बुधबार , जेठ १५, २०८२

माओवादी लडाकुले प्रयोग गरेका चार हजार हतियार कहाँ छन् र के गरियो भन्नेबारे माओवादीले पनि चासो राखेको छैन।

कहाँ छन् माओवादीले बुझाएका हतियार?
नेपाली सेनाका प्रवक्ता सहायक रथी नारायण सिलवालले सेनाले जिम्मा लिएका माओवादीले प्रयोग गरेका मध्ये केही हतियार सुरक्षा निकायहरूले प्रयोगमा ल्याएको बताएका छन्।

“माओवादीबाट प्राप्त भएको हतियारहरू मध्ये नेपाल प्रहरीबाट पहिचान भएको हतियारहरू नेपाल सरकारको निर्देशन अनुसार नेपाल प्रहरीलाई बुझाइएको छ।

बाँकी रहेका हतियारमध्ये प्रयोगमा ल्याउन सकिने हतियारहरू नेपाली सेनाले प्रयोगमा ल्याएको छ.” सिलवालले भने।

“प्रयोगमा ल्याउन नसकिने र प्रचलनमा नभएका हतियारहरू सुरक्षित साथ भण्डारण गरिएको छ।”यसअघि माओवादी नेताहरूले सशस्त्र युद्धमा प्रयोग भएका हतियारहरू सङ्ग्रहालयमा राखिने भनेपछि प्रवक्ता सिलवालले त्यसबारे सेनालाई कुनै आधिकारिक निर्णय वा जानकारी नआएको बताए।

विसं २०६४ को संविधानसभा निर्वाचन अघि नेपालमा शान्ति प्रक्रियाको मध्यस्थताका लागि आएको राष्ट्रसङ्घीय शान्ति नियोग (अन्मिन)को अनुगमनमा राखिएका हतियार २०६८ मा नेपाली सेनालाई जिम्मा लगाइएको थियो।

चितवनको शक्तिखोरस्थित माओवादी लडाकुको शिविरमा भएको विशेष कार्यक्रममा विसं २०६७ माघ ८ गते माओवादी लडाकुका शिविर र हतियार तत्कालीन सेना समायोजन विशेष समितिको मातहतमा आएको घोषणा गरिएको थियो।

त्यसको एक वर्षपछि २०६८ चैत २८ गते माओवादी लडाकुहरूको अवकाश र सेनामा समायोजनसँगै माओवादी विद्रोहीसँग रहेका भनिएका सबै हतियार नेपाली सेनालाई जिम्मा लगाइएको बताइएको थियो।

लडाकु तथा हतियार अनुगमनको जिम्मेवारी लिएको निकाय अन्मिन २०६७ पुस मसान्तबाट फिर्ता भएपछि केही समय नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र माओवादी लडाकू सम्मिलित टोलीले हतियार अनुगमन गरेका थिए।

कस्ता हतियार थिए?
अन्मिनको तत्कालीन विवरण अनुसार माओवादी विद्रोहीले अत्याधुनिक मानिने एके-४७ देखि मोर्टार, मसिन गन, राइफल, अटोमेटिक हतियार, शटगन र भरुवा बन्दुकहरू बुझाएको थियो।

माओवादीले ९१ वटा मोर्टार, ६१ मसिन गन, २,४०३ राइफल, ६१ अटोमेटिक हतियार, ११४ साइड आर्म्स, २१२ शटगन, २३३ घरेलु बन्दुक र २५३ विभिन्न हतियार बुझाएको अन्मिनले जनाएको थियो।

माओवादी ‘जनमुक्ति सेना’का पूर्व कमान्डर चन्द्रप्रकाश खनाल ‘बलदेव’ले माओवादी आफैँले बनाएका कतिपय हतियारहरू पनि त्यसमा रहेको बताए।

“हामीले आफैँले बनाएका चिजहरू सङ्ग्रहालयमा राख्न हामीलाई दिनुहोस् पनि भनेका थियौँ। त्यो पछि भएन,” उनले भने।

माओवादीले बुझाएका मध्ये अधिकांश आधुनिक हतियार सुरक्षाकर्मीहरूबाट लुटिएका बताइएको थियो। केही हतियार माओवादीले भारतबाट समेत ल्याएको तत्कालीन माओवादी नेताहरूले आफ्नो प्रकाशित संस्मरणमा उल्लेख गरेका छन्।

माओवादी लडाकुहरूसँग त्यसभन्दा धेरै हतियार भएको अनुमान गरिए पनि माओवादी विद्रोही नेताहरूले आफूहरूसँग भएका हतियार त्यति मात्रै भएको दावी गरेका थिए।
विभिन्न दस्ताबेजहरूले माओवादीले द्वन्द्वकालमा छ हजार बढी हतियार सुरक्षाकर्मीबाट लुटपाट गरेको दाबी गरे पनि शान्ति प्रक्रियामा आएपछि माओवादीले त्यसको करिब आधा मात्रै हतियार बुझायो।

माओवादीले हतियार लुकाएको प्रश्न उठेपछि अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले “कैयौँ हतियार खोलाले बगाएको र आगलागीमा परी नष्ट भएको” सार्वजनिक टिप्पणी पनि गरेका थिए।

माओवादी विद्रोहीले अन्मिनमा करिब ३१,००० लडाकू दर्ता गरे पनि निकै कम सङ्ख्यामा हातहतियार दर्ता गरेपछि जारी आशङ्काकै बीच बागलुङमा भएको एउटा कार्यक्रममा प्रचण्डले आफ्ना लडाकु र हतियार अझै शिविर बाहिर रहेको अभिव्यक्ति दिएका समाचारहरू आएपछि राष्ट्रसङ्घले आपत्ति जनाएको थियो।

तर माओवादीले प्रचण्डलाई उद्धृत गर्दै आएका समाचार गलत भएको जानकारी अन्मिनलाई गराएको थियो। अन्मिनले १९ हजार ६०० माओवादी लडाकुलाई मात्रै प्रमाणित गरेको थियो।

किन सेनालाई जिम्मा दिइयो?
विद्रोही माओवादीले शान्ति सम्झौता बमोजिमका सर्तहरू पालना हुनेमा आशङ्का गर्दै सेना समायोजन सम्पन्न भएपछि मात्रै आफ्ना हतियार सरकारलाई बुझाउने जनाएको थियो।

समायोजनअघि हतियार अन्मिनको निगरानीमा ताल्चा लगाएर राख्ने सहमति भएपछि सेना समायोजनपछि हतियार के गर्ने भन्नेबारे त्यस बेला कुनै निर्णय नभएको विशेष समिति सचिवालयका तत्कालीन संयोजक बालानन्द शर्मा बताउँछन्।

“माओवादीले समायोजन भएपछि मात्रै हतियार दिन्छौँ, समायोजन नरहुन्जेल दिन्नौँ भनेकाले हामीले नेपाली सेनामा समायोजन हुने दिनसम्म पनि उहाँहरूलाई राख्न दियौँ,” शर्माले भने।

“माओवादीको भावनासँग जोडिएकाले तीनलाई के गर्ने भन्ने त्यस बेला कुनै निर्णय भएन। सरकारले हतियार बुझ्ने र बुझेपछि सरकारले सल्लाह गरेर व्यवस्थापन गर्छ भन्ने कुरा भएको हो।”तर सेना समायोजन र लडाकु शिविरमा भएको खर्चको विषयमा माओवादीभित्र विवाद भएपछि पूर्व योजनाअघि नै माओवादी सेनाका शिविरहरू नेपाली सेनालाई दिइएको थियो।

सेनाले जिम्मा लिएपछि त्यस विषयमा थप छलफल नभएको माओवादीका तर्फबाट सेना समायोजन विशेष समिति सदस्य रहेका खनालले बताए।

“त्यसलाई सङ्ग्रहालयमा राख्नुपर्छ भन्ने हाम्रो माग थियो। त्यसमै सहमति पनि भएजस्तो लाग्छ। तर त्यसपछि सेनामा कसरी राखिएको छ त्यति चासो लिइएन हतियारबारे,” उनले भने।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

अस्ट्रेलियाका गीतकार विनोद अधिकारीका सिर्जना छिटै बजारमा आउंदै

डार्विनको नाइटक्लिफमा छुरा प्रहार, एकजनाको मृत्यु

फेरि बिग्रियो प्रचण्ड–जनार्दन सम्बन्ध, बैंककमा ओलीसँग डिनर, सिंहदरबारमा विष्णु पौडेलसँग फोटो!

पदाधिकारी भएर पनि पार्टीको निर्णय अरु कसैबाट थाहा पाउनु परेको सुमनाको गुनासो, पदको वजन नभएको महशुसपछि राजीनामा

दाइ मारेर जेल परेका सुजन संविधान दिवसमा छुटे, घरै बोलाएर पूर्वपत्नी र दुई छोरीको हत्या

आजको राशिफल ~ वि.सं. २०८२ वैशाख २३ गते मङ्गलवार : श्री देवकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य


TOP