
यस वर्षको जनै पूर्णिमा आज मनाइँदैछ । जनै पूर्णिमामा मान्यजनबाट जनै तथा डोरो लगाउने परम्परा रहेको छ । साथै क्वाँटी खाने पर्वका रुपमा पनि यसलाई चित्रण गरिएको पाइन्छ ।
विभिन्न प्रकारको गेडागुडीलाई भिजाएर टुसाएपछि क्वाँटीको रुपमा पकाएर खाने चलन रही आएको छ ।
पोषणविदहरूका अनुसार, क्वाँटी खाँदा स्वास्थ्यलाई विशेष किसिमको फाइदा हुन्छ । ९ प्रकारका गेडागुडी मिसाएर बनाइने क्वाँटीको सेवनले शरीरको पाचन प्रणालीलाई सक्रिय बनाउने पोषणविद्हरू बताउँछन् ।
के फाइदा ?
कमजोरीपना हटाउन सहयोग
ज्वरो, रुघाखोकी लगायतलाई दूर भगाउन
पाचन प्रणाली तन्दुरुस्त राख्न
रोग प्रतिरोधात्मक शक्ति बढाउँछ
रक्तसञ्चार तथा स्नायु प्रणालीलाई फाइदा गर्छ,
कब्जियतको समस्या हटाउँछ
कसरी बनाउने क्वाँटीको रस ?
सोल्टी क्राउन प्लाजाका सेफ आर.बी बुढाथोकीका अनुसार क्वाँटी बनाउने विधि :
चाहिने सामाग्री (मिक्स गेडागुडी भिजाएर उमारेको आधा केजी, तेल ३ चिया चम्चा, अदुवा लसुन एक चिया चम्चा, प्याज काटेको एक पिस, गरम मसला मिक्स होल ५ ग्राम, नुन स्वाद अनुसार, गोल्भेडा काटेको २ पिस, धनिया काटेको आधा मुठा, गरम मसलाको धुलो आधा चिया चम्चा, हरियो खुर्सानी ३ पिस, जीरा धनियाँको धुलो आधा चिया चम्चा, भेज स्टक या तातो पानी डेढ लिटर
विधि( प्रेसर कुकर राम्ररी तताएर तेल हाल्नुस र गरम मसला, तेज पात अदुवा लसुन हालेर प्याज खन्याउनुस । प्याज खैरो हुनासाथ उम्रेको गेडागुडी हाल्दिनुस र साथमा गोल्भेडा, मसला खुर्सानी र नुन हाली चलाउनुस र पानी या स्टक हालेर उमाल्नुस र प्रेसर कुकर लक गरेर ३ या ४ सिठ्ठी लगाउनुस । अन्तमा धनियाँ हालेर भुजासँग या त्यतिकै सुपको रुपमा खाना सकिन्छ । एवं तवरमा राजमा, केराउ या कुनै पनि गेडागुडीको रस घरमै सहज रुपमा तयार गरेर खान सकिन्छ ।