शुक्रबार , जेठ ३, २०८२

सरकारको पर्फमेन्स र प्रधानमन्त्री केपी शर्मा ओलीको कार्यशैलीलाई लिएर सत्तारुढ नेपाली कांग्रेसका प्रभावशाली नेताहरू असन्तुष्ट छन्। सरकार बनेको तीन महिना पुगेलगत्तै असोजदेखि कांग्रेसका नेता शेखर कोइरालाले जनाउन थालेको असन्तुष्टि चैतयता उपसभापति पूर्णबहादुर खड्का हुँदै महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मासम्म पुग्यो।

यही अवधिमा सरकारले लिएका केही निर्णयले उनीहरूलाई झनै रूष्ट बनाएको छ। सोही कारण सरकारलाई सफल बनाउन गठन गरिएको उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठकमा थापा सहभागी हुन छाडिसकेका छन्।

सरकारको नीति तथा कार्यक्रममाथिको छलफलमा पनि दुवै महामन्त्री सहभागी भएनन्। त्यसमाथि कांग्रेसको कोटामा परेको गभर्नरका लागि भइरहेको रस्साकस्सीले एमालेसँग कांग्रेस आक्रोशित छ।

सोहीकारण पछिल्ला केही महिनामा सरकार ढल्नसक्ने चर्चा भइरहेको छ। कांग्रेसका केन्द्रीय सदस्य डा. गोविन्दराज पोखरेल सरकारले कामै गर्न नसकेकोले यस्तो चर्चा चलेको बताउँछन्।

‘७ बुँदे अनुसार जे भनिएको थियो, जुन खालको अपेक्षा थियो, त्यो अनुसार सरकारको पर्फमेन्स भएन। सरकारको गति धिमा भएपछि, सरकारको कामप्रति सन्तुष्ट नभएपछि सरकार परिवर्तन हुन्छ कि भन्ने हल्ला चलेको हो,’ उनले नेपालखबरसँग भने।

यद्यपि, सरकार ढलिहाल्ने सम्भावना छैन। किनकि, कांगे्रस सभापति शेरबहादुर देउवा एमालेसँगको सहकार्य तोड्ने पक्षमा छैनन्।

किन त?

कांग्रेसका प्रमुख सचेतक श्याम घिमिरे प्रतिबद्धताबाट पछि हट्ने देउवाको बानी नभएको बताउँछन्।

‘उहाँमा धेरै चकचक गर्ने स्वभाव छैन। त्यसैले जे सम्झौता गरियो, त्यसबाट दायाँबायाँ गर्नुहुन्न,’ घिमिरेले नेपालखबरसँग भने, ‘हिजो माओवादीसँग गठबन्धन गर्दा पनि त्यो कुरामा दृढ हुनुहुन्थ्यो। अहिले एमालेसँगको गठबन्धनमा पनि उहाँ दृढ हुनुहुन्छ। कांग्रेस–एमालेबीच भएको ७ बुँदे सहमति नै विश्वास दिलाउने आधार हो।’

अटल देउवा
सभापति शेरबहादुर देउवा एक हप्ताका लागि उपचार गर्न बैंकक गएका बेला यता भने कांग्रेसका नेताहरूले सरकारप्रति तीव्र असन्तुष्टि पोखे। देउवा फर्किएलगत्तै निर्णायक कुरा गरेर निचोडमा पुग्ने बताए।

साताव्यापी उपचार सकेर देउवा फर्किए। तर, सरकार ढल्ने कुरामा कुनै सत्यता नरहेको प्रष्टीकरण नै दिए।

जबकि, प्रधानमन्त्री ओलीलाई नेपाल राष्ट्र बैैंकको गभर्नरका लागि डा. गुणाकर भट्टको नाम दिएर देउवा बैंकक गएका थिए। तथापि, गभर्नर नियुक्त गर्न ओलीले चासो नै दिएनन्।

राष्ट्र बैंकको कार्यकारी निर्देशकबाट दिएको राजीनामा समेत होल्ड गरेर राखिएको थियो। भट्टको राजीनामा स्वीकृत नभएपछि उनी गभर्नर बन्ने सम्भावना सकिएको छ।

प्रधानमन्त्री ओलीले गभर्नका लागि अर्काे व्यक्तिको नाम दिन देउवालाई सुझाए। राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष डा. विश्व पौडेलको नाम दिए।

गभर्नर नियुक्ति प्रक्रियामा भइरहेको ढिलाइले पनि देउवा ओलीसँग चिढिएका छैनन्। जबकि, अपजसको भारी बोक्नुपर्ने भएर कांग्रेसका नेताहरू छटपटीमा छन्। यसको असरमा चुनाव देखिने भयो भनेर उनीहरूलाई चिन्ता लागेको छ।

तर, देउवा किन मौन छन् त? केन्द्रीय सदस्य डा. पोखरेलले केही कारण दिए।

पार्टीभित्र देउवा बलियो अवस्थामा छन्।

‘दलभित्र असन्तुष्टि छ। तर, पार्टीभित्र केन्द्रीय समिति र संसदीय दलमा शेरबहादुर देउवा हाबी हुनुहुन्छ,’ पोखरेल भन्छन्, ‘उहाँले नचाहेसम्म सरकार परिवर्तन हुँदैन। यो गठबन्धन हलचल हुँदैन।’

पार्टीको संस्थापन इतर समूह असन्तुष्ट छन्। तर, त्यो संख्या पनि कमजोर रहेको पोखरेलको भनाइ छ।

‘सरकारलाई दबाब त पर्ला, तर गठबन्धन फेर्ने, सरकारको नेतृत्व फेर्न सक्ने हैसियत पुग्दैन,’ उनले भने।

कांग्रेसमा इतर खेमाले संसदीय दलमा देउवाको विकल्प खोजेको थियो। तर, त्यहाँ संख्या पुर्‍याउन सम्भव छैन।

कांग्रेसमा देउवाको जस्तो पकड छ, एमालेमा ओलीको उस्तै पकड छ। उनीहरूले नचाहँदासम्म गठबन्धनमा कुनै समस्या नआउने नेताहरूको बताउँछन्।

‘संसदीय व्यवस्था र संसदमा गणितको मुख्य भूमिका हुन्छ। एमालेमा केपी ओलीको विरोध गर्ने र बोल्ने आँट कसैको छैन। त्यहाँ आरामदायी शक्ति छ। यता नेपाली कांग्रेसमा पनि गणितीय रूपमा शेरबहादुर देउवा बलियो हुनुहुन्छ,’ पोखरेल भन्छन्।

एमालेसँगको सहकार्य तोडेर अन्य दलसँग मिल्दा देउवाले केही जोखिम देखेका छन्। एमालेसँग असार १७ गते मध्यरासत सहमति गर्दा चुनावी प्रधानमन्त्री पाउने सहमति भएकोले देउवा चुनौती मोल्न तयार नभएको कांग्रेसकै नेताहरूको भनाइ छ।

‘अर्काे विकल्पमा जाँदा माओवादी, मधेसकेन्द्रित लगायत धेरै दल मिलाउनुपर्छ। फेरि सबैको बार्गेनिङ सुन्नुपर्‍यो। अहिले त ढुक्क एमाले मिलाए भइगयो,’ डा. पोखरेलले अर्काे कारण सुनाए, ‘यो सरकार ढालेर विकल्पको सरकार बनाउने कुरा त्यति सजिलो छैन।’

‘यदि केपी ओलीलाई चित्त बुझेन वा शेरबहादुर देउवालाई चित्त बुझेन भने मात्र अर्काे गठबन्धन बन्छ,’ पोखरेलले भने।

एमालेले बनाएको ढुक्क
प्रधानमन्त्री ओलीले देउवालाई यति ढुक्क बनाएका छन् कि उनले अर्काे विकल्पबारे सोचेकै छैनन्। बिहीबार पनि ओलीले १४ महिनापछि किस्तीमा राखेर प्रधानमन्त्री दिने घोषणा गरेका छन्।

यद्यपि, २०८० पुस १० गते पनि ओलीले देउवालाई यस्तै ढुक्क पारेर प्रचण्डलाई प्रधानमन्त्री बनाएका थिए।

‘देउवाजी वेटिङ इन प्राइमिनिस्टर, एमालेसँग मिलेपछि ढुक्क नम्बर पनि छ, कुनै तनाव लिनै परेन,’ कांग्रेस प्रमुख सचेतक घिमिरेले भने।

कांग्रेस वा एमाले नमिली विकल्पमा सरकार बनाउन संख्या पुग्दैन। अहिले यी दुवै दलसँग निलम्बितबाहेक १६५ सांसद छन्। दलीय संख्याले (अंकगणित) र पार्टीभित्र भएका विभिन्न गुट–उपगुटको संख्याको कारणले गर्दा मात्र सरकार परिवर्तन हुँदैन भन्ने कुरा देउवाले राम्ररी बुझेका छन्।

‘केपी शर्मा ओली र शेरबहादुर देउवाको लागि विन–विनको अवस्था छ, किन परिवर्तन गर्ने भन्ने सभापतिजीलाई परेको छ,’ केन्द्रीय सदस्य डा. पोखरेलले भन्छन्।

त्यसो त, देउवाले ओलीबाटै सरकारको नेतृत्व फेरौँ भन्ने प्रस्ताव आओस् भन्ने चाहेका छन्।

आफू प्रधानमन्त्री बन्ने सके अन्य केही दललाई समेत लिएर राष्ट्रिय सरकार बनाउन सकिने र छिमेकी राष्ट्रबाट पनि आफ्नो पक्षमा माहोल बनाउन सकिने देउवाको विश्लेषण छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

अस्ट्रेलियाका गीतकार विनोद अधिकारीका सिर्जना छिटै बजारमा आउंदै

डार्विनको नाइटक्लिफमा छुरा प्रहार, एकजनाको मृत्यु

फेरि बिग्रियो प्रचण्ड–जनार्दन सम्बन्ध, बैंककमा ओलीसँग डिनर, सिंहदरबारमा विष्णु पौडेलसँग फोटो!

लेखकले कुलमानलाई नहटाऔँ भन्दा खड्का र राणा कड्किए- अहिले नहटाए कहिले?

पदाधिकारी भएर पनि पार्टीको निर्णय अरु कसैबाट थाहा पाउनु परेको सुमनाको गुनासो, पदको वजन नभएको महशुसपछि राजीनामा

आजको राशिफल ~ वि.सं. २०८१ चैत्र १३ गते बुधवार : श्री देवीकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य


TOP