सोमबार , चैत्र २४, २०८१

पर्यटकको सुविधाका लागि अनुदानमा प्राप्त विद्युतीय भ्यान/ट्याक्सीमा अहिले लुम्बिनी विकास कोषका कर्मचारी र बोर्डका पदाधिकारीले रजाइँ गरिरहेका छन् । विश्व सम्पदा स्थल लुम्बिनीलाई वातावरण प्रदूषणरहित बनाउन एसियाली विकास बैंकको अनुदानमा प्राप्त भएका १४ वटा भ्यान/ट्याक्सी र पाँचवटा बसमध्ये ९ वटा भ्यान/ट्याक्सी कर्मचारी र पदाधिकारीको निवास, बिहार र क्वार्टरमा छन् । बस पनि बिनायोजना अव्यवस्थित रूपमा सञ्चालन गर्दा बिग्रिएर थन्केका छन् ।

कोषका उपाध्यक्ष अवधेशकुमार त्रिपाठी, सदस्य सचिव सानुराजा शाक्य, कोषाध्यक्ष ढुण्डीराज भट्टराई र बोर्ड सदस्य विश्वराज पौडेलले एउटा–एउटा भ्यान चढिरहेका छन् । एउटा भ्यान लुम्बिनीस्थित सशस्त्र प्रहरीको बेसले प्रयोग गरिरहेको छ । त्यस्तै कोषको प्रशासन, सूचना र पुरातत्त्व शाखाका कर्मचारीले पनि भ्यान प्रयोग गरेका छन् । ‘जसले पायो, उसले चढिरहेको छ,’ कोषका एक अधिकृतले भने, ‘कुनै रेकर्ड छैन । जसको पहुँच भयो, उसले लगिरहेको छ ।’

भ्यान/ट्याक्सी प्रयोग गर्ने कुनै नीति–नियम छैन । परिवार घुमाउन, फोटो खिचाउन र बजारमा किनमेल गर्न भ्यान दुरुपयोग भइरहेको सर्वसाधारणको गुनासो छ । जसले पायो उसले लैजाँदा कतिपय भ्यान ठोक्काएर, कुच्याएर र सिसा फुटाएर राख्ने गरिएको छ । न सोधपुछ छ, न कोही चासो राख्छन् । नयाँ ल्याइएका भ्यान व्यवस्थित रूपमा प्रयोग नहुँदा टुटफुट भएर बिग्रन थालेको बताइएको छ । चार्जिङ स्टेसनमा रहेका पनि टायर पन्चर भएर थन्किएका छन् ।

लुम्बिनी विकास कोष सचिवालयले सूचना, प्रशासन, पुरातत्त्व शाखा र कोषाध्यक्षलाई भ्यान प्रयोग गर्न दिने निर्णय गरेको छ । अहिले कोष नेतृत्वले जसलाई मन लाग्यो, उसलाई दिइरहेको छ । भ्यानको दुरुपयोग बढेपछि कर्मचारी पनि असन्तुष्ट बनेका छन् । व्यवस्थापनले तत्काल नियन्त्रण नगरे साँचो खोसेर राख्न आफूहरू बाध्य हुने कर्मचारी युनियनका एक नेताले बताए । ‘जसले पायो उसले ट्याक्सी चलाएका छन्,’ ती कर्मचारीले भने, ‘आएर गाडी निःशुल्क चार्ज गर्छन् ।’ कोष भगवान् भरोसामा चलेको उनले आरोप लगाए ।

कार्यविधि नै नबनाएर जबर्जस्ती चलाइएका चारवटा बस बिग्रेर थन्किएका छन् । मंसिर ४ को चुनाव नजिकिँदै गर्दा मतदाता प्रभावित पार्न गृहमन्त्री बालकृष्ण खाँणले असोज ११ मा रूपन्देहीको बेलहियामा भाषण गर्दै विद्युतीय गाडी कोषले नसके सरकारले चलाउने बताएका थिए । गृहमन्त्रीको निर्देशनलगत्तै रूपन्देहीका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेको अध्यक्षतामा असोज १२ मा भैरहवामा बसेको लुम्बिनी विकास कोष, स्थानीय तह, यातायात कार्यालय, उद्योगी र पर्यटन व्यवसायीका संघसंस्थाको बैठकले असोज १३ देखि नै तत्काललाई पाँचवटा बस सञ्चालनमा ल्याउने निर्णय गर्‍यो । सेना, सशस्त्र, नेपाल प्रहरी र कोषका चालकले झन्डै एक महिनासम्म बस सञ्चालन गरेका थिए तर बिनायोजना अव्यवस्थित रूपमा सञ्चालन गर्दा बिग्रिएर थन्केका हुन् । दुई बसका तीन–चार ठाउँमा ठुल्ठूला सिसा फुटेका छन् । सिट च्यातिएका छन् । रंग खुइलिएका छन् ।

कार्यविधि, कानुनी जटिलता र सवारीसाधन कोषको नाममा नआएको भन्दै करोडौं मूल्यका ‘इलेक्ट्रिक भेइकल’ सञ्चालन गर्न कोषले अनिच्छा देखाउँदै आएको छ । दसैंका बेला पर्यटन मन्त्रालयबाट सवारीसाधन नामसारी भइसक्दा पनि कोषले चलाउन रुचि देखाएको छैन । कोषले आफैं गाडी चलाउँदा कर्मचारीलाई अप्रत्यक्ष लाभ नहुने हुँदा नेतृत्व तहका पदाधिकारी र कर्मचारीले खासै रुचि नदिएको सरोकारवालाको भनाइ छ । यता कोषले चलाउन नसक्दा जनस्तरमा आक्रोश बढेको स्थानीय पर्यटन व्यवसायी पिन्टु बनियाँले बताए । दाताले लुम्बिनीमा आध्यात्मिक वातावरणको अनुभूति गराई पर्यटक आकर्षित गर्न दिएका सुविधा प्रयोग गर्न नसक्नुमा कोषका पदाधिकारी दोषी रहेको बनियाँले भनाइ छ । ‘यो सामान्य कुरा होइन,’ उनले भने, ‘यसतर्फ सचेत नभए अन्य सहयोग पनि रोकिन्छ ।’

एकपछि अर्को समस्या आउँदा सञ्चालनमा समस्या भइरहेको कोषका सदस्य–सचिव शाक्यले बताए । ‘एउटा रंगको नम्बर प्लेट अर्कोमा परिवर्तन गर्न कानुन छैन,’ उनले भने, ‘हामीले सरकारी प्लेट पाएका छौं । त्यसमा भाडाका सवारी बोक्न मिल्दैन ।’ अब क्याबिनेटमा लगेर प्लेट परिवर्तन गरेर सञ्चालन गर्ने उनले बताए । भ्यानको दुरुपयोग भने नगरेको उनले बताए । २०७६ मंसिर ९ मा लुम्बिनी आइपुगेका विद्युतीय सवारीसाधन तीन वर्ष भइसक्दा पनि सञ्चालन हुन नसक्नु दुःखद् रहेको कोष परिषद् सदस्य गोपीकृष्ण शर्माले बताए । ‘कसैलाई चुनाव जिताउन एक महिना बस चलाइन्छ,’ उनले भने, ‘स्वार्थ पूरा नहुँदा बस थन्किनुले लुम्बिनीप्रति दाताको विश्वास घट्दै गइरहेको छ ।’ एसियाली विकास बैंकको अनुदान सहयोगमा क्लिन इनर्जी प्रोजेक्टअन्तर्गत १३ करोड रुपैयाँको लागतमा बस र ट्याक्सी भित्रिएका हुन् । नेपाल सरकारले साढे ३ करोड भन्सार शुल्क व्यहोरेको थियो । भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट लुम्बिनीसम्म पर्यटक र तीर्थयात्रीलाई ल्याउन–लैजान सुविधा होस् भनेर बस र ट्याक्सी ल्याइएका हुन् । लुम्बिनीलाई बुद्धस्थल तिलौराकोट, रामग्राम र देवदहसँग जोड्न र त्यहाँसम्म आवतजावत गर्न सजिलो हुने, लुम्बिनीमा बढेको वातावरण प्रदूषण न्यूनीकरण गर्न पनि सहयोग पुग्ने भनेर बस सञ्चालनको योजना बनाइएको हो । ‘यहाँका ठुल्ठूला उद्योगका कारण दिनानुदिन प्रदूषण बढ्दो छ,’ लुम्बिनी विकास कोषका सदस्य सचिव शाक्यले भने, ‘यसले पर्यटकलाई राम्रो सन्देश जान सकेको थिएन । त्यही भएर वातावरणीय समस्यालाई बढी संवेदनशील मान्ने विदेशी पर्यटकलाई लुम्बिनीका बारेमा सकारात्मक सन्देश जाओस् भने ड्रिम योजना थियो तर अहिले हामीलाई नै अप्ठ्यारो लागिरहेको छ ।’

विद्युतीय बस र ट्याक्सी अत्याधुनिक छन् । ठूला बसमा १९ सिट छन् । उभिँदा ३५ जनासम्म अटाउँछन् । साना भ्यान ५ सिटे हुन् । पूर्ण वातानुकूलित बस अपांगमैत्री छन् । स्वचालित ढोका छन् । आनन्ददायी सिट छन् । कार्डले स्टार्ट हुन्छ । आवाजरहित छ । एक पटक फुल चार्ज गरे ४ सय किमि गुड्छ । आपतकालीन ठूलठूला ढोका छन् । बस रोक्नका लागि सिटसिटमा बेलबटम छन् । थिच्नासाथ चालकछेउको बत्ती बल्छ । ‘लामो समयदेखि बस नचल्दा कोषको निक्कै आलोचना भइरहेको थियो,’ लुम्बिनी होटल संघका पूर्वअध्यक्ष मिथुनमान श्रेष्ठले भने, ‘अब आक्रोश बढ्दै छ ।’

१४ करोड रुपैयाँको लागतमा ट्याक्सी र बस चार्ज गर्न चार्जिङ स्टेसन तयार भइसकेको छ । पावर हाउसबाट १ सय ५४ किलोवाट विद्युत् उत्पादन हुन्छ । यहाँ ३३ वटा गाडी चार्जर स्ट्यान्ड राखिएको छ । यिनमा ३ वटा क्विक चार्जर छन् । ८० किलोवाट क्षमताको ब्याट्री हुने एउटा बस र ४० किलोवाट क्षमताका २ वटा मिनी बस एकै पटक क्विक चार्ज गर्न सकिन्छ । क्विक चार्जबाट फुल चार्ज हुन आधी घण्टा लाग्छ । बाँकी ३० वटा सामान्य चार्जर हुन् । यसबाट एक घण्टामा फुल चार्ज हुन्छ । ३० वटा जिप र कारका लागि हो । स्टेसनबाट एकै पटकमा १३ सवारीसाधन चार्ज गर्न सकिने जापानको इसाका इलेक्ट्रिक कम्पनीका नेपाली साझेदार चिरञ्जीवी थापाले बताए । लुम्बिनी मुलुकको प्रमुख पर्यटकीय गन्तव्य पनि हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

१९औ पोखरा अन्तराष्ट्रीय म्याराथन मा सहभागी अष्ट्र्लियाका दशमी गुरुगं ५ किमि भेट्रान्स मा देश्रो ।

लेखकले कुलमानलाई नहटाऔँ भन्दा खड्का र राणा कड्किए- अहिले नहटाए कहिले?

घरमा एक्लै बस्ने वृद्धवृद्धा मारिने क्रम बढ्यो, सम्पत्ति लुटपाट मुख्य उद्देश्य

अस्ट्रेलियाको डार्विनमा बहु सास्कृतिक होलि पर्व मनाइदै

ओली सरकार ढाल्न चलखेल सुरु, कांग्रेससँग गृहकार्य भइरहेको माओवादी नेता दाहालको खुलासा

आजको राशिफल ~ वि.सं. २०८१ चैत्र १३ गते बुधवार : श्री देवीकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य


TOP