मंगलबार , बैसाख २९, २०८३

काठमाडौं नयाँबजारकी २२ वर्षीया युवती कल्पना (नाम परिवर्तन) गत साता सामाजिक सञ्जालबाट ठगिइन् । उच्च शिक्षाका लागि अमेरिकाको प्रवेशाज्ञा लिएर उड्ने तयारीमा बसेकी कल्पनाले ‘ह्वाट्स एप’मा चिट्ठा परेको भन्दै आएको म्यासेजको प्रलोभनमा परी अपरिचित व्यक्तिलाई ८० हजार रुपैयाँ पठाइन् ।

उनले चिट्ठामा परेको लाखौँ रकम पाउने प्रलोभनमा अपरिचित व्यक्तिलाई मोबाइल बैङ्किङको पासवर्डसमेत दिइन् । रकम पाएपछि ती अपरिचित व्यक्ति कल्पनासँग सम्पर्कविहीन बने ।

चिट्ठाको प्रलोभनमा अपरिचितबाट ठगिएको भन्दै कल्पनाले प्रहरीलाई गुहारिन् र प्रहरीको सक्रियताले उनको बैङ्क खातामा रहेको नौ लाख भने ठगिन पाएन । विद्यावारिधि उपाधि प्राप्त त्रिभुवन विश्वविद्यालयमा अध्यापन गर्ने सन्तोष (नाम परिवर्तित)समेत यसरी ठगिएका छन् । यस्तै बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका निर्देशक केदार (नाम परिवर्तन)ले पनि झुटो सन्देशकै भरमा नचिनेका व्यक्तिलाई बैङ्कबाट एक लाख रुपियाँ पठाए ।

यी प्रतिनिधि घटनाका पीडित आफूले नभरेको च्टिठा पाउने प्रलोभनमा ठगिएका हुन् । प्रहरी प्रधान कार्यालयअन्तर्गतको साइबर ब्युरोले उनीहरूको उजुरीका आधारमा अनुसन्धान गरिरहेको छ ।

फेसबुक, भाइबर, इमो, ह्वाट्स एप, इन्स्टाग्रामलगायत सामाजिक सञ्जालको दुरुपयोगबाट गत वर्ष तीन हजार नौ सयभन्दा बढी पीडित भएका छन् । साइबर ब्युरोका प्रमुख (प्रहरी नायब महानिरीक्षक) रामकृपाल साहले ठगिनेमा सामान्य व्यक्तिका साथै शिक्षितसमेत रहेको भन्दै यो क्रम बढेको जानकारी दिए ।

साइबर अपराधका घटना पछिल्लो समय एकदमै बढेको तथ्याङ्कले देखाएको छ । ब्युरोका अनुसार आर्थिक वर्ष २०७५/७६ मा ३५७ जना पीडित, आव ०७६/७७ मा दुई हजार ३०१ र ०७७/७८ मा तीन हजार ९०६ पीडितले उजुरी गरेका थिए ।

ब्युरोका उपनिर्देशक वरिष्ठ प्रहरी उपरीक्षक नविन्द अर्यालले अपरिचित व्यक्तिको प्रभाव र प्रलोभनका कारण साइबर अपराधका घटना दैनिक बढेको बताए । ब्युरोले सातै प्रदेशअन्तर्गतका प्रहरी कार्यालयबाट अपराध न्यूनीकरणका लागि जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्दैआएको छ । सामाजिक सञ्जाल प्रयोगकर्ताको हेलचेक्र्याइँ र प्रलोभनका कारण अपराधका घटना दैनिक बढ्दै गएका छन् ।

ब्युरोका अनुसार सामाजिक सञ्जालको दुरुपयोगको सिकार सबैभन्दा बढी १८ वर्षभन्दा कम उमेरका किशोरी तथा महिला हुने गरेका छन् । आव ०७५/७६ मा १० बालिकासहित १६३ महिला, आव ०७६र७७ मा ८८ बालिकासहित एक हजार महिला र आव ०७७/७८ मा २५२ बालिकासहित दुई हजार १५५ पीडित महिलाको उजुरी ब्युरोमा परेको छ ।

आव ०७८/७९ को पछिल्लो पाँच महिनामा १५ बालिकासहित १६० जना महिला सामाजिक सञ्जालबाट पीडित बनेको ब्युरोले जनाएको छ । गोरखापत्र दैनिकबाट

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

Liverpool South Ward उपनिर्वाचनमा नेपाली समुदायका अगुवा देव बहादुर गुरुङको उम्मेदवारी

Australia मा नेपाली Gen-Z सहिदहरूलाई सम्मान र नयाँ नेतृत्वलाई बधाई कार्यक्रम सम्पन्न

NRNA NT Youth Forum Multicultural Cup 2026 सम्पन्न, Northern Nepalese FC च्याम्पियन

डार्विनमा २९३ नेपालीले पासपोर्ट नवीकरण गरे

डार्विनमा “साउन्ड अफ नेपाल” भव्य रूपमा सम्पन्न, ७०० भन्दा बढी दर्शकको सहभागिता

डार्विनमा “साउन्ड अफ नेपाल” कन्सर्ट: सबिन राई एण्ड द फारोको सांगीतिक धमाका हुने


TOP