एजेन्सी – अष्ट्रेलियासँग तीन ओडिआई खेलको सिरिज अन्तर्गत पहिलो खेलमा भ्रमणकारी भारत ६६ रनले पराजित भएको छ । अष्ट्रेलियाले तीन ओडिआई सिरिजमा १–० को अग्रता लिएको छ ।

जितका लागि ३ सय ७५ रनको विशाल विजयी लक्ष्य पछ्याएको भारतले ५० ओभरमा ८ विकेटको क्षतिमा ३ सय ८ रन बनायो । भारतका ओपनर शिखर धवनले ७४ र अलराउन्डर हार्दिक पान्ड्या ९० रन बनाउन बाहेक अन्यको प्रर्दशन सम्झन लायक रहेन ।
त्यसअघि टस जितेर पहिला ब्याटिङ रोजेको अष्ट्रेलियाले ५० ओभरमा ६ विकेटको क्षतिमा ३ सय ७४ रन बनाएको थियो । टस जितेर पहिला ब्याटिङ गर्ने निर्णयलाई सहि सावित गर्दै कप्तान आरोन फिन्चले १ सय १४, स्टिभ स्मिथले १ सय ५ र डेभिड वार्नरले ६९ रनको उत्कृष्ट इनिङ खेले । ब्याटिङसँगै अष्ट्रेलियाले सुरुवाती बलिङ पनि उत्कृष्ट रह्यो । ६२ बलमै शतक प्रहार गरेका स्टिभ स्मिथ खेलमा ‘प्लेयर अफ द म्याच’ चुनिए ।
स्मिथले मात्र ६६ बलमा ११ चौका र ४ छक्का प्रहार गर्दै १ सय ५ रनको ‘प्लेयर अफ द म्याच’ इनिङ खेलेका थिए । योसँगै भारतले तीन ओडिआई सिरिज जित्न अव बाँकी दुबै खेल जित्नुपर्ने हुन्छ । भारतले अष्ट्रेलियासँग पहिलो ओडिआई खेल हार्नुका प्रमुख तीन कारण यस प्रकार छन् ।
३. शीर्षक्रमका ब्याट्सम्यान नचल्नु
विशाल लक्ष्य पूरा गर्न भारतका शीर्षक्रमका ब्याट्सम्यानले उत्कृष्ट शतकीय इनिङ खेल्न आवश्यक पर्दथियो । सुरुवाती चार ओभरमा मयंक अग्रवाल र शिखर धवनले ४६ रन जोड्दै राम्रो जवाफ पनि दिएका थिए । जित सम्भव बनाउन जुन सुरुवातलाई लामो समयसम्म निरन्तरता दिन आवश्यक पर्दथियो ।
शीर्षक्रमका ब्याट्सम्यानले राम्रो प्रर्दशन गर्दा तल्लोक्रममा हार्दिक, जडेजा र केएल जस्ता आक्रामक ब्याट्सम्यान हुँदा असम्भव देखिदैन थियो । तर तीव्र गतिका बलर जोश हेजलवुडको वाउन्सर बलको जालोमा भारतीय शीर्षतीन ब्याट्सम्यान फसेका थिए । मयंक २२, विराट कोहली २१ र श्रेयस ऐर २ रनमा सुरुवाती १० ओभर भित्र आउट भएपछि हार लगभग पक्का बनेको थियो ।
विशाल लक्ष्य पछ्याउँदा शीर्षक्रमका ब्याट्सम्यान पहिलो १० ओभरमा आउट हुन्छन् भने उक्त टोलीको हार लगभग पक्का हुन्छ । राहुल १३.३ ओभरमा १२ रनमा आउट हुँदा भारत १०१–४ को अवस्थामा पुगेको थियो । जसले पूरै समय अष्ट्रेलिया हाबी बन्यो । धवन र पान्ड्याले पाँचौ विकेटका लागि १ सय २८ रनको शतकीय साझेदारी गरेपनि जितको लागि पर्याप्त थिएन । अर्कोतर्फ सिड्नी क्रिकेट मैदान ब्याटिङ उपयोगी मानिन्छ । शीर्षक्रमका चार मध्य दुई ब्याट्सम्यानले शतकीय इनिङ खेल्न सकेका भए हार्दिक जस्ता फिनिसर टोलीमा हुँदा नतिजा आश्चर्यरुपमा भारतको पक्षमा जान सक्थ्यो ।
२. वैकल्पिक बलर नहुनु

भारतले हार्नुको मुख्य कारण भने छैटौं बलरको विकल्प टोलीमा नहुनु थियो । भारत पाँच बलरका साथ मैदान प्रवेश गरेको थियो । प्रमुख खेलाडीले राम्रो प्रर्दशन गरेपनि नगरेपनि पूरा स्पेल सकाउनु पर्ने बाध्यता थियो । हार्दिक पछिल्लो एक वर्षदेखि बलिङ गरेका छैनन् । आइपिएलमा मुम्बई इन्डियन्सले उपाधि जित्दा सम्म प्रतियोगिता भर बलिङ गरेनन् ।
आगमी दिनमा पनि तत्काल गर्ने सम्भावना देखिदैन । खराब प्रर्दशन गर्दा अर्को विकल्प भारत सामु थिएन । त्यहिँ कमजोरी हारको कारण बन्यो । कुनैपनि बलरले सधैं राम्रो प्रर्दशन गर्छ भन्ने हुँदैन । कहिले काहिँ खराब प्रर्दशन हुन्छ । जुन खेलाडी जीवनमा सामान्य मानिन्छ । भारतसँग छैटौं बलरको विकल्प भएको भए अष्ट्रेलिया उक्त योगफलसम्म नपुग्न सक्थ्यो । स्पिनर युजभेन्द्र चहल र नवदीप सैनीले कमजोर प्रर्दशन गरेपनि बलिङ गराउन बाहेक अन्य विकल्प भारतसँग थिएन ।
पाँच बलर मध्य चारले ६० भन्दा बढी रन खर्चेका थिए । चहलले ८९ र सैनीले ८३ रन खर्चिदा एक एक विकेट लिएका थिए । प्रमुख तीव्र गतिका बलर जस्प्रित बुमराहको प्रर्दशन खराब रह्यो । उनले ७३ रन खर्चेर १ विकेट लिए । छैटौं बलरको विकल्प भएको भए नवदीप सैनी, चहल र बुमराहको पूरै स्पेल नगराउन सक्थ्यो । अष्ट्रेलियासँग छैटौं विकल्पको रुपमा मार्कस स्टोइनिस राम्रो विकल्प थिए । मिचेल स्टार्क र ग्लेन म्याक्सवेलले खराब प्रर्दशन गर्दा उनको स्थानमा बलिङ गरेका स्टोइनिसले ६.२ ओभरमा मात्र २५ रन खर्चेका थिए । खराब प्रर्दशन गरेको बलरलाई भारतले लगातार बलिङ गराउनुपर्ने बाध्यता रह्यो । जसको राम्रो फाइदा उठाउँदै अष्ट्रेलियाले विशाल योगफल बनायो ।
१. फिन्च र वार्नरको ओपनिङ साझेदारी

लक्ष्य पछ्याउँदाको दबाब फरक हुन्छ । पहिला ब्याटिङ गर्ने टोलीले स्वतन्त्र रुपमा खेल्न पाउँछन् । त्यसैले विशाल योगफलका साथ लक्ष्य पछ्याउँदा भारतलाई थप दबाब सृर्जना गर्न फिन्चले टस जितेर ब्याटिङ गर्ने निर्णय लिएका थिए । अष्ट्रेलियाले सुरुवात पनि योजना अनुसारनै गर्यो । पहिलो विकेटका लागि वार्नर र फिन्चले २७.५ ओभरमा १ सय ५६ रनको साझेदारी गरेका थिए । जुन साझेदारी अष्ट्रेलिया जितको टर्निङ प्वाइन्ट बन्न पुग्यो ।
उक्त साझेदारीले भारतीय बलर पूरै खेलभर दबाबमा थिए । अष्ट्रेलिया कुनैपनि ब्याट्सम्यानले दबाबमा ब्याटिङ गर्नु परेन । स्वतन्त्र रुपमा आफ्नो स्वभाविक खेल खेले । स्टिभ स्मिथको आक्रामक शतक बन्नुमा ओपनरको साझेदारी प्रमुख कारण मानिन्छ । ग्लेन म्याक्सवेलले पनि आफ्नो स्वभाविक खेल खेले । जसले गर्दा अष्ट्रेलियाले विशाल योगफल बनायो । उक्त साझेदारी सुरुमै तोडिएको भए अन्य ब्याट्सम्यानलाई दबाब पर्न सक्थ्यो ।