आइतबार , बैसाख १४, २०८२

काठमाडौं । ‘मन्त्रीहरूले प्रतिबद्धता गरेका काम पनि भएका छैनन्,’ उनले भने, ‘त्यस्ता मन्त्रालयमा मन्त्री फेरेर भएपनि कामलाई गति दिन्छु।’ प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड चार दिन अघि मोरङको मिक्लाजुङमा बोल्दै थिए । आफू प्रधानमन्त्री भएको एक वर्ष पुग्नै लाग्दा प्रचण्डले त्यही दिन सुनसरीको इनरुवामा भनेका थिए, ‘प्रधानमन्त्रीको रूपमा मेरो तेस्रो कार्यकालको एक वर्ष पूरा हुँदैछ । मैले नयाँ ढंगले केही धक्का दिएर म साँच्चै क्रमभंग गर्दैछु अर्को । त्यतिबेलामा आमजनताको साथ पाउने विश्वास छ ।’

प्रचण्ड नेतृत्वको सरकार गठन भएको मंगलवार अर्थात पुष १० एक वर्ष पुग्दैछ । यसअघि दुई पटक प्रधानमन्त्री बनेका प्रचण्ड पहिलो पटक ९ महिना र दोस्रो पटकमा १० महिनामात्रै टिकेका थिए ।  यसपटक भने उनको सरकारले एक वर्ष पुरा गरेको छ । तर उनको यो एक वर्ष कस्तो रह्यो भन्ने उनकै अभिव्यक्तिले प्रष्ट हुन्छ । उनले चाहेका छैनन, वा चाहेर पनि भएको छैन, तर जनताले अपेक्षा गरे अनुसार सरकारको काम छैन् । मन्त्रीहरुले समेत प्रतिवद्धता गरेको काम नगरेको उनको स्वीकारोक्तिले नै त्यसलाई प्रष्ट पार्छ ।
प्रचण्डलाई गत पुस १० मा एमालेको नेतृत्वमा सात दलले समर्थन गरेर प्रधानमन्त्री बनाएका थिए । सुरुमा एमालेको नेतृत्वमा माओवादी केन्द्र, रास्वपा, राप्रपा, जसपा, जनमत, नागरिक उन्मुक्तिको समर्थनमा प्रधानमन्त्री नियुक्त भएका थिए । तर, उनी राष्ट्रपतिको निर्वाचनसम्म पुग्दा चुनावअघिको कांग्रेस नेतृत्वको गठबन्धनमै फर्किए ।

प्रचण्डलाई अहिले कांग्रेस, माओवादी, नेकपा एस, जसपा, जनमत, लोसपा, नाउपा, आजपा, नेसपा र जनमोर्चाको समर्थन छ । तर, पहिलो पटक प्रधानमन्त्री नियुक्त भएपछि विश्वासको मत लिँदा २६८ पाएका प्रचण्ड दोस्रो पटक १७२ मतमै सीमित भए । एमालेसँगै प्रचण्डको रवि लामिछाने नेतृत्वको रास्वपा र राप्रपासँगको सहकार्य लामो समय टिकेन् ।  तेस्रो पटक देशको बागडोर सम्हाल्दै गर्दा उनले देखाएको सक्रियताले धेरैलाई यसपटक प्रचण्डले केही गर्छन् भन्ने विश्वास जागेको थियो । तेस्रो पटकको कार्यकाललाई उनी आफैले निकै महत्वपूर्ण भनेका थिए । प्रचण्डले राम्रोबाहेक केही नगर्ने सरकारको नीति रहेको बताउँदै पनि आएका छन् ।

शुरुवाती चरणमा नक्कली भुटानी शरणार्थी प्रकरण, ललिता निवास जग्गा हिनामिना लगायतका केही ठुला भ्रष्टाचार काण्डमा हात हालेर अनुसन्धान अघि बढाएपछि   जनविश्वास झनै बढेको पनि थियो । तर, उनको त्यो सक्रियता टिक्न सकेको देखिएन् ।  नक्कली भुटानी शरणार्थी प्रकरण, ललिता निवास जग्गा प्रकरण, सुन काण्डदेखि एनसेलसम्म आइपुग्दा प्रचण्ड सरकार गलेको र झुकेको टिकाटिप्पणी भैरहेको छ । प्रधानमन्त्री प्रचण्ड र गृहमन्त्री नारायणकाजी श्रेष्ठमाथि नै आफू निकटका र गठबन्धनका नेताहरु जोगाउन लागिपरेको आरोप लाग्यो । सत्ता टिकाउन नै रेशम चौधरीदेखि रिगल ढकाललाई रिहा गरेको विषयले थप विवादित बन्यो । सोमवार मात्रै पूर्वउपप्रधान तथा गृहमन्त्री एवम् रास्वपाका सभापति रवि लामिछानेले गृहमन्त्री श्रेष्ठले सुन तस्करलाई संरक्षण गरेको मात्रै होईन, प्रमाण दिँदासमेत कारवाही नगरेको गम्भिर आरोप लगाएका छन् ।

अझ, पछिल्लो समय त उनी परिणाममुखी काम भन्दा पनि राजनीतिक दाउपेचमा बढी केन्द्रित भएको आरोप गठबन्धन दलहरुभित्रै लाग्ने गरेको छ । गठबन्धनको सवैभन्दा ठूलो दल नेपाली कांग्रेसकै शेखर कोइराला लगायतका केही नेताहरुले सार्वजनिकरुपमै प्रचण्ड नेतृत्वको सरकार फाल्नु नै अहिलेको प्रमुख आवश्यक्ता भएको औँल्याउन थालेका छन् । महामन्त्री गगन थापाले पनि सरकारले कुनै परिणाममुखी काम गर्न नसकेको भन्दै काम नगर्ने हो भने प्रचण्डलाई खुमलटार फिर्ता गर्नुपर्ने खुुल्लम खुल्ला भनिरहेका छन् । एमालेको त निष्कर्ष नै छ, यो सरकार जति दिन रहन्छ देश र जनताका लागि घाटा मात्रै हुन्छ ।’ प्रधानमन्त्री प्रचण्डको सचिवालयका सदस्यहरुमाथि उठिरहेका प्रश्न र प्रमुख सल्लाहकार हरिबोल गजुरेलको राजीनामाले पनि सरकार सही दिशामा गैरहेको छैन भन्ने संकेत गर्छ । गजुरेलले प्रष्ट भनेका छन, सरकारलाई सफल बनाउने अवस्था देखिएन् ।

सरकारको एक वर्षे कार्यकाल सफल भएको माओवादीका प्रवक्ता अग्निप्रसाद सापकोटाको दाबी छ ।  ‘सरकारले सुशासनको क्षेत्रमा कदम चालेको,कूटनीतिक सन्तुलनदेखि जनताको कार्यसम्पादनमा सरकार सफल भएको’ उनको बुझाई छ । प्रधानमन्त्रीले ‘अझै नयाँ फाइल खोलेर अगाडि बढ्छु’ भनेकोले थप गति देखिने पनि उनले दाबी गरे ।

वर्तमान सरकारले केही गर्नै सकेन सबै गलत मात्रै गरेको छ भन्ने पनि होइन । कुटनीतिक र जनतामा डेलिभरी दिने कुरामा केही सकारात्मक काम पनि भएका छन् । तर, अहिलेको अवस्थामा त्यतिले मात्रै जनतामा सरकार हुनुको आभाष हुन सकेको छैन, किनकी जनताले सरकार भएको महशुस नै गर्न सकेका छैनन् । सरकार भनेको केही टाठा बाठा, नातागोता र हुने खानेको हो, सरकार चलाउनेहरुलाई भुइँ मान्छेको कुनै मतलब छैन भन्ने भाष्य र बुझाई बलियो बन्दै गएको छ । लोकतन्त्रको रक्षा, अर्थतन्त्रमा सुधार, सुशासनकालागि संरचनात्मक सुधार, सामाजिक न्यायका लागि ठोस कदम, परराष्ट्र नीतिलगायतका महत्वपूर्ण विषयमा सरकारले प्रष्ट र ठोस कदम चालेको देखिन्न ।

बेरोजगारीले देशलाई खोक्रो बनाउँदै लगेको छ, युवा पलायन बढ्दो छ, तर प्रधानमन्त्री प्रचण्ड काम नपाएर मात्रै युवाहरु विदेश गएको होइन भनिरहेका छन, तर त्यसो होइन भने रोक्न के भैरहेको छ त्यो भनिरहेका छैनन् । शिक्षा, स्वास्थ्य र रोजगारीमा के गर्यो त भन्ने हो भन्ने आफूलाई समाजवादी बताउने प्रचण्डले भन्ने खासै कुरा केही छैन् । अर्थतन्त्र कमजोर बन्दै गएको छ तर त्यसलाई कसरी बलियो बनाउने भन्ने कुनै योजना देखिन्न । खालि अर्थतन्त्र दबाबमा छ, सुधार हुँदैछ भन्ने एकोहोरो भाषण देखिन्छ, तर आंकडाले अर्थतन्त्र कमजोर बनेको देखाउँछ । त्यसैले, प्रचण्डले अब बाँकी कार्यकाल राजनीतिक दाउपेच र भागबन्डा भन्दा माथि उठेर साँच्चिकै देश र जनताको पक्षमा काम गरेर आफुलाई प्रमाणित गर्नुपर्नेछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

अस्ट्रेलियाका गीतकार विनोद अधिकारीका सिर्जना छिटै बजारमा आउंदै

डार्विनको नाइटक्लिफमा छुरा प्रहार, एकजनाको मृत्यु

फेरि बिग्रियो प्रचण्ड–जनार्दन सम्बन्ध, बैंककमा ओलीसँग डिनर, सिंहदरबारमा विष्णु पौडेलसँग फोटो!

लेखकले कुलमानलाई नहटाऔँ भन्दा खड्का र राणा कड्किए- अहिले नहटाए कहिले?

अस्ट्रेलियाको डार्विनमा बहु सास्कृतिक होलि पर्व मनाइदै

ओली सरकार ढाल्न चलखेल सुरु, कांग्रेससँग गृहकार्य भइरहेको माओवादी नेता दाहालको खुलासा


TOP