मंगलबार , बैसाख २९, २०८३

नेपाली काँग्रेसकी सांसद पुष्पा भुसाल (गौतम) उपसभामुखमा निर्वाचित भएकी छिन् । शुक्रबार भएको उपसभामुखको निर्वाचनमा एमाले उम्मेदवार विद्या भट्टराईलाई पराजित गरी उनी उपसभामुखमा विजयी भएकी हुन् । २४२ सांसद उपस्थिति रहेकोमा १ सय ४८ मत पाएर भुसाल बहुमतले विजयी भएकी छिन् । ९३ सांसद विपक्षमा उभिँदा १ जना तटस्थ रहेका थिए । करिब ६ महिनामा कार्यकाल सकिन लागेको प्रतिनिधि सभाले उपसभामुख पाएको हो ।

एमाले र माओवादीको गठबन्धन हुँदा २०७४ चैतमा भएको उपसभामुखको चुनावमा भुसाललाई एमालेकी शिवमाया तुम्बाहाङ्फेले हराएकी थिइन् । तुम्बाहाङ्फेले २०१ मत प्राप्त गर्दा भुसालले ५८ मत मात्रै ल्याएकी थिइन् । तत्कालीन उपसभामुख शिवमाया तुम्बाहाङ्फेले ६ माघ २०७६ मा राजीनामा दिएपछि उपसभामुख पद २९ महिनादेखि रिक्त थियो ।

तत्कालीन सत्तारूढ दल नेकपाले अग्निप्रसाद सापकोटालाई उम्मेदवार बनाउने निर्णय गरेसँगै उनले राजीनामा दिएकी थिइन् । प्रतिनिधिसभाको सभामुख र उपसभामुख फरक दल र लिङ्गबाट हुनुपर्ने संवैधानिक व्यवस्थाका कारण तत्कालीन नेकपाले तत्काल उपसभामुखको निर्वाचन गर्न चाहेन ।

उपसभामुखमा निर्वाचित भएपछि पुष्पा भुसालको प्रतिक्रिया : समन्वयकारी भूमिका निर्वाह गर्छु
​सर्वोच्चको फैसलाबाट ०७७ फागुनमा एमाले र माओवादी पूर्ववत् अवस्थामा फर्किएपछि संसदको यही कार्यकालमा उपसभामुख हुने पुष्पाको सपना पुरा भएको हो । ७४ मा काँग्रेसकै पाँच सांसदको मत समेत नपाएकी भुसालले ०७८ मा माओवादी, एकीकृत समाजवादी, जसपा, लोसपा र राष्ट्रिय जनमोर्चाको मत प्राप्त गरिन् । उनी करिब ६ महिना उपसभामुखको पद सम्हाल्ने छिन् ।

को हुन् भुसाल ?
पुष्पा भुसाल (गौतम) विद्यार्थी राजनीतिबाट उदाएकी नेपाली काँग्रेसकी नेतृ हुन् । राजनीति पृष्ठभूमिमा हुर्किएकी भुसालले काँग्रेसको भ्रातृ सङ्गठन नेपाल विद्यार्थी सङ्घबाट राजनीतिक यात्रा प्रारम्भ गरेकी थिइन् । काँग्रेसको महिला विभाग, ट्रेड युनियन काँग्रेस र महिला सङ्घको महामन्त्रीको जिम्मेवारी सम्हालिसकेपछि भुसाल पार्टी राजनीतिमा आएकी थिइन् ।

काँग्रेस निकट डीएलएमा १० वर्ष कानुनी सल्लाहकार रहेकी उनी केही समय वकालत पेसामा समेत आबद्ध थिइन् । कानुन क्षेत्र छोडेर पूर्णकालीन राजनीतिमा होमिएकी उनी काँग्रेसको १२ औँ महाधिवेशनबाट केन्द्रीय कार्यसमितिमा छन् ।

संसदीय राजनीतिको यात्रामा उतारचढाव भोगेकी उनी यतिबेला काँग्रेस संसदीय दलमा सचेतकको भूमिकामा छिन् । उनी २०६४ सालमा अर्घाखाँची २ बाट सांसदमा निर्वाचित भएकी थिइन् । ०५६ को संसदीय निर्वाचनमा भने सोही क्षेत्रबाट भुसाल पराजित भएकी थिइन् ।

भुषालले १७ वर्ष त्रिभुवन विश्वविद्यालयमा प्राध्यापन गरेकी छिन् । राजनीतिशास्त्रमा स्नातकोत्तर र कानुनमा स्नातक भुषालले आधिकारिक रूपमा भने २०३६ मा नेपाल ल क्याम्पसको नेविसङ्घबाट राजनीति सुरु गरेकी थिइन् ।
नेपाल वार एसोसिएसनका केन्द्रीय सदस्य रहिसकेकी भुसालले पार्टीको केन्द्रीय कानुनी सल्लाहकार समितिका सदस्य, केन्द्रीय महिला विभाग सदस्य र नेपाल महिला संघको महासचिव भएर काम गरिसकेकी छिन् ।

वरिष्ठ अधिवक्ता समेत रहेकी ६१ वर्षीया भुसाल एक छोरीकी आमा हुन् । पुष्पा चर्चित डाक्टर एवं पूर्वराजदूत डा.चोपलाल भुसालकी पत्नी हुन् । राजनीतिक पृष्ठभूमिकी भुसालका बुवा काशीनाथ गौतम २०१५ सालको बीपी कोइरालाको मन्त्रिपरिषदमा स्वास्थ्य मन्त्री रहेका थिए ।

२०१७ सालमा राजा महेन्द्रको कदमपछि १४ वर्ष पिता काशीनाथ गौतमसहित भारत निर्वासित भएका थिए । भुषाल २०२८ सालदेखि सक्रिय राजनीतिमा होमिएकी हुन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

Liverpool South Ward उपनिर्वाचनमा नेपाली समुदायका अगुवा देव बहादुर गुरुङको उम्मेदवारी

Australia मा नेपाली Gen-Z सहिदहरूलाई सम्मान र नयाँ नेतृत्वलाई बधाई कार्यक्रम सम्पन्न

NRNA NT Youth Forum Multicultural Cup 2026 सम्पन्न, Northern Nepalese FC च्याम्पियन

डार्विनमा २९३ नेपालीले पासपोर्ट नवीकरण गरे

डार्विनमा “साउन्ड अफ नेपाल” भव्य रूपमा सम्पन्न, ७०० भन्दा बढी दर्शकको सहभागिता

डार्विनमा “साउन्ड अफ नेपाल” कन्सर्ट: सबिन राई एण्ड द फारोको सांगीतिक धमाका हुने


TOP