मंगलबार , भाद्र १६, २०८३

काठमाडौं । ‘मन्त्रीहरूले प्रतिबद्धता गरेका काम पनि भएका छैनन्,’ उनले भने, ‘त्यस्ता मन्त्रालयमा मन्त्री फेरेर भएपनि कामलाई गति दिन्छु।’ प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड चार दिन अघि मोरङको मिक्लाजुङमा बोल्दै थिए । आफू प्रधानमन्त्री भएको एक वर्ष पुग्नै लाग्दा प्रचण्डले त्यही दिन सुनसरीको इनरुवामा भनेका थिए, ‘प्रधानमन्त्रीको रूपमा मेरो तेस्रो कार्यकालको एक वर्ष पूरा हुँदैछ । मैले नयाँ ढंगले केही धक्का दिएर म साँच्चै क्रमभंग गर्दैछु अर्को । त्यतिबेलामा आमजनताको साथ पाउने विश्वास छ ।’

प्रचण्ड नेतृत्वको सरकार गठन भएको मंगलवार अर्थात पुष १० एक वर्ष पुग्दैछ । यसअघि दुई पटक प्रधानमन्त्री बनेका प्रचण्ड पहिलो पटक ९ महिना र दोस्रो पटकमा १० महिनामात्रै टिकेका थिए ।  यसपटक भने उनको सरकारले एक वर्ष पुरा गरेको छ । तर उनको यो एक वर्ष कस्तो रह्यो भन्ने उनकै अभिव्यक्तिले प्रष्ट हुन्छ । उनले चाहेका छैनन, वा चाहेर पनि भएको छैन, तर जनताले अपेक्षा गरे अनुसार सरकारको काम छैन् । मन्त्रीहरुले समेत प्रतिवद्धता गरेको काम नगरेको उनको स्वीकारोक्तिले नै त्यसलाई प्रष्ट पार्छ ।
प्रचण्डलाई गत पुस १० मा एमालेको नेतृत्वमा सात दलले समर्थन गरेर प्रधानमन्त्री बनाएका थिए । सुरुमा एमालेको नेतृत्वमा माओवादी केन्द्र, रास्वपा, राप्रपा, जसपा, जनमत, नागरिक उन्मुक्तिको समर्थनमा प्रधानमन्त्री नियुक्त भएका थिए । तर, उनी राष्ट्रपतिको निर्वाचनसम्म पुग्दा चुनावअघिको कांग्रेस नेतृत्वको गठबन्धनमै फर्किए ।

प्रचण्डलाई अहिले कांग्रेस, माओवादी, नेकपा एस, जसपा, जनमत, लोसपा, नाउपा, आजपा, नेसपा र जनमोर्चाको समर्थन छ । तर, पहिलो पटक प्रधानमन्त्री नियुक्त भएपछि विश्वासको मत लिँदा २६८ पाएका प्रचण्ड दोस्रो पटक १७२ मतमै सीमित भए । एमालेसँगै प्रचण्डको रवि लामिछाने नेतृत्वको रास्वपा र राप्रपासँगको सहकार्य लामो समय टिकेन् ।  तेस्रो पटक देशको बागडोर सम्हाल्दै गर्दा उनले देखाएको सक्रियताले धेरैलाई यसपटक प्रचण्डले केही गर्छन् भन्ने विश्वास जागेको थियो । तेस्रो पटकको कार्यकाललाई उनी आफैले निकै महत्वपूर्ण भनेका थिए । प्रचण्डले राम्रोबाहेक केही नगर्ने सरकारको नीति रहेको बताउँदै पनि आएका छन् ।

शुरुवाती चरणमा नक्कली भुटानी शरणार्थी प्रकरण, ललिता निवास जग्गा हिनामिना लगायतका केही ठुला भ्रष्टाचार काण्डमा हात हालेर अनुसन्धान अघि बढाएपछि   जनविश्वास झनै बढेको पनि थियो । तर, उनको त्यो सक्रियता टिक्न सकेको देखिएन् ।  नक्कली भुटानी शरणार्थी प्रकरण, ललिता निवास जग्गा प्रकरण, सुन काण्डदेखि एनसेलसम्म आइपुग्दा प्रचण्ड सरकार गलेको र झुकेको टिकाटिप्पणी भैरहेको छ । प्रधानमन्त्री प्रचण्ड र गृहमन्त्री नारायणकाजी श्रेष्ठमाथि नै आफू निकटका र गठबन्धनका नेताहरु जोगाउन लागिपरेको आरोप लाग्यो । सत्ता टिकाउन नै रेशम चौधरीदेखि रिगल ढकाललाई रिहा गरेको विषयले थप विवादित बन्यो । सोमवार मात्रै पूर्वउपप्रधान तथा गृहमन्त्री एवम् रास्वपाका सभापति रवि लामिछानेले गृहमन्त्री श्रेष्ठले सुन तस्करलाई संरक्षण गरेको मात्रै होईन, प्रमाण दिँदासमेत कारवाही नगरेको गम्भिर आरोप लगाएका छन् ।

अझ, पछिल्लो समय त उनी परिणाममुखी काम भन्दा पनि राजनीतिक दाउपेचमा बढी केन्द्रित भएको आरोप गठबन्धन दलहरुभित्रै लाग्ने गरेको छ । गठबन्धनको सवैभन्दा ठूलो दल नेपाली कांग्रेसकै शेखर कोइराला लगायतका केही नेताहरुले सार्वजनिकरुपमै प्रचण्ड नेतृत्वको सरकार फाल्नु नै अहिलेको प्रमुख आवश्यक्ता भएको औँल्याउन थालेका छन् । महामन्त्री गगन थापाले पनि सरकारले कुनै परिणाममुखी काम गर्न नसकेको भन्दै काम नगर्ने हो भने प्रचण्डलाई खुमलटार फिर्ता गर्नुपर्ने खुुल्लम खुल्ला भनिरहेका छन् । एमालेको त निष्कर्ष नै छ, यो सरकार जति दिन रहन्छ देश र जनताका लागि घाटा मात्रै हुन्छ ।’ प्रधानमन्त्री प्रचण्डको सचिवालयका सदस्यहरुमाथि उठिरहेका प्रश्न र प्रमुख सल्लाहकार हरिबोल गजुरेलको राजीनामाले पनि सरकार सही दिशामा गैरहेको छैन भन्ने संकेत गर्छ । गजुरेलले प्रष्ट भनेका छन, सरकारलाई सफल बनाउने अवस्था देखिएन् ।

सरकारको एक वर्षे कार्यकाल सफल भएको माओवादीका प्रवक्ता अग्निप्रसाद सापकोटाको दाबी छ ।  ‘सरकारले सुशासनको क्षेत्रमा कदम चालेको,कूटनीतिक सन्तुलनदेखि जनताको कार्यसम्पादनमा सरकार सफल भएको’ उनको बुझाई छ । प्रधानमन्त्रीले ‘अझै नयाँ फाइल खोलेर अगाडि बढ्छु’ भनेकोले थप गति देखिने पनि उनले दाबी गरे ।

वर्तमान सरकारले केही गर्नै सकेन सबै गलत मात्रै गरेको छ भन्ने पनि होइन । कुटनीतिक र जनतामा डेलिभरी दिने कुरामा केही सकारात्मक काम पनि भएका छन् । तर, अहिलेको अवस्थामा त्यतिले मात्रै जनतामा सरकार हुनुको आभाष हुन सकेको छैन, किनकी जनताले सरकार भएको महशुस नै गर्न सकेका छैनन् । सरकार भनेको केही टाठा बाठा, नातागोता र हुने खानेको हो, सरकार चलाउनेहरुलाई भुइँ मान्छेको कुनै मतलब छैन भन्ने भाष्य र बुझाई बलियो बन्दै गएको छ । लोकतन्त्रको रक्षा, अर्थतन्त्रमा सुधार, सुशासनकालागि संरचनात्मक सुधार, सामाजिक न्यायका लागि ठोस कदम, परराष्ट्र नीतिलगायतका महत्वपूर्ण विषयमा सरकारले प्रष्ट र ठोस कदम चालेको देखिन्न ।

बेरोजगारीले देशलाई खोक्रो बनाउँदै लगेको छ, युवा पलायन बढ्दो छ, तर प्रधानमन्त्री प्रचण्ड काम नपाएर मात्रै युवाहरु विदेश गएको होइन भनिरहेका छन, तर त्यसो होइन भने रोक्न के भैरहेको छ त्यो भनिरहेका छैनन् । शिक्षा, स्वास्थ्य र रोजगारीमा के गर्यो त भन्ने हो भन्ने आफूलाई समाजवादी बताउने प्रचण्डले भन्ने खासै कुरा केही छैन् । अर्थतन्त्र कमजोर बन्दै गएको छ तर त्यसलाई कसरी बलियो बनाउने भन्ने कुनै योजना देखिन्न । खालि अर्थतन्त्र दबाबमा छ, सुधार हुँदैछ भन्ने एकोहोरो भाषण देखिन्छ, तर आंकडाले अर्थतन्त्र कमजोर बनेको देखाउँछ । त्यसैले, प्रचण्डले अब बाँकी कार्यकाल राजनीतिक दाउपेच र भागबन्डा भन्दा माथि उठेर साँच्चिकै देश र जनताको पक्षमा काम गरेर आफुलाई प्रमाणित गर्नुपर्नेछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता


TOP