शनिबार , बैसाख ६, २०८२

काठमाडौँ — सर्वोच्च अदालतले नेकपा दलको नाम ऋषि कट्टेललाई दिँदै नेकपा एमाले र माओवादी केन्द्र ब्युँताएपछि माधवकुमार नेपालहरू एमालेतिर लागेका छन् भने पुष्पकमल दाहालले माओवादी केन्द्र बनाउने भएका छन् ।

सोमबार पेरिस डाँडास्थित माओवादी केन्द्रको केन्द्रीय कार्यालयमा बैठक बसेर साविक नेकपाका दाहाल-नेपाल समूहले पूर्ववत् पार्टीतिर लाग्ने निर्णय लिएका थिए ।

एमाले र माओवादी ब्युँतिएपछि नेताहरू पूर्ववत् अवस्थामा फर्किए पनि माओवादीका सांसदसमेत रहेका ओली नेतृत्वको सरकारका मन्त्रीहरूले भने निर्णय लिन सकेका छैनन् । सांसद नरहेका मन्त्रीले भने आफू कता लाग्ने भन्ने तय गरेका छन् ।

माओवादी नेतासमेत रहेका उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले अब कता लाग्ने भन्नेबारे छलफल गरिरहेको बताएका छन् । केही दिनभित्र आफूले निर्णय दिने उनले बताएका छन् ।

‘अहिले नै कता लाग्ने भन्ने केही पनि छैन । सल्लाह गर्दैछौं । के गर्ने भन्ने निर्णय गर्न २- ४ दिन लाग्ला,’ मन्त्री भट्टले भने । नेताहरूसँग छलफल भइरहेको तर निष्कर्ष निस्किनसकेको उनले जानकारी दिए ।

सर्वोच्चको फैसलाले अन्यौलता सिर्जना गरेको मन्त्री भट्टको भनाइ थियो । ‘फैसलाले अन्योलता त सिर्जना भयो । भोलि फेरि सरसल्लाह गर्दैछौं, एउटा निकास पनि देला,’ एमाले र माओवादीबीच सत्ता गठबन्धन कायमै रहनेबारे उनले थपे, ‘हुनसक्छ, अहिले नै केही भन्न सक्ने अवस्था छैन ।’

मन्त्री भट्ट कैलाली निर्वाचन क्षेत्र नम्बर ४ बाट माओवादी केन्द्रबाट प्रतिनिधिसभामा निर्वाचित भएका थिए । त्यस्तै, माओवादीबाट कैलाली क्षेत्र नम्बर ३ बाट निर्वाचित गौरीशंकर चौधरी, रौतहट ३ बाट निर्वाचित प्रभु शाह र अर्घाखाँचीबाट निर्वाचित टोपबहादुर रायमाझी ओली सरकारमा मन्त्री रहेका छन् । प्रतिनिधिसभाको असंवैधानिक विघटनपछि तत्कालीन नेकपाभित्र उत्पन्न भएको विभाजनपछि सांसदहरू ओली पक्षमा लागेर शाह, रायमाझी र चौधरी मन्त्री भएका थिए भने भट्ट पहिल्यै मन्त्री थिए ।

माओवादीबाट राष्ट्रिय सभामा निर्वाचित गृहमन्त्री रामबहादुर थापाले पनि कुन पक्षमा लाग्ने तय नगरिसकेको बताइएको छ । प्रतिनिधिसभाको असंवैधानिक विघटनपछि उनका सहयोगी तथा सचिवालयमा रहेका नेताहरू दाहाल-नेपाल पक्षतिर लागेका थिए । थापाले अब के गर्ने भन्ने बारेमा सल्लाह गरिरहेको उनी निकट स्रोतले जानकारी दिएको छ ।

सांसदहरूले पार्टीको ह्वीप मान्नुपर्ने हुन्छ । ह्वीप नमानेमा उनीहरूको सांसद पद जाने कानुनी व्यवस्था रहेको छ । त्यसैले पनि सांसद रहेका मन्त्रीहरू आफ्नो पार्टीमा फर्किने सम्भावना रहेको छ । उनीहरू आफ्नो पार्टीमा फर्किएनन् भने सांसद पदबाट हटाउने सम्भावना रहन्छ ।

ओली नेतृत्वको सरकारमा माओवादी नेताहरू मणिचन्द्र थापा र दावा लामाले के गर्लान् भन्ने चासो रहेको छ । उनीहरू माओवादीतिर फर्किएलान् कि एमालेमै रहलान् भन्ने कुरा उठिरहेका बेला थापाले भने ओलीलाई नै साथ दिने बताएका छन् ।

थापा र लामा सांसद होइनन् ।

माओवादीबाट सांसद भएका मन्त्रीहरूले ओलीलाई साथ दिन गाह्रो भएपनि आफूहरूलाई नरहेको खानेपानीमन्त्री थापाले बताए । ‘सांसद भएकाहरूलाई मात्रै थोरै गाह्रो भयो भन्ने हो,’ उनले भने । राजनीतिक निर्णय लिन सबै स्वतन्त्र रहेको पनि उनको तर्क थियो ।

सर्वोच्च अदालतको फैसलापछिको निकासबारे मन्त्री थापाले भने, ‘अबको निकास मुख्यगरी माओवादी माओवादीतिर, एमाले एमालेतिर हुन्छ ।’

आफू भने प्रधानमन्त्री तथा एमाले अध्यक्ष ओलीको पक्षमा लाग्ने थापाको भनाइ थियो । ‘हामीले ओली कमरेडलाई सहयोग गरेको हो, ओली कमरेडलाई सहयोग गर्छौं,’ उनले आफ्नो निर्णय सुनाए ।

अरुसँग समूहगत रूपमा छलफल नभएपनि सांसद रहेका मन्त्रीहरूले पनि ओलीलाई साथ दिने निर्णय लिने थापाको विश्वास थियो । उनले भने, ‘सांसद भएकाले पनि सहयोग गर्छन् । सांसद पद अर्को पटक पनि आउला नि !’

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

अस्ट्रेलियाका गीतकार विनोद अधिकारीका सिर्जना छिटै बजारमा आउंदै

१९औ पोखरा अन्तराष्ट्रीय म्याराथन मा सहभागी अष्ट्र्लियाका दशमी गुरुगं ५ किमि भेट्रान्स मा देश्रो ।

फेरि बिग्रियो प्रचण्ड–जनार्दन सम्बन्ध, बैंककमा ओलीसँग डिनर, सिंहदरबारमा विष्णु पौडेलसँग फोटो!

लेखकले कुलमानलाई नहटाऔँ भन्दा खड्का र राणा कड्किए- अहिले नहटाए कहिले?

अस्ट्रेलियाको डार्विनमा बहु सास्कृतिक होलि पर्व मनाइदै

ओली सरकार ढाल्न चलखेल सुरु, कांग्रेससँग गृहकार्य भइरहेको माओवादी नेता दाहालको खुलासा


TOP