मंगलबार , बैसाख २९, २०८३

हृदयले व्यक्त गर्न नसक्ने शब्द हो आँसु। हजारौं सपनाहरू अटाउने यी आँखामा दुई थोपा आँसु किन अटाउन सक्दैन त ! नरुने मानिस संसारमा कोही हुँदैन। कोही एकान्तमा रुन्छन् त कोही सबैका सामुन्ने।
सबै आँखाले दुःखका आँसु रुँदैनन्। न ओठहरूबाट फुरेका सबै मुस्कानले नै खुसी छर्छन्। ईष्र्या र दुःखमा पनि ओठहरू मुस्कुराइरहेकै हुन्छन्। आँसु जीवनको एउटा सुन्दर पक्ष हो। एउटा टुटेको मुटुले मात्र आँसु बगाउँदैन। सुख र आनन्दमा पनि आँखाहरू रोइरहेका हुन्छन्। जीवनका कति पीडा या खुसीका भावहरू ओठले व्यक्त गर्न नसकिने पनि हुन्छन्। अनि अभिव्यक्तिको माध्यम बन्छ, आँसु।

annapurna post

उडानमा रहेको जहाज आकाशमा देखिन्छ तर उसले आकाशको उच्च बिन्दु प्राप्त गरेको हुँदैन। ऊ माथि पनि आकाश छ। न आकाशमा मडारिरहेका कालो बादलहरूको वर्षाले नै सागरको गहिराइ नाप्न सक्छ। आकाशको उचाइ र सागरको गहिराइलाई आँखाको देखाइले मात्र होइन, हेराइ र बुझाइले प्रभाव पार्दछ।

जीवन आकाश हो। आँसु सागर हो। आकाश र सागरको अन्तरसम्बन्धझैं जीवन र आँसुबीच पनि गाढा सम्बन्ध हुन्छ। सागरको वाष्पीकरणले निर्मित बादलले आकाश ढाक्छ र पुनः वर्षिन्छ उही सागरमा।
आँधीबेहरी गर्जिन्छ। ज्वारभाटाहरू उर्लन्छन्। सागर भरिन्छ। केही समयपश्चात् उही शान्त पुरानै लयमा। आकाश सफा देखिन्छ। नदी बगिरहन्छन् सागर भेट्टाउने लक्ष्यमा। त्यसैगरी जीवनका उतारचढावहरू पनि एक चक्रमा घुमिरहन्छन्, कहिले ओराली त कहिले उकाली। कहिले खुसीका आँसुमा रमाउँदै त कहिले दुःखका लेपमा लस्सिँदै।

आँसुको सम्बन्ध भावसँग जोडिएर पनि होला। आँसु बन्ने नलीको विकास नभइसकेर पनि होला, नवजात शिशुहरूको रुवाइमा भने आँसु बग्दैन। बालबालिकालाई जति धेरै समस्या हुन्छ, त्यति नै रुन्छन्। शारीरिक अवस्था र विकासका कारण आँसु नबग्नु अलग कुरा हो तर मानिस रुन्छ। हरेक रुवाइमा उसको आँसु बग्छ।

धन नहुने त रोएकै छन् यहाँ, धन हुने पनि पनि रुन्छन्। दुःखी पनि रोएकै छन्। सुखीका परेली पनि भिजेकै छन्। कोही आफूूलाई हेरेर रुन्छन्, कोही अरूलाई हेरेर रुन्छन्। आँसुको मूल्य र यथार्थ फरकफरक छ। कहीँ हर्षमा खसिदिन्छ त कहीँ पीडामा। मानिसका रुवाइको आवाज पनि एकनास हुँदैन। रुँदा आउने आँसुको मात्रा पनि फरकफरक हुन्छ। सबै आँखाबाट झरेका आँसुले मन रुँदैन। आँसुको रङ उस्तै देखिन्छ तर आँखाबाट झर्नुको कारण फरक हुन सक्छ। जसरी रगतको रङ उस्तै भए पनि शरीरबाट बग्नुको कारण भने फरक हुन सक्छ। रङ उस्तै देखिँदैमा प्रकृति र प्रवृत्ति उस्तै हुन्छ भन्ने हुँदैन। रगत र आँसुका धारा
बगाउन सक्ने चटकेहरू पनि छन्। आँसुको व्यापार गर्नेहरू पनि छन्। अरूको बलिन्द्रधारा आँसुमा आफ्नो हात धुनेहरू पनि छन्।

हजारौं सपना अटाउने यी आँखामा दुई थोपा आँसु (किन अटाउन सक्दैन त ! आँखाबाट देखिएका सपनाहरू हृदयबाट व्यक्त हुन्छन्। हृदयले व्यक्त गर्न नसक्ने शब्द हो आँसु। आँसुका थोपाहरू आँखाबाट झर्न हृदयका भित्री स्पन्दन पग्लनै पर्छ। आँसुका थोपाहरू केवल मानवीय आँखाहरूबाट मात्रै झर्दैनन्। पशुपक्षीका आँखाहरूबाट पनि झर्छन्। कहीँ शब्दमा त कहीँ भावमा त कहीँ सांकेतिक रूपमा झरिरहेका हुन्छन्, आ–आफ्नै विशेषता लिएर। चोट सहने बानी परेका कठोर हृदयलाई पनि पगाल्दै आँखाबाट झरिरहेका हुन्छन्।

मानिस सदैव अरूको सहारा खोजेर हिँड्छ। अरूसँग खुसी र प्रेम खोजिरहन्छ। जीवनका पाइलाहरूमा सुख र दुःखको हिसाबकिताब गर्छ। जीवनमा आउने सुख र दुःखका हिसाब ठ्याक्क मिल्दैन तथापि ऊ असम्भव प्रयासहरूका बीच भौतारिइरहन्छ। आँसु र हाँसोबीचको हिसाबमा रुमल्लिरहन्छ। आशक्ति र आशाले अन्ततः निराशा दिन्छ र रुन्छ। कोही एकान्तमा रुन्छन् त कोही सबैका सामुन्ने। कोही मनमनै रुन्छन्
त कोही बलिन्द्रधारा आँसु बगाउँछन्। नरुने मानिस संसारमा कोही हुँदैन। आँखाबाट निस्किने एक किसिमको तरल वस्तु हो आँसु। संवेदनशील मनले आँसुलाई उत्तेजित बनाउँछ। जुन विभिन्न अवस्थामा आँखामा निस्किन्छ र बाहिर खस्छ। महसुस र विचारसँग मात्र जोडिएर आँसु खस्ने होइन। मन र दिमागबाट सिर्जित तरंग इच्छा आकांक्षाहरूको हलचलबाट आँसु पैदा हुन्छ। आँखाबाट खस्ने भावनात्मक आँसुहरूले मानिसलाई तनावबाट मुक्त हुन पनि मद्दत गर्दछ। कैयन् रुवाइले शान्ति पनि दिन्छ। रुँदा मन हल्का हुन्छ। मन पखाल्ने साधन पनि हो आँसु। मनोजन्य उत्तेजना अर्थात् मनका चोटहरू र आनन्दसँग आँसुको साइनो गाँसिएको हुन्छ र यो स्वतस्फूर्त आउँछ। आँखाबाट बग्ने आँसुको रङ र स्वाद एउटै होला तर आँसुभित्र लुकेको पीडा र आँसु खस्नुको कारण एउटै हुँदैन।

एउटै आँखाबाट बग्ने आँसुका अर्थ र गहिराइ विषय र समयअनुसार फरकफरक हुन्छन्। शारीरिक चोटमा रुनु र मानसिक चोटमा रुनुको रन्को बेग्लै हुन्छ। चोटअनुसार रुवाइको घनत्व पनि फरक नै हुन्छ। दुःख र पीडामा मात्र होइन मानिस चरम आनन्दमा पनि रुन्छ। खुसी र हर्षको साथी पनि हो आँसु। प्रेम र दुःखको भाषा पनि हो आँसु। आँसु बगेपछि दुःखसँगै चोटहरू बग्छ र एकोहोरो धड्किइरहेको मुटुको गति पनि शान्त हुन्छ। कहीँ पाउँदाको खुसीमा बग्छ त कहीँ गुमाउँदाको पीडामा। कहीँ स्वार्थ र ईष्र्यासँग साइनो गाँस्दै आँखाबाट झरिदिन्छ। कहीँ घात र पश्चातापमा पनि बगिदिन्छ त कहीँ आफ्नैले दिएका चोटहरूमा। माया र प्रेममा मात्र होइन, कहीँ घृणा र तिरस्कारमा पनि वर्षिदिन्छ। झरिरहने यी आँसुको अर्थ र बुझाइ मात्र फरक हुन्। आँसुले भावसँग सम्बन्ध राख्दछ।

जीवनका कति पाटाहरू खोलेर खोल्न सकिँदैन। ती खुल्न नसकेका तथ्यहरू नचाहेरै पनि आँखाबाट बाहिर बर्सिदिन्छन्। अनि सवालका सबै जवाफहरू हृदय र मस्तिष्कमा अड्किएर बस्छन्। झरेका थोपाले भिजेका भावहरूको गहिराइ न नाप्न सकिन्छ न तौलन। प्रकृति र प्रवृत्तिसँग हातेमालो गर्दै झर्ने यी आँसुहरूको महŒव मानवीय अनुभूति र परिवेशले निर्धारण गर्छ। खस्ने आँसु आँखाबाटै हो, थोपा पनि तिनै हुन्। तर आफ्नै अर्थ र गहिराइ बोकेर आँखाबाट झरिरहेका ती आँसुको कुनै निश्चित मूल्य भने हुँदैन। कहीँ अमूल्य अवस्थामा बगिदिन्छ त कहीँ मूल्यहीन अवस्थामा।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

Liverpool South Ward उपनिर्वाचनमा नेपाली समुदायका अगुवा देव बहादुर गुरुङको उम्मेदवारी

Australia मा नेपाली Gen-Z सहिदहरूलाई सम्मान र नयाँ नेतृत्वलाई बधाई कार्यक्रम सम्पन्न

NRNA NT Youth Forum Multicultural Cup 2026 सम्पन्न, Northern Nepalese FC च्याम्पियन

डार्विनमा २९३ नेपालीले पासपोर्ट नवीकरण गरे

डार्विनमा “साउन्ड अफ नेपाल” भव्य रूपमा सम्पन्न, ७०० भन्दा बढी दर्शकको सहभागिता

डार्विनमा “साउन्ड अफ नेपाल” कन्सर्ट: सबिन राई एण्ड द फारोको सांगीतिक धमाका हुने


TOP