शुक्रबार , बैसाख ५, २०८२

मंगलबार घोषित भारतको नेसनल फिल्म अवार्डबारे विभिन्न टिकाटिप्पणी सुरु भएका छन् । हुन त फिल्म लोकप्रिय माध्यम भएकाले र सबैले यसबारे निष्फिक्रि टिप्पणी गर्ने भएकाले (टिप्पणी गर्न कुनै विज्ञता नचाहिने लोकतान्त्रिक कला माध्यम भएकाले) पनि फिल्म अवार्डहरुबारे धेरै टिप्पणी हुने गर्छन् ।

त्यसमाथि बलिउडजस्तो लोकप्रिय फिल्म उद्योग जो पछिल्लो समय सिधै भारतीय सत्ता राजनीतिसँग जोडिन पुगेको छ, त्यसबारे टिका टिप्पणी हुनु कुनै नौलो कुरा होइन । र, नेसनल अवार्ड त पर्‍यो नै सरकारले दिने अवार्ड । यसमा सरकार संचालकले आफू अनुकूललाई पुरस्कृत गरे भने त्यो पनि स्वभाविक नै देखिन्छ ।

तर भारतको सन्दर्भमा नेसनल अवार्डलाई सर्वोच्च अवार्ड मान्ने गरिएको छ । फिल्मफेयर र अन्य अवार्डहरु बहिष्कार गर्ने आमिर खानजस्ता कलाकारलेसमेत यसको सम्मान गर्ने भएकाले नेसनल अवार्डको गरिमा पनि उच्च मानिन्छ । यसलाई उच्च स्थान हासिल भएकाले यसमाथि प्रश्न पनि बढी उठ्ने गर्छन् । टावर जति धेरै अग्लो भयो त्यसले आँखा पनि त्यति नै धेरै तान्छ ।

यसपटक घोषित नेसनल अवार्ड पनि केही चर्चा र केही विवादमा आयो । मनोज वाजपेयी र धनुषले पाएको उत्कृष्ट अभिनेताको पुरस्कारमा खासै धेरै विवाद सुनिएन । हिन्दी फिल्मको मूख्यधाराका अभिनेता भए पनि मनोज वाजपेयी उम्दा कलाकार हुन् । उनले यसअघि दुईपटक यो पुरस्कार पाइसकेका छन् । पहिलोपटक १९९८ मा ‘सत्या’ का लागि यो पुरस्कार पाएका उनले लगत्तै ‘पिंजर’का लागि पनि पाएका थिए । ‘अलिगढ’जस्तो फिल्मका लागि उनले यो पुरस्कार नपाउँदा भने धेरैले प्रश्न गरेका थिए । जसरी अजय देवगन र सैफअलि खानले पाउँदा दक्षिण भारतीय निर्देशकहरुले प्रश्न उठाएका थिए । देवगनले ‘दि लिजेन्ड अफ भगतसिंह’ र खानले ‘हमतुम’का लागि नेसनल अवार्ड पाउँदा मलयाली फिल्मका निर्देशक अडुर गोपालकृष्णननले टिप्पणी गरेका थिए- ‘यिनीहरु उम्दा कलाकार होइनन्, स्टार हुन् । बलिउड स्टारहरुले नेसनल अवार्डमा लोभ गर्दा साँच्चिकै राम्रा अभिनेतालाई अन्याय हुन्छ ।’

अभिनेतामा यस्तो विवाद नभए पनि अभिनेत्री अवार्ड कंगना रनावतले पाएकोमा भने सामाजिक संजालमा प्रश्न उठेका छन् । खासगरी पछिल्लो समय उनी भाजपा सरकारको प्रवक्ता बनेको बदालमा पुरस्कार दिइएको भनेर टिप्पणी गरिएको छ । तर, याद राख्नु पर्ने कुरा के छ भने कंगनाले राष्ट्रिय पुरस्कार पाएको यो पहिलोपटक होइन, चौथोपटक हो । कंगनाले यसअघि ‘फेसन (सहअभिनेत्री)’, ‘क्विन’ र ‘तनु वेड्स मनु रिटन्स’का लागि यो पुरस्कार पाइसकेकी छन् ।

नेसनल अवार्डमात्र नभइ उनले अन्य व्यवसायिक अवार्डहरुमा पनि आफ्नो उत्कृष्टता सावित गरिसकेकी छन् । एकथरी समीक्षकहरु उनको राजनीतिक विचारधारा र सामाजिक संजालमा व्यक्त गर्ने विचारलाई उनको अभिनयसँग तुलना गर्न नहुने बताउँछन् । यस्तो मत राख्नेहरुले भन्ने गरेका छन्, ‘व्यक्तिको रुपमा उसले जुनसुकै विचार अवलम्वन गर्न सक्छ, क्यामेराको अघि गरिने अभिनयको त्यससँगै कुनै मतलब हुँदैन । उसको स्टारडमले वा स्टार भएका कारण उसले व्यक्त गर्ने विचारले उसका फ्यानलाई प्रभावित पार्न सक्छ । यसैले यसको राजनीतिक फाइदा वा बेफाइदा हुनसक्छ तर अभिनय कला अर्कै कुरा हो ।’

प्रश्नचाहिँ के हो भने के कंगना साँच्चिकै यो पुस्ताकी सर्वश्रेष्ठ अभिनेत्री हुन् त ?

यस्तो मान्नेको संख्या ठूलो छ । बलिउडभन्दा बाहिरबाट आएर एक्लै संघर्ष गरेर बलिउडमा राज चलाइरहेका शक्तिहरुसँग ‘पंगा’ लिने कंगनाको व्यक्तिव्यका कायलहरु पनि छन् । उनीहरु कंगना आफ्नै अभिनयको बलमा यहाँसम्म आइपुगेको र ‘क्विन’जस्तो सानो फिल्मलाई पनि आफ्नो अभिनय र स्टारडमले हिट बनाएको क्रेडिट उनलाई दिन्छन् । उनले आफ्ना सुरुवाती फिल्महरुमा अन्य अभिनेत्रीले नगर्ने बोल्ड भूमिकाहरुमा अभिनय गरेको जस पनि उनलाई दिन्छन् । र, ती भूमिकामा उनको अभिनयको तारिफ पनि गर्छन् । यस वर्ष भने कंगनालाई ‘मणिकर्निका’ र ‘पंगा’ दुई फिल्मका लागि अवार्ड दिइयो । यसमाथि पनि केहीले प्रश्न उठाएका छन् । किनभने यी दुवै फिल्म एकैवर्ष रिलिज भएका होइनन् । सार्वजनिक प्रदर्शनमा आएको हिसाबले यी दुई फिल्म दुई वर्षका जनवरीमा आएका हुन् । दुई फरक वर्षमा आएका फिल्मबाट एक सालको अवार्ड कसरी कंगनाले पाइन् भन्ने प्रश्न पनि गरिएको छ । यसको कारण के बताइएको छ भने सेन्सर सर्टिफिकेट यी दुवै फिल्मका एकै वर्षका हुन् र अवार्डमा सेन्सर सर्टिफिकेटलाई मानिन्छ न कि सार्वजनिक प्रदर्शनको मिति ।

अर्को प्रश्नचाहिँ नेसनल अवार्डमा उपेक्षा गरिएका गत वर्षका उम्दा बलिउड फिल्महरुका कारण पनि उठेको छ । जस्तै, फिल्मफेयरमा १२ वटा अवार्डका साथ स्विप गरेको जोया अख्तरको फिल्म ‘गलीब्वाइ’ले नेसनल अवार्डमा एउटै अवार्ड पाएन । त्यस्तै अनुभव सिन्हाको प्रशंसित फिल्म ‘आर्टिकल १५’ र मेघना गुजलारको ‘छपाक’लाई पनि कुनै विधामा पुरस्कृष्त गरिएन । जबकि उत्कृष्ट हिन्दी फिल्मको अवार्ड औषत व्यापार गरेको र मिश्रित प्रतिक्रिया पाएको ‘छिछोरे’ लाई दिइयो । प्रश्न गर्नेहरुले ‘साँड कि आँख’, ‘बदला’ र ‘सोनचिरैया’ जस्ता फिल्मलाई गरिएको उपेक्षाबारे पनि प्रश्न उठाएका छन् । र, यसलाई यी फिल्मका मेकरको राजनीतिक आस्था र विचारसँग जोडेर हेरेका छन् । सरकारविरुद्ध सार्वजनिक अभिव्यक्ति दिने अनुराग कश्यप, अनुभव सिन्हा, ऋचा चड्डा र तापसी पनु संलग्न फिल्महरुलाई गरिएको उपेक्षा र कंगनाको श्रेष्ठता प्रमाणित गर्न दुई फिल्मबाट दिइएको अवार्डलाई राजनीतिक ‘वायस’ मान्नेहरु धेरै छन् ।

कंगना रनावतले पछिल्ला वर्षहरुमा बलिउडमा विद्रोही कलाकारको छवि बनाइन् । महेश भट्ट र ऋतिक-राकेश रोशनलाई आरोप लगाउनेमात्र होइन उनले करण जौहरको सोमा उपस्थित भएर उनैलाई बलिउडमा फैलिएको नेपोटिजमको नाइके भएको आरोप लगाइदिइन् । संयोगले यसै हप्ता जौहरले बलिउडका अर्क असफल कलाकार संजय कपुरकी छोरीलाई नयाँ फिल्ममा हिरोइन लिएको घोषणा गरेका छन् । यस्तोमा कंगनाजस्ती कलाकारले उठाउने आवाजले धेरैको ध्यान खिचेको थियो । तर, उनलाई दबंग हिरोइनको दर्जा मिलिरहेकै बेला उनले भाजपा सरकारको पक्षमा बोल्न थालिन् । प्रधानमन्त्री नरेन्द्र मोदीको तारिफमात्र उनले गरिनन् उनका विरोधीहरुलाई सार्वजनिक रुपमा गाली गलौज नै गर्न थालिन् । उनीविरुद्ध उजुरी पनि परे ।

विस्तारै कंगना मोदी ब्रिगेडकी सिपाहीका रुपमा सामाजिक संजालमा देखिइन् । महाराष्ट्रमा सरकार चलाइरहेको शिव सेनाविरुद्ध उत्रिएपछि उनको मुम्बइको कार्यालयमा डोजरसमेत चलाइयो । उनलाई उच्च कोटीको सुरक्षा पनि केन्द्र सरकारले उपलब्ध गरायो ।

रोचक कुराचाहिँ के छ भने यसपटकको नेसनल अवार्डमा अजय देवगनको फिल्म ‘तानाजी’ले पनि केही पाएन । जबकि कंगनाजस्तै अजय पनि भाजपा र मोदी समर्थक हुन् र उनको फिल्ममा भारतमा हिन्दु गरिमाको इतिहासलाई उजिल्याउने प्रयास गरिएको थियो । यो फिल्म दीपिका पादुकोणले एसिड आक्रमणमा परेकी युवतीको भूमिकामा अभिनय गरेको ‘छपाक’ सँगै एकै दिन रिलिज गरिएको थियो । यी दुई फिल्मको टक्करलाई भाजपा र कांग्रेसको टक्कर जसरी हेरिएको थियो । फिल्म रिलिज हुनुभन्दा केही दिन अगाडिमात्रै दीपिका जवाहरलाल नेहरु विश्वविद्यालय पुगी मोदीविरोधी विद्यार्थीहरुको प्रदर्शनमा सहभागी भएकी थिइन् । यसैकारण भाजपा कार्यकर्ताले यो फिल्मको बहिष्कार आवह्वान गरेका थिए । भाजपा नेतृत्वमा सरकार भएका उत्तर प्रदेश लगायतका राज्यले ‘तानाजी’लाई ट्याक्स फ्रि गरेका थिए । यो प्रसंग किन पनि उल्लेखनीय छ भने ‘छपाक’मा दीपिकाले अभिनय गर्ने समाचार आएदेखि नै कंगनाको टिमले यसमा कंगना उपयुक्त हुने बताएको थियो । खासगरी कंगनाकी बहिनी रंगोली चण्डेल, जो स्वयं एसिड आक्रमणकी पीडित हुन् उनले दीपिका यो भूमिकाका लागि अनुपयुक्त भएको टिप्पणी गरेकी थिइन् । दीपिकालाई यो फिल्मबाट नेसनल अवार्डको दावेदार मानिएको थियो ।

यसले पनि कंगना यो समयकी श्रेष्ठ अभिनेत्री हुन् भन्नेहरुलाई बल पुर्‍याएको छ । सरकारले दिने अर्को पुरस्कार पद्मश्री पनि कंगनाले पाइसकेकी छन् । यसपालि ‘बदला’, ‘थप्पड’ र ‘साँड कि आँख’ तीनवटा फिल्मबाट तापसी पनुले एक अलग किसिमको छाप छोडेकी थिइन् भने आलिया भट्टले ‘गलीब्वाइ’बाट दर्शकहरुलाई प्रभावित पारेकी थिइन् । तर, चारवटा नेसनल अवार्डका साथ कंगना यी सबैको शीर्षमा छन् । हुन त नेसनल अवार्डमात्रै श्रेष्ठताको मापक होइन । यसको प्रतिष्ठता भारतका अन्य अवार्डको तुलनामा बढी भएकाले यसलाई एउटा मानक भने मान्न सकिन्छ । साथै, यससँग जोडिने राजनीतिलाई पनि नजरअन्दाज गर्न सकिदैन । यसैले कंगनाको श्रेष्ठतासँगै कतै यो अवार्ड पाउनमा उनको अभिनयका साथै किसान आन्दोलन र नागरिक विधेयकविरोधी आन्दोलनको विरोधमा उनले गरेको परिश्रमको फल पनि मिसिएको हो कि भन्ने प्रश्नचाहिँ बाँकी नै रहन्छ । दीपिका र तासपीजस्ता यी आन्दोलनका समर्थक र उनीहरुले अभिनय गरेका फिल्मको उपेक्षाले पनि यो प्रश्नलाई निष्प्राण बन्न दिँदैन ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

अस्ट्रेलियाका गीतकार विनोद अधिकारीका सिर्जना छिटै बजारमा आउंदै

१९औ पोखरा अन्तराष्ट्रीय म्याराथन मा सहभागी अष्ट्र्लियाका दशमी गुरुगं ५ किमि भेट्रान्स मा देश्रो ।

लेखकले कुलमानलाई नहटाऔँ भन्दा खड्का र राणा कड्किए- अहिले नहटाए कहिले?

फेरि बिग्रियो प्रचण्ड–जनार्दन सम्बन्ध, बैंककमा ओलीसँग डिनर, सिंहदरबारमा विष्णु पौडेलसँग फोटो!

अस्ट्रेलियाको डार्विनमा बहु सास्कृतिक होलि पर्व मनाइदै

ओली सरकार ढाल्न चलखेल सुरु, कांग्रेससँग गृहकार्य भइरहेको माओवादी नेता दाहालको खुलासा


TOP