सोमबार , अषोज २६, २०८३

पढेलेखेको शिक्षित युवक पनि बाख्रा पाल्ने काममा लाग्ने?

अझ काठमाडौंमा नाफामा चलेको आफ्नै ‘ट्राभल्स एन्ड टुर्स’ व्यवसाय छाडेर!

तनहुँको भानु नगरपालिका, घलेछापका कुशलचन्द्र अधिकारीलाई धेरैले यो प्रश्न गरेका थिए।

२०६५ सालमा उच्च शिक्षाका लागि काठमाडौं आएका उनी ठीक दस वर्षपछि सधैंका लागि भनेर गाउँ फर्के। त्यतिन्जेलमा उनले समाजशास्त्र विषयमा स्नात्तकोत्तर तह पूरा गरेका थिए।

‘पढाइ सकेर जन्मथलो फर्किने अनि कृषि र पशुपालनमा काम गर्ने रूचि थियो,’ कुशलले भने, ‘गाउँ छोडेपछि जग्गाजमिन पनि बाँझो भएको थियो। व्यवसाय थालेपछि राम्रो सदुपयोग भएको छ।’

उनले बाख्रापालन व्यवसाय गरेका छन्। सुरूमा ४८ हजार रूपैयाँमा चार वटा बाख्रा किनेका थिए। अहिले उनको घरगाउँ घलेछापमै भएको कृषि फर्ममा मौरी, कुखुरा, कालिज र गाईभैंसी पनि थपिएका छन्।

कुशलको फर्मको नाम ‘मुर्लिङ बहुउद्देश्यीय कृषि प्रालि’ हो। उनको कषि व्यवसायले दुई सय रोपनी जमिन ओगटेको छ। डेढ सय रोपनी भाडामा लिएका हुन्। खोर र गोठले करिब छ रोपनी जग्गा ओगटेको छ। बाँकीमा घाँस लगाएका छन्।

कुशलचन्द्र अधिकारी

कुशललाई पशुपालन व्यवसायमा बुबा राजेन्द्रले साथ दिएका छन्। राजेन्द्र रोजगारीका लागि लामो समय बहराइन बसे। उताबाट फर्केपछि गाउँमै कृषिसम्बन्धी व्यवसाय गर्ने सोचमा थिए। कुशल गाउँ फर्केपछि आफ्नै र बुबाको समेत चाहनाअनुसार कृषिमा लागे।

‘बहराइनबाट फर्केपछि बुबाले तनहुँमै बस्न रूचाउनुभयो,’ कुशलले भने, ‘मलाई पनि गाउँमै व्यवसाय गर्नु थियो। अनि हामी कृषिमा होमियौं।

पाँच वर्षअघि राजेन्द्र घर फर्किँदा कुशल काठमाडौंमा थिए। उनी ‘अकलादेवी ट्राभल एन्ड टुर्स कम्पनी’ नाममा आफ्नै व्यवसाय चलाउँथे। काठमाडौंको घरमा श्रीमती र सन्तान छन्। थोरै फुर्सद हुँदा कुशल गाउँ पुग्थे। नर्सरीबाट फूलका बिरूवा लैजान्थे। करेसामा रोप्थे। बुवा फर्केपछि उनीहरूले सानो बगैंचा बनाएका थिए।

काठमाडौंमा कुशलको व्यवसाय ठिकै चल्दै थियो। कोरोना फैलिएर लकडाउन भएपछि गाउँ फर्केर कृषिमा लागे। बहुउद्देश्यीय फर्म बनाउने तरिकाले अघि बढे। काठमाडौंको व्यवसाय बन्द गरिदिए।

कुशलले एकैपटक ठूलो लगानी गरेनन्। चार वटा बाख्राले जन्माएका पाठा हुर्किँदै गए। बिस्तारै बाख्रा थपे। बोयर जातका बोका प्रयोग गरेर स्थानीय बाख्राबाट पाठा उत्पादन गरे। नयाँ पाठा हुर्किँदै गए। एक वर्षमा बाख्राबाख्री र पाठा समेत गरेर सय वटा पुर्‍याए।

‘बाख्रामा हामीले ठूलो लगानी गर्नै परेन। एउटै बाख्राले दुई–तीन वटा पाठा जन्माउँदा खोर भरिँदै गयो,’ कुशलले भने।

बोयरबाट उत्पादन गरेका बाख्राको संख्या बढ्दै गएपछि स्थानीय बाख्रा हटाउँदै बोयर नै बढाए। कुशलका अनुसार बोयर जातको खसीबोका एक दिनमै तीन सय ग्रामसम्म बढ्छ। खोरभरि बाख्रा बढ्दै गए, बाबुछोरा काममा रमाउन थाले।

कुशलले बाख्रा अनुसन्धान केन्द्र, बन्दीपुरमा १० दिनको तालिम पनि लिए। बाख्राको हेरचाह र दानापानीबारे सिके। रोग र उपचारबारे जानकारी पाए। तालिमले उनलाई काममा ऊर्जा दियो। बाख्राका लागि राम्रो घाँसको बिउ र बिरूवा खोजी गरे। अहिले डेढ सय रोपनी जमिनमा सुपर नेपियर, सियोथ्री, मुलाटो लगायतका घाँस लगाएका छन्। छरछिमेकीलाई पनि घाँस रोप्न भनेका छन्। त्यो घाँस उनैले किन्छन्।

कुशलका अनुसार उक्त जातका घाँसमा १७ प्रतिशतसम्म प्रोटिन हुन्छ। डाले घाँसमा किम्बु, टाँकी, निवारो, खनिउँ लगायत स्थानीय जात पनि रोपेका छन्। खसीबाख्रा बेच्न कुनै कठिनाइ छैन। माग प्रशस्त भएकाले ग्राहक फर्ममै आइपुग्छन्।

‘हामीकहाँ धेरै ठाउँबाट खसीबाख्राको माग आउँछ,’ उनले भने, ‘माग बढेपछि उत्पादनमा जाँगर चल्दो रहेछ।’

कुशल एक वर्ष बाख्राकै हेरचाहमा रमाए। राम्रो भएपछि अन्य व्यवसायमा हात हाले। सुरूमा पाल्पाको एक फर्मबाट दस घार मौरी किने। तनहुँकै विभिन्न ठाउँबाट ल्याएर पनि थपे। आधुनिक घार बनाएर उनले मौरीपालन अघि बढाए।

मौरीपालन सुरू गरेको वर्ष दिनमा मौरी र मह गरी तीन लाख रूपैयाँको व्यापार गरे। एक वर्षमा ३५ घार मौरी बेचे। मौरी फस्टाउँदै थियो, उनी हौसिँदै थिए। एकाएक घारमा कीरा लाग्ने समस्या आयो। तनहुँभरि नै यस्तो समस्या देखिएको थियो। कुशलको फर्मका मौरी मासिए। उनले हरेश खाएनन्। फेरि नयाँ १५ घार हालेर काम अघि बढाए।

मौरी चराउन समस्या छैन। गाउँघरमा तोरी खेती हुन्छ। चिउरी र मौरी चर्ने अरू फूल पाइन्छ। जेठ–असार र कात्तिक–मंसिर गरी वर्षमा दुई पटक मह काढ्छन्।

मौरीपछि उनले थोरै रैथाने कुखुरा ल्याए। तिनकै चल्ला हुर्केर एक वर्षमा डेढ सय वटा भए।

‘अन्डा बेचेनौं, कुखुराकै संख्या बढायौं। केही महिनामै कुखुराले खोर भरियो,’ उनले भने।

स्थानीय बजारमा कुखुराको माग राम्रो छ। त्यसैले कुशलले रैथानेसँगै कडकनाथ जात पनि थपे। तुलनात्मक रूपमा कडकनाथ अलि महँगो हुन्छ। हाल जिउँदो प्रतिकिलो एक हजार रूपैयाँमा बिक्री हुन्छ। यो जातको कुखुरा करिब छ महिनामै बेच्न योग्य हुन्छ।

यसरी मुर्लिङ बहुउद्देश्यीय कृषि प्रालिको व्यवसाय फैलिँदै गयो।

‘एउटाबाट फाइदा नहुँदा अर्कोले साथ दियो। हामीले व्यवसाय बढाउँदै लग्यौं,’ कुशलले भने।

कुशलले स्थानीय कृषि फर्मबाट केही कालिज ल्याएर पालेका छन्। कालिज चाहिँ व्यवसायका लागि भन्दा पनि कुशलको रहर हो।

एक वर्षअघि चितवनबाट दुइटा भैंसी पनि ल्याएका थिए। दैनिक १८ लिटर दिन्थे, गाउँमै खपत भयो। दूधबाट फाइदा हुने देखेपछि भैंसी थपे। केही समयपछि गाई पनि ल्याए। अहिले गोठमा २९ वटा गाईभैंसी छन्, १३ वटा भैंसी र दुइटा गाई। दैनिक सय लिटर दूध उत्पादन हुन्छ। सबै स्थानीय बजारमै खपत हुन्छ। धेरैजसो मिठाई उत्पादकले किन्छन्।

‘लगानीका आधारमा भैंसीबाट राम्रो फाइदा छ,’ कुशल भन्छन्, ‘चाँडै दैनिक दुई सय लिटर दूध उत्पादन गर्ने गरी गाईभैंसी बढाउने लक्ष्य छ।’

यसपछि गाउँमा उत्पादन हुने दूध पनि किनेर डेरी उद्योग सञ्चालन गर्ने उनको योजना हो। डेरी उत्पादनमा आफ्नो ब्रान्ड बनाउने सपना देखेका छन्। माछा पाल्ने तयारी पनि सुरू गरिसके।

थोरै लगानीबाट सुरू गरे पनि हाल आएर उनले पशुपालनमा लगानी थपेका छन्। बाख्रा, कुखुरा, गाईभैंसी र कालिजको खोर–गोठ व्यवस्थित बनाउन ८० लाख रूपैयाँ खर्च भएको उनले बताए। लगानीअनुसार आम्दानीमा सन्तुष्ट छन्।

‘हाल मासिक सरदर सात लाख रूपैयाँको कारोबार हुन्छ,’ उनले भने।

परिवारका सदस्यबाहेक फर्ममा चार जना तलबी कर्मचारी छन्।

कुशलले व्यवसायबाट आम्दानी त गरेकै छन्, ‘राष्ट्रिय युवा प्रतिभाको सम्मान- २०७८’ बाट सम्मानित पनि भए। यस्तो सम्मानबाट काममा ऊर्जा थपिएको उनी बताउँछन्। नेपाल व्यवसायी बाख्रापालन महासंघ, तनहुँको अध्यक्ष पनि भएका थिए।

३२ वर्षीय कुशल आफ्नो प्रेरणा बुवा र शिक्षकलाई मान्छन्। प्लस-टुमा ग्रामीण विकास विषयका शिक्षकले चितवनमा केरा खेती गरेको सुनाउँदा उनी प्रेरित भएका थिए। बुबा फर्केपछि आँट थपियो। अन्ततः कोरोना लकडाउनले कृषि व्यवसायी बनायो।

काठमाडौंमा व्यवसाय छाडेर पशुपालनमा लागेको देखेर कति साथीले उनको मजाक उडाए। त्यो बेला कसैका भनाइमा उनले वास्ता गरेनन्।

‘काठमाडौं बसेर बिजनेस गरिरहेको मान्छे बाख्रा पाल्न गयो भन्थे,’ कुशलले भने, ‘मैले वास्ता गरिनँ। शिक्षित मान्छेले नै कृषि गर्ने हो भनेर जन्मथलो फर्केँ।’

अहिले उनको काम र सफलताले नै उनीहरूलाई जवाफ दिएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता

१

Darwin Sri Sithy Vinayakar Temple to Host Inaugural Annual Festival

२

अस्ट्रेलियाको नर्दर्न टेरिटोरी संसद् भवनमा अक्टोबर १६ मा नेपालीका लागि दशैं रिसेप्सन

३

नेपालमा बाढीपहिरोमा ज्यान गुमाउनेप्रति एनटीकी मुख्यमन्त्री फिनोच्चियारोको शोक

४

डार्विन CBD मा प्रहरीमाथि चक्कु प्रहार, १४ वर्षीया किशोरी पक्राउ

५

Darwin’s Unique Auto Tech Community Raises NPR 459,500 for Nepal Flood Relief

६


TOP