मंगलबार , बैसाख २९, २०८३

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्र लामो समयदेखि जारी अन्तरकलहले जनता आजित बनिरहेका छन् । सरकारकै कार्यसञ्चालन प्रभावित भइरहेकाले यसमा सबैको चासो र चिन्ता छ ।

हालै कांग्रेस सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री ओलीलाई बालुवाटारमा भेट गरेपछि नयाँ तरंग उत्पन्न भएको छ । यसले ओली र देउवाबीच नयाँ सत्ता साझेदारीका लागि ढोका खोलेको कतिपयले ठानेका छन् ।

कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्मा भने अहिले आफ्नो पार्टीले सत्तामा ध्यानै नदिएको बताउँछन् । जनताले प्रतिपक्षमा बस्न म्यान्डेट दिएकाले अब दुई वर्ष कांग्रेसले धैर्य नगुमाउने शर्माको भनाइ छ ।

सत्तारुढ पार्टीभित्र उब्जेको विवादलाई प्रवक्ता शर्माले असैद्धान्तिक संज्ञा दिए । दुई पार्टीको एकता नै अप्राकृतिक भएको भाव व्यक्त गर्दै शर्माले भने, ‘त्यो डिजेल र पेट्रोलको जस्तो एकता थियो । त्यसैले नेकपाको इन्जिन सिज हुने निश्चित थियो, भयो ।’

प्रवक्ता शर्माले नेकपामा विभाजन आएमा कांग्रेस खुशी हुन नसक्ने भन्दै मेलमिलापका लागि शुभकामना दिए ।

नेकपाको विवादमा केन्द्रित भएर कांग्रेस प्रवक्ता शर्मासँग अनलाइनखबरले गरेको वार्तालाप यहाँ प्रस्तुत गरिएको छ :

सत्तारुढ दल नेकपाभित्र जारी रहेको अन्तरकलह प्रतिपक्षी कांग्रेसलाई कत्तिको रमाइलो लागेको छ ?

बिल्कुलै रमाइलो लागेको छैन । सामान्यतया एउटा दलभित्र अन्तरद्वन्द्व हुँदै गर्दा अर्को प्रतिस्पर्धी दल खुशी हुने, त्यसबाट राजनीतिक र गणितीय लाभको आकांक्षा राख्ने पुरानो राजनीतिको मानसिकता हो । ०६२/६३ को आन्दोलनपछि नयाँ संविधान बनाएर हामी सुसंस्कृत राजनीति विकास गर्न खोजिरहेका छौं । त्यसैले नेकपाको झगडाबाट कांग्रेसले लाभ लिन खोजेको छैन र खुशी भएर उफ्रिएको पनि छैन ।

आदर्श कुरा आफ्नो ठाउँमा छ । तर, प्रमुख प्रतिस्पर्धी पार्टीभित्र विभाजन आयो भने त्यसको सबैभन्दा ठूलो राजनीतिक लाभ त कांग्रेसलाई नै हुने हो । यो पाटोबाट कांग्रेसले नसोचेको होला र ?

हो, निश्चय नै नेकपामा विभाजन आयो भने निकटतम प्रतिस्पर्धीका हिसाबले तत्कालीन फाइदा होला । फेरि पनि, अहिले हामीले हेर्ने भनेको नेपाली कांग्रेसको फाइदा होइन, देशको फाइदा हो । कोरोनाको महामारीले जनतालाई नराम्ररी पिरोलिरहेको छ । देशको अर्थव्यवस्था धराशयी भइरहेको छ । हजारौं मानिस बेरोजगार भएका छन् । नयाँ विकास परियोजनाहरु ठप्प छन् । यो अवस्थाबाट कसरी पार पाउने भन्ने चिन्ता कांग्रेसलाई छ । सत्तारुढ दल भएको हिसाबले कांग्रेसलाई भन्दा नेकपालाई बढी चिन्ता हुनुपर्ने थियो । त्यो नहुनुचाहिँ दुखद हो ।

जहाँसम्म नेकपाको विभाजनबाट लाभ लिने कुरा छ, हामीले त्यो कोणबाट सोचेकै छैनौं । हाम्रो आँखा सत्तामा छँदैछैन । जनताले हामीलाई ५ वर्ष प्रतिपक्षमा बस भनेर म्यान्डेट दिएका हुन् । हामीले यो अवधिमा प्रतिपक्षमै बसेर आफूलाई रुपान्तरित गर्नुपर्छ । विगतका कमी–कमजोरीहरुका लागि आत्मालोचित हुनुपर्छ । आफैंलाई नयाँ ढंगले परिभाषित गरेर आगामी चुनावको तयारी गर्नुपर्छ । हाम्रो ध्यान यसमा छ ।

तपाईं यसो भन्नुहुन्छ, तर यहीबेला कांग्रेसका सभापतिले प्रधानमन्त्री केपी ओलीसँग बालुवाटारमै पुगेर भेट्नुभयो । यसलाई कसरी लिने ?

बालुवाटारमा प्रधानमन्त्री र प्रतिपक्षी दलका सभापतिबीच भएको भेटलाई एकदमै आश्चर्यजनकरुपमा लिइनु आवश्यक छैन । प्रधानमन्त्रीबाट भेटका लागि बारम्बार आग्रह भएपछि त्यसलाई पन्छाइरहनु पनि वाञ्छनीय हुँदैनथ्यो । प्रधानमन्त्रीसँग हाम्रो सभापतिको कुनै व्यक्तिगत दुश्मनी त छैन ।

फेरि, हाम्रो पार्टीले प्रधानमन्त्रीसँग अब भेट बन्द गर्ने भनेर निर्णय गरेको अवस्था पनि होइन । उहाँहरुको पार्टीमा विवाद छ भनेर हामीले भेट्दै नभेट्ने, हाई–हेल्लो नै नगर्ने, देख्दा पनि तर्केर हिँड्नुपर्ने भन्ने त हुँदैन नि ।

माओवादको पेट्रोल र बहुदलीय जनवादको डिजेल मिसाएर गाडी बनाइसकेपछि यसका चालकहरुलाई थाहा थियो, अलि पर गएपछि इन्जिन सिज हुने नै छ । त्यसपछि धकेल्नुको के विकल्प हुन्छ र ? अझै पनि धकेल्नुहोला

फेरि पनि, कुनै घरभित्र पारिवारिक कलह भइरहँदा छिमेकीले प्रवेश गर्नु र कलहको एउटा पक्षसँग छलफल गर्नुले दालमा केही कालो देखिँदैन ?

अवश्य पनि, धेरैले योबेला नभेटेको भए हुन्थ्यो भन्ने चाहेको देखियो । तर, छिमेकीको घरमा झगडा हुँदै गर्दा त्यो बाटै हिँड्दै नहिँड्ने, घरका सदस्यसँग नबोल्ने पनि हाम्रो सामाजिक संस्कार पनि होइन । झगडाको अर्को पक्षसँग पनि भेटघाट भएको तर मिडियामा पो नपुगेको हो कि ? भेट्ने क्रम जारी नै पो छ कि ? त्यो आफ्नो ठाउँमा छ । फेरि, ठ्याक्कै झगडा भइरहेका बेलामा गएर भेटेको पनि होइन । अहिले उहाँको बैठक स्थगित छ ।

मैले भनेको के भने नेपाली कांग्रेस पार्टीले विपक्षीको झगडाको सन्दर्भमा आफ्नो धारणा र पक्षधरता राख्दैन । सत्ताका लागि आकांक्षा राख्दैन । त्यस्तो प्रस्ताव आउँदा मुस्कुराएर सुन्छ, जवाफ दिँदैन ।

तर, भेटेको मात्रै नभएर सम्भावित सत्ता साझेदारीकै विषयमा छलफल भएका कुराहरु मिडियामा आइरहेका छन्, तपार्ईलाई यसबारे कति जानकारी छ ?

अवश्य पनि भेटमा प्रधानमन्त्रीले आफ्ना पिरमर्का पोख्नुभयो होला । पार्टीभित्रको समस्यालाई देखाएर त्यसको समाधानका विषयमा लागेको कुरा गर्नुभयो होला । त्यसबारे धेरै टिप्पणी नगरौं । तर, हाम्रो सभापतिले उहाँसँग सत्ता साझेदारीमा कुनै रुचि प्रकट गर्नुभएको छैन । केवल प्रधानमन्त्रीका कुरा सुनिदिएर फर्किनुभएको हो ।

सभापति देउवाले विभिन्न पदाधिकारी नियुक्तिमा भागबण्डाको कुरा निकाल्नुभएछ, त्योचाहिँ ठिक हो ?

संवैधानिक परिषदबाट हुने नियुक्तिको प्रसंगमा कुरा भएको होला । यसलाई भागबण्डा भनिहाल्न मिल्दैन । संवैधानिक परिषदबाट नियुक्ति गर्ने प्रावधान किन राखियो, किन सबै क्याबिनेटबाटै नियुक्ति गर्ने भनिएन त भन्दा सबैको साझा स्वामित्वबोध होस् भनेर हो । राज्यका अंगहरुमा विपक्षीको पनि हिस्सेदारी होस् भन्ने हो । त्यसलाई त्यही रुपमा बुझ्नु उचित हुन्छ ।

नेपाली कांग्रेसले सभापतिमार्फत पदको बार्गेनिङ गर्न खोजेको होइन । सभापतिले कुनै अमूक व्यक्तिको नाम लिएर यो वा त्यो हुनुपर्छ भनेर दाबी गरेको अवस्था पनि होइन ।

नेकपामा जारी विवादका विषयमा कुरा गरिरहँदा, तपाईंंलाई यो विवादको जड के हो जस्तो लाग्छ ?

मलाई लाग्छ कि उहाँहरुको गठवन्धन नै सैद्धान्तिक अन्योलको स्थितिबाट निर्माण भएको थियो । नेकपा एमाले र माओवादी दुई पार्टी आ–आफ्नो अस्तित्वमा प्राकृतिक थिए । त्यो प्राकृतिक स्वरुपलाई निमट्यान्न पारेर एकता भएको हो । त्यसकारण, आज जे भइरहेको छ, त्यो विलकुल अनपेक्षित होइन । यस्तो नभइदिएको भए हुन्थ्यो भन्ने हाम्रो कामना मात्र हो ।

एकता भावनात्मक भएन भन्न खोज्नुभएको हो ?

सामान्यतया राजनीतिमा भावनात्मक एकता भन्ने हुँदैन । भावनात्मक एकता भनेको त प्रेमी र प्रेमिका बीचमा हुने हो । राजनीतिक दलहरुबीचमा सैद्धान्तिक, व्यवहारिक र कार्यगत एकता हुन्छ ।

उहाँहरुको पृष्ठभूमि भिन्न थियो । आचरण भिन्न थियो । जबरजस्ती आवरण मिलाइएको हो । सैद्धान्तिक एकता चाहिँ हुन सकेन, जुन सबैभन्दा आधारभूत हुन्छ । अझ प्रष्ट भाषामा भन्नुपर्दा उहाँहरुको एकताको केन्द्रमा सिद्धान्त छँदै थिएन,, केवल सत्ता थियो । सत्ता हासिल कसरी गर्ने भन्नेमा उहाँहरु एक ठाउँमा उभिनुभएको हो । बहुदलीय जनवादलाई खोपाको भीमसेन बनाइदिनुभो । माओको विचारलाई तल छिँडीमा सुताइदिनुभो र आफू माथिल्लो आसनमा उक्लिनुभो ।

माओवादको पेट्रोल र बहुदलीय जनवादको डिजेल मिसाएर गाडी बनाइसकेपछि यसका चालकहरुलाई थाहा थियो, अलि पर गएपछि इन्जिन सिज हुने नै छ । त्यसपछि धकेल्नुको के विकल्प हुन्छ र ? अझै पनि धकेल्नुहोला । त्यसका लागि शुभकामना हामीले दिनुपर्छ । तर, धकेलेर कहाँसम्म पुग्ला भन्ने प्रश्न त उठ्छ नै ।

तर, दुई कम्युनिस्ट पार्टीबीचको एकीकरणलाई तपाईंंले व्याख्या गरेजस्तो अप्राकृतिक गठवन्धन नै भन्न मिल्छ र ?

डिजेल र पेट्रोल हेर्दा उस्तैउस्तै देखिन्छ । एमाले र माओवादी पनि आवरणमा उस्तै थिए । दुवैले लालसलाम भन्थे । मार्क्स–लेनिनकै कुरा गर्थे । हँसिया–हथौडा नै बोक्थे । कमरेड नै भन्थे । कम्युनिस्ट नै कहलिएका थिए ।

तर, उनीहरु एउटाले अर्कोलाई कम्युनिस्ट ठान्दैनथे । माओवादीको नजरमा एमाले संसदीय भासमा भासिएको दलाल पुँजिवादको सेवा गर्ने बुर्जुवा पार्टी थियो । एमालेको नजरमा माओवादी उग्रवामपन्थी विचारधाराबाट ग्रस्त अराजक झुण्ड थियो । एक हुँदा दुई कम्युनिस्ट पार्टी मिलेको भनिए पनि एकताको सैद्धान्तिक प्रस्तावना गलत नै थियो ।

हामीले कुनै अमूक देशको राजदूततिर लक्षित भएर बोल्ने होइन । मैले त मेरो देशको सरकारलाई भन्ने हो । यदि तपाईंहरुको घरायशी विवादको सन्दर्भमा नै यो सक्रियता हो भने त्यो गलत छ

त्यो एकता उनीहरु आफैंले गरेको नभएर बाह्य तत्वले गराइदिएको आशंका पनि एकथरिले गर्छन् । तपाईंलाई पनि त्यस्तो लाग्छ ?

यसमा विपक्षी दलको प्रवक्ताले सार्वजनिकरुपमा टिप्पणी गर्नु उचित नहोला । हो हामीले हाम्रो देशको राजनीतिको सन्दर्भमा बाह्य प्रभाव व्यहोरेका छौं । त्यसलाई कुन हदसम्म आउन दिने भन्ने प्रश्न उठ्छ । घरजमै गराउने हदसम्म आउन दिने कि नदिने भन्ने हो । हाम्रो सिद्धान्त नै गञ्जागोल हुने गरी विचित्र अवस्था हुन दिने कि नदिने भन्ने हो ।
तर, म यो आरोप लगाउँदिनँ कि उहाँहरुलाई कसैले मिलाइदिएको थियो, वा कसैले मिलाइदिएर उहाँहरु मिल्नुहुन्छ । मात्रै कतिपय अनुचित लाग्ने दृश्यहरु देखिन्छन् ।

शीतलनिवासबाट राष्ट्रपतिको अलि बढि नै सक्रियता चासो देखिनु, दक्षिण या उत्तरका कोही कसैको कुनै न कुनै रुपमा भेटघाटको श्रृंखला बढ्नु । यस्तोखालको चित्र एउटा राजनीतिक दलको द्वन्द्व हुँदै गर्दा सकभर नदेखियोस् ।

प्रचण्ड र माधव वा प्रचण्ड र ओलीबीच बहस–छलफल हुनु, सचिवालयमा वा केन्द्रीय समितिमा गर्मागर्मी हुनु स्वाभाविक कुरा हुन् । स्वाभाविक प्रक्रियाबाटै परिणाममा पुग्नुपर्छ । चाहे एकता होस् वा विभाजन ।

पछिल्लो समय भारत र चीनबाट भइरहेका भ्रमणलाई नेकपाको विवादसँग जोड्न खोज्नुभएको हो ?

त्यो पनि भन्दिनँ । काकताली पनि परेका हुन सक्छन् कतिपय विषय । पूर्वनिर्धारित कार्यक्रमहरु जुधेका पनि हुन सक्छन् । मात्र मैले गर्ने आग्रह के हो भने घरायसी विषयलाई घरभित्रै सीमित राखौं । अन्तर्राष्ट्रिय सम्वन्धमा त्यसलाई नमिसाऔं ।

उत्तरी चीन र दक्षिणी भारतसँग हाम्रो देशको कूटनीतिक सम्वन्ध परापूर्व कालदेखि रही आएको छ । तर, यस्तो सम्वन्धलाई अघि बढाउने क्रममा राष्ट्रिय स्वाभिमानको लक्ष्मणरेखालाई कसैले पनि नाघ्न मिल्दैन । त्यसमा राख्नुपर्ने गाम्भीर्यको प्रतिनिधि नेपाल सरकार हो । हामीले सोध्ने नेपाल सरकारलाई हो ।

अहिले बढी चर्चा चिनियाँ राजदूतको हुने गर्छ । उहाँले जारी राख्नुभएका भेटघाटहरुले के कूटनीतिक सीमाको उल्लंघन गरेका छन् त ?

हामीले कुनै अमूक देशको राजदूततिर लक्षित भएर बोल्ने होइन । मैले त मेरो देशको सरकारलाई भन्ने हो । यदि तपाईंहरुको घरायशी विवादको सन्दर्भमा नै यो सक्रियता हो भने त्यो गलत छ । कूटनीतिक मूल्यभन्दा बाहिर छ । यो मैले सरकारलाई भन्ने हो ।

यदि संयोग परेको हो भने क्लियर गर्ने जिम्मेवारी सरकारको हो । यस्ता भेटघाटलाई निश्चित मर्यादामा राख्ने परराष्ट्र मन्त्रालयले, सरकारले हो । विपक्षीले, नेपाली कांग्रेसले चीन र भारतलाई भन्दैन । नेपाल सरकारलाई भन्छ ।

यदि राजदूतले सीमा उल्लघंन गरिरहेको हो भने उनलाई चाहिँ किन भन्न नहुने ?

बोल्नुपर्ने अवस्थामा त हामीले बोलेकै छौं । हुम्लामा सीमा मिचिएको विषय बाहिर आउनेवित्तिकै हामीले बोल्यौं । वस्तुगत अध्ययन गरेर सरकारले धारणा ल्याओस् भन्यौं । हतारोमा टिप्पणी नगर्न भन्यौं । भारतका विषयमा आएका विवादमा पनि हामी बोल्छौं । तर, कुनै अमूक व्यक्तिप्रति लक्षित भएर हामीले प्रतिक्रिया जनाउन सुहाउँदो हुँदैन ।

तपाईंको विचारमा उत्तरी छिमेकी चीनप्रति वर्तमान सरकार र नेकपा नतमस्तक नै देखिएको हो त ?

सीमा मिचिएको विषयमा सरकार मौन बस्नु, अनि सी जिनपिङ विचारधाराको प्रशिक्षण पार्टी पङ्तीलाई दिनु जस्ता क्रियाकलाप हेर्दा सरकारले आवश्यक कूटनीतिक सन्तुलन नराखेको देखिन्छ । हो, चीनबाट, हामीले चीनको विकासबाट सिक्नुपर्ने कुरा धेरै छन् । तर, उहाँ (नेकपा) हरुका लागि अनुकरणीय भनेको चीनको विकास होइन, चीनको शासन प्रणाली हो ।

नेपालमा बहुमतको सरकार आएपछि राजनीतिक स्थायित्व होला, विकासले गति लेला भन्ने जनअपेक्षा थियो । बहुमतको सरकारले मात्रै राजनीतिक स्थिरता आउने सोचाइ पनि गलत सावित भयो होइन ?

बितेको ६० वर्षदेखि नेपालमा कसैले ५ वर्ष लगातार सरकार चलाउन पाउनुभएन । पछिल्लो कालखण्डमा त सरकार बन्ने र ढल्ने क्रम तीव्र हुँदा देशको सबै उर्जा त्यसमै खपत हुन थाल्यो । यसले विकास पछि धकेलिएकै हो । त्यसकारण हाम्रो दिमागमा स्थिरता भन्नेबित्तिकै पाँच वर्षको सरकार भन्ने भयो ।

राजनीतिक स्थिरताका लागि स्थायी सरकार प्रमुख सर्त हो । तर, त्यो नै प्रथम र अन्तिम होइन । स्थिरताका परिभाषा नै बदल्नुपर्ने भएको छ । स्थिरता भनेको नीतिगत सुनिश्चितता पनि हो । सरकार कतिवटा बन्छन् भन्ने गणना गरेर मात्र हुँदैन, कुन सिद्धान्त र कार्यनीतिले मुलुकलाई अघि लैजान चाहन्छौं भन्ने सुनिश्चितता चाहियो ।

नयाँ मन्त्रीज्यू आउनुहुन्छ, अब उहाँले केही गर्नुहुन्छ भनेर भर परेका छौं । तर, उहाँले यो गर्नुहुन्छ भन्ने नीतिगत सुनिश्चितता कहिल्यै भएन । व्यक्तिमा भर पर्नुपर्ने भयो । तसर्थ, स्थिर सरकार बनेर पनि स्थायित्वमा पुगेनौं ।

आन्तरिक कलहको अनुभव तपाईंहरुलाई पनि यथेष्ट छ । अहिले नेकपाको विवादलाई बाहिर बसेर हेर्दा प्रधानमन्त्रीलाई एक्लो जिम्मेवार मान्नुहुन्छ कि अरु नेताको पनि अर्घेलो छ ?

कांग्रेस प्रवक्ताको हिसाबबाट मैले व्यक्तिकेन्द्रित भएर बोल्न मिल्दैन । सैद्धान्तिकरुपमा भन्दा उहाँहरुको प्रस्थान बिन्दूमा नै समस्या छ । जे रोपिएको छ, त्यही फल्छ । फलिसकेपछि चर्चा गर्नु एउटा कुरा हो, तर, के रोपिएको थियो भन्ने महत्वपूर्ण हुन्छ । उहाँहरु अहिले पनि प्रष्ट भन्न सक्नुहुन्न, कुन सिद्धान्तमा हिँडिरहेका छौं भन्ने । उहाँहरुको एउटै गठवन्धनभित्र बहुदलीय जनवाद पनि ज्यूँदै छ, माओवाद पनि ज्यँुदै छ ।

केपीले नेतृत्व गर्दा यो समस्या आयो । प्रचण्डले नेतृत्व गर्नुभएको थियो भने भने योभन्दा फरक समस्या आउँथ्यो होला । माधव नेपालले गरेको भए अर्को आउँथ्यो । समस्या त आउँथ्यो नै ।

उहाँहरुको प्राथमिकताको केन्द्रमा सत्ता मात्रै भयो, जनजिविका भएन । वर्तमान सरकार बनेपछि आर्थिक समुन्नतिका लागि अनुकुल वातावरण छ । शान्ति छ, स्थिरता छ । गहिरो योजना बनाएर अघि बढ्न सकिन्छ । तर, सरकारको ध्यान अन्यत्रै छ । प्रधानमन्त्रीज्यू संघीयता बलियो बनाउनेभन्दा पनि शक्ति केन्द्रीकृत गर्न बढि रुचि देखाइरहनुभएको छ । भ्रष्टाचारीको मुखै हेर्दिनँ भन्नुहुन्छ, तर भ्रष्टाचारमा मुछिएकालाई जोगाउन तल्लीन हुनुहुन्छ । अनि नेकपा पनि प्रधानमन्त्री राख्ने र हटाउनेमै रुमल्लिएको छ । उहाँहरुको वास्तविकता यत्ति हो ।

पार्टी विवादका सन्दर्भमा चाहिँ प्रधानमन्त्रीले गर्नुभएका गल्तीहरु के हुन् ?

उहाँले कहिले माधव नेपाललाई च्याप्ने, झलनाथको तेजोवध गर्ने कहिले झलनाथलाई अगाडि ल्याउने, माधव नेपाललाई पेल्ने गरिरहनु भएको देखिन्छ । तथापि, उहाँहरुको दलीय विषयमा कांग्रेस प्रवक्ताले धेरै बोल्नु उचित हुन्न । हामीले त देशको सन्दर्भमा कुरा गर्ने हो । सरकार सञ्चालनको सन्दर्भका गर्नुभएका गल्तीको कुरा गर्ने हो । यसमा भएका गल्तीका लागि प्रमुख जवाफदेही त प्रधानमन्त्री नै हुनुहन्छ ।

कोरोनाकालमा समेत सरकार भ्रष्टाचारमा तल्लीन छ र त्यसलाई प्रधानमन्त्रीले नै संरक्षण गर्नुभएको आरोप लागेको छ । ७० करोड कमिसन, बालुवाटार प्रकरण, ओम्नीमा उहाँले ढाकछोप प्रयास गर्नुभएकै हो । यी कुराहरु हामीले पहिलेदेखि उठाइरहेका थियौं । अहिले प्रचण्डकै दस्तावेजमा यी कुराहरु आए ।

अहिलेसम्मको कार्यशैली र कार्यसम्पादन हेर्दा केपी ओलीको सरकारले थप दुई वर्ष निरन्तरता पाउनु देशको हितमा छ त ?

(गहिरो हाँसो) । तपाईंको प्रश्नमा घुमाउरो ढंगले आएको कुरालाई मैले सोझो ढंगले उत्तर दिएँ भने त… कांग्रेसले केपी ओली हट्नुपर्छ भन्ने निस्कर्ष निकालेको देखिन्छ । त्यसकारण के हो भने, जनताले नेकपालाई म्यान्डेट दिएका हुन् । फलानो प्रधानमन्त्रीको उम्मेदवार भनेर नेकपाले चुनाव लडेको होइन । नेकपाले गर्ने निर्णयले संसदको बहुमतको प्रतिनिधित्व गर्छ । त्यही नै अन्तिम हुन्छ ।

देशको राष्ट्रपति भनेको नेकपाको मात्र होइन, कांग्रेसको पनि हो । सबैको हो । शीतलनिवास नेकपाको वैठकस्थल हुन सक्दैन । शीतलनिवास शीतल नै हुनुपर्‍यो, गरम हुनुभएन

भोलि यो सरकार ढलेर प्रचण्ड वा माधव नेपाल प्रधानमन्त्री भएमा अहिलेभन्दा राम्रो नतिजा आउन सक्ने कति सम्भावना देख्नुहुन्छ ?

यो पनि करिब–करिब उही प्रश्न हो, अलि फरक रुपको । हामीले गर्ने आग्रह के मात्र हो भने हामी प्रतिपक्षमा छौं । सत्तापक्षको द्वन्द्वसँग निरपेक्ष रहन चाहन्छौं । सत्ताको संलग्नतामा हाम्रो कुनै रुचि छैन ।

हामीले सोध्ने प्रश्न यति मात्र हो कि, स्थिरताको वचन दिनुभएको थियो, समृद्धिको सपना देखाउनुभएको थियो, त्यो के भयो ? अझै पनि हामी भन्छौं कि एकतावद्ध भएर सरकार चलाउनुस् । सरकारको नेतृत्व कसले गर्ने भन्ने उहाँहरुको आन्तरिक विषय हो । नेपाली कांग्रेसले अहिल्यै बोल्न उचित नहोला ।

हामीले विविध विषयहरु उजागर गरेर वर्तमान सरकारले शासन गर्ने नैतिक र राजनीतिक आधार गुमाइसकेको निस्कर्ष पहिल्यै निकालेका हौं । त्यसबेलाको निर्णय अहिले पनि यथावत नै छ । अहिलेको मितिमा नयाँ धारणा निर्माण गरिरहेका छैनौं । पुरानो धारणालाई मागका रुपमा अघि सारिरहेका पनि छैनौं । प्रधानमन्त्रीसँग भेट्दा मात्रै पनि विपक्षी दलको नेताले गाली खानुपर्ने अवस्थाले उहाँ कति अलोकप्रिय हुनुभएको छ भन्ने त दर्शाउँछ नै ।

नेकपाभित्रको विवादमा राष्ट्रपतिले समन्वय गर्न खोज्नुभएको विषय अघि तपाईंले अलिकति कोट्याउनुभएको थियो । यो कुरा के कारणले आपत्तिजनक लाग्यो तपाईंलाई ?

दुईवटा कुरा छन् । हामीले विदाइ गरेको केलाई भन्दा राजसंस्थालाई हो । विदाइ गरेको के हो भन्दा दैनिक राजनीतिमा राजसंस्थाको चासो, हस्तक्षेप र सहभागितालाई । हामीले यस्तो संस्था चाहेका हौं जो राजनीतिभन्दा माथि होस् । राजनीतिक दलहरुको घरायसी मामलाभन्दा माथि सम्मानित संस्थाका रुपमा राख्न चाहेका हौं नि त । राजनीतिकरुमै सक्रिय, यो वा त्यो पक्षमा धारणा दिएर समन्वय गराउने हो भने राजसंस्था नै राखेको भए भइहाल्थ्यो नि । किन सेरेमोनियल राष्ट्रपति राख्यौं ?

राष्ट्रपति तत्कालीन एमाले नेता भएको हिसाबले, अहिले देशकै अभिभावक भएको नाताले सत्तारुढ पार्टीभित्रको विवाद मिलाउन खोज्नुलाई सकारात्मक रुपमै हेर्न सकिँदैन ?

केपी शर्मा ओली केही गरौं भन्ने प्रशस्त भावना भएको तर केही गर्ने डिजाइन नभएको नेता हो । म उहाँलाई अमेरिकाको राष्ट्रपति डोनाल्ड ट्रम्पसँग पनि तुलना गर्न रुचाउँछु

अहँ, सकिँदैन । उहाँको राजनीतिक आस्था के हो भन्ने मुख्य कुरा होइन । गणतन्त्रको पहिलो–दोस्रो वर्षमा राष्ट्रपतिले स्थापित गर्ने मार्गचित्र वर्षौंसम्म कायम रहन्छ । अहिलेको राष्ट्रपतिले मभित्र कुन राजनीतिक आस्था थियो भन्ने सोच्न थाल्नुभयो भने त्यसले संस्थाको गरिमामा आँच आउँछ । देशको राष्ट्रपति भनेको नेकपाको मात्र होइन, कांग्रेसको पनि हो । सबैको हो । शीतलनिवास नेकपाको वैठकस्थल हुन सक्दैन । शीतलनिवास शीतल नै हुनुपर्‍यो, गरम हुनुभएन ।

देशको अभिभावक हुनुको नाताले संविधानको पालना भयो कि भएन भनेर सरकारलाई, दलहरुलाई घच्घच्याउन उहाँलाई सुहाउँछ । यस्ता कुराहरु छन् भने विभिन्न पार्टीका नेताहरुलाई सँगै राखेर चिया खुवाएर भन्दा हुन्छ । तर, एउटा अमूक पार्टीको विषयमा नेताहरुलाई डाकेर लविङ गर्न सुहाउँदैन । भोलि भक्तपुरको नेमकिपामा विवाद आउला, उहाँले के गर्नुहुन्छ ? मधेस केन्द्रित दलमा के गर्नुहुन्छ ? कांग्रेसकै विवादमा पनि के गर्नुहुन्छ ?

‘छिमेकी पार्टी’ का नाताले नेकपालाई यो विवादलाई सुल्झाउने सम्बन्धमा के सुझाव दिनुहुन्छ ?

अहिले उहाँहरु आ–आफ्नो इगोमा हुनुहुन्छ । पहिले मिल्दै गर्दा पनि सैद्धान्तिक थिएन भने अहिले झगडा गर्दै गर्दा पनि सैद्धान्तिक छैन । उहाँहरुले पहिले त आफ्नो राजनीतिक दर्शन क्लियर गर्नुपर्‍यो । कम्युनिस्ट पार्टी भनेर निर्वाचन आयोगमा दर्ता गरिएको पार्टीको स्पष्ट राजनीतिक दर्शन पहिल्यै स्पष्ट भएको भए कम समस्या आउँथ्यो ।

उहाँहरुले ‘जनताको जनवाद’ भनेर दुईवटै विचार ‘इन्कर्पोरेट’ गर्ने भन्नुभएको छ । तर, त्यसमा पनि एउटा विचारधाराले बढी मुभ गर्न खोजेर समस्या भएको होला । भोलि विभाजन भयो भने एमाले र माओवादी भनेर हुने स्थिति छैन । त्यसकारण सैद्धान्तिकरुपमा जब प्रष्ट हुँदैन, यसले सिर्जना गर्ने एकता पनि गतिलो हुँदैन ।

भोलि विवाद मिल्यो भने ‘नेकपा फुटाउन खोज्ने देशी–विदेशी प्रतिक्रियावादी शक्तिहरुको षडयन्त्रलाई परास्त गर्‍यौं’ भन्दै आउन सक्नुहुन्छ । तर, त्यसबेला पनि उहाँहरुले सत्तालाई नै केन्द्रमा राख्ने हो ।

कांग्रेस प्रवक्ताका रुपमा नभएर व्यक्ति विश्वप्रकाश शर्माका रुपमा तपाईंले नेकपाका तीन शीर्ष नेता केपी शर्मा ओली, प्रचण्ड र माधव नेपाललाई तुलना गर्नुपर्‍यो भने कसरी गर्नुहुन्छ ?

उहाँहरु तीनैजना सुयोग्य हुनुहुन्छ । आ-आफ्ना कमजोरी छन् । जुध्न सक्ने र आवश्यकता अनुसार लचक हुन सक्ने क्षमता उहाँहरु सबैको छ ।

केपी ओलीको खुबी र कमजोरी के हो ?

केपी शर्मा ओली केही गरौं भन्ने प्रशस्त भावना भएको तर केही गर्ने डिजाइन नभएको नेता हो । म उहाँलाई अमेरिकाको राष्ट्रपति डोनाल्ड ट्रम्पसँग पनि तुलना गर्न रुचाउँछु ।

कसरी ?

उहाँहरुका बीचमा प्रवृत्तिगत समानता धेरै रहेछ क्या ! जस्तो– चुनावमा जाँदै गर्दा ट्रम्पले ‘मेक अमेरिका ग्रेट अगेन’ भन्दै राष्ट्रवादी नारा उराले । मेक्सिकोको सिमानामा पर्खाल लगाउने, आप्रवासीहरुलाई कडाइ गर्ने उग्रराष्ट्रवादी कुरा गरे । तर, राष्ट्रपति बनेपछि उनको राष्ट्रवाद यत्तिकै सेलायो । ओलीजीको पनि यस्तै देखियो । उहाँको राष्ट्रवादी छवि प्रधानमन्त्री बनेपछि पखालिएको छ ।

ट्रम्पले अघिल्लो सरकारका महत्वपूर्ण कुराहरुलाई अस्वीकार गर्नुभयो । अन्तर्राष्ट्रिय सम्झौताहरुबाट पछि हट्नुभयो । ओलीले पनि अघिल्लो सरकारले गोविन्द केसीसँग गरेका सम्झौता उल्टाइदिनुभयो ।

कोरोनाको सम्वन्धमा पनि उस्तै शैली देखियो । ट्रम्पले मास्क नलगाऊ भन्नुभयो । ओलीले हाछ्यूँ गरेर उडाइदेऊ भन्नुभो । काम गराइको शैली उस्तै देखियो । सानो कोर ग्रुपमा भर गर्ने, आफैं वैज्ञानिक, आफैं डाक्टर, आफैं न्यायाधीश बन्न खोज्ने । उताको ट्रम्पवाद गयो, यताको भ्रमवाद के हुन्छ हेरौ ।

प्रचण्डलाई चाहिँ कसरी बुझ्नुभएको छ ?

प्रचण्ड राम्रैसँग जुध्न सक्ने र समझदारीमा अत्यधिक लचक पनि हुन सक्ने नेता हो । उहाँ कठोरमा एकदमै कठोर हो, नत्र माओवादी विद्रोह हुँदैनथ्यो । लचकमा एकदमै लचक हो, नत्र माओवादी युद्धको सेफल्यान्डिङ हुँदैनथ्यो ।

कमजोरीको कुरा गर्ने हो भने एउटा मात्रै भन्दा अपूरो हुन्छ, धेरैभन्दा पूर्वाग्रही देखिन्छ । देशमा सबै प्रजातान्त्रिक अधिकारहरु भएको बेलामा बन्दुक उठाएर उहाँले ऐतिहासिक गल्ती गर्नुभयो । अनि अहिले आफ्ना सारा संघर्षका बिरासतलाई तिलाञ्जली दिएर संसदीय व्यवस्थाभित्र गुट्मुटिनुभएको छ । आफ्ना सहयोद्धाहरुलाई बिर्सेर नेकपा एमालेमा समाहित हुनुभएको छ । संसदीय व्यवस्थामा आउँदै गर्दा फरक अस्तित्व कायम राख्न सक्नुभएन ।

भन्नाले, तपाईंहरुले गरिरहेको बुर्जुवा राजनीतिमै प्रचण्ड पनि मिसिनुभयो ?

त्यो त म भन्दिनँ । नेपाली कांग्रेसले नेपालको कम्युनिस्ट आन्दोलनको रुपान्तरणमा सहजीकरणको भूमिका खेलेको छ । त्यसमा हामी गर्व गर्छौं । संसदीय व्यवस्थाको पार्थिव शरीरमा सर्वहाराको अधिनायकत्व स्थापित गर्ने भनेर कम्युनिस्ट नेताहरुको जुँगाको रेखी बसेको हुन्छ । तर, जुँगा फुल्दै गर्दा संसदीय व्यवस्थाको सेवामा समर्पित भइसक्नुहुन्छ । प्रचण्डमा पनि यही प्रवृत्ति देखियो । उहाँ यसरी रुपान्तरित भएर आउँदै गर्दा हामी त स्वागत नै गर्छौं । र, पनि कहिलेकाहीँ आइसकेपछि छलाङ र क्रमभंग जस्ता शब्दोच्चारण गरिरहनुहुन्छ ।

जब तपाईं बजारमा प्रवेश गर्नुहुन्छ, त्यसपछि मात्रै आफ्नो माल निकाल्ने हो, अनि क्रेताहरु तान्ने हो । बजार नपुग्दै डााडादेखि नै ‘हरेक माल दो आनामा’ भनेर कराउनु सायद ठीक नहोला

माधव नेपालको विषयमा पनि दुई शब्द ? उहाँ टेस्टेड एन्ड फेलियर हो कि होइन ?

उहाँले हामीसमेत सहभागी सरकारको नेतृत्व गर्नुभएको हो । त्यो सरकारको सफलता–असफलतामा हामी पनि केही हिस्सेदार छौं ।

माधव नेपालमा टिम संयोजन र व्यवस्थापनको कला ओली र प्रचण्डको भन्दा राम्रो छ । तथापि उहाँ ओली–प्रचण्डजस्तो तिख्खर र विषयवस्तुमा कमाण्ड भएको नेता होइन ।

अब थोरै तपाईंकै कांग्रेस पार्टीको कुरा पनि गरौं । फागुनमा गर्ने भनिएको महाधिवेशन सर्ने निश्चित भएको हो ?

फागुनमा नहुने निश्चित झैं छ । तर, केन्द्रीय समितिले निर्णय गरिनसकेको अवस्थामा प्रवक्ताले अघि सरेर सर्ने भयो भन्न मिलेन । इमान्दार भएर भन्दा फागुनमा हुने अवस्था छैन । तर, मलाई लाग्छ जेठको मसान्तभन्दा लम्बिँदैन ।

अबको महाधिवेशनबाट कांग्रेसको चेहरामा परिवर्तन आओस्, युवा नेताले पार्टीको नेतृत्व बोकुन् भन्ने धेरैले चाहेका छन् । यस्तो चाहना पूरा हुने अवस्था छ त ?

सभापति नै हामीमध्येबाट कोही युवा होला भनेर त भन्दिनँ । तर, पदाधिकारी तहमा चाहिँ युवाहरुकै बाहुल्य नै हुनेछ भन्नेमा आश्वस्त पार्न सक्छु । पार्टीमा निश्चित १४ जना पदाधिकारी हुन्छन् । त्यसमध्ये ९ देखि १० जना युवा आउँछन् भन्ने लाग्छ ।

नेपाली कांग्रेसभित्र तपाईं पनि एउटा आशालाग्दो अनुहारका रुपमा हेरिनुहुन्छ । अबको महाधिवेशनमा तपाईंलाई कुन पदको प्रत्याशीका रुपमा देख्न पाइएला ?

पार्टीको केन्द्रीय पदाधिकारीमा नै मेरो उम्मेदवारी रहन्छ । यो वा त्यो पद भनिहाल्ने बेला भएको छैन । मैले भनिरहेकै लाइन दोहोर्‍याउँछु– प्रवक्ताबाट रिटायर्ड हुने गरी मैले राजनीति गरेको होइन ।

यसमा अहिले नै खुल्दा के फरक पर्छ ? जति चाँडो उम्मेदवारीको घोषणा गर्‍यो, उति छिटो माहोल बन्ला ।

यसो छ, जब तपाईं बजारमा प्रवेश गर्नुहुन्छ, त्यसपछि मात्रै आफ्नो माल निकाल्ने हो, अनि क्रेताहरु तान्ने हो । बजार नपुग्दै डाँडादेखि नै ‘हरेक माल दो आनामा’ भनेर कराउनु सायद ठीक नहोला । गलत पनि होइन, केही साथीहरुले अगाडि नै पनि घोषणा गर्नुहुन्छ । प्रवक्ताको पदमा रहेको मान्छेले चैं अलिकति धैर्य राख्नैपर्छ ।

@Onlinekhabar

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

Liverpool South Ward उपनिर्वाचनमा नेपाली समुदायका अगुवा देव बहादुर गुरुङको उम्मेदवारी

Australia मा नेपाली Gen-Z सहिदहरूलाई सम्मान र नयाँ नेतृत्वलाई बधाई कार्यक्रम सम्पन्न

NRNA NT Youth Forum Multicultural Cup 2026 सम्पन्न, Northern Nepalese FC च्याम्पियन

डार्विनमा २९३ नेपालीले पासपोर्ट नवीकरण गरे

डार्विनमा “साउन्ड अफ नेपाल” भव्य रूपमा सम्पन्न, ७०० भन्दा बढी दर्शकको सहभागिता

डार्विनमा “साउन्ड अफ नेपाल” कन्सर्ट: सबिन राई एण्ड द फारोको सांगीतिक धमाका हुने


TOP