सन् २०२१ मा एउटा पनि यान चन्द्रमामा अवतरण भएन तर सन् २०२२ मा भने थुप्रै अवतरणका प्रयासहरू देखिने भएको छ।

नासाले आफ्नो ‘आर्टेमिस कार्यक्रम’ सुरु गर्दै छ र अन्य थुप्रै मिसनहरूमार्फत चन्द्रमामा भविष्यका अन्तरिक्षयात्रीले प्रयोग गर्ने सामग्री र उपकरण लगेर थुपार्दै छ।

यो वर्ष भारत, जापान, रुस, दक्षिण कोरिया र यूएईले पनि चन्द्रमामा पुग्ने लक्ष्य बनाएका छन्। त्यस्तै केही कम्पनीहरूले पनि पृथ्वीको सो एकमात्र उपग्रहमा पुग्ने योजना बनाएका छन्।

तर सन् २०२२ मा सबै उडानहरू मानवरहित हुनेछन् र ती सबैले एक दशकभित्र चन्द्रमामा मानिसको स्थायी उपस्थितिका लागि आवश्यक कार्यमा सहयोग गर्ने छन्।

तर त्यो नै प्रमुख लक्ष्य होइन। चन्द्रमामा अन्तरिक्ष स्टेसन निर्माण गर्नु भनेको मङ्गल ग्रहमा मानव पठाउने योजनाको एउटा कदम मात्रै हुने समेत चर्चा छ।

ब्रिस्टल विश्वविद्यालयका डा. जोई लेनहार्ड्ट यो वर्ष नयाँ देशहरू सम्मिलित नयाँ अन्तरिक्ष दौड सुरु हुने बताउँछन्।

केही मिसनका चन्द्रमामै अध्ययन गर्ने लक्ष्य भए पनि केहीका थप योजना छन्।

“कुनै मिसनका दीर्घकालीन योजनाहरू छन्। चन्द्रमाका मिसनहरू नयाँ प्रविधि र सहकार्य परीक्षण गर्ने अवसरको प्रमाण पनि हो,” डा. लेनहार्ड्ट भन्छन्।

प्रत्येक मिसनका लक्ष्य के हुन् त?

नासा ‌‍आर्टेमिस १ मिसन

नासाको महत्त्वाकाङ्क्षी आर्टेमिस अन्तरिक्ष कार्यक्रमको लक्ष्य सन् २०२५ सम्ममा चन्द्रमामा मानव उतार्ने हो।

मार्चमा आर्टेमिस १ मिसनले त्यो लक्ष्यको प्रारम्भिक काम गर्नेछ।

यो मिसन मानवरहित हुनेछ तर कमान्डरको कुर्सीमा एउटा मानिसको प्रारूप राखिने छ। अपोलो १३ मिसनलाई पृथ्वीमा फर्काउन प्रमुख भूमिका खेलेका आर्टुरो क्याम्पोस नाम दिइएको सो प्रारूप मानिसजस्तै देखिन्छ।

क्याम्पोसले मिसनका कठिन पलहरूमा भविष्यका अन्तरिक्षयात्रीले लगाउने स्पेससुट परीक्षण गर्नेछ।

संसारको सबैभन्दा शक्तिशाली रकेट स्पेस लन्च सिस्टमबाट मिसन प्रक्षेपण गरिने छ।

यदि सबै योजनाअनुरूप भयो भने सन् २०२५ मा आर्टेमिस ३ मार्फत मानिसले सन् १९७२ यता पहिलोपटक चन्द्रमामा पाइला टेक्नेछ। आर्टेमिस मिसनबाट चन्द्रमामा पहिलोपटक महिला र अश्वेत अन्तरिक्षयात्री पठाउने लक्ष्य छ।

भारत, जापान र यूएई
चन्द्रमामा अवतरण गर्ने अन्य देश र संस्थामध्ये केहीको लक्ष्य त्यहाँ अध्ययन गर्ने छ भने केहीको सामग्री र उपकरण पुर्‍याउने छ।

चन्द्रमामा अवतरण गर्ने पहिलो प्रयास असफल भएको दुई वर्षपछि भारतीय अन्तरिक्ष अध्ययन संस्थाले चन्द्रयान ३ मिसनको योजना बनाएको छ।

सन् २०२२ को तेस्रो त्रैमासिकमा चन्द्रमामा गुड्ने यन्त्र र स्थिर उपकरणसहितको अन्तरिक्षयान प्रक्षेपण गर्नेछ।

यो वर्ष जापानका दुई महत्त्वाकाङ्क्षी चन्द्रमा योजना छन्।

जापानी अन्तरिक्ष एजेन्सीले एप्रिलमा चन्द्रमामा अवतरण गर्न यान प्रक्षेपण गर्नेछ।

जापानी स्मार्ट ल्यान्डर फर इन्भेस्टिगेटिङ दी मून एसएलआईएमले चन्द्रमामा अचुक रूपमा अवतरण गर्ने प्रविधिको परीक्षण गर्नेछ।

जापानी स्पेस कम्पनी आईस्पेसले सन् २०२२ को दोस्रो अर्धवार्षिकमा चन्द्रमामा अवतरण गर्ने यान पठाउने छ।

जापानी मिसनबाट चन्द्रमामा एउटा यूएईको सहित दुई रोबट अवतरण गर्नेछन्।

रुस र दक्षिण कोरिया

रुसको सन् २०२२ को चन्द्रमा मिसनलाई लुना २५ नाम दिइएको छ।

यो रुसको ४५ वर्षपछि चन्द्रमामा टेक्ने पहिलो मिसन हुनेछ र यो चन्द्रमाको दक्षिण ध्रुवमा अवतरण गर्ने पहिलो मिसन हुनेछ। यही क्षेत्रमा नासाले पनि मानव अवतरण गराउने सोच राखेको छ।

रुसी मिसन सन् २०२२ को जुलाईमा प्रक्षेपण गरिने छ।

दक्षिण कोरियाली अन्तरिक्ष एजेन्सीले कोरियन पाथफाइन्डर लुनार अर्बिटर अगस्टमा प्रक्षेपण गर्नेछ।

सो अर्बिटरले चन्द्रमाको सतह अध्ययन गर्नेछ र भविष्यका मिसनहरूको योजना बनाउन सहयोग गर्नेछ।

नासाको भारी

निजी कम्पनीहरू पनि चन्द्रमा पुग्ने अन्तरिक्ष दौडमा छन्।

नासाको चन्द्रमासम्म सामान पुर्‍याउने कार्यक्रम अन्तर्गत निजी कम्पनीहरूले चन्द्रमासम्म ढुवानी सेवा प्रदान गर्नेछन्।

अमेरिकी कम्पनी इन्ट्युटिभ मेसिन्सले नोभा-सी नामको छ-खुट्टे रोबटलाई नासाको भारी बोकेर सन् २०२२ को सुरुमा चन्द्रमा उतार्ने लक्ष्य लिएको छ।

सन् २०२२ को मध्यतिर अमेरिकी एस्ट्रोबोटिक टेक्नोलोजीको बक्साजस्तो चारखुट्टे ल्यान्डर वैज्ञानिक अध्ययन उपकरण बोकेर चन्द्रमा जानेछ।

धेरै मिसनका उद्देश्य अन्तरिक्षयात्री र उपकरणलाई बचाउने उपाय पत्ता लगाउन चन्द्रमाको वातावरण अध्ययन गर्ने हुनेछ।

यी मिसनले वैज्ञानिकहरूलाई पानीजस्ता स्रोत निकाल्न उपयोगी हुनसक्ने विभिन्न उपकरण र परीक्षण तथा प्रयोग गरेर नतिजा हेर्ने अवसर दिनेछ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

माधव नेपाल र उपेन्द्र यादवबाट धोका भए प्रचण्ड र ओली हदैसम्मको कठोर बन्ने

ढिलो आयो कडा आयो, डार्विनको होलि !

ओमेगा-३ सप्लिमेन्ट : कति र किन खाने ?

गौरीराज जोशी एनआरएनए अभियानबाट अलग, छुट्टै संस्था दर्ताको तयारीमा

आजको राशिफल : वि.सं. २०८० चैत्र २१ गते बुधवार : श्री देवीकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य

आजको राशिफल ~ वि.सं. २०८० चैत्र २५ गते आइतवार : कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य


TOP