मंगलबार , बैसाख २९, २०८३
तलबसमेत खुवाउन सक्ने अवस्था छैन । यस्तो अवस्थामा यसरी संगठनहरू विस्तार गर्नुको कुनै औचित्य छैन ।
हाम्रो संविधानले मन्त्रिपरिषद् राज्यमन्त्रीसहित २५ जना भन्ने व्यवस्था छ । यो भनेको राज्यमन्त्रीसहित २५ जना भनेको हो, तर मन्त्रालय बढाएर पनि २५ जना नै मन्त्री बनाउनु भनेको त होइन नि अथवा २५ जना चाहिँ जसरी पनि पुर्‍याउनु भनेको त होइन ।
संघीयता कार्यान्वयनमा गएपछि विगतमा केन्द्र सरकारमा निहित अधिकारको विकेन्द्रीकरण भएको छ । अधिकार तल्ला तहमा गएपछि संघमा सरकारको कार्यबोझ पनि घटेको छ । विज्ञहरू सम्मिलित विभिन्न आयोग र सुझाव समितिहरूले प्रशासनिक खर्च कम गर्न सरकारका संरचना र जनशक्ति घटाउन सुझाव दिँदै आएका छन् । तर, हालै बनेको सत्ता गठबन्धनमा भने भागबण्डा मिलाउन प्रशासनिक खर्च बढ्ने गरी मन्त्रालय थप्नेबारे छलफल चलिरहेको छ ।
अर्थतन्त्र कमजोर बनिरहेका बेला मन्त्रालयको संख्या घटाएर प्रशासनिक खर्च कम गर्नुपर्नेमा मन्त्रालयको संख्या बढाउनु कति व्यवहारिक छ त ? संघीयतापछिको प्रशासनिक संरचना र खर्चको अवस्थाबारे लोकसेवा आयोगका पूर्वअध्यक्ष उमेशप्रसाद मैनालीसँग इकान्तिपुरका प्रकाश धौलाकोटीले गरेको कुराकानी:

संविधान जारी भइसकेपछि दोस्रो निर्वाचन सम्पन्न भयो । प्रशासनिक क्षेत्रमा संघीयता कार्यान्वयनको यो अवधि कस्तो रहृयो ?

संघीय शासन प्रणालीको अहिलेको महत्वपूर्ण कुरा भनेको यसले डेलिभेरी गर्‍यो कि गरेन भन्ने हेर्ने हो । त्यो हेर्दा कामै नभएको अवस्था होइन, स्थानीय तहमा केहीले उत्कृष्ट कामहरू पनि गरेका छन् । प्रदेश अलि निष्क्रिय देखिएको छ । संघको पहिलेकै अवस्था हो, खास प्रभावकारिता छैन । त्यसकारण संघीयताको राम्रो अभ्यास भएको स्थानीय तहमार्फत् नै हो ।

केही स्थानीय तहले प्रशासनिक रुपमा राम्रो डेलिभेरी पनि गरेका छन् । केहीको अवस्था भद्रगोल पनि छ । तर, यो सिकाईको अवधि हो । एउटा कार्यकाल सकियो, अब नयाँ कार्यकाल सुरू भएको छ । त्यसैले मुलतः हामी सिक्ने चरणमै छौ‌ं, प्रशासनिक क्षेत्रमा सुधारका लागि थुप्रै कामहरू गर्नुपर्नेछ ।

अहिलेको अवस्थामा केन्द्रले आफ्नो अधिकारहरू छोड्न नचाहेको र तल्ला तहहरूले पनि आफूलाई पृथक ढंगले, अलग्गै ढंगले काम गर्न खोजेको देखिन्छ । केही प्रदेशले संघ भनेको केही पनि होइन, हामी छुट्टै राष्ट्र नै हो भन्ने ढंगले काम गर्न खोजेको पनि देखियो, र केन्द्रले पनि प्रदेश भनेका केही होइनन्, हाम्रै मातहतका निकाय हुन् भनेर व्यवहार गरेको अवस्था रहृयो । यसकारण केही प्रशासनिक अन्योल र अफ्ठ्याराहरू सिर्जना भएको अवस्था हो ।

जस्तो कि संविधानअनुसार गर्नुपर्ने समायोजनका कामले सिर्जना गरेको भद्रगोल, केन्द्रीय संघीय कानुन निजामती सेवा ऐन बन्न नसक्दाको अफ्ठ्यारो । यस्ता विभिन्न खालका समस्याहरू देखिएका छन् । यी समस्याहरू हुँदा हुँदै पनि हामीले अवलम्बन गरेको संघीय लोकतान्त्रिक गणतन्त्र हो, र संघीयता पनि हामीले अवलम्बन गरेको हो । त्यसैले समस्याहरू देखिए भनेर संविधानले व्यवस्था गरिसकेको संघीय राज्यप्रणालीबाट अब हामी पछि हट्न सक्ने अवस्था छैन ।

तीन तहका सरकारहरूको समन्वय नहुँदा अफ्ठयाराहरू देखा परेका हुन् ?

पक्कै हो । हामीले अपनाएको संघीयताको मोडेल सहकारितामा आधारित (कोअपरेटिभ) मोडेल हो । जर्मन लगायत देशहरूमा यसको सफल उपयोग भएको छ । हामीले कुन मोडालिटीको संघीयताको अभ्यास गर्न खोजिरहेका छौं भन्ने मर्म नै बुझेको देखिँदैन । केन्द्रले अधिकार हस्तान्तरण गर्न रत्तिभर पनि चाहेको देखिँदैन । अधिकार र स्रोतको बाँडफाँडकालागि मुख्यसचिव र सचिवको नेतृत्वमा विभिन्न समितिहरू बनेको अवस्था छ । तर, प्रशासनिक नेतृत्व नै अधिकार दिन एकदमै अनुदार छ । संविधानले तल्ला तहलाई अधिकार दिएको छ, तर प्रशासनिक नेतृत्व यति कट्टर छ कि घुमाई फिराई सबै अधिकार आफ्नै कार्यक्षेत्रमा ल्याउन चाहन्छ ।

अर्को कुरा, तीन तहका सरकारको बीचमा एक अर्काले अस्तित्व स्वीकार गर्न चाहेको अवस्था छैन । त्यसकारण तीन तहबीच समन्वय एकदमै कम भएको छ । संघ भएपछि न प्रदेश र स्थानीय तह बनेका हुन् । संघ नै नभए प्रदेश अलग्गै त होइन । यहाँ त एकले अर्कोलाई दोष लगाउने, आरोप प्रत्यारोप गर्ने प्रवृत्ति देखिन्छ । त्यसले गर्दा जनताले कसलाई उत्तरदायी बनाउने कुरामा अन्योल छ ।

संघीयतापछि केन्द्र सरकारको कार्यबोझ घटेको छ, तर फेरि पनि मन्त्रालयहरू चाहिँ बढाउने तयारी भइरहेको छ । यो व्यवहारिक छ र ?

संविधानअनुसार केन्द्रीय तहको कार्यबोझ घटाउनुपर्ने हो । यसको कार्यक्षेत्र भनेको नितान्त नीतिगत र समन्वय मात्रै हो । तर, केन्द्रले आफू मातहतको अधिकारलाई हस्तान्तरण गर्नेभन्दा पनि थप बोझिलो बनाउँदै लगेको र काम चाहिँ केन्द्रमै थुपारेर राख्न चाहेको देखिन्छ । काम नभए पनि संस्थाहरू चाहिँ थप्दै गएको अवस्था छ । काम होस् कि नहोस्, संरचना चाहिँ थपेको थप्यै गर्ने प्रवृत्ति छ । मन्त्रालयहरू थप्ने कुरा पनि त्यही हो ।

हामीले अपनाएको निर्वाचन प्रणाली जुन छ, यसमा एकै दलले बहुमत पाउने संभावना अब हरायो, म त एकदमै कठिन देखिरहेको छु । किनभने, ४० प्रतिशत समानुपातिक प्रतिनिधित्व गराउनुपर्ने भएपछि कुनै पनि दलको बहुमत आउँदैन, अनि मिलिजुली सरकार बनाउनुपर्ने हुन्छ । तर हाम्रोमा गठबन्धन सरकारको सँस्कृति बनिसकेको छैन । त्यसले गर्दा नितान्त राजनीतिक स्वार्थकालागि संगठन संरचनाहरू विस्तार हुन थाले, जुन अत्यन्तै दुःखद हो । कामभन्दा धेरै संरचना भए, यसले खर्चमात्रै बढाउँछ, काम डुब्लिकेसन हुने गरी मन्त्रालयहरु बनेका छन् ।

त्यसैले मन्त्रालयको संख्या बढाउने होइन, घटाउनुपर्ने हो । संघीयतामा गइसकेपछि केन्द्रको काम तीन तहमा बाँडियो भनिरहेका छौं, सिंहदरबार गाउँमा गयो पनि भनिरहेका छौं । अनि मन्त्रालय थपेको थप्यै गर्ने, सिंहदरबार झन् ठूलो बनाउने ? यो त भएन नि ! कुनै संगठन बनाउने आधारहरू हुन्छन्, सिद्धान्तहरू हुन्छन् । तर, नितान्त व्यक्तिगत र राजनीतिक स्वार्थपूर्ति गर्नका लागि संगठन बनाउने कुरा उपयुक्त छैन । हरेक सरकारले यस्तै काम गरिरहेको छ । मैले यो सरकारको मात्रै कुरा छैन, विगतमा हामीले ६४ जनासम्मको सरकार पनि देख्यौं ।

अहिलेको सरकारले मन्त्रिपरिषद् २५ जनामात्रै हुने भनेको छ । तर, अहिले जसरी मन्त्रालयको संख्या नै २५ पुर्‍याउने प्रयास भइरहेको छ, यदि संविधानले नै मन्त्रिपरिषद्को संख्या २५ नराखेको भए, पहिलेकै जस्तै मन्त्रिपरिषद् ६४ पुग्न सक्थ्यो । त्यसैले शासन र सत्तामा हुने हरेक मान्छेले के कुरा बुझिदिनुपर्‍यो भने जे चीज पनि एउटा तर्कमा आधारित हुन्छ, सिद्धान्तमा आधारित हुनुपर्छ । संरचना, संगठन त बनाउने हो, तर के कामका लागि बनाउने हो ? त्यो हेरिनुपर्छ । तर अहिले हेरिने गरेको छैन । कामै नभएको ठाउँमा मन्त्रालय बनाउनुको के अर्थ ?

दलहरूलाई, सरकारलाई के त्यस्तो बाध्यता हुन्छ कि मन्त्रालय फुटाउनैपर्ने, मन्त्री थप्नैपर्ने ?

यो त छर्लङ्गै छ नि ! दलहरूबीचको भागबण्डा पुर्‍याउनका लागि हो । यसको कारण भनेको हाम्रो निर्वाचन प्रणाली नै हो । मिश्रित निर्वाचन प्रणाली अपनाइएको छ, एउटामात्रै दलको सरकार बन्न अवस्था हुँदैन । सरकार बनाउन गठबन्धन गर्नुपर्छ । गठबन्धन गरेपछि सरकार टिकाउनका लागि भएपनि भागबन्डा गर्नैपर्छ, अहिलेसम्म त्यही हुँदै आएको छ । अहिलेकै निर्वाचन प्रणालीमा तत्कालै कुनै पनि दलको बहुमत आउने संभावना देखिँदैन ।

त्यसको मतलब अब यो निर्वाचन प्रणाली नै सुधार गर्नुपर्छ भन्ने हो ?

त्यो चाँहि मिल्दैन फेरि । हामी कहाँ मिश्रित निर्वाचन प्रणाली जुन छ, यो हाम्रो समाजमा सामाजिक न्यायको लागि ल्याइएको हो । यो व्यवस्था नै हटाएर अघि बढ्न सक्ने अवस्था छैन । ‘माइनोरिटिज’ले ‘मेजोरिटी’का लागि सबै कुरा छोड्नुपर्ने प्रणालीबाट सामाजिक न्यायको कल्पना गर्न सकिँदैन, त्यसैले प्रत्यक्ष निर्वाचनमात्रै पनि अनुपयुक्त हुन्छ । सबैले केही न केही पाएँ, मेरो पनि प्रतिनिधित्व भएको छ भनेर सबै नागरिकलाई महसुस गराउन समानुपातिक प्रणाली चाहिएको हो, ल्याइएको हो । त्यसैले यसलाई हामीले हटाउन पनि मिल्दैन ।

त्यसैले अहिले सबैभन्दा राम्रो राजनीतिक दलहरूले असल गठबन्धन सरकारको अभ्यास गर्नु उपयुक्त हुन्छ । दुई-चार सिट जितेको छ । अनि भन्छ, मलाई यतिवटा मन्त्रालय चाहिन्छ, नभए सरकारमा आउदिनँ । यस्तो अभ्यासले त हाम्रो व्यवस्थालाई बलियो बनाउदैन नि ! त्यो असल गठबन्धनको अभ्यास नै भएन । त्यसैले दलहरूबीच गठबन्धन सरकारमा राम्रो अभ्यास हुनु आवश्यक छ, त्यसको विकास गर्नुपर्ने हुन्छ ।

निर्वाचन प्रणाली एउटा पाटो भयो, तर यसमा त दलहरूको बद्नियत पनि देखियो नि ?

हो । ०४८ सालमा तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको अध्यक्षतामा उच्चस्तरीय प्रशासन सुधार आयोग बनाइयो । त्यो आयोगले मन्त्रालयको संख्या १८ बनाउन सुझाव दिएको छ । तर, पछि त उहाँले नै मन्त्रालयहरू बढाएर जानुभयो नि ! त्यति बेला त गठबन्धन गर्नुपर्ने अवस्था पनि थिएन । तैपनि दलभित्रको गुटमा भागबण्डा मिलाउनका लागि पनि मन्त्रालय थप्नुपर्ने अवस्था हुँदोरहेछ, अनि मन्त्रालय बढाइयो । यो चाहिँ विशुद्ध राजनीतिक दलको स्वार्थ पूरा गर्नका लागि, सरकार टिकाउनकै लागि बद्नियतपूर्णरुपमा भइराखेको अवस्था हो ।

अहिले पनि हाम्रो संविधानले मन्त्रिपरिषद् राज्यमन्त्रीसहित २५ जना भन्ने व्यवस्था छ । यो भनेको राज्यमन्त्रीसहित २५ जना भनेको हो, तर मन्त्रालय बढाएर पनि २५ जना नै मन्त्री बनाउनु भनेको त होइन नि अथवा २५ जना चाहिँ जसरी पनि पुर्‍याउनु भनेको त होइन । राज्यमन्त्री, सहायकमन्त्रीहरूसहित बढीमा २५ जना भनेको हो । त्यसैले राजनीतिक नेतृत्वको नियत सफा नभएसम्म यो देशको प्रशासनको सुधार हुँदैन, प्रशासनको सुधार नभएसम्म जतिसुकै राम्रो संविधान बनाएपनि, जति सुकै राम्रो व्यवस्था ल्याएपनि त्यो सफल हुँदैन ।

प्रशासनिक खर्चको हिसाब हेर्ने हो भने एउटा मन्त्रालय थपिनुको व्ययभार कति हुन्छ ?

तत्काल अनुमानै लगाउन सकिन्छ । कर्मचारी यताउति गरेर चलाउने हो भने ओभरहेड खर्च हुन्छ । मन्त्रालय छुट्टै चाहियो, सचिव छुट्टै चाहियो । मन्त्री, मन्त्रीको निजी सचिवालय, मन्त्रीलाई विभिन्न सुविधा समेत गर्दाखेरि प्रशासनिक खर्च त ठूलो छ नि ! खर्च मन्त्रालयको आधारमा थोरै वा धेरै हुनसक्छ । सामान्यतः भन्ने हो भने कम्तिमा २०–३० करोड त यसै खर्च भइहाल्छ । मन्त्री, मन्त्रीको पिए, पिएको पिए, सल्लाहकार, विज्ञ अनेक नाम दिएर नियुक्ति हुन्छ । गाडी, सवारी धेरै कुराहरूमा खर्च हुन्छ । यस्तो कुरा जनताको नजरमा राम्रो लाग्ने कुरा हुँदै होइन । फेरि अहिले हाम्रो देशको आन्तरिक स्रोतले तलबसमेत खुवाउन सक्ने अवस्था छैन । यस्तो अवस्थामा यसरी संगठनहरू विस्तार गर्नुको कुनै औचित्य छैन ।

अहिले जुन गठबन्धन सरकार बनेको छ, यसमा त ‘राजसंस्थाका पक्षधरदेखि प्रदेश खारेज गर्नुपर्ने र गर्नुहुन्नँ’ भन्ने सम्मका शक्तिहरू जोडिएका छन् । यो सरकारले हाम्रो संघीय प्रशासनिक संरचनालाई बलियो बनाउन सक्ला ?

अहिले जुन संविधान छ, उहाँहरू यही संधिवानअन्तर्गत चुनाव लड्नुभएको हो, यो संविधानको खिलाफमा जान पाइन्छ ? त्यसको लागि त संविधान नै च्यात्नुपर्‍यो । जुन संविधानको आधारमा चुनाव लडेर उहाँहरू आउनुभएको छ, त्यो संविधानको आधारभूत संरचनालाई त मान्नुपर्छ, त्यसको विरोध गर्न पाइदैन । यो संविधानको आधारभूत संरचना भनेकै संघीयता, गणतन्त्र, समानुपातिक व्यवस्था र धर्मनिरपेक्षता हुन् । यी विषयको खिलाफमा भए त संविधान च्यातेर आउनुपर्‍यो, यो संविधान मानेर त यी आधारभूत विषयहरूको खिलाफमा उभिन पाइएन नि ! यी विषय त संशोधन गर्न मिल्छ र ? यो कुरा उहाँहरूलाई कसले सिकायो ? संविधानको आधारभूत संरचना त संशोधन गरेर हुँदैन, संविधान नै च्यात्नुपर्छ । त्यो भनेको संविधानमातहतमा चुनाव लड्ने होइन, क्रान्ति गरेर आउनुपर्‍यो ।

यही संविधानअनुसार चुनाव लडेर गइसकेपछि कुन नैतिकतामा रहेर काम गर्नुहुन्छ उहाँहरू ? उहाँहरूले कसरी प्रदेशलाई बलियो बनाउनुहुन्छ ? संघीयतालाई मान्दैनौ‌ं भन्नेहरूले कसरी संघीयताको प्रशासनिक संरचनालाई बलियो पार्नुहुन्छ र ? यसमा उहाँहरूले नैतिकता देखाउनुपर्दैन ? सरकारले हामीलाई देखाउनकालागि नीति कार्यक्रमहरू ल्याउँला, तर म चाहिँ त्यति धेरै सम्भावना देखिरहेको छैन ।

प्रशासनिक खर्च कम गर्न के–के गर्ने त ?

हाम्रा संरचनाहरू कार्यकारी खालको बन्नुपर्‍यो । जस्तो काम, त्यस्तै खालको संरचना र जनशक्ति खटाउनुपर्‍यो । अहिले कार्यबोझ स्थानीय तहमा छ, जनशक्ति केन्द्रमा थुप्रिएको छ । हामीले अस्तिसम्म केन्द्रमा ४५ हजार कर्मचारी छन् भनिरहेका थियौं, अहिले ६० हजार पुगिसक्यो । कसरी व्यवस्थापन गर्ने त ? अहिले संघमा तहतमा अनावश्यक संगठनहरू, विभागहरू छन् । एउटै काम गर्ने दुई तीनवटा निकाय छन् । कुन काम कसले गर्ने ? को जिम्मेवार हुने ? केही टुंगो छैन ।

एउटै कामका लागि दुई तीनवटा मन्त्रालय किन चाहियो ? मानौं, सहरी क्षेत्रको खानेपानीको समस्या सुल्झाउनु छ भने त्यो खानेपानी मन्त्रालयले गर्दैछ कि ? सहरी मन्त्रालयले गर्दै छ कि ? प्रदेशले गर्दैछ कि ? कसले के गर्दैछ, समन्वय पनि छैन, काम पनि भएको छैन । त्यसैले कुन काम स्थानीय तहले गर्ने ? कुन काम प्रदेशले गर्ने ? कुन काम संघले गर्ने ? स्पष्ट क्षेत्राधिकार तोकिनुपर्‍यो । भोलि द्वन्द्व नहोस् । कामहरू एकले अर्कोको काँधमा हालेर पन्छिने अवस्था हुनुभएन ।

प्रकाशित : पुस १९, २०७९ १८:५२

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

Liverpool South Ward उपनिर्वाचनमा नेपाली समुदायका अगुवा देव बहादुर गुरुङको उम्मेदवारी

Australia मा नेपाली Gen-Z सहिदहरूलाई सम्मान र नयाँ नेतृत्वलाई बधाई कार्यक्रम सम्पन्न

NRNA NT Youth Forum Multicultural Cup 2026 सम्पन्न, Northern Nepalese FC च्याम्पियन

डार्विनमा २९३ नेपालीले पासपोर्ट नवीकरण गरे

डार्विनमा “साउन्ड अफ नेपाल” भव्य रूपमा सम्पन्न, ७०० भन्दा बढी दर्शकको सहभागिता

डार्विनमा “साउन्ड अफ नेपाल” कन्सर्ट: सबिन राई एण्ड द फारोको सांगीतिक धमाका हुने


TOP