मंगलबार , बैसाख २९, २०८३

केपी शर्मा ओली नेतृत्वमा सरकार बनेपछि २०७४ चैतमा तत्कालीन अर्थमन्त्री डा. युवराज खतिवडाले ५ वर्षमा गरेका कामको फेहरिस्त दिन सजिलो होस् भनेर तत्कालीन समयको आर्थिक स्थितिबारे स्वेतपत्र जारी गरे ।

१० प्रतिशत आर्थिक वृद्धिको लक्ष्य राखेको सरकारलाई ४ प्रतिशत औषत आर्थिक वृद्धिदर रहेको देखाउनु थियो, वैदेशिक व्यापार केन्द्रित अर्थ व्यवस्थालाई आत्मनिर्भर अर्थतन्त्र बनाउने सपना बाँड्नु थियो ।

अर्थतन्त्र हर-हिसाबले कमजोर रहेको देखाएका खतिवडाले सार्वजनिक ऋण भने कम भएको स्वीकार गरेका थिए । ‘नेपालको सार्वजनिक ऋणको भार तुलनात्मक रूपमा न्यून रहेको छ । ऋणको भार देखिनु आर्थिक स्थायित्वको हिसावले उपयुक्त देखिए पनि यस्तो साधनको प्रयोग नहुँदा विकास प्रभावित भएको छ,’ खतिवडाले भनेका थिए ।

उनले त्यतिबेला आर्थिक वर्ष २०७३-७४ सम्मको सार्वजनिक ऋणको भार देखाएका थिए, जतिबेला नेपालको तिर्न बाँकी सार्वजनिक ऋण ६ खर्ब ९८ अर्ब रुपैयाँ थियो । अहिले त्यो हिसाबले सार्वजनिक ऋण १० खर्ब २ अर्ब रुपैयाँ बढेको छ । चार वर्षको अवधिमा १५७ प्रतिशत ऋण बढेर १७ खर्ब रुपैयाँ पुगेको छ ।

ओली सत्तामा आउँदै गर्दा २०७४ फागुनसम्म कुल सार्वजनिक ऋण ८ खर्ब ४३ अर्ब रुपैयाँ पुगेको थियो । साढे तीन वर्षपछि ओली सत्ताबाट बाहिरिँदै गर्दा ऋणको हिस्सा ८ खर्ब ५७ अर्ब रुपैयाँ अर्थात् शतप्रतिशत बढेको छ ।

सार्वजनिक ऋण व्यवस्थापन कार्यालयको तथ्यांक अनुसार चालु वर्षको जेठ मसान्तसम्म मुलुकको ऋण १७ खर्ब रुपैयाँ पुगेको छ । जसमा आन्तरिक ऋण ८ खर्ब रुपैयाँ र वैदेशिक ऋण ९ खर्ब रुपैयाँ पुगेको छ ।

२०७४ फागुनमा प्रतिव्यक्ति ऋणको भार २८ हजार ७ सय रुपैयाँ रहेको थियो । अहिले त्यो बढेर ५६ हजार ६ सय पुगेको छ । अर्थात् साढे तीन वर्षको अवधिमा प्रतिव्यक्ति ऋण २७ हजार ९ सय रुपैयाँले बढेको छ ।

सार्वजनिक ऋणमा आन्तरिक ऋणको हिस्सा ४७ प्रतिशत छ भने बाह्य ऋणको हिस्सा ५३ प्रतिशत छ । विज्ञहरूले ऋण खोजेर पूर्वाधार विकास गर्नुपर्ने राय राखे पनि सरकारले खोजेको ऋण पूर्वाधार विकास नभएको चित्र सरकारले गरेको खर्चले पनि देखाएको छ ।

पछिल्लो चार वर्षको अवधिमा सरकाले १० खर्ब २ अर्ब रुपैयाँ सार्वजनिक ऋण थप्दा विकास खर्च रकम भने ८ खर्ब ५७ अर्ब रुपैयाँ मात्रै छ । यसको अर्थ योबीचमा सरकारले उठाएको ऋणमध्ये १ खर्ब ४५ अर्ब प्रशासनिक खर्चमा प्रयोग गरेको देखिन्छ ।

चालु आर्थिक वर्षमा मात्रै सरकारले ३ खर्ब ४१ अर्ब रुपैयाँ ऋण उठाएको छ । तर, चालु वर्षमा विकास खर्चतर्फ २ खर्ब ३ अर्ब रुपैयाँ मात्रै खर्च भएको छ ।

चालु वर्षको जेठ मसान्तसम्म सरकारले १ खर्ब १७ अर्ब रुपैयाँ बाह्य र २ खर्ब २४ अर्ब रुपैयाँ आन्तरिक ऋण उठाएको छ । ऋण बढ्दै जाँदा नेपालको कुल गार्हस्थ्य उत्पादनको ३९ प्रतिशत ऋणको हिस्सा पुगेको छ । जबकि आर्थिक वर्ष २०७४-७५ मा यस्तो हिस्सा २४ प्रतिशत मात्रै थियो ।

आर्थिक वर्ष २०५६-५७ मा कुल बजेटमा ६३ प्रतिशत ऋणको हिस्सा रहेकोमा तत्कालीन अथर्मन्त्री डा. रामशरण महतले सार्वजनिक गरेको आर्थिक वर्ष २०७१-७२ को बजेटमा सबैभन्दा कम २४ प्रतिशतमा झरको थियो । आगामी आर्थिक वर्षका लागि ल्याइएको बजेटमा ऋणको हिस्सा ३३ प्रतिशत पुर्‍याइएको छ ।

राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष मिनबहादुर श्रेष्ठ भन्छन्- ऋणको दुरूपयोग भयो

ऋण लिन हुन्छ कि हुँदैन भन्ने कुरा हो। विकास हुन बाँकी देशमा सकेसम्म धेरै ऋण लिने, पुँजीगत खर्च गर्ने र रोजगारी बढाउने नै हो । त्यसका लागि हामीसँग ऋण उठाउने ठाउँ थियो । हामीले ऋण लिएर पहिले नै लगानी गरेका हुन्थ्यौं भने सडक, जलविद्युत आयोजना बनेका हुन्थ्ये भने रोजगारीको स्थिति पनि बढेको हुन्थ्यो ।

ऋण पनि लिइएन र पुँजी विकास पनि गरिएन । त्यसैले हामी पछाडि पर्‍यौं । फेरि ऋण लिएर घिउ खाने प्रवृत्ति पनि राम्रो होइन । दुरूपयोग हुने अवस्थामा त ऋण नलिएकै ठीक भयो । ओली सरकारको साढे तीन वर्षको अवधिमा ऋण धेरै लिएको देखिन्छ । तर, त्यो अनुसार खर्च के-के भयो भनेर खोज्यौं भने न पुँजीगत खर्च राम्ररी भयो, न रोजगारी सिर्जना नै । बरु, वर्षै पिच्छे पुँजीगत खर्च कम हुँदै गयो ।

कोरोनाका कारण खर्च भएन भन्ने हो भने ऋण पनि नलिएको हुनु पर्थ्यो । ऋण लिएर सडक बनाइयो, जलविद्युत बनाइयो वा जसरी पनि पुँजी निर्माण भयो भने सन्तानहरूलाई सजिलो हुन्छ र विकासका लागि आधार तय गर्छ । नयाँ व्यवसाय खोल्छन् र आयका साथै रोजगारी बढ्छ । त्यसकारण विकासमा दीर्घकालीन असर पार्छ । ऋण लिने दुरूपयोग गर्ने केही मान्छे मात्रै मोटाउने गर्दा भावी सन्ततीलाई भार बोकाउँछ ।

भार बोकाउने विषयलाई कतिपयले गलत व्याख्या गर्ने गरेको पनि देखिन्छ । उनीहरू वा व्यक्ति स्वयंले ऋण तिर्ने होइन यो त सिस्टमबाट हुने कुरा हो । अहिले ऋण नलिएर पछि लिने ठाउँ राखिदिएको भए उनीहरूले सही ठाउँमा प्रयोग गर्थे । नत्र, उनीहरूमाथि भार पर्छ ।

@shilaparta

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

Liverpool South Ward उपनिर्वाचनमा नेपाली समुदायका अगुवा देव बहादुर गुरुङको उम्मेदवारी

Australia मा नेपाली Gen-Z सहिदहरूलाई सम्मान र नयाँ नेतृत्वलाई बधाई कार्यक्रम सम्पन्न

NRNA NT Youth Forum Multicultural Cup 2026 सम्पन्न, Northern Nepalese FC च्याम्पियन

डार्विनमा २९३ नेपालीले पासपोर्ट नवीकरण गरे

डार्विनमा “साउन्ड अफ नेपाल” भव्य रूपमा सम्पन्न, ७०० भन्दा बढी दर्शकको सहभागिता

डार्विनमा “साउन्ड अफ नेपाल” कन्सर्ट: सबिन राई एण्ड द फारोको सांगीतिक धमाका हुने


TOP