मंगलबार , बैसाख २९, २०८३

रामकृष्ण बहुदल पक्षधर, क्रान्तिकारी हुन् । यसकारण छोरी निशालाई पनि छोराहरूजस्तै गरी पढ्न प्रेरित गरिरहन्छन् । निशा ‘सेन्टअप’ दिँदै छिन् । उनी पाठ्यक्रमभन्दा पनि बाहिरका किताब पढ्न रुचाउँछिन् । विद्यालयका सामाजिक शिक्षकले पनि उनलाई बाहिरी किताब पढ्न प्रेरित गर्छन् । निशाको गाउँमा छोरी मान्छेले सानैमा नाक छेड्नुपर्ने परम्परा छ । तर, उनले भने एसएलसी दिनेवेलासम्म पनि छेडेकी छैनन् । एक दिन रामकृष्णले छोरीको नाक छेड्न गाउँमै सामान बेच्दै हिँड्ने व्यापारी माइलाकहाँ लैजान्छन् । तर, निशा नाक छेड्न मान्दिनन् । उनलाई नाक छेड्न रुचि नै छैन ।

यो दृश्य झापाको दमकस्थित कदम थिएटरमा मञ्चन भइरहेको नाटक ‘तिम्रो आँखामा खसेको साँझ’को हो । गाउँमा निशाकी मिल्ने साथी छिन्, हरिलालकी छोरी रूपा । उनी निशाकी सुख, दुःख साटासाट गर्ने साथी हुन् । उनीहरू एकअर्का छुट्टिनै नसक्ने अवस्थामा छन् ।

यही गाउँमा छन्, पञ्चबा । उनका छोरा सूर्यमान बम्बइमा जागिर खाएर घर फर्किएका छन् । उनले रूपालाई असाध्यै मन पराउँछन् । पञ्चबा र हरिलालबीच ‘नाता गाँस्ने’ सहमति पनि भइसकेको छ । गाउँमा एक मात्र टेलिभिजन भएको घरमा छोरी दिन पाउँदा खुसी छन्, हरिलाल । तर, रूपा बेखुस् छिन् । उनलाई सूर्यमानले छोएको, हात समाएको भारी लाग्छ । तर, निशाको स्पर्शले मोहित हुन्छिन् । उनीहरू एकअर्काको प्रेममा थाहा नै नपाई डुबेका छन् । अर्थात्, उनीहरू ‘समलिंगी प्रेम’मा छन्, जुन उनीहरूको समाजले पचाउन सक्दैन । यही कारण उनीहरू काठमाडौं भाग्ने योजनामा हुन्छन् । उनीहरूको योजना गाउँभरि फैलिन्छ । यो नाटक २५ असोजसम्म मञ्चन भइरहेको छ ।

रंगमञ्चमा कलाकार प्रत्यक्ष उपस्थित हुन्छन् । यसकारण रंगमञ्चको महत्व चलचित्रको भन्दा ज्यादा छ । मञ्चमा प्रस्तुति गर्नुका धेरै चुनौती पनि छन् । यो नाटकमा पनि केही सुधार गर्नुपर्ने पक्ष छन् । रंगमञ्चमा ‘लाइट’ ले निकै ठूलो महत्व राख्छ । जति नै राम्रो नाटक भए पनि लाइट मिल्न सकेन भने खल्लो हुन्छ । नाटक ‘तिम्रो आँखामा खसेको साँझ’मा यो अभाव भने देखिन्छ । हुन त मोफसलमा नाटक गर्नु त्यति सहज छैन । राज्यले रंगमञ्चलाई त्यति प्राथमिकतामा राख्दैन । मोफसलमा भर्खर नाटक हेर्ने बानीको विकास हुँदै छ । त्यसकारण पनि मोफसलका रंगमञ्च समस्यामै चलिरहेको छ । तर, दर्शकलाई नाटक देखाउँदा रंगकर्मी र निर्देशकले समस्या देखाएर छुट पाउँदैनन् । यो नाटक प्रकाश शर्मा अधिकारीले निर्देशन गरेका हुन् ।

५० को दशकको सामाजिक परिवेश नाटकमा
नाटकले ५० को दशकको समाजलाई देखाएको छ । समलिंगी प्रेम र उनीहरूले समाजमा खुल्न गर्नुपरेका दुःखलाई स्पष्ट पारेको छ । नाटक मारुनी नाचिरहेको दृश्यबाट सुरु हुन्छ । जहाँ छोपुवा पुगेर मारुनी नाचिरहेकालाई अवरोध गर्छ । नाच बिगार्‍यो भने मारुनीको कपडाले पिरोल्ने ‘मिथ’ छ । मारुनी नाचमा भएको अवरोधले नाटक झनै उत्कृष्ट बनेको छ ।

सूर्यमानले बम्बईबाट ल्याएको टिभी हेर्न गाउँले भेला हुँदा टिभीमा विष्णु पुराणको नरसिंह अवतारले हिरण्यकश्यपलाई बध गरेको दृश्य छ ।विष्णु पुराणमा भनिएका शब्दले यो संसार देखिएको भन्दा फरक छ भन्ने देखाउँछ । जुन दृश्यले समलिंगी जोडी निशा र रूपालाई समाजमा खुल्न अझै सहज बनायो । समलिंगीका संघर्षलाई नाटकले प्रस्ट देखाएको छ । रामकृष्ण क्रान्तिकारी पात्रका बिम्ब हुन् । तर, आफ्नै घरमा समस्या आइलागेपछि उनी स्खलित भए । नाटकले आफैँलाई पर्दा मान्छेले क्रान्तिकारी भावनालाई पनि भुल्छ भन्ने देखाएको छ । यो नाटकको शक्तिशाली पक्ष हो ।

नयापत्रिका दैनिकमा चिरञ्जीवी घिमिरे ले लेखेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

  चैत्र २४, २०८२ मंगलबार 204 Views

दलान कार्यक्रम भव्य रूपमा सम्पन्न

ताजा अपडेट
धेरै पढिएको

Liverpool South Ward उपनिर्वाचनमा नेपाली समुदायका अगुवा देव बहादुर गुरुङको उम्मेदवारी

Australia मा नेपाली Gen-Z सहिदहरूलाई सम्मान र नयाँ नेतृत्वलाई बधाई कार्यक्रम सम्पन्न

NRNA NT Youth Forum Multicultural Cup 2026 सम्पन्न, Northern Nepalese FC च्याम्पियन

डार्विनमा २९३ नेपालीले पासपोर्ट नवीकरण गरे

डार्विनमा “साउन्ड अफ नेपाल” भव्य रूपमा सम्पन्न, ७०० भन्दा बढी दर्शकको सहभागिता

डार्विनमा “साउन्ड अफ नेपाल” कन्सर्ट: सबिन राई एण्ड द फारोको सांगीतिक धमाका हुने


TOP