काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट गगनकुमार थापाको नेतृत्वमा १९ सदस्यीय पदाधिकारी टिम चयन भएको छ। वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा र महिला उपसभापतिमा पुष्पा भुसाल निर्विरोध निर्वाचित भएका छन् भने सभापति थापासहित १७ जना प्रतिस्पर्धात्मक निर्वाचनबाट चयन भएका हुन्।
विशेष महाधिवेशनबाट सभापति बनेका थापाले नियमित महाधिवेशनमा पनि आफ्नो नेतृत्वलाई निरन्तरता दिएका छन्। सभापति पदको प्रतिस्पर्धामा उनले श्यामकृष्ण खड्कीलाई भारी मतान्तरले पराजित गरे। थापाले ६ हजार ५८४ मत प्राप्त गर्दा खड्कीले ३७५ मत मात्रै पाए।
नयाँ पदाधिकारीको निर्वाचन परिणामले कांग्रेसभित्र विशेष महाधिवेशनको पक्षमा उभिएको समूहको बलियो उपस्थिति देखाएको छ। निर्वाचित १९ पदाधिकारीमध्ये १६ जना विशेष महाधिवेशन पक्षधर छन्। विशेष महाधिवेशनमा सहभागी नभएका तीन जना मात्रै पदाधिकारीमा निर्वाचित भएका छन्।
उपसभापतिमा भण्डारी, आचार्य र चौधरी विजयी
खुलातर्फका दुई उपसभापति पदका लागि सात जनाबीच प्रतिस्पर्धा भएको थियो। त्यसमा डा. चन्द्रकान्त भण्डारी र मधु आचार्य निर्वाचित भए। उनीहरूका प्रतिस्पर्धी गोविन्द भट्टराई, सुरेन्द्रराज पाण्डे, धनराज गुरुङ, दीपक गिरी र डा. चन्द्रमोहन यादव पराजित भए।
समावेशी उपसभापतिको एक पदमा पाँच जनाबीच भएको प्रतिस्पर्धामा उद्योगपति विनोद चौधरी विजयी भए। उनले जीवन परियार, फरमुल्लाह मन्सुर, सीता गुरुङ र रञ्जित कर्णलाई पछि पार्दै पार्टीको नेतृत्व तहमा स्थान बनाए।
भण्डारी विशेष महाधिवेशनका प्रमुख अगुवामध्ये नभए पनि उनी मझधारमा रहेका नेता थिए। विशेष महाधिवेशनको उद्घाटन समारोहमा सहभागी भएका उनी त्यसपछिको कार्यसमितिमा भने गएका थिएनन्। तर, थापा नेतृत्वको कार्यसमितिले मान्यता पाएपछि भण्डारी खुलेरै त्यसको पक्षमा उभिएका थिए।
मधु आचार्य भने विशेष महाधिवेशनका लागि देशभर अभियान सञ्चालन गर्न सक्रिय थिए। विनोद चौधरी पनि विशेष महाधिवेशनमा सहभागी भएका थिए।
महामन्त्रीमा प्रदीप पौडेल र उदयशमशेर राणा
खुलातर्फका दुई महामन्त्री पदका लागि आठ जनाबीच प्रतिस्पर्धा हुँदा प्रदीप पौडेल र उदयशमशेर राणा निर्वाचित भए। उनीहरूका प्रतिस्पर्धी डा. सुनिल शर्मा, गुरुराज घिमिरे, नैनसिंह महर, अमरसिंह पुन मगर, शंकर तिवारी र डा. सन्तोष उपाध्याय पराजित भए।
महिला महामन्त्री पदमा तीन जनाबीच प्रतिस्पर्धा भएको थियो। त्यसमा डा. डिला सङ्ग्रौला विजयी भइन्। महालक्ष्मी उपाध्याय ‘डिना’ दोस्रो र रिता खनाल तेस्रो स्थानमा रहे।
प्रदीप पौडेल १४औँ महाधिवेशनमा तत्कालीन सभापति शेरबहादुर देउवा पक्षबाट महामन्त्रीको उम्मेदवार बनेर पराजित भएका थिए। विशेष महाधिवेशनबाट महामन्त्री बनेका पौडेल नियमित महाधिवेशनमा पनि सोही पदमा दोहोरिएका छन्।
उदयशमशेर राणा पनि विशेष महाधिवेशनबाट सहमहामन्त्री बनेका थिए। नियमित महाधिवेशनमा भने उनी महामन्त्री पदमा निर्वाचित हुँदै एक तह माथि उक्लिएका छन्।
महिला महामन्त्रीमा पराजित डिना गत असोज १ गते देउवा समूह छाडेर थापा नेतृत्वको कांग्रेसमा आएकी थिइन्। उनी विशेष महाधिवेशनबाट सहमहामन्त्री बनेकी थिइन्। उनकै नेतृत्वमा तत्कालीन देउवा नेतृत्वको केन्द्रीय कार्यसमितिका ५२ पदाधिकारी तथा सदस्य थापा नेतृत्वको कांग्रेसमा समाहित भएका थिए।
डिनालाई लक्षित गरेर महिला महामन्त्रीको पद सिर्जना गरिएको भए पनि अन्ततः उक्त पद डिला सङ्ग्रौलाले जितिन्।
११ सहमहामन्त्री पदमा विभिन्न समूहको प्रतिनिधित्व
कांग्रेसको नयाँ कार्यसमितिमा विभिन्न १० क्लस्टरअन्तर्गत ११ जना सहमहामन्त्री निर्वाचित भएका छन्। खुला र समावेशी समूहका पदमा भएको निर्वाचनबाट निम्न नेताहरू विजयी भएका छन्।
१. सहमहामन्त्री खुला: दुई पदका लागि नौ जनाबीच प्रतिस्पर्धा हुँदा रामहरि खतिवडा र अजयबाबु सिवाकोटी निर्वाचित भए। उनीहरूका प्रतिस्पर्धी डिल्लीराम सुवेदी, देवेन्द्रराज कण्डेल, राजीव ढुङ्गाना, विकास कोइराला, अमृतकुमार अर्याल, रमेशप्रसाद धमला र विमलराज क्षेत्री पराजित भए।
२. सहमहामन्त्री खस–आर्य: मनोजमणि आचार्य निर्वाचित भए। उनले जगदिश्वर नरसिंह केसी, दिनेश कोइराला र शुभराम बस्नेतलाई पराजित गरे।
३. सहमहामन्त्री थारू: योगेन्द्र चौधरी विजयी भए। उनले तेजुलाल चौधरी र सुरेन्द्र चौधरीलाई पछि पारे।
४. सहमहामन्त्री मधेसी: आठ प्रतिस्पर्धीलाई पछि पार्दै अजयकुमार चौरसिया निर्वाचित भए। उनका प्रतिस्पर्धी महेन्द्र यादव, अभिषेक प्रताप शाह, किरण यादव, राम पल्टन साह, नगिना यादव, मुक्ता कुमारी यादव र मनिष कुमार मिश्र पराजित भए।
५. सहमहामन्त्री महिला: प्रतिमा गौतम निर्वाचित भइन्। नानु मैया बास्तोला पराजित भइन्।
६. सहमहामन्त्री आदिवासी जनजाति: बहादुर सिंह लामा तामाङ विजयी भए। उनले ओमबहादुर घर्ती मगर, तारामान गुरुङ, दिलमान पाख्रिन र प्रशान्त मान सिंह मास्केलाई पराजित गरे।
७. सहमहामन्त्री दलित: तीन जनाबीचको प्रतिस्पर्धामा प्रकाश रसाइली स्नेही विजयी भए। मानबहादुर नेपाली दोस्रो र नरेन्द्र पासवान तेस्रो भए।
८. सहमहामन्त्री पिछडिएको क्षेत्र: पाँच जनाबीच भएको प्रतिस्पर्धामा जीवनबहादुर शाही निर्वाचित भए। उनका प्रतिस्पर्धी जनकराज गिरी, नारायणप्रसाद भट्टराई, राजन कुँवर र रामबहादुर विष्ट पराजित भए।
९. सहमहामन्त्री मुस्लिम: डा. फिर्दोश आलम विजयी भए। उनले अब्दुल सत्तार र अतहर कमाल मुसलमानलाई पराजित गरे।
१०. सहमहामन्त्री अल्पसंख्यक तथा अपांगता: आंगेलु शेर्पा निर्वाचित भए। उनले नगेन्द्रकुमार कुमाल र बाबुकृष्ण सापकोटालाई पराजित गरे।
देउवा समूह छाडेका तीन जना मात्रै निर्वाचित
१९ सदस्यीय पदाधिकारी टिममा विशेष महाधिवेशनमा सहभागी नभएका तीन जना मात्रै निर्वाचित भएका छन्। उनीहरूमा सहमहामन्त्री खुलातर्फका रामहरि खतिवडा, पिछडिएको क्षेत्रतर्फका जीवनबहादुर शाही र मधेसीतर्फका अजयकुमार चौरसिया छन्।
चौरसियाले गत वैशाखमा कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवाको समूह छाडेका थिए। खतिवडा र शाहीले भने यही असोज १ गते देउवा समूहबाट अलग भएका थिए।
बाँकी १६ जना पदाधिकारी विशेष महाधिवेशन पक्षधर हुन्। सभापति, वरिष्ठ उपसभापति, उपसभापति र महामन्त्रीसहित प्रमुख पदाधिकारीमा विशेष महाधिवेशन पक्षधरको प्रभाव बलियो देखिएको छ। विशेष महाधिवेशनको विपक्षमा उभिएका र विभिन्न चरणमा देउवा समूहसँग जोडिएका नेताहरू नियमित महाधिवेशनबाट मुख्य पदाधिकारीमा पुग्न सकेनन्।
सभापतिमा गगन थापा दोहोरिएका छन्। विश्वप्रकाश शर्माका लागि वरिष्ठ उपसभापतिको नयाँ पद सिर्जना गरिएपछि उनी निर्विरोध निर्वाचित भए। त्यस्तै, महिला उपसभापतिको पद थपिएपछि पुष्पा भुसालविरुद्ध कसैले उम्मेदवारी दिएनन्।
खुला उपसभापतिमा चन्द्रकान्त भण्डारी र मधु आचार्य तथा समावेशी उपसभापतिमा विनोद चौधरी निर्वाचित भए। महामन्त्रीका दुई खुला पदमा विशेष महाधिवेशन पक्षधर प्रदीप पौडेल र उदयशमशेर राणा विजयी भए भने महिला महामन्त्रीमा डिला सङ्ग्रौलाले बाजी मारिन्।
महाधिवेशन प्रतिनिधिहरूले उपसभापति र महामन्त्रीका गरी छ पदमा विशेष महाधिवेशनका अगुवाहरूलाई निर्वाचित गरेका छन्। सहमहामन्त्रीका ११ पदमध्ये नौ पदमा पनि विशेष महाधिवेशन पक्षधर निर्वाचित भएका छन्।
केन्द्रीय समितिमा पनि विशेष महाधिवेशन पक्षधरको बलियो उपस्थिति
पदाधिकारी निर्वाचनसँगै कांग्रेसका २०९ जना केन्द्रीय सदस्य पनि निर्वाचित भएका छन्। निर्वाचित केन्द्रीय सदस्यहरूमध्ये करिब ९० प्रतिशत विशेष महाधिवेशन पक्षधर रहेको बताइएको छ।
कांग्रेसको २९८ सदस्यीय केन्द्रीय कार्यसमितिमा सभापतिले ७० जना मनोनित गर्न पाउने व्यवस्था छ। अब सभापति गगन थापाले चार जना सहमहामन्त्री र एक जना कोषाध्यक्ष मनोनित गर्नेछन्।
पदाधिकारी, केन्द्रीय सदस्य तथा मनोनयनको व्यवस्थासमेतलाई हेर्दा नयाँ कार्यसमितिमा थापा नेतृत्वको समूहको प्रभाव उल्लेखनीय देखिएको छ। नियमित महाधिवेशनको परिणामले विशेष महाधिवेशनपछि पार्टीभित्र बनेको शक्ति सन्तुलनलाई थप संस्थागत गरेको छ।











