकाले नेपाली नेताहरूसँग छलफल त गरिरहेको पनि जानकारी दिए । ‘तर पछिल्लो हाम्रो छलफल केही सञ्चारमाध्यम र अनलाइनमा चित्रण गरिएको बहस जस्तो पक्कै थिएन । सार्वजनिक दस्तावेज वा भनाइहरूमा आधारित हुँदा, नेपाली नेताहरूमा एमसीसीले नेपालमा रोजगारी र पूर्वाधार विकास गर्ने बुझाइ भएको पाइन्छ,’ उनले भने,‘सोही कारण नै नेपाल सरकारले पहिले हामीसँग एमसीसी कम्प्याक्टका लागि आग्रह गरेको हो ।’

बेरीले दुर्भाग्यवश एमसीसी विकास कार्यक्रम भ्रामक सूचनामा फसेको भन्दै दु :ख व्यक्त गरे । ‘सो भ्रामक सूचना एक यस्तो कार्यक्रमका विरुद्ध लक्षित छ जुन पारदर्शिता, जवाफदेहिता र लोकतन्त्रमा आधारित छ । त्यसको विपक्षमा को हुनसक्छ ?’ उनले भने ।
बेरीले अमेरिका र नेपालबीचको सम्बन्ध एउटा सम्झौताभन्दा धेरै फराकिलो बताए । उनले यो वर्ष नेपाल–अमेरिका बीचको सम्बन्धको ७५औं वर्ष रहेको उल्लेख गर्दै यी वर्षहरूमा नेपालले धेरै ऐतिहासिक र अविश्वसनीय परिवर्तनहरू देखेको उल्लेख गरे ।

‘यी परिवर्तनहरूमा अमेरिका सधैँ नेपालसागैँ उभिएको छ र नेपाललाई विकास सहयोग, विपद् प्रतिकार्य र पूर्वतयारी सहायता प्रदान गर्नुका साथै स्वास्थ्य, शिक्षा र अन्य कार्यक्रमहरूमा पनि सहयोग गर्दै आइरहेको छ,’ उनले भने,‘तर सामान्य रूपमा, दुई देश बीच हस्ताक्षर भएको सम्झौताबाट पछि हट्दा यी देशको सम्बन्धमा असर पर्न सक्दछ ।’

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

अस्ट्रेलियाका गीतकार विनोद अधिकारीका सिर्जना छिटै बजारमा आउंदै

डार्विनको नाइटक्लिफमा छुरा प्रहार, एकजनाको मृत्यु

फेरि बिग्रियो प्रचण्ड–जनार्दन सम्बन्ध, बैंककमा ओलीसँग डिनर, सिंहदरबारमा विष्णु पौडेलसँग फोटो!

लेखकले कुलमानलाई नहटाऔँ भन्दा खड्का र राणा कड्किए- अहिले नहटाए कहिले?

अस्ट्रेलियाको डार्विनमा बहु सास्कृतिक होलि पर्व मनाइदै

ओली सरकार ढाल्न चलखेल सुरु, कांग्रेससँग गृहकार्य भइरहेको माओवादी नेता दाहालको खुलासा


TOP